
हाफ पाइन्ट लगाएर
ब्रिटिस लाहुरेको पेन्सन पकेटमा ढल्काउँदै
बुढा सुब्बाको सेरोफेरो डुली हिँड्ने
एक हुल तरुनी तन्नेरी बटुल्ने समय मात्र होइन म
न त म बाउको कमिसनको हिस्सा बोकेर
आधुनिक डिस्को धाउने
नालायक सन्तान जन्माउने समय मात्र हुँ ।
यो धर्तीलाई बेसरी लात बजारेर सोध
यो आकाशलाई हात हल्लाइहल्लाइ प्रश्न गर
पोखराको बजारमा
गाँजा खाएर बुलेट बाइक हुइँक्याउने
तालबाराहीमा टिकटक बनाएर रमाउने
बेकामको जमात हुर्काउने समय मात्र हुँदैहोइन म
आँगनीमा ओइलाइरहेको फूल साक्षी छ
सिउँदोमा सुकसुकाउँदो सिन्दुरसँग आँखा जुधाएर हेर
म त्यो आधा शताप्दी पुरानो बूढो समय हुँ
जो छेउमै बसेर हेरिरहेछ
वर्षौँदेखि गरिबी बेच्ने यो खोक्रो सहर
आत्मनिर्भरता गुमाइरहेको यो खेत–खलिहान
र दिनदिनै आफ्नो भाउ बिर्सिरहेका यी हाटबजारहरू ।
ओ प्यारो मान्छे !
म एउटा यस्तो युग हुँ
तिमी आँखा च्यातेर हेर
जो पूरा देखिएर पनि अपूरो छ
रंगीन देखिएर पनि अँध्यारो छ
उभिएको देखिए पनि ढलिरहेको छ
आधारविना एक तमास ठडिरहेको छ
रेमिटेन्समाथि उल्टो फर्किएर
उधोमुन्टो उभिएर
टाउकोले टेकेर हिडिँरहेको युग हुँ म
मलाई बुझ्ने कोसिस गर
ओ मेरो प्यारो मान्छे !
तिमीले भनेको यो समृद्धिमा
फैलिरहेको छ लासहरूको गन्ध
खाडीबाट भित्रिरहेका लासहरूको गन्ध ।