
धेरै वर्षसम्म ‘विपश्यना’को नाम मात्रै सुनेँ । विपश्यनामै बस्ने अवसर जुरेको थिएन । त्यो अवसर अस्तिको दसैँताका जुर्यो । सहरमा दसैँको चहलपहल बढ्दै थियो, अक्टोबर २१ को शिविर लाग्ने दिन (फूलपातीको दिन) नजिकिँदै थियो । भाइ र सीमितबाहेकलाई भनेको थिइनँ । दसैँ छाडेर विपाश्यना जाँदै छु भन्दा के भयो त्यस्तो? केही तनावमा छस् र ? अहिले नै ध्यानमा जाने बेला भइसक्यो र ? भन्ने सुन्नुपथ्र्यो । मलाई यी प्रश्नको सामना गर्नु थिएन । शिविरमा आउने अधिकांश र मेरो पुस्ताकाले पनि यिनै प्रश्न छिचोलेरै आएका रहेछन् ।
मेरा लागि घर नगएको यो पहिलो दसैँ थिएन । विपश्यना केन्द्रमा पनि चार सयले दसैँ छाडेरै आएका थिए । बिहानै भाइलाई बस चढाएर फर्केँ र आफू शिवपुरीको काखमा अवस्थित विपश्यना केन्द्रमा पुगेर झोला बिसाएँ । दसैँ छाडेर आइयो, निस्कँदा कस्तो भएर निस्कने हो भन्ने चासो धेरैको थियो । एक साधकको मोबाइल थन्काउनुअघि अन्तिम फोन प्रेमिकाको थियो, गफ सकेर उनले हाँस्दै भनेका थिए– ‘आमालाई भन्दा उसलाई पो चिन्ता छ कस्तो भएर आउने हो भन्ने !’ मोरङका सुदीप गड्तौलाले मोबाइल स्विच अफ गर्नुअघि अन्तिममा हसाउँदै भनेथे–‘ह्वाट्सएप चेक गरेको केटाहरूले फरास खेल्न बोलाएका रहेछन् ! ’ यसपछि मोबाइल बन्द, बोली बन्द अनि अघि बढ्यो विपश्यना ध्यान ।
०००
विपश्यना २५ सय वर्षअघि भगवान् गौतम बुद्धले साधनाबाट पत्ता लगाएको ध्यान विधि हो । यसबाहेक विभिन्न समयमा उत्पत्ति हुने, फैलने र आफ्ना अनुकूलका व्याख्या, प्रयोग र विकृतिका कारण शुद्ध रूपमा रहन नसकी लोप हुँदै गएको मानिन्छ । ऋग्वेदमा पनि विपश्यनाको लाभलाई लिएर प्रशंसा गरिएको छ । विपश्यनालाई गुरुशिष्य परम्पराद्वारा बाँडिन्छ । बुद्धले बाँडेको यो विद्या बर्मामा शुद्ध रूपमा कायम रहेको र त्यसलाई, भारत हुँदै सत्यनारायण गोयंकाले नेपालमा सुरुवात गरेको पाइन्छ ।
विपश्यनाका लागि पहिलो सर्त पञ्चशील (हिंसा नगर्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने, झुटो नबोल्ने र नशा सेवन नगर्ने) पालना गर्नुपर्ने हुन्छ । विपश्यनालाई सार्वजनिक र शुद्ध धर्मको रूपमा सिकाइन्छ । प्रकृतिको कानुन सबै प्राणीमा बराबर रूपमा लागू हुने विश्वास राख्दछ । बुद्धसँग जोडिए पनि विपश्यनाले धर्मका रूपमा बुद्धलाई मान्दैन, धर्मका सम्प्रदायहरूलाई यसले विरोध गर्दछ । धर्मलाई कर्मकाण्डी रूपमा नभई जीवन जिउने कलाको रूपमा आफ्नै अनुभूतिका आधारमा धारण गर्न सकिने हुनुपर्छ भन्ने मान्यता यसको छ । यसले न कुनै धर्मको प्रशंसा गर्छ न कुनै धर्मको निन्दा नै । आफ्नै अनुभूतिको सत्यलाई मानेर धर्मलाई अपनाउनमा यसको जोड रहन्छ ।
