‘ईश्वर मरिसकेको छ । ईश्वर मृत रहन्छ । हामीले उसलाई मारेका छौँ ।’ उनको सर्वाधिक प्रशिद्ध दाबी ! नित्सेकृत ‘द गे साइन्स’ (सन् १९८२, पेज १२५)मा पहिलोपटक उत्कृष्ट भयो । त्यसपछि ‘दश स्पोक जरथुस्त्र’मा पनि दोहोरियो । ‘मास्टर पिस’ हो, नित्सेको यो किताब । उपन्यासको प्रमुख पात्र हो, जरथुस्त्र ।‘गे साइन्स !’ समलिंगी विज्ञान भन्ने बुझाइ पनि छ, तर होइन । ‘द जोयफुल विस्डम’ अर्थात् आनन्दपूर्ण बुद्धि–विज्ञान हो । यहीँबाट नित्सेले दर्शनभित्र शून्यवाद र अस्तित्ववादको युद्ध चलाउँदै भने, ‘मानवताको विनाशका लागि हामी सबै जिम्मेवार छौँ ।’
प्रबुद्धकालसम्म पनि युरोपेली आँखाले एकै देख्थे– सबै बाटा रोम पुगेर टुंगिन्छन् । समय स्वयं एकछत्र ईश्वरीय अधिनायकवादमा बाँधिएको थियो । ‘पेपसी’ सर्वोच्चतामुनि थियो, राज्य, सरकार र समाज । पादरीतन्त्र नै सामाजिक आवरण थियो । त्यही आवरणभित्र छोपिएको समाजको ज्ञान परम्परा ईश्वरीय महिमाले ढाकिएको थियो । नित्सेअघिका अस्तित्ववादी आर्थर सोपेनहावरसम्म आउँदा दर्शनको दियो बलिसकेको थियो । नित्सेले गे साइन्स लेखे । दर्शनको ज्वालामुखी फुटाए– ‘हाम्रो हात ईश्वरको खुनले रंगिएको छ ।’
अठारौँ शताब्दीसम्म इसाईत्वको केन्द्रीय अवधारणामा एकल सार्वभौम सत्यको रूपमा स्थापित थियो, ईश्वर । नित्सेले मानव अस्तित्वको गुरुत्वलाई समाते । इसाईवाद र पारम्परिक नैतिकतालाई अस्वीकार गर्दै ईश्वरको मृत्युको घोषणा गरे । इसाईत्वमाथिको बौद्धिक र तार्किक हमला थियो त्यो । अन्तिम सत्य मानिएको ईश्वरमाथिको सबैभन्दा धातक वज्र थियो त्यो । यसले इसाईत्वको केन्द्रीयतालाई हल्लायो । ईश्वरीय देनको कथनीय आधारभूत विश्वास प्रणालीमा खतराको घण्टी बजायो ।
नित्से घोर इसाईविरोधी मानिए । ईश्वरको अस्तित्व अस्वीकार गर्ने पाखण्डी ठानिए । पापी, हठी र अधर्मी देखे पादरीले । उस्तै देखे राज्य, सत्ता र समाजले । अर्को किताब ‘विल टु पावर’मा अर्को तर्क दिए, ‘इसाईहरू समान रूपले कपटी थिए ।’ इश्वर मृत्युको घोषणा उदेकलाग्दो त थियो नै त्यसमाथि डरलाग्दो पनि । तैपनि लेखे, तर किताब बिकेनन् । मित्रता टिकेनन् । जीवनमा रोमान्सका फूल फुलेनन् । कतिले नित्से ‘गे’(समलिंगी) हुन् पनि भने । उनकै किताब ‘गे साइन्स’सँग जोडे । अर्थ खोजेनन् । एक नित्सेमाथि अनेक आरोप लागे ।
लेख्न चाहेको कुरा लेख्न सक्नु, लेख्न पाउनु र लेख्नु आफैँमा पुरस्कृत हुनु हो । प्रमाण नित्से पनि हुन् । उनी सर्वकालीन पुरस्कृत लेखक हुन् । विचारक हुन् । चिन्तक हुन् । मरेपछि फेरि जन्मिए नित्से । नित्सेको मृत्युपछि नै नित्सेयुग सुरु भयो ।
