• वि.सं २०८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
मनोज बोगटी
२०८० मङ्सिर २३ शनिबार ०६:३३:००
साहित्य

एक नन्फिक्सनल कविताको ‘भिड’ सौन्दर्य

मौका मिले भुइँमान्छेलाई नै हेपुवा शासक कसले बनाउँछ ? कसले बनाउँछ भुइँमान्छेलाई खतरनाक शासकको प्रतिबिम्ब ? भुइँमान्छे आफैँ बन्छ ? कि भुइँमान्छेलाई खतरनाक बनाइन्छ ?

२०८० मङ्सिर २३ शनिबार ०६:३३:००
मनोज बोगटी

 

८० को दशकको भिडमा छुट्टै राज्य गोर्खाल्यान्डको भाष्यले आवेग भर्‍यो । सबका सब जातिप्रेमी, माटोप्रेमी, मुद्दाप्रेमीका लागि त्यो उन्मादी भिड पहिलो अनुभव थियो । संवेदनशील क्षेत्रको उन्मादी लहरले के–के बनाउँछ, के–के बिगार्छ, न नेतृत्वलाई थाहा थियो, न केन्द्र, न राज्यलाई । यसैले दार्जिलिङे उन्मादले केन्द्र र राज्य दुवैको ध्यान तान्यो । तानिएको ‘ध्यान’–सित ‘डिल’ गर्न सुवास घिसिङसित कुन रणनीति थियो ?‘दार्जिलिङ गोर्खा पार्वत्य परिषद्’को सम्झौताले स्पष्ट भनिदिन्छ– सुवास घिसिङसित रणनीति नै थिएन । यता घिसिङको राजनीति कठघरामा पर्‍यो, उता भिडनीतिमा पर्‍यो कुठराघात ।


राज्य र केन्द्रले जित्यो, गोर्खाल्यान्डको भाष्यले निर्माण गरेको भिड हार्‍यो ।कवि प्रणय शंकरको अवचेतनमा त्यही आन्दोलन, भिड र हार ‘खिल’ बन्यो । त्यही खिल कवितामा लेख्यो ।असफल आन्दोलनमा गर्व गर्ने ‘चेतना’ राजनीतिक रोग हो । त्यही रोगले ग्रस्त समाजमा हुर्किबढेका तमाम प्रणय शंकरहरूको ‘मनोविज्ञान’–माथि शोधअनुसन्धान गर्ने कुनै युनिभर्सिटी छैन । हुँदो हो, त्यो केस स्टडी गर्ने सबैभन्दा सुलभ काँचो पदार्थ बन्थ्यो– काँसभाँडा ।


हातमा रणनीति नभएको नेतृत्वलाई छुट्टै राज्य गोर्खाल्यान्डको मागका लागि चाहियो भिड । भिड बन्यो पहाड, तराई र डुवर्स । रणनीति थिएन, यसैले केन्द्र र राज्यसित भिड्न सकेन । भिड्न सकेन यसैले सम्झौता भयो । त्यसपछि आजसम्म भइरहेका हरेक सम्झौताले भिडलाई बिलखबन्दमा पार्‍यो । त्यही बिलखबन्द भिडको एक सदस्य कवि बन्यो भने उसले कस्तो कविता लेख्छ ?


ऊ लेख्छ– दार्जिलिङ नामक नाटकको कथानक ।


अर्थात्– दार्ज इलिङ (बिमारी)–को ननफिक्सनल पोयट्री ।


प्रणयले पनि त्यही लेख्यो । 


काँसभाँडा पढ्दा प्रणय थ्योरी निस्किन्छ, जे देख्यो त्यो लेख्यो । यो प्रणय थ्योरीले सन्देह जन्माउँछ, आँखामाथि । त्यो आँखा कसको ? भुइँ मानिसको आँखा कि कविको आँखा ? विश्वसित भुइँ मानिसका आँखालाई अभिधा मानेर कविको आँखालाई लक्षणा मान्ने बौद्धिक परम्परा छ । यस मेसोबाट हेर्दा काँसभाँडा–का कवितीय बौद्धिकतालाई के मान्नु ?

‘क्राउडेड इन्टेलेक्ट’ वृत्ति ?


भुइँ मानिस र कवि, दृष्टि र दृष्टिकोण एकै होइनन् । यद्यपि प्रणय भन्छन्, काँसभाँडा भुइँमानिसका कविता हुन् । अथवा भुइँमानिसका ‘मानस’–माथि लेखिएका कविता । त्यसरी लेखिएका भुइँ मानिस‘का’ कविता के भुइँमानिसका ‘लागि’ हुन् त?