अब न हातमा घडी न साथमा मोबाइल । घन्टीको भरमा समयतालिकाअनुसार काम सुरु भयो । साँझबाट साधनामा आर्यमौन पालना गर्न लगाइयो । आर्यमौनलाई शरीर, मन र वाणीको मौनताको रूपमा लिइन्छ । साधनाको पहिलो दिनबाट बोल्न, शारीरिक संकेत या लेखेर पनि एक साधकले अर्कासँग सम्पर्क स्थापना गर्नुहुँदैन ।
साधनाका क्रमममा बिहान साँढे चार बजेदेखि बेलुका साढे नौ बजेसम्म १७ घन्टाको समयतालिका अनुशरण गर्नुपर्छ । विश्रामको समय पनि निश्चित हुन्छ । ध्यानबाट अलौकिक शक्तिको दर्शन र कल्पना भने विपश्यनाले गर्दैन । तत्कालको सत्यलाई स्विकार्न भन्छ । बुद्धका चार आर्यसत्यलाई केन्द्रमा राखिन्छ ।
ध्यान केन्द्र प्रवेशसँगै मोबाइल स्विच अफ गरेर केन्द्रको जिम्मा लगाइयो । अब न हातमा घडी न साथमा मोबाइल । घन्टीको भरमा समयतालिकाअनुसार काम सुरु भयो । साँझबाट साधनामा आर्यमौन पालना गर्न लगाइयो । आर्यमौनलाई शरीर मन र वाणीको मौनताको रूपमा लिइन्छ । साधनाको पहिलो दिनबाट बोल्न, शारीरिक संकेत या लेखेर पनि एक साधकले अर्कासँग सम्पर्क स्थापना गर्न हुँदैन । अर्थात् १० दिनसम्म न बोल्न पाइयो न कुनै संकेत गर्न नै । साधनामा हरेक साधकलाई एक्लो साधनामा लाग्नुपर्ने हुन्छ ।
१० दिनसम्म एकै कोठामा बसेका खोटाङका विकास श्रेष्ठ र मैले १० दिनपछि मात्र एकअर्काका नाम र ठेगाना सोधेका थियौँ । झुक्किएरबाहेक एकअर्काका अनुहार पनि हेरिएन । साधनामा ध्यान दिन आवश्यक हुन्छ । कम बोल्ने बानी यहाँ असाध्यै उपयोगमा आउनेरहेछ । यसपछि बाहिरी संसारमा के भए अत्तोपत्तो रहेन । हरबखत खबरका लागि भौँतारिने मन आफैँभित्रको सत्यको खोजमा अभ्यस्त हुन थाल्यो । बाहिरी संसारमा के–के भए केही थाहा थिएन । यति थाहा थियो, आकाश खसेको छैन, धर्ती भासिएको छैन !
नबोलेरै पनि सयौँ मानिसको व्यवस्थापन र सबैले आफ्नो काम चुपचाप गरिरहेका थिए । बोली बन्द हुँदा मान्छेका अहंकारहरू यसै चुप लाग्नेरहेछन् । को के, कुन पद, कुन ओहोदा कुन पेसा व्यवसाय कुन जात धर्म, धनी गरिब सबै समान । परिचयका नाममा साधक र सेवक मात्र । यो १० दिन हामीले भिक्षुको जीवन अनुभूत गरिरहेका थियौँ । सात्विक भोजनको आनन्द अर्कै हुनेरहेछ । ध्यान केन्द्रको गतिविधिले कहिल्यै बाहिर दसैँको रौनक छ भन्ने महसुस गराएन । ध्यान केन्द्रमा राजनीतिज्ञ, प्रशासक, कानुन व्यवसायी र विद्यार्थी नै धेरै थिए । शिविरमा पछिल्लो पुस्ताकै बाहुल्य थियो । पटक–पटक शिविर दोहोर्याउनेहरू पनि थिए । २२ पटकसम्म आउने साधक पनि भेटिए । अभिमुखीकरणमा हामीलाई भनिएको थियो– आफ्नो श्वासका कारणले समेत कसैलाई असर नपरोस् । यदि कसैबाट जान–अन्जानमा त्यस्तो हुन गए भूलवश भएको मानी क्षमा गरेर आफ्नो साधनामा लाग्नुहोस् ।
०००
साधना आनापानाको अभ्यासबाट सुरु हुन्छ । पहिलो तीन दिन क्रमशः स्वाभाविक श्वासको जानकारी राख्न, श्वासको स्पर्श थाहा पाउन, माथिल्लो ओठ र नाकद्वारबीचको तिनकुने भागमा समवेदना जान्न सिकाइयो । यसक्रममा मनलाई वशमा राख्न सिकाइँदोरहेछ । तर, चञ्चले मन कहाँ सजिलो टिक्दोरहेछ र भागेको थाहा पाएपछि फेरि फर्काएर काममा लगाउनुपथ्र्यो । भागिरहने मनको पुरानो स्वभावलाई फर्काउन निरन्तर अभ्यास आवश्यक हुन्छ ।