यौवन जीवनको शौर्यकाल पनि हो, संकटकाल पनि हो । जीवनको २०–२१ को विचलित समय । यो समयमा कसले के गर्दैन ? विद्यार्थी नित्सेलाई वेश्यालयको ढोका खोलेको आरोप पनि लाग्यो । आरोप मात्रै पनि नहुन सक्छ नित्सेमाथिको आरोप । सिफिलिस (भिरिंगी)को उपचार गराएका थिए भन्ने पनि छन् । उनकै परममित्र संगीतज्ञ रिचर्ड वाग्नरले नित्से डरलाग्दो हस्तमैथुनकारी भएको आरोप पनि थपे । तर, वाग्नरकै श्रीमती कोसिमासँग नित्सेको प्रेमसम्बन्धको धुवाँ पनि भित्रभित्रै रुमल्लियो ।
अर्की थिइन् लु एड्रियस सलोमी । सन्न्यासी नित्सेको नाउँ तीसँग पनि जोडियो । महिला कामुकताकी अध्येता सलोमीलाई विवाहको प्रस्ताव पनि गरे, तर सफल भएनन् भन्ने पनि छन् । कतिले नित्सेमाथि नारीद्वेषीको झन् ठूलो आरोप पनि थोपरे । तर, उनी स्वयं भने भौतिक जीवनबाट मानिस वञ्चित हुनुहुँदैन भन्थे । यथार्थतः प्रेम, यौन, सम्पत्ति र सुख मान्छेको निजी अधिकार पनि हो ।
सरलरेखामा हिँडिरहेको जीवनले वक्ररेखाको बाटो कहिले समाउँछ, थाहा हुँदैन । चार वर्षको हुँदा नित्सेका बाबु मरे । त्यही साल दुई वर्षका भाइ बिते । बालमस्तिष्कमा के गाडियो, कसैलाई थाहा भएन । जन्मको संयोग पनि उस्तै ! नित्से जन्मिँदा चर्चमा घण्टी बजिरहेको थियो । नवनित्सेलाई ईश्वरीय अवतार नै मानियो, पवित्र ठानियो । पुख्र्यौली पादरी परिवार । आफ्ना हजुरबुबा र बुबा दुवै लुथरन पास्टर । मावलीतिर पनि पादरी परम्परा । सबैका सामु नित्से ‘सानु पास्टर’ हुँदै हुर्किए ।
इसाई धर्मको गढ नै थियो नित्सेको घर । तर, त्यही गढमा सबैभन्दा ठूलो पहिरो गयो । त्यही घरबाट ईश्वरको लास निस्कियो । ‘भगवान् भएको भए हामी भगवान्का सन्तानसरह सबै बराबर हुने थियौँ,’ नित्से गे साइन्समा प्रश्न गर्छन्– ‘यी चर्च अब त्यही भगवान्का चिहान होइनन् भने के हुन् ?’ उमेर बढ्दै गयो । मस्तिष्क गहिराइमा डुब्दै गयो । जीवनभर जीवनको गहिराइमा डुबे नित्से । दुःखमाथि दुःख थपियो । असफलतामाथि असफलताका पहाड उचालिए । असफल लेखक मानिए । जगत्ले उनका जीवन्त दर्शनको दर्शन पाएन । वास्तवमा गर्न चाहेन ।
जगत् मिथ्यामा विश्वास गर्छ । सार्वभौम सत्य के हो ? कसलाई थाहा छ ? ज्ञानको अर्थ के हो ? संसार व्याख्यात्मक छ । पुनारावृत्त परिधिभन्दा पनि परिवर्तित परिधिमा फैलिएको छ, व्याख्या । मान्छे जीवनको अर्थ र उत्तर यो जगत्मा खोज्छ, तर यो जगत्ले न कुनै अर्थ दिन्छ, न कुनै उत्तर । दुवै आफैँभित्र खोज्नु छ । नित्से खोज्न थाले ।उनी लेखनमा फर्किए । तिलस्मी तर्क, दर्शनमा अनुभूति, बिम्ब, प्रतीक र लक्षणाका लहर र बहर खेलाउने नित्से लेखनमा आगो उर्लिएजस्तो उर्लिए । केही गरेर देखाउने उन्मादी नशा थियो नित्सेभित्र ।
तर, बाँचुन्जेल नित्सेका किताब खासै बिकेनन् । कुनै कथित मान–सम्मान पाएनन् । कुनै ठूलो पहिचानको निर्माण भएन । आफैँसँग बाँचे । उनले पनि भोगे, बाँचुन्जेल तिरस्कार । नित्सेको जीवनको बत्ती निभेपछि किताबको उज्यालो फैलियो । मृत्युपछि मान्छेका मन–मस्तिष्क बसे । के हुन्छ, त्योभन्दा ठूलो पुरस्कार ?