यसको उत्तर खोज्ने जिम्मा ‘भिड’–लाई नै दिएँ । किन भने प्रणयको कविता अब भिडमा छ ।


लेखनाथ छेत्रीको उपन्यास ‘फ्रुट्स एन्ड व्यारेन ट्री’–को विमर्शमा एउटा विषय थियो– हिंसा र स्मृति । कविताहरू त लेखिरहेकै हुन्, अहिले १९८० को हिंसा–माथि आख्यानहरू लेखिँदै छन् । हिंसाको ‘मुड’ स्मृतिमा ‘दुरुस्तै’ हुन्छ कि कालान्तरमा त्यो ‘वायस’ (पक्षपाती) रूपमा बस्छ ? वक्ताहरूले टल्सटोयको ‘वार एन्ड पिस’को सन्दर्भ झिके । युद्धको १६ वर्षपछि जन्मिएका टोल्सटोयले युद्धको ४१ वर्षपछि लेखेको ‘वार एन्ड पिस’ कसरी मास्टरपिस ?


निष्कर्ष निस्कियो– लेखक पक्षपाती छैन भने कृति अमर हुने होला । त्यसो हो भने सवाल उठ्यो, लेखकको ‘पक्षपात’ वा ‘तटस्थ’ नाप्ने कसी के ? के साहित्यमा पक्षपात र तटस्थता हेर्ने कुनै साहित्यिक सिद्धान्त छ ?


‘वार एन्ड पिस’को ‘पक्षपात’ वा ‘तटस्थता’–को कुरा छोडौँ, हाम्रोतिर अहिले साहित्यमा आइरहेको असीको दशकको हिंसालाई हेर्ने दृष्टिकोण विभाजित छन् कि छैनन् ? कुनै पनि आन्दोलन वा युद्धले समयलाई बोकाउने ‘ट्रमा’ साहित्यमा कसरी आउँछ ? लेखकहरू त्यो ट्रमाभित्र छन् कि बाहिर ? यसले डिस्कोर्स मागिरहेकै छ ।


काँसभाँडाको ‘कुकुलढुकको घर’ सिरिजका कवितामा कविको ‘स्मृति’ र ‘वर्तमान’ नितान्तै निरीह, अनुत्पादक र प्राप्तिहीन देखिन्छ । कविलाई सोध्न मन लाग्छ, तपाईंको भाषामा कसको कविता हो यो ? प्रणयथ्योरी ‘जे देख्यो, त्यो लेख्यो’–लाई त बुझियो तर ‘भविष्य’–को लागि गरेको आग्रह खै त ?


यहाँनेर उठ्ने सवाल होला, साहित्यको उपादेयता के त ? 


आनन्द ? 


साहित्य भनेकै प्रकृति हो । प्रकृति नै ज्ञानानुशासनको मुहान हो । यसैले प्रकृति धर्मको होस् वा राजनीतिको, विज्ञानको होस् वा प्रविधिको, दर्शनको होस् वा कलाको खोजको अथाह क्षेत्र हो । प्रकृतिको उपादेयता छ, कविताको नहोला त ?
सेक्सलाई लिऊँ, यसको उपादेयता आनन्द मात्र हो त ? पक्कै पनि होइन । साहित्यजस्तो कलासम्मत विचारानुशासनको उपादेयता नहोला त ? छ । यसो हो भने कवि प्रणयको विश्वास के हो त ?


देखेको लेख्नु र आनन्दित हुनु ?


काँसभाँडा–ले उठाएको सवाल यही हो ।


प्रणयलाई सोध्न मन लाग्छ, मौका मिले भुइँमान्छेलाई नै हेपुवा शासक कसले बनाउँछ ? कसले बनाउँछ भुइँमान्छेलाई खतरनाक शासकको प्रतिबिम्ब ? भुइँमान्छे आफैँ बन्छ ? कि भुइँमान्छेलाई खतरनाक बनाइन्छ ? सायद असी र पछिल्ला असफल आन्दोलनले कविभित्र थोपेको ‘ट्रमा’–मा यसको जवाफ छ । कविताभरि आन्दोलन, हिंसा र त्यसले निर्माण गरेका अन्तरविरोध छन् । अचाक्ली घृणा र विमति छन् । प्रणय पहाडलाई÷‘मृगलाई सर्पले गुजुल्टो कसेको’ देख्छन् र भन्छन्–


सर्पले मृगलाई अलि–अलि सास लिनु दिन्छ
फेरि गुजुल्टो मारेर कस्छ
अलिकति सास छोड्नु दिन्छ