तीन दिनको अभ्यास यसैमा केन्द्रित हुन्छ । चौथो दिन विपश्यना दिइयो । यसवेला मनको सहायताले शरीरको यात्रा गर्न सिकाइयो । अभ्यासको क्रमिकताले मनलाई शिरदेखि पाउसम्म र पाउदेखि शिरसम्मका अंग–प्रत्यंगमा भइरहेका समवेदना जान्न उपयोगमा ल्याइन्छ । महसुस हुने प्रिय–अप्रिय समवेदनालाई कुनै प्रतिक्रिया नगरी जान्न मात्र लगाइन्छ । यस क्रममा अनित्यबोेध अर्थात् कुनै पनि समवेदना सधैँ रहिरहँदैनन् उत्पत्ति र व्यय हुन्छ भन्ने आधारमा त्यसलाई तटस्थ रहेर साक्षीभावबाट हेर्न सिकाइन्छ । यसबाट सुखद समवेदना थाहा हुँदा राग पैदान नगर्न र दुःखद समवेदना आउँदा द्वेष पैदा नगरी समता पुष्टि गर्न सिकाइन्छ । यसले मनको गहिराइमा संग्रहित विकार बाहिर निकाल्न र नयाँ राग र द्वेषको संस्कार विकास नगर्न अभ्यास गराइन्छ । जीवनमा आइपर्ने संकटलाई पनि साक्षीभावले स्विकार्दा दुःखबाट पार पाउने बाटो देखाउँछ ।
पाँचौँ दिनबाट अधिष्ठान, अर्थात् दृढ निश्चय गरेर शरीरमा जस्तो समवेदना महसुुस हुँदा पनि आशन परिवर्तन नगरी घन्टौँ सामूहिक साधना गर्न लगाइन्छ । यो धेरैका लागि कष्टकर बन्नेरहेछ, यसक्रममा शरीरमा महसुस हुने दुखाइलाई उपेक्षा गर्दै बस्नुपर्ने हुन्छ । तर, बिस्तारै ती समवेदनाहरूको असर कम हुँदै गएको महसुस हुनेरहेछ । त्यसपछिका बाँकी दिन विभिन्न तरिकाबाट शरीरका अंगप्रत्यंगमा समवेदनालाई महसुस गर्न सिकाइयो । क्रमिक रूपमा शरीरमा मन दौडाएर हरबखतका समवेदनालाई अन्तरमनसम्म पुगेर धाराप्रवाह अनुभूत हुनेरहेछ । अन्तिम अणु जसलाई कुनै टुक्रा पार्न सकिँदैन, त्यसलाई वुद्धले अष्टकलाव नाम दिएका छन् । यहाँसम्मको अवस्था जानेर शरीर प्रकृतिको कानुनमा निर्भर रहन्छ, आफ्नो नियन्त्रणमा हुँदैन, म र मेरोको अहंकार बेकार छ भन्नेसम्मको अवस्था महसुुस गराउने अभ्यास गराइन्छ । यी अनुभूतिको तह आफैँले गर्ने अभ्यासमा भर पर्छ ।
आर्यमौन दशाँै दिनमा तोडियो आ–आफ्ना अनुभव साटिए । सबै प्राणीजगतको कल्याणको कामना गर्दैै मंगलमैत्रीको साधनासँगै ध्यान सकियो । साधना सकेर निस्कँदा सबैका अनुहार धपक्क बलेका देखिन्थे । दसैँ सकिसकेको थियो । त्यसपछि यत्तिका दिन शान्त सबैमा फेरि आ–आफ्नै दौडधुप सुरु । साधनाको ११औँ दिन बिहान मोबाइल हात लाग्यो । रुममेट विकासले मोबाइल खोल्नेबित्तिकै जानकारी पाए आमा साह्रै बिरामी पर्नुभएको रहेछ, घर गइहाल्नुपर्ने भयो । प्लेनको टिकटका लागि फोन घुमाउन थाले ।अभ्यासका क्रममा यी अनुभूति हुन्छन् कि विपश्याना ‘फुल अफ रोमान्स’ होइन, यो त लगनशील भई कर्ममा लागेर आफ्नै अनुभूतिबाट आफैँभित्र गरिने सत्यको खोज हो ।