पुरस्कारका लागि अर्काका पाउमा आफ्नो पुर्पुरो टेकाउने कति छन् ? धेरै बलिया मानिएका लेखक बजारमा कमजोर देखिन्छन्, नित्सेजस्तै । मानवीय वौद्धिकशास्त्र र बजारी अर्थशास्त्रमा यही फरक छ । धरै लेखक बजारमा जन्मिन्छन्, केही दिनपछि बजारमै मर्छन् । बजारमा मरेका नित्से मान्छेका मन–मस्तिष्कमा जन्मिए ।
लेख्न चाहेको कुरा लेख्न सक्नु, लेख्न पाउनु र लेख्नु आफैँमा पुरस्कृत हुनु हो । प्रमाण नित्से पनि हुन् । उनी सर्वकालीन पुरस्कृत लेखक हुन् । विचारक हुन् । चिन्तक हुन् । मरेपछि फेरि जन्मिए नित्से । नित्सेको मृत्युपछि नै नित्सेयुग सुरु भयो । लड्नु नै छ भने बलियासँगै लड्नू । जित्दा जितको मजा होस्, हार्दा हारको लज्जा नहोस् । निर्धो त सधैँ हारेकै छ । उनी लडिरहे । धर्म, ईश्वर, राज्य, सामन्त र समाज सारा एकतिर नित्से एक्लै एकतिर ।
व्यक्तित्व र विवादास्पद अभिव्यक्तिप्रति त्रास र भयको त्यान्त्रो थिएन नित्सेमा । ‘म मान्छे होइन, डायनामाइट हुँ । एकदिन मेरो नामसँग डरलाग्दो सम्झना जोडिनेछ,’ एउटा सिंगो पहाडझैँ आत्मविश्वासी नित्सेमा ईश्वरप्रति कठोर र निष्ठुरताको पराकाष्ठाको कुनै परिधि थिएन । विचारको प्रयोगशाला हो मान्छेको मस्तिष्क । नित्सेको त्यही प्रयोगशालामा ईश्वरको मृत्यु भयो । के हो त ईश्वर ?
गणितीय प्रश्न होइन ईश्वर । दुईमा दुई ईश्वर जोड्दा चार र घटाउँदा शून्य हुन्छ । तर, अझै हामी ईश्वरमाथि गणितीय उत्तर खोजिरहेका छौँ ।ईश्वर अंक पनि होइन, ईश्वर अक्षर पनि होइन ? न हामी अंकमा लेख्न सक्छौँ, न हामी अक्षरमा देख्न सक्छौँ । के ईश्वर त्यही हो, न देख्न न लेख्न सकिन्छ ? प्रश्न यो पनि हुन सक्छ, के विनाउत्तरको प्रश्न हो ईश्वर ?
ईश्वर न शून्य छ, न अशून्य छ । तर के शून्य र अशून्यबीच जे छ त्यही हो ईश्वर ? के ईश्वरले पुराना विश्वास र तर्कको बोझ अझै बोकेको छ ? के तर्क–वितर्कद्वारा स्थापित र विस्थापित विश्वास मात्र हो, ईश्वर ? आजपर्यन्त छन् अनेक प्रश्न । दिन र रातजस्तै पृथ्वीमा विश्वास र त्रास पनि बाँचेका छन् । के यही विश्वास र त्रासको भूमध्यरेखामा उभिएको द्वेत अस्तित्व हो, ईश्वर ?
