
धार्मिक र पर्यटकीय सहरको रूपमा लिइन्छ काभ्रेको पनौती बजारलाई । नेवार समुदायको बाहुल्य रहेको सहर हो पनौती । पहिले–पहिले पनौतीमा विभिन्न जात्रा र नेवारी परिकारहरू पाइन्थ्यो । तर, अहिले पनौतीमा नेवारी खाना लोप हुने अवस्थामा छ । नेवारी खाजा र खाना खानको लागि चाडपर्व नै कुर्नुपर्ने हुन्छ । अहिले लोप हुन लागेको नेवारी परिकारलाई संरक्षण र प्रवद्र्धन गर्न पनौती पर्यटन विकास केन्द्र र महिला समूहको सक्रियतामा नेवारी परिकारसहित ‘पाहां छें’ अर्थात् पाहुनाघर खोलेका छन् । काठमाडौंबाट करिब ४० किलोमिटर पूर्वदक्षिणमा रहेको पनौतीमा महिलाहरूको सामूहिक प्रयासमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘पाहां छें’ खुलेको हो ।
नेपाल भाषामा पाहां भनेको पाहुना र छें भनेको घर हो । पाहुना अर्थात् आन्तरिक पर्यटकलाई नेवारी परिकार चखाउनका लागि पाहां छें खोलेका हुन् । रैथाने नेवारी परिकारको स्वाद लिन पाउने गरी पाहां छें(पाहुनाघर) सञ्चालनमा आएको छ । विभिन्न पेसा व्यवसायमा आबद्ध यहाँका महिलाहरू मिलेर सामूहिक रूपमा पाहां छ सञ्चालनमा ल्याएका हुन् । लोप हुँदै गएको नेवारी परिकार तखला(मासु र हड्डी गालेर पकाएको थलथली), योमरी र सांगाख्वा यहाँका विशेष परिकार हुन् ।
बजारमा नेवारी परिकार पाउन छाडेपछि त्यो परिकारलाई लोप हुन नदिन पाहुनाघर सञ्चालन गरेको सञ्चालक सुनिता श्रेष्ठले बताइन् । बिहान बेलुकाको काम सकेपछि फुर्सदमा रहेका कारण आफूहरूले आम्दानीको नयाँ आधार खोज्ने क्रममा पाहां छें सञ्चालन गरेको उनको भनाइ छ । नेवारी परिकार बारा, योमरी, चटामरीलगायत सबै प्रकारका खाजाको परिकार एकै ठाउँमा पाउने गरी खाजाघर सञ्चालनमा ल्याएको उनले बताइन् ।
नेपाल भाषामा पाहां भनेको पाहुना र छें भनेको घर हो । आन्तरिक तथा बाह्य पर्यटकलाई नेवारी परिकार चखाउनका लागि पाहां छें (पाहुनाघर) सञ्चालन गरेका हुन् । पाहुनाघरमा रैथाने नेवारी परिकारको स्वाद लिन पाउने सञ्चालकहरूले बताएका छन् ।
नेवार समुदायले कुनै चाडपर्व वा भोजमा पाहुनाहरूलाई समयबजी खुवाउने गर्छन् । यसमा चिउरा, छोयला, आलु, अचार, भटमास, बारा, साग, अदुवा, बोडीका साथै अन्य परिकारहरू टपरीमा राखेर दिन्छन् । पछिल्लो समय माछाको सिद्रा र हड्डी गलाएर बनाएको परिकार पनि हराउँदै गएको छ । अन्डा, बारा, माछा, भुटन, ह्नपु, तिस्य, छोइला, ऐलालगायतको परिकार पनि नेवारी संस्कृति झल्किने परिकार हुन् । पछिल्लो समय यस्ता परिकार भोजबाट हराउन थालेको छ । हराउँदै गएका खानाका परिकारहरूलाई पुनर्जीवित गर्न पनि पाहां छें सुरु गरिएको श्रेष्ठ बताउँछिन् ।
पनौती नगरपालिका वडा नम्बर ६ स्थित तरकारी बजारमा खुलेको पाहां छें चारजना उद्यमी महिलाहरू (सुनिता श्रेष्ठ, रीता कर्माचार्य, अमृता श्रेष्ठ र रमा कर्माचार्य) मिलेर सञ्चालनमा ल्याएका हुन् । करिब पाँच लाख लगानी गरी पाहां छें सञ्चालनमा ल्याएको उनीहरूको भनाइ छ ।
लोप हुन लागेको नेवारी परिकार प्रवद्र्धनका लागि पर्यटन विकास केन्द्र पनौतीले सहयोग गरेको छ । लोप हुन लागेको रैथाने परिकारलाई संरक्षण गर्नका लागि पाहां छेंलाई पर्यटन विकास केन्द्रले सहयोग गरेको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले बताए । आन्तरिक तथा वाह्य पर्यटक पनौतीमा आउँदा कहाँ के खाने भनेर भौँतारिनु नपरोस् भनेर पाहां छें सञ्चालनमा ल्याएको उनको भनाइ छ । नेवारी परिकारका पारखीहरू आएमा कुनै पनि नेवारी परिकार तयार हुने उनको भनाइ छ ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले नेवारी परिकारलाई प्रोत्साहन गर्न नगरपालिकाको तर्फबाट सहयोग रहने बताए । नगरभित्र सञ्चालन हुने उद्योग व्यवसायमा पनि आफ्नो मौलिक व्यवसायलाई स्थापित गर्नेलाई नगरपालिकाले सकेको सहयोग गर्ने नीति रहेको उनको भनाइ छ । यसअघि पनि पनौती नगरपालिका वडा नम्बर ७ पुरानो बजारमा महिलाहरूको सामूहिक लगानीमै पन्ति कौला छें सञ्चालनमा आएको छ ।