
सन् १९९८ मा १६ राष्ट्रका प्रतिनिधिको सहभागितामा विश्व बौद्ध सम्मेलन लुम्बिनीमा सम्पन्न भएको थियो । सो सम्मेलनबाटै विश्वविद्यालय स्थापना गरिएको थियो । शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको भूमिमा आध्यात्मिक वातावरणमा बसेर उच्च तहको बौद्ध शिक्षा अध्ययन हुनुपर्छ भन्दै उच्च तहको बौद्ध विश्वविद्यालय आवश्यक छ भन्ने निष्कर्ष सम्मेलनको थियो ।
तर, स्थापनाको झन्डै एक दशकसम्म यो विश्वविद्यालय गुमनामजस्तै रह्यो । ०६१ सालमा स्थापना भएको बौद्ध विश्वविद्यालयको ०६७ सालबाट मात्रै शैक्षिक कार्यक्रम सुरु भएको थियो । सुरुमा पिएचडीको कार्यक्रम सुरु भएको थियो ।
लुम्बिनीमा बौद्ध विश्वविद्यालय स्थापना गर्ने भनियो, तर यसको केन्द्रीय कार्यालय काठमाडौंमा राखियो । लुम्बिनीमा सम्पर्क कार्यालयका रूपमा एउटा भवनमा सीमित गरियो । साढे दुई बिघा जग्गा छुट्याइयो । अन्य कामले गति लिन सकेन । विश्वविद्यालय नाम मात्रैको रह्यो । एक दशकसम्म काठमाडौंमा रहेको केन्द्रीय कार्यालय लुम्बिनीमा ०७३ मा मात्रै सारियो । ०७० बाट स्नातकोत्तर तहको अध्ययनसहित लुम्बिनीमा शैक्षिक कार्यक्रम सुरु भएको थियो । ०७० यताका वर्षमा विश्वविद्यालयको गति बढ्दै गएको छ ।
अहिले कस्तो छ विश्वविद्यालय ?
अहिले तीनवटा संकाय सञ्चालनमा छन् । बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय र स्कुल अफ डेभलपमेन्ट एन्ड एप्लाइड साइन्स । दुईवटा आंगिक क्याम्पस छन् । केन्द्रीय क्याम्पसमा चालू शैक्षिक कार्यक्रममा स्नातकोत्तर तहमा बौद्ध अध्ययन, अक्र्यालोजी र म्युजोलोजी सञ्चालनमा छन् । त्यस्तै स्नातक तहमा भोट बौद्ध अध्ययन, ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट र बिए आरडीको अध्ययन हुँदै आएको छ ।
बौद्ध विश्वविद्यालयको बुटवलमा सिटी क्याम्पस सञ्चालनमा आएको छ । यहाँ बिए, एलएलबी र ट्राभल एन्ड टुरिजम शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । बुद्धसँग सम्बन्धित देव दहमा स्कुल अफ डेभलपमेन्ट एन्ड एप्लाइड साइन्सअन्तर्गत स्नातकोत्तर तहमा डेभलपमेन्ट स्डडिज र एग्रोफोरेस्ट्री कार्यक्रम सञ्चालनमा रहेको छ ।
विश्वविद्यालयले आठ कलेजमा सम्बन्धन दिएको छ । तीनवटा सहकार्यमा सञ्चालित क्याम्पस रहेका छन् भने हाल करिब एक हजार ५०० विद्यार्थी अध्ययनरत छन् । यीमध्ये ३२ जना विदेशी विद्यार्थी (चीन, श्रीलंका, बर्माका विद्यार्थी) छन् । यस विश्वविद्यालयबाट ३५ जनाले बौद्ध दर्शनमा पिएचडी (विद्यावारिधि) गरिसकेका छन् ।
विश्वविद्यालयले आठ कलेजलाई सम्बन्धन दिएको छ । तीनवटा सहकार्यमा सञ्चालित क्याम्पस रहेका छन् भने हाल करिब एक हजार ५०० विद्यार्थी अध्ययनरत छन् । यीमध्ये चीन, श्रीलंका, बर्मासहितका ३२ जना विदेशी विद्यार्थी छन् । यस विश्वविद्यालयबाट ३५ जनाले बौद्ध दर्शनमा पिएचडी गरिसकेका छन् ।
विश्वविद्यालयका रजिस्ट्रार डा. तिलक आचार्यका अनुसार बौद्ध विश्वविद्यालयमा बौद्ध अध्ययन संकायअन्तर्गत विद्यावारिधि कार्यक्रम चालू रहेको छ भने शैक्षिक कार्यक्रमबाहेक अनुसन्धान केन्द्रबाट अनुसन्धानका कार्यक्रम भइरहेको छ । सबै कार्यक्रम सेमेस्टर प्रणालीमा सञ्चालित छन् ।