पन्ध्रौँ शताब्दीको सूर्योदयसँगै पश्चिममा पुनर्जागरणको सूर्य पनि उदायो । विज्ञान–प्रविधि र ज्ञान–बुद्धिको खोजीलाई मान्छेको मस्तिष्कले पछ्याउन थाल्यो । ब्रह्माण्डको खोजी ईश्वरका लागि चुनौती बन्न थाल्यो । ईश्वरीय विश्वासमाथि पहिरो ल्याउने शक्ति बने भौतिकवादी ग्यालिलियो र प्रकृतिवादी चाल्र्स डार्बिन ।
वस्तुतः विश्वाससामु त्रासको मृत्यु हुन्छ, त्राससामु विश्वासको । तर, ईश्वरको घरमा विश्वास र त्रासको सहवास छ । के मान्छेभित्रको त्रासपूर्ण विश्वास र विश्वासपूर्ण त्रासमा जे बाँचेको छ, त्यही ईश्वर हो ? मलाई लाग्छ, ईश्वरप्रतिको त्रासको कारणले मान्छे दास भएको छ । विश्वासले मान्छेलाई दास बनाउँदैन, साहस बढाउँछ । यथार्थतः त्रास नहुँदो हो त मान्छेले ईश्वरलाई दास बनाउँथ्यो । मान्छेका खुट्टा ईश्वरले ढोग्थ्यो ।
प्रश्न अर्को पनि छ, ईश्वरको शरणमा मान्छे छ कि मान्छेको शरणमा ईश्वर ? ईश्वर खोज्दा भेटिँदैन । किनभने ईश्वर हराएको छैन । के मान्छेको शक्तिशाली भ्रम हो, ईश्वर ? कि बलियो कमजोरीको निरीह सहारा हो, ईश्वर ? द्विविधाको गहिरो भास हो संसार । टावरसँग सम्बन्धविच्छेद भएको हवाईजहाजजस्तो भएको छ एकल सार्वभौस सत्य । धर्मका घातक प्रहारले ईश्वरको अस्तित्व र अवस्थालाई अज्ञात बनाएको छ । नित्से भन्छन्, यदि ईश्वरको अस्तित्व छ भने मान्छेको अस्तित्व रहँदैन ।
एउटा मत यो पनि हुन सक्छ– विश्वास र त्रासको वटवृक्ष हो, ईश्वर । न कहिल्यै ढल्छ । न कहिल्यै मर्छ । तर, नित्सेको मस्तिष्कको प्रयोगशालामा त्यो म¥यो । सत्य के पनि हो भने मर्नका लागि बाँच्नुपर्छ । जो कहिल्यै बाँचेको छैन, त्यो कहिल्यै मर्दैन । भ्रम शक्तिशाली हुन्छ । भ्रमको शक्तिलाई मान्छे सर्वकालीन ठान्छ । तर, नित्सेहरूका लागि न शक्तिशाली, न सर्वकालीन ।
नित्सेले ईश्वरको अस्तित्व कहिल्यै स्विकारेनन्, उनीमाथि लागेको सबैभन्दा महान् आरोप हो, यो । तर, ईश्वर छैन भन्ने विश्वास हो भने उनैले ईश्वर मृत्युको घोषणा कसरी गरे ? मर्नका लागि जन्मिनुपर्छ । ‘हामी अस्तित्वको ऐना हुनुपर्छ, ईश्वरको सानो स्वरूप हो त्यो,’ किन भन्थे नित्सेले ? नित्से यहाँ चुकेका हुन् कि नित्से बुझ्न हामी चुकेका हौँ ?
डियोनिसस् ! ग्रिक मिथोलोजीका एक ईश्वर ! अर्थात् उर्वर तथा परम आनन्दका देवता ! नित्से भन्छन्, ‘म उनको अन्तिम शिष्य र अवतार पनि हुँ !’ त्यही मान्छेले आफूलाई कसैको शिष्य ठान्छ, जसले उसलाई प्रेम र आदर गर्छ । त्यही मान्छेले आफूलाई कसैको अवतार मान्छ, जसले उसलाई आफ्नो पुर्खा वा प्रिय ठानेर पूजा गर्छ । नित्से कसरी ईश्वरविरोधी भए ?
