• वि.सं २०८२ बैशाख २७ शुक्रबार
  • Friday, 09 May, 2025
मञ्जु टेलर
२०८० मङ्सिर १६ शनिबार ०८:११:००
समाज

जाँगर, हौसला र दायित्व पनि थपिएको छ

...तर मेरो सपना र उद्देश्यमा यसले फरक नै पार्छ भन्ने लाग्दैन

२०८० मङ्सिर १६ शनिबार ०८:११:००
मञ्जु टेलर

सन् २०२३ का लागि नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकमा काम गरिरहेकी रुक्साना कपालीलाई बिबिसीले ‘हाउजिङ क्याम्पेनर’अन्तर्गत १०० प्रभावशाली महिलाको सूचीमा राखेको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकहितमा निरन्तर डटिरहेकी कपालीसँग मञ्जु टेलरले गरेको संवाद :

 

नेपालबाट ट्रान्सजेन्डर महिलाको रूपमा तपाईं पहिलोपटक प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा पर्नुभएको छ । यसले तपाईंको अभियानमा कस्तो प्रभाव पार्छ ? 
बिबिसीको प्रभावशाली महिलाको सूचीमा पर्नु मेरो लागि ठूलो उपलब्धि हो । योसँगै काम गर्ने जाँगर, हौसला र दायित्व पनि थपिएको छ । अझै बलियो रूपमा क्याम्पेनिङ गर्न सजिलो हुन्छ भन्ने आशा छ । बिबिसीले दिएको पहिचानले मप्रतिको धारणामा परिवर्तन आइरहेको छ ।

धेरैजनाले मलाई सकारात्मक टिप्पणी गरिरहेको देखेको छु । मिडियादेखि आममानिसलाई एकखालको चासो बढाएको छ, जसलाई टेकेर मैले आफ्नो काम अगाडि बढाउन सकुँ भन्ने लागिरहेको छ । यसबाहेक मैलै एलजिबिटिआई समुदायको हक र खासगरी आवासको हकको विषयमा गरिरहेको काम गर्न सजिलो बनाइदिएको छ । जुन काम मैले एक वर्षदेखि निरन्तर गरिरहेको थिएँ, मलाई हाउजिङ क्याम्पेनरको रूपमा चिनाइएपछि नेपाली मिडियाले समेत चासो दिएका छन्, जसमार्फत मलाई काम गर्ने वातावरण झन् सजिलो हुँदै जान्छ भन्ने अनुभूति भइरहेको छ । यो पहिचानले मलाई मोटिभेट गरेको छ । काममा थप ऊर्जा थपेको छ । तर, मेरो सपना र उद्देश्यमा यसले फरक नै पार्छ भन्ने लाग्दैन ।

बिबिसीले दिएको पहिचानले मप्रतिको धारणामा परिवर्तन आइरहेको छ । धेरैजनाले मलाई सकारात्मक टिप्पणी गरिरहेको देखेको छु । मिडियादेखि आममानिसमा एकखालको चासो बढाएको छ, जसलाई टेकेर मैले आफ्नो काम अगाडि बढाउन सकूँ भन्ने लागिरहेको छ ।


तपाईं यो क्षणलाई सफलता मान्नुहुन्छ कि चुनौती ? 
सफलतासँगै चुनौती थपिएको रूपमा म यसलाई लिन्छु । नेपालमा मात्र नभई अन्र्तराष्ट्रियस्तरमा मेरो कामको माध्यमबाट चिनिएसँगै दायित्व बढेका छन्, जसले अझै यसलाई निरन्तरता दिने र थप बलियो कसरी बनाउने भन्ने विषयमा सोच्न बाध्य बनाएको छ । 


पारलैंगिक महिलासहित यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको मुद्दामा तपाईंको सक्रियता अब कस्तो हुन्छ ?
अहिले म यही विषयमा धेरै व्यस्त छु । यो सफलतासँगै यौनिक अल्पसंख्यक समुदायले मप्रति सहयोगको अपेक्षा बढाएको महसुस गरेकी छु । पछिल्लो समय समस्या लिएर आउने र समाधानका लागि के–के गर्न सकिन्छ वा कसरी अन्य व्यक्तिलाई सहयोग गर्न सकिन्छ भनेर छलफल गर्ने आउने संख्यासमेत बढ्दै गइरहेको छ । समग्रमा भन्नुपर्दा, रुक्सानाले गरिरहेको काम के हो भन्ने परिचय आममानिसले थाहा पाउने माध्यम बिबिसीले बनाइदिएको छ । 


सानै उमेरमा आफ्नो नाम र पहिचानका लागि संघर्ष गर्दै शिक्षा मन्त्रालयदेखि, संसद्, अदालत, आयोगसम्म धाइसक्नुभएको छ । नेपालको तर्फबाट बिबिसीको प्रभावशाली वर्षव्यक्तिका रूपमा चिनिँदै गर्दा तपाईंले सानै उमेरमा गर्नुभएको संघर्षका दिनहरूलाई कसरी सम्झिनु हुन्छ ?
१३–१४ वर्षदेखि नै आफू फरक लैंगिकता लिएर हुर्किरहेको छु भन्ने महसुस हुन थालेदेखि नै समाजबाट विभेद खेपेको छु । आफ्नो लैंगिक पहिचानसहित स्वतन्त्र बाँच्न पाउनुपर्छ भन्ने आधारभूत सिकाइबाट नै मेरो संघर्ष सुरु भयो । लैंगिक पहिचानकै लागि लड्दा मलाई शिक्षा मन्त्रालयदेखि, संसद्, अदालत, आयोगसम्म पुर्‍याएको हो, जुन संघर्ष अहिलेसम्म चलिरहेकै छ । यो समयमा मेरो व्यक्तिगत जीवनमा धेरै परिवर्तन आइसकेका छन् । तर, मेरो संघर्षको कारणले लैंगिकताको विषयमा जुन ‘स्टेरियोटाइप्स’ थिए, ती पनि बिस्तारै परिवर्तन भइरहेका छन् । पछिल्लो समय फरक लैंगिकताकै आधारमा परिवार र समाजबाट हुने विभेद आफ्नै आँखाअगाडि कम हुँदै आइरहेको देखेकी छु । जसले गर्दा समाजमा खुल्ने आत्मविश्वास बढाइरहेको छ । जुन हाम्रो उपलब्धि हो । संघर्ष अझै बाँकी छ, तर पहिचानले सजिलो बनाउँदै लगेको छ ।