साढे २ बिघा जमिनमा सुरु भएको विश्वविद्यालयको अहिले ११३ बिघा जमिन छ । विश्वविद्यालयका सूचना अधिकारी चुरामणि पोखरेलका अनुसार विश्वविद्यालय स्थापना गर्दा करिब साढे दुई बिघा जमिन थियो । तर, अहिले लुम्बिनीसहित विभिन्न स्थानमा विश्वविद्यालयको ११३ बिघा जमिन रहेको छ । विश्वविद्यालयको देवदहमा ९२ बिघा जमिन रहेको छ । बुटवल–१२, नयाँगाउँमा करिब ६ बिघा जमिन र लुम्बिनीमा करिब १५ बिघा जमिन रहेको छ ।
भर्खरै केन्द्रीय क्याम्पस, सिटी क्याम्पस, केन्द्रीय कार्यालय, केन्द्रीय पुस्तकालय, पदाधिकारी आवास, शिक्षक आवास, छात्रछात्रावास निर्माणका काम सम्पन्न भएका छन् । पदाधिकारीका लागि आवास गृहदेखि १६ जनाका लागि शिक्षक आवास भवन बनेको छ भने करिब सयजना विद्यार्थीका लागि छात्रावास बनेका छन् । त्यस्तै विश्वविद्यालयलाई अझ व्यवस्थित गर्ने क्रममा अनुसन्धान केन्द्र लुम्बिनी र देवदहमा प्रशासनिक भवन निर्माण कार्य जारी रहेको छ ।
विश्वविद्यालयमा ६ जना मात्रै स्थायी शिक्षक छन् । शैक्षिक कार्यक्रम सञ्चालनका लागि १९ जना करारका शिक्षक रहेका छन् । विश्वविद्यालयले गति बढाउँकदै लगे पनि यहाँ पर्याप्त शैक्षिक जनशक्ति व्यवस्थापन हुन सकेको छैन । सरकारबाट दरबन्दी व्यवस्थापन हुन नसकेको र सीमित आर्थिक स्रोत–साधनबाट भए पनि गति बढाउँदै लगिएको विश्वविद्यालयका पदाधिकारी बताउँछन् । दरबन्दी व्यवस्थापनका लागि विश्वविद्यालय अनुदान आयोगमा, मन्त्रालयमा प्रस्ताव पेस गरिएको र विश्वविद्यालय सभाले २१९ जनाको दरबन्दी स्वीकृत गरेको छ ।
बौद्ध दर्शनको थलो बनाउन लागिपरेका छौँ
रजिस्ट्रार डा. तिलकराम आचार्य
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बौद्ध धर्म दर्शनको अन्तर्राष्ट्रिय प्राज्ञिक थलोका रूपमा विकास गर्न लागिपरेका छौँ । स्थापनाको पहिलो दशकमा गति लिन नसके पनि पछिल्लो समयमा निकै महत्वपूर्ण काम भएका छन् । अहिले तीनवटा संकाय बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय र स्कुल अफ डेभलपमेन्ट एन्ड एप्लाइड साइन्स सञ्चालनमा छन् ।
संसारभरका बौद्ध दर्शनमा ज्ञान राख्न चाहनेका लागि विश्वविद्यालय राम्रो अध्ययनको केन्द्र बनिरहेको छ । नेपालका सातवटै प्रदेशमा रिसर्च सेन्टरहरूको स्थापनाका लागि अध्ययनका काम भइरहेका छन् । शैक्षिक कार्यक्रमबाहेक अनुसन्धान केन्द्रबाट अनुसन्धानका कार्यक्रम भइरहेका छन् । अनुसन्धान केन्द्रले बौद्ध दर्शनका पुराना ग्रन्थहरूको अनुवाद गरिरहेका छन् । पाली संस्कृतिमा रहेका बुद्धिजमसँग सम्बन्धित महत्ववपूर्ण ग्रन्थहरूको नेपालीकरण गरिएको छ । लगभग एक दर्जन तयार भएका छन् भने तीमध्ये केही प्रकाशितसमेत भएका छन् ।
विदेशी विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गइरहेको यस विश्वविद्यालयलाई अझ व्यवस्थित गर्न विभिन्न योजना अगाडि सारेका छौँ । अहिले आवश्यक स्रोतको व्यवस्थापन गर्न सकिए विदेशी विद्यार्थी थप आकर्षित हुनेछन् । अहिले विश्वविद्यालयले श्रीलंका, म्यानमार, भारत, चीन, अमेरिकासहितका विभिन्न देशबाट विज्ञहरू ल्याएर अध्ययनका काम अगाडि बढाउँदै आएको छ ।