नित्सेभित्र ईश्वरीय वटवृक्षको जरा–हाँगा नफैलिएका होइनन्, तर ती धेरै दिन बाँचेनन् । उनकै शब्द हुन् यी, ‘म ईश्वरमा विश्वास गर्छु तर जुन ईश्वर नाच्छ ।’ नाच्नुको अर्थ बाजा बजाएर नाच्नु होइन । नाच्नुको अर्थको उपस्थिति हो । नित्सेको असन्तुष्टि यहाँ पनि छ, प्राचीन इज्रेलले इसाई ईश्वर यसुलाई अगाडि ल्यायो । तर, धेरै पुस्ता दुर्दान्त दुःखमा बाँच्न बाध्य भयो । ईश्वरका नाउँमा मान्छेलाई मान्छेकै गुलाम बनाइयो । पिटियो, मारियो । अत्याचार र दुराचारको सीमा भएन । राजाले, शासकले, सामन्तले, पादरीले आफूलाई ईसा(ईश्वर)को उत्ताधिकारी ठाने । ज्यादती गरे ।
धर्मका कारणले मान्छे मान्छे हुन नसकेको ठहर गरे नित्सेले । सबैभन्दा बढी हत्या धर्मका कारण भएको, धर्मसंस्था मानव जातिको संरक्षकभन्दा पनि विनाशक भएको, धर्मसंस्थाका लागि ईश्वरको उत्पादन गरिएको, धर्मले मान्छेलाई बाँच्नभन्दा मर्न प्रेरित गरेको, युद्ध र हत्याका लागि ईश्वरलाई उभ्याउने धर्मसंस्था मानव विनाशको कारण बनेको, स्वर्गको सिँढी चढ्न मान्छे भ्रष्ट भएको र ईश्वरलाई समेत भ्रष्ट बनाएको भन्ने भित्री विश्वासले जित्यो नित्सेलाई ।
नित्सेले युरोपीय नैतिकता, तर्क र मूल्यभित्र व्याख्या मात्र भेटे । कुनै तथ्य भेटेनन् । धर्मभित्र ईश्वर र ईश्वरको सार्वभौमिक वस्तुनिष्ठता शून्य देखे । ईश्वरको मुत्यु दार्शनिक अभ्युक्तिका रूपमा उनको अर्को किताब ‘द एन्टी क्राइस्ट’मा पनि आयो ।
इतिहासको निर्माण स्मारकीय छ । इतिहास लेखिनेभन्दा पनि बनाइने भएको छ । ईश्वरीय परिकल्पनालाई पनि नित्सेले स्मारकीय निर्माणको स्वरूपमा देखे । ईश्वर केवल मान्छेले आफ्नो सुविधाका लागि रोपेको एक विश्वास हो, धारणा हो, कल्पना हो । मनोवैज्ञानिक निर्माण हो भन्ने एकल मत नित्सेभित्र फैलियो । धर्म र ईश्वरप्रतिको धारणा स्वयंमा खराब छैन । तर, धर्म र ईश्वरका नाउँमा गरिएका दाबी जतिसुकै झुटा र अव्यावहारिक भए पनि त्यही विश्वासलाई बलपूर्वक स्विकार्ने परम्परामाथि प्रहार पनि हो नित्सेको घोषणा ।
यथार्थतः जीवनका सबै अनुत्तरित प्रश्नको जवाफ धर्मभित्र खोज्ने र ईश्वरसँग छ भन्ने समयसँग हामी आजपर्यन्त हिँडिरहेका छौँ । जसमा प्रामाणिक पक्षको खोजी हुँदैन । प्रश्न गर्नु आपराधिक मानिन्छ । मान्छे आफ्नो अनैतिकता ईश्वरको यही कोटरीमा लुकाउँछ र नैतिकता देखाउँछ । धर्म र ईश्वर सधैँ अधमका लागि उघुम सहारा र सिँढी बनेका छन् । विनाकारण केही हुँदैन । नित्सेले कारण खोजे, ‘यसका लागि ईश्वरीय धारणा जिम्मेवार छ ।’
धर्मभित्र पाखण्डताको अधिकता यथावत् छ । नित्से चेतनमा चेतावनीको रातो बत्ती बल्न छाडेन । उनले ‘रस्ता’ बदले । तर पनि नित्से अनीश्वरवादी होइनन् । किस्चियानिटीका विरोधी मात्र हुन् । धर्मका नाउँमा त्यसभित्रका मान्यता र संस्कारका विरोधी हुन् ।
कारण अनेक हुन सक्छन् । आफ्ना बाबु र भाइको मृत्युको भयानक पीडा पनि एक कारण हुन सक्छ । बाबुलाई ईश्वरसमान मान्ने परम्पराभित्र थिए, नित्से पनि । त्यही बाबुको अल्पायुमा मृत्यु भयो । ‘मेरा पिताले सम्पूर्ण जीवन ईश्वरमा समर्पित गरे, तर त्यही ईश्वरले किन यति क्रूर व्यवहार ग¥यो ? मबाट किन खोस्यो ?’ नित्सेले प्रश्न गरेका छन्, ‘मेरो बालख भाइको दोष के थियो ?’ बाल्यकालदेखि नै मानसिक द्वन्द्वको रापमा जल्नुको पीडा असह्य थियो, उनीभित्र ।
बाबुको मृत्युपछि उनकी आमाले एउटा निराशाजनक धर्मपरायणताको उकुसमुकसभित्र नित्सेलाई हुर्काइन् । सम्पूर्ण संवेदनशीलतालाई थिचेको अनुभव गरे नित्सेले । एकप्रकारको दमनकारी बोझले भड्कायो । एक कहालीलाग्दो अनुभूतिबाट निस्कन नित्सेले त्यही ईश्वरलाई दण्डित गरे ।
अहिले पनि ईश्वरका स्वकथित उत्तराधिकारी र धर्मका स्वनायकहरू नैतिक नियम र कामकाजी कानुनभन्दा माथि देखिन्छन् । उवेला नै नित्सेले प्रश्न गरे, ‘के यो अपराध होइन ?’
पन्ध्रौँ शताब्दीको सूर्योदयसँगै पश्चिममा पुनर्जागरणको सूर्य पनि उदायो । विज्ञान–प्रविधि र ज्ञान–बुद्धिको खोजीलाई मान्छेको मस्तिष्कले पछ्याउन थाल्यो । ब्रह्माण्डको खोजी ईश्वरका लागि चुनौती बन्न थाल्यो । ईश्वरीय विश्वासमाथि पहिरो ल्याउने शक्ति बने भौतिकवादी ग्यालिलियो र प्रकृतिवादी चाल्र्स डार्बिन ।
नित्सेका प्रबोधपूर्ण आँखाले बह्माण्ड ईश्वरीय होइन, भौतिक नियमबाट शासित भएको विज्ञानको तस्बिर देखे । उनको तर्क छ– चर्च, पादरी र सरकारहरू आफूलाई विधाताको वैधिक अधिकारी देखाउन ईश्वरीय विचारको वरिपरि संगठित हुन आवश्यक छैन । ‘युरोपीय नैतिक मूल्य र व्यवस्थाको स्रोत ईश्वर होइन ।’ नित्सेको तर्कसंगत सत्यसामु तर्कहीन हुन पुग्यो ईश्वरीय तर्क । युरोपीय प्रबुद्धताप्रति नित्सेको स्वीकारोक्ति पनि ईश्वरको मृत्युको कारणभित्रको कारक बन्यो ।
वस्तुतः ईश्वरीय विश्वाससूत्रका संस्थापक सामाजिक परिधिभित्र मानसिक र मनोवैज्ञानिक रूपले कमजोर थिए । ज्ञान परम्परा ईश्वरीय महिमामा टिकाइराख्न उनीहरूले ईश्वरीय कथा निर्माण गरे । त्यसको आवरणमा आफूलाई नायक बनाए । तर, नैतिक नायकत्व शून्यताले भरिएको थियो । नित्सेले त्यो शून्यतालाई अस्वीकार गरे ।प्रत्येक जीवित प्राणीमा शक्ति प्रकट गर्ने एक अमृत इच्छा हो ईश्वर । तर, त्यो वेला ईश्वर मौन छ, जुन वेला मान्छेलाई नैतिक शक्तिको खाँचो हुन्छ । नैतिक अनुशासनको प्रतिमान हो धर्म । तर, धर्मका नाउँमा मान्छेले मान्छेलाई आत्माविनाको शरीर बनाए । प्राकृतिक नियम हो, दोषीलाई दण्डित गरिन्छ । नित्सेले त्यही ईश्वरलाई जिम्मेवार ठाने । मृत्युदण्ड दिए ।
मानवीय महान्ता र नैतिक समानताका पक्षपाती नित्सेको बुझाइमा चुनैतीको सामना गर्न ईश्वर चाहिँदैन, व्यक्तिगत उत्कृष्टताको खाँचो हुन्छ । ईश्वरका नाउँमा स्थापित विश्वासले मानिसलाई निरीह र निर्बल बनाएको छ । उनको तर्क छ, ‘ईश्वरसँग हिँड्नु भनेको बैसाखीसँग हिँड्नु हो ।’ मानवीय समानताका लागि ईश्वरीय अनुपस्थितिप्रति प्रस्ट हुँदै नित्सेले भने, ‘ईश्वर असमानताको सिँढी हो ।’
वास्तवमा ईश्वरको मृत्यु पुराना विश्वास, तर्क र कथित वास्तविकताको मृत्यु हो । मृत शरीरलाई पुनर्जीवित गर्न सकिँदैन । नित्सेले इसाईतन्त्रलाई प्राणहीन शरीरजस्तै देखे ! उनको मान्यता थियो, ‘इसाई नैतिकताले जीवनलाई दबाएको छ । यसबाट युरोपलाई मुक्त गर्नुपर्छ ।’
धार्मिक संस्था र सम्प्रदायका परिधिभित्र फरक छन् ईश्वरीय अवधारणा र आयाम । नित्सेले ईश्वरको समष्टि आयाम र अवधारणालाई विघटन गरेका छैनन् । पश्चिमाभन्दा पूर्वीय धारणा फरक छन् । ईश्वरीय मत र मनन फरक छन् । यो होइन कि नित्से पूर्वीय ज्ञान–दर्शनको दिव्य प्रकाशभन्दा टाढा थिए । उनको अध्ययनको आयतन विशाल थियो ।
उनले संस्कृत र बुद्ध पनि पढेका थिए । ‘जीवन दुःखले भरिएको छ,’ बुद्धवादी वचन नित्सेले पनि बोलेका छन् । शिवको ताण्डवत्वसँग मेल खाने काल्पनिक काया हो नित्सेको उवरमेन्च, अर्थात् अतिमानव । जो उद्दण्ड तर आत्मविश्वासी छ, निरपेक्ष स्वतन्त्र छ । नित्सेले नाच्ने ईश्वरको ‘जिकिर’ यही चरित्र¬–पात्रमाथि गरेका हुन् ।
आत्म–विनाश मृत्युको पर्याय हो । मान्छे प्राणवायुले मात्र बाँच्दैन । नैतिकवायुले पनि बाँच्नुपर्छ । आफ्नो कर्मका लागि मान्छे आफैँ उत्तरदायी छ, ईश्वरलाई आवरण बनाउन सक्दैन । ईश्वरप्रतिको नित्सेका धारणालाई समग्रतामा होइन, सूक्ष्मता हेर्नुपर्ने हुन्छ । इसाईतन्त्रविरुद्धको घोषित युद्ध हो, नित्सेको घोषणा । इसाईत्वभित्रको विश्वासको एक काल्पनिक मृत्यु हो, ईश्वरको मृत्यु ।
ईश्वरको मृत्युको परिणाम मनुष्यत्वको मृत्यु पनि हो । ईश्वरीय धारणा मानवीय अस्तित्वसँग मात्र जोडिएको छ । बाँकी सबै स्वतन्त्र छन् । नित्से थोरै बाँचे । धेरै लेखे । गहिरो लेखे । धर्म र ईश्वरका नाउँमा ठड्याएका भ्रमका जरा उखेले ।
‘ईश्वर मृत्युको घोषणा’ नित्सेले हामीलाई जानकारी दिएका होइनन् । बदल्ने कोसिस गरेका हुन् ।