
वि.सं. ०५८ मा राजदरबार हत्याकाण्ड भयो । यो घटनाले नेपाली जनता स्तब्ध भए । सिराहाका शत्रुघन यादवलाई पनि यो घटनाले मर्माहत बनायो । उनले सोचे अब नेपालमा शान्ति हुँदैन । जागिरका लागि काठमाडौंमा भौँतारिएका यादव त्यो घटनापछि वैदेशिक रोजगारीमा लाग्ने निधो गरे । ६५ हजार रुपैयाँ तिरेर उनी कतार आए । यादव के कामका लागि कतार आएका थिए भन्ने पनि थाहा छैन । उनलाई एजेन्टले कतारको भिसा लगाइदियो । उनी सीधै कतार आए ।
एजेन्टले उनलाई कतारस्थित एउटा शेखको घरमा लगिदियो । त्यहाँ उनको काम खेतमा ढुंगा टिप्नु थियो । उनी झस्किए । तर, काम गर्नुको विकल्प थिएन । करिब पाँच वर्ष उनले शेखको बन्झड खेतमा ढुंगा टिप्ने काम गरे । उनीसँगै अन्य मुलुकका श्रमिकले पनि त्यहाँ काम गर्थे ।
उनले काम गर्ने शेखको थुप्रै जमिन थियो । जहाँ उनले खजुरको खेती गर्थे । एक दिन शेखले ढुंगा टिप्नेमध्ये १४ जनालाई खजुर टिप्ने तालिम दिए । जसमध्ये यादव सबैभन्दा उत्कृष्ट भए । ‘म त फटाफट रुखमा चढ्थेँ । खजुर पनि राम्रोसँग टिप्थेँ,’ उनी सम्झिन्छन् ।
यादवको कामबाट शेख खुसी भए । उनको ढुंगा टिप्ने कामबाट खजुर टिप्ने काममा पदोन्नति भयो । त्यसपछि भने उनले दैनिक दुई कार्टुन खजुर टिपेर शेखको घरमा पुराउँन थाले । यादवको कामबाट खुसी भएर शेखले २०० रियाल बक्सिस पनि दिए । ‘मैले शेखलाई भनेँ मैले राम्रो काम गरेको छु । मलाई बक्सिस दिनुस् भनेर । शेख खुसी भएर मेरो हातमा २०० रियाल थमाइदिए,’ उनी भन्छिन्, ‘मलाई बूढो शेखले धेरै माया गथ्र्यो । वेलावेलामा मलाई भेट्न खेतमै आउँथ्यो ।’
५३ वर्षीय शत्रुघन यादवलाई नेपाल फर्कन खासै रुचि छैन । घरमा भने उनले पैसा पठाइरहेका छन् । भन्छन्, ‘मलाई यहीँ रमाइलो छ । यो मजरा, यो खजुर, मयूर छोडेर कहाँ जानु ? नेपाल गएर अब मलाई कसले काम दिन्छ ? यहाँ मलाई सबै सुविधा छ । नेपाल किन जाने ?’
अहिले भने परिस्थित बदलिएको छ । उनको बूढो शेखको मृत्यु भइसकेको छ । खेतीपाती गर्न रुचाउने शेखको मृत्यु भएपछि उनको कामको मूल्यांकन गर्ने पनि कोही छैन । ‘बूढो शेख मरेपछि छोराले खेतीपाती हेर्दैनन् । गरे पनि नगरे पनि ठीकै छ,’ उनले भने ।
उनी बसेको ठाउँ (अल्खोर) मा मात्रै शेखको १२ बिघा जमिन छ । जहाँ उनी एक्लै काम गर्छन् । त्यहाँ उनले १२०० खजुरका बोट लगाएका छन् । तीन बोट उनी आफैँले हुर्काएका हुन् । त्यसैले सबै बोटका बारेमा उनलाई जानकारी छ । ‘यो गएको साल लगाएको बोट हो,’ अर्को बोट देखाउँदै उनले भने, ‘यो बोट भने बूढो भइसक्यो । अब यसलाई काटेर अर्को लगाउँछु ।’
यादवले त्यहाँ ७० वटा मयूर पनि पालेका छन् । बिहान–बेलुका उनी मयूरहरूलाई दाना खुवाउँछन् । दानाको बदलामा मयूरहरूले पंखा फिँजाएर नाचिदिन्छन् । मयूरको नाच हेरेर यादव दंग पर्छन् । ‘अहिले मयूरहरू खेतमा लुकेका छन् । मान्छे धेरै देखे भने लुक्छन्,’ उनले भने । उनका साथमा एउटा कुकुर र एउटा बिरालो पनि छ । यादवले आफ्ना लागि भनेर नजिकै साग पनि रोपेका छन् । अन्य तरकारी पनि लगाएका छन् ।
यादव विहान ६ बजे उठ्छन् । दैनिक हनुमानको पूजा गर्छन् । चिया खाएर बिहानै उनी खेततिर लाग्छन् । बिहान उनको काम भनेको खजुरको बोटमा पानी दिने, गोडमेल गर्ने, काँटछाँट गर्ने हो । दिन बढ्दै गएपछि गर्मीले काम गर्न सकिँदैन । अनि उनी वासस्थानतिर लाग्छन् । ‘दिउँसो खाना पकाउँछु खान्छु, आराम गर्छु,’ उनले भने । बेलुका फेरि उनी खेततिरै लाग्छन् । साँझ भने उनी कुकुर–बिरालोसँग रमाउँछन् । कहिलेकाहीँ घर परिवार र साथीभाइसँग कुरा गरेर बिताउँछन् । ‘कुकुर, बिरालो र मोबाइल त साथी हुन् मेरा,’ उनी भन्छन् ।
उनलाई शेखले मासिक १० किलो चामल, एक लिटर तेल, एक केजी दाल पठाइदिन्छन् । अहिले भने मासिक १२०० रियाल तलब दिन्छन् । अन्य खर्चका लागि भनेर मासिक १०० रियाल थपिदिन्छन् । यादव बसेको स्थानबाट मुख्य सडकमा आइपुग्न साइकलमा नै दुई घन्टा लाग्छ । त्यसैले उनी दुई महिनामा एकपटक मात्रै बजारतिर पुग्छन् । उनको तलब शेखले उनी बसेको ठाउँमै पठाउँछन् । महिनामा एकपटक उनलाई शेखका कर्मचारी भेट्न आउँछन् । उनीहरूले तलब र रासन ल्याइदिन्छन् ।
घरमा पैसा पठाउन मात्रै उनी सहर पस्छन् । नत्र उनी खेतमै रमाउँछन् । तर, यादवले प्रत्येक शुक्रबार साथीहरूलाई बोलाउँछन् । शुक्रबार बिदाको दिन उनका आफन्त तथा साथीभाइ उनी भएकै ठाउँमा पुग्छन् । सबै मिलेर भजन गाउँछन् ।
कतार मुस्लिम मुलुक हो । त्यसैले कतारमा मन्दिर स्थापना गर्न सहज भने छैन । तर, यादवले भने आफू बसेको ठाउँमै मन्दिर बनाएका छन् । उनी सधैँ रामायण पढ्छन् । साथीहरू आउँदा उनीहरूले भजन गाउँछन् । जसका लागि उनले बाजागाजा पनि जुटाएका छन् । ‘शेखले मलाई साथीहरूलाई बोलाएर रमाइलो गर भन्छ । भजन गाउँदा पूजा गर्दा पनि केही भन्दैन,’ उनले भने ।
५३ वर्षीय यादवलाई नेपाल फर्कन खासै रुचि छैन । घरमा भने उनले पैसा पठाइरहन्छन् । ‘मलाई यही रमाइलो छ । यो मजरा, यो खजुर, मयूर छाडेर कहाँ जानु ?’ उनले भने । जीवनको दुई दशकभन्दा बढी समय कतारमा एक्लै बसिरहेका यादवलाई नेपालको खासै माया छैन । ‘नेपाल गएर अब मलाई कसले काम दिन्छ ? यहाँ त मलाई सबै सुविधा छ । नेपाल किन जाने ?’ उनले भने ।
०००
सिराहाकै ५५ वर्षीय सूर्यलाल साह पनि विगत २३ वर्षदेखि कतारमा छन् । साह सिराहामा हलुवा बनाउँथे । पहिला त व्यापार राम्रो थियो । पछि गाउँमा धेरै उधारो बिक्री हुन थाल्यो । उधारो पैसा उठाउन नसकेपछि उनले कतार जाने निधो गरे ।
०५७ सालमा एक लाख ५० हजार रुपैयाँ तिरेर उनी कतार गए । कतारमा घरको कामका लागि भनेर उनलाई लगिएको थियो । तर, काम भने खेतमा ढुंगा टिप्ने थियो । उनी पनि यादवले काम गर्ने शेखकै खेतबारी काम गर्छन् । शेखको घरमा धेरै मुलुकका आप्रवासी श्रमिक छन् । कम्पनीको काम हो भनेर सूर्यलाललाई कतार बोलाइएको थियो । तर, बोलाउनेले झुट बोलेका रहेछन् । ‘काम त खेतमा ढुंगा टिप्ने पो रहेछ, उनले सुनाए, ‘ऋण गरेर आएँ । काम नगरी फर्के ऋण कसरी तिर्ने भन्ने भयो ।’
सूर्यलाल खाना राम्रो बनाउँथे । त्यसैले एक वर्षपछि शेखले उनलाई आफ्नै भान्सामा खाना बनाउन राखे । सात वर्ष उनले शेखलाई खाना बनाएर खुवाए । त्यसपछि उनी शेखसँग सधैँका लागि बिदाबारी भएर नेपाल फर्के । उनी नेपाल नै बस्ने योजनामा थिए । तर, काम केही थिएन । फेरि उनले शेखलाई फोन गरे । शेखले आऊ भनेपछि उनी फेरि कतार नै पुगे ।
अहिले भने उनी शेखको खेतमा काम गर्छन् । उनीसँगै आठजना अरू मुलुकका कामदार पनि छन् । सूर्यलालले अरूलाई काम लगाउँछन् । उनीहरूले खेतमा घाँस लगाउने काम गर्छन् । ‘घाँसको बिउ ल्याउने, बिरुवा बनाउने काम गर्छौं । दिउँसो धेरै गर्मी हुन्छ । त्यसैले राति नै सबै काम सक्छौँ,’ उनले भने । शेखका थुप्रै ऊँट र भेडा छन् । तिनीहरूकै लागि उनीहरू गाँसको खेती गर्छन् ।
यादवजसरी सूर्यलालचाहिँ विदेशमै बसिरहन चाहँदैनन् । उनी बाँकी जीवन परिवारसँग बिताउन चाहन्छन् । उनले भने, ‘धेरै समय भयो बिदेसिएको, अब घर फर्कने ।’