
११ अगस्त १९१४ अर्थात् भाग्सु धर्मशाला छाउनी छोडेको दिन । (पृ. ७) विजय हितानकृत उपन्यास ‘लाहुरेको रेलिमाई’भित्रको यो वाक्यले मलाई सुरुमै तान्यो । म रुख–बिरुवामा वनका लहरा फनफनी बेरिएझैँ बेरिएँ । यो उत्तरआधुनिक कुइनेटोमा जन्मेको मेरो भावना उडेर २०० वर्षअघिको इतिहासतिर फर्कियो । कहिले त भावनाको उल्टो दिशामा हिँड्न उत्पातै कुतूहल र रोमाञ्चक हुँदो रहेछ, प्रियसीको जाले रुमालको रुमानी याद साँचेर पल्टन हिँडेको लाहुरेजस्तै ।
१/१ गोर्खा राइफलमा भर्ती भएको मित्रसेनको पहिरनले उसैगरी तान्यो– जसले, मेरो भावनाको देउरालीमा प्राक्इतिहास, पुराण, महाभारत, गीता, र आधुनिक इतिहासका कलेवरहरू एकैपटक टल्किए । टाउकोमा मकै भुट्ने हाँडीजस्तो हेल्मेट, बलिष्ठ ज्यानमा खाकीको कमिज, खैरो जाँगे, जाँगेलाई खैरो पेटीले अड्काएको, पेटीमा धारिलो खुकुरी झुन्डिएको, खुट्टामा बुटपट्टी कसेको ! (पृ. ७) म के वर्णन गरूँ ? पठनको थालनीमै आँखामा एउटा प्राचीन थेटरको झल्को आयो ।काठमाडौंको व्यस्त जीवनको झाडीभित्र पनि मलाई ‘लाहुरेको रेलिमाई’ले पछ्याइरह्यो, मित्रसेन, पहिलो विश्वयुद्ध र लाहुरेका कथा भनिरह्यो । कहिले दुई–चार पृष्ठ त कहिले रात ह्वांगै हुँदासम्म म ‘लाहुरेको रेलिमाई’ भित्र मित्रसेनसँगै पानीजहाजमा युद्ध–मैदानतिर हिँडिरहेँ ।
भाग्सु धर्मशालादेखि पठानकोट, धौलाधर हिमशृंखला हेर्दै, कालापानी तरेर बम्बै जाने रेल चढेको मित्रसेनको यात्राले म नोस्टाल्जियामा हराउँदै गएँ– मोहनी हरक मिसिएर बग्ने हावा पिएका पाखा–पखेराका बलिया पाखुराहरू त्यसरी नै गोरखपुर भर्ती हिँडेका थिए होलान् । रातभरि रोदीमा जोर मादलको तालमा रेलिमाई झ्याउरे गाएका ठिटाहरूको अनुहार बिहान मलिन हुन्थ्यो । तिनीहरू भालेको डाँकोसँगै दुई–चार फाँक सोल्टिनीको कसिलो माया रुमालमा भरेर पल्टन फर्किन्थे होलान् । बैना रुमाल नपाउनेले भन्थे होलान्– मै साँची राखुँला, मायालु देऊ रुमाल फूल भरेको ...।
त्यही र त्यस्तै भाका गुनगुनाउँदै धौलागिरि हिमाललाई कोल्टे पारेर, कालीगण्डकीको सुसाइमा पिरती सुसेल्दै हिँड्थे होलान् । यसरी नै गण्डकी पानीढलोबाट बगेर जाने लाहुरेहरू बटौली हुँदै नौतुना तर्थे र गोरखपुर कुनाघाटको डिपोमा मिसिन पुग्थे होलान् । त्यहाँ पुगेर ब्रिटिस भारतीय छाउनीका लागि ज्यान नै बन्धकी राख्थे होलान् ।
साँच्चै, मित्रसेनको कहानीले कति ठाउँमा त अरेली काँडाले जस्तै हृदय चिथोरेर छियाछिया बनाउँछ
मित्रसेन भाग्सु धर्मशालामा जन्मेर ब्रिटिस फौजमा भर्ती भए पनि उनले सिंगै पितृभूमि बोकेर हिँडेका छन् । धौलाधर हिमाललाई धौलागिरि र माछापुच्छ्रे कल्पेका छन् । कालंगा र चक्की नदीलाई कालीगण्डकी र मस्र्याङ्दीसँग मित लाइदिएका छन् । जसमा, कृतिकारले केही आफ्नै मीमांशाको चटनी पनि मिसाएका छन् ।
‘लाहुरेको रेलिमाई’मा युद्धकथा मात्रै छैन, प्रेम–विरह छ । धर्म–संस्कृति, संस्कार र सभ्यता पनि छ । अझ भनौँ, गीत–संगीतका मखमली भाका छन् । त्योभन्दा पनि पर पितृभूमिप्रतिको अघ्घोरै प्रेम छ । यो संस्कार र सभ्यता परभूमिमा कसरी अक्षुण्ण राख्ने भन्ने ठूलो पिरलो छ । यो बेलायती लाहुरे जीवनको ऐतिहासिक अमेट चित्र हो ।
पहिलो विश्वयुद्ध लड्न समुद्रको क्षितिजमा तैरिँदै बेल्जियमको फ्लान्डर्स तथा मेसोपोटामियातिर हिँडेको दृश्यले कता–कता अर्नेस्ट होमिङ्वेको उपन्यास ‘बूढो माझी र समुद्र’को झझल्को पनि दिलाउँछ । समग्रमा मित्रसेनले भाग्सुको आफ्नै निवासमा जीवनको अन्तिम आरती गाउँदासम्म युद्ध, संस्कार–सभ्यता, प्रेम, कुरीतिजस्ता अनेक मार्मिक कहानी भन्छन् । जसले कहीँ उत्तेजित बनाउँछ, कहीँ आफूसँगै बम, गोली र ग्रिनेट बर्साउँछ । आफ्नी सहयात्रीप्रतिको प्रेम उर्लिएर आउँछ । उता, नेपाली गोर्खाहरूले सोल्टिनीको पिरती साँचिराखेको कथा भनिरहन्छन् ।
युद्धमा पुकुपुकु सहयोद्धाहरू ढल्दै गएपछि वियोगमा अनायासै मेरा पनि आँखा भरिन्छन् । त्यो विरानो भूमिमा अनाहकमा गोर्खालीहरूलाई ज्यानको आहुति दिन बाध्य पार्ने ब्रिटिस गोराप्रति मित्रसेन मुर्मुरिन्छन् । कृतिको सुरुदेखि अन्त्यसम्म गोर्खाली सेनाको स्वतन्त्र बाँच्ने अधिकार खोसेर जबर्जस्ती युद्धमा होमेको अन्यायपूर्ण गाथा रोकिँदैन । साच्चै, मित्रसेनको कहानीले कति ठाउँमा त अरेली काँडाले जस्तै हृदय चिथोरेर छियाछिया बनाउँछ ।
‘लाहुरेको रेलिमाई’लाई युद्ध–कर्खा भन्दा अत्युक्ति हुँदैन । यसमा युद्धका घटना, परिघटना मात्रै छैन । ८०–१०० वर्षअगाडि नेपाली गाउँगाउँ डुलेर गन्धर्वहरूले गाउने लडाइँ, सामाजिक घटना र हर्कबढाइँका कर्खाको लयात्मक भाव पनि छ । त्यसमा सुर, ताल, भाव, आँसु–हाँसो र विरहका गाथा छन् । ‘लाहुरेको रेलिमाई’, झलकमान गन्धर्वले गाएको आमैले सोध्लिन् नि, खै छोरो भन्लिन् ... बोलको युद्ध–कर्खाजस्तै मार्मिक छ । त्यहाँ कलमले तथ्यको सारंगी रेटेको छ । भावना उम्लेर अक्षर खसेका छन् । अक्षरहरू विह्वल भएर विलापको धुन निकालेका छन् ।
भाग्सुदेखि जल र थलको यात्रा गर्दै स्वेज नहर तरेर चार महिनामा चार हजार माइलभन्दा लामो दूरी तय गरेर सैनिकहरू फ्रान्सको गिभान्ची पुग्छन् । १४ डिसेम्बर १९१४ को बिहान १० बजेबाट हमला सुरु हुन्छ । युद्ध लडिरहँदा मित्रसेनमा चरम निराशा उत्पन्न हुन्छ । मरेको, मारेको, मर्न प्रेरित गरेको, सीमा कब्जा तथा विस्तारवादको आधिपत्य जमाउनेप्रति आक्रोश पोखिन्छ ।
निकै मिहिन ढंगले विस्तारवादी गोरा र सरल गोर्खाहरूको तुलना गरिएको छ । गोराहरूमा साम्राज्यवाद विस्तार गर्ने र हैकम जमाउनेजस्ता प्रवृत्ति हाबी भएको देखिन्छ । यता, गोर्खाली सैनिकले कर्तव्य पालना गर्ने, अरूको सम्पत्ति लिनै परे पनि अरूलाई खुसी पारेर लिन चाहने प्रवृत्तिको चित्रण गरिएको छ ।
अर्कोतिर, युद्धमैदानको हृदयविदारक कहानी छ । बम, गोली र बारुदले कति सैनिक सहिद बन्न पुग्छन् । डिसेम्बरको चिसो ठिहीमा लासहरू फ्रिजमा राखेजस्तो हिउँको ढुंगा बन्न पुग्छन् । बाँचेका सहयोद्धाले तिनलाई धमाधम खाल्डो खनेर दर्जनौँ लास पुर्छन् । पढ्दै जाँदा युद्धका यस्ता बीभत्स दृश्यले शरीर थरहरी काम्छ । मुटु फुटेर बाहिर निस्केलाजस्तो हुन्छ । सँगैका सहयोद्धा मारिइरहँदा जिउँदाहरूमा मृतकप्रति प्रेमभाव बढ्दै जाने होला । शत्रुसँग बदला लिनकै लागि लाहुरेलाई जीवनप्रति बेपर्वाह बनाउँदो हो र त मृत्युतिर धकेलिरहने होला ।
नेपाली समाजमा लाहुरेको चित्र कति सुकिलो देखिन्छ, उसको फुर्तीफार्ती, धन–पैसा, रवाफ, र इज्जत । सामाजिक परम्पराको फलैंचामा उसको स्थान कता हो कता माथिल्लो तहमा हुन्छ । तिनै लाहुरेहरूको युद्ध मैदानको वास्तविक जीवनलीला कस्तो हुन्छ ? धेरैले कल्पना गरेका हुँदैनन् । सँगैको साथी लड्दा–लड्दै मर्यो भने राम्रो दाहसंस्कार पाउँदैन । खोला, खोल्सा, भिर, पहरामा बाघ–भालुकै लागि छोडेर रुँदै हिँड्नुपर्ने, कस्तो विडम्बना !
कति अपत्यारिलो लाहुरेको जीवन, कस्तो विचित्र परिघटना, बाँचेकै छ भन्ने व्यक्ति मरेको हुन सक्ने । मर्यो भनेर दाहसंस्कार गरेको फर्केर आउने । यस्ता घटनाले भयाक्रान्त परिस्थिति सिर्जना गरेको छ– मर्यो भनेर दाहसंस्कार गरेको नम्बरी नरसिंह जर्मनीको युद्धबन्दीबाट छुटेर आएपछि । यति हुँदा पनि युद्धभूमिप्रति लाहुरेहरूको कत्रो आकर्षण ! सायद, त्यही ठाउँलाई रगत र पसिनाको बलि चढाएकाले होला !
यो कृतिले युद्धजन्य अभिघातक कहानी कहेको छ, त्यसका भोक्ता हुन् लाहुरेहरू । सम्झिँदा पनि मन ज्वालामुखी भएर आउँछ । मर्नेहरू त मरेर जान्छन् । बाँच्नेहरूको कथा संसारका कमै कृतिहरूमा लेखियो होला । वास्तवमा लाहुरेहरू सयौँपटक मरेर बाँचेका हुँदा रहेछन् । त्यही युद्धले खाएको, चिथोरेको र कोपरेको शरीर फर्काएर ल्याउँछन्, बाआमा, छोराछोरी, प्रियसी र सोल्टिनीहरूका नाममा । यो नदेखिने वियोगको कथा गाउँगाउँमा एउटा अलग्गै उत्सव बनेर भित्रिन्छ, कस्तो अचम्म र उदेक ! लेख्न छुटेका गोर्खाहरूका मुटु चिरिने कति कथाहरू अझै पनि ट्रिगिस र युफ्रेटस नदी किनारमा, मार्से र गिभान्चीमा, बेलायत, फ्रान्स र बेल्जियमका सीमाहरूमा अर्धचेत अवस्थामै होलान् ।
समग्रमा, नेपाली साहित्यमा लेखनकला र विषयवस्तुका हिसाबले एक पृथक् कृति आइपुगेको छ । लेखक स्वयं लाहुरे हुन् र सम्बन्धित विषयवस्तुमा लामो अध्ययन तथा भ्रमणपश्चात् उनले यो उपन्यास लेखेको बुझिन्छ । यसर्थ यसभित्रका कथा पटकथा वास्तविक लाग्छन् र पाठकका लागि यो पुस्तक अति नै रुचिकर हुनेछ भन्ने मैले विश्वास लिएको छु ।