
नेपालमै पहिलो दलित क्वियर ललितकला प्रदर्शनी राजधानीमा सुरु भएको छ । ‘जात व्यवस्था र यौनिकता : कलामार्फत प्रतिरोध’ नाम दिइएको प्रदर्शनी मंसिर १४ गतेदेखि २० गतेसम्म जारी रहने आयोजक संस्थाहरू (सामरी उत्थान सेवा, किओस फाउन्डेसन र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान) ले जनाएका छन् ।
बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म प्रदर्शनीको समय तोकिएको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कला प्रदर्शनीको उद्घाटन गरेका थिए । प्रतिष्ठानको अरनिको ग्यालरीमा प्रदर्शन एक सातासम्म जारी रहनेछ । आयोजक संस्थामध्ये एक सामरी उत्थान सेवाकी अध्यक्ष विमला गायकले यो प्रदर्शनीबाट नयाँ इतिहासको सुरुवात भएको बताइन् ।
उनले भनिन्, ‘आन्दोलनभित्र छुटेको दलित लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूको सवाललाई चित्रकलामार्फत पहिलोपटक प्रस्तुत गरिएको हो । यो आफैँमा नयाँ इतिहासको सुरुवात हो । यो आन्दोलनको सम्पत्ति पनि हो ।’ यो आन्दोलनको गौरव पनि भएकाले यसलाई स्थानीय तहसम्म लैजाने उनले बताइन् ।
दलित क्वियर, नेपालकी संयोजक नतासा परियार उत्पीडनलाई सम्बोधन गर्न यो प्रदर्शनी आयोजना गरिएको बताउँछिन् । भन्छिन्, ‘दलित र यौनिक अल्पसंख्यक समुदायले भोगेका उत्पीडनलाई सम्बोधन गर्न यो प्रदर्शनीले थप मद्दत पुर्याउने अपेक्षा गरेका छौँ ।’ दलित क्वियर अभियन्ता सुलोचना पञ्चकोटी कला प्रर्दशनीको उद्देश्य गौरवपूर्ण इतिहासको खोजी गर्नु पनि रहेको बताउँछिन् ।
उनी भन्छिन्, ‘यो कला प्रदर्शनीको मुख्य औचित्य लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको आन्दोलनभित्र जातका आधारमा दलितहरूले भोगेका समस्याहरूको उजागर मात्र होइन, उनीहरूको पहिचान, सहभागिता र गौरवपूर्ण इतिहासको खोजी गर्नु हो ।’ प्रदर्शनीमा ३७ कलाकारका चित्रकला राखिएका छन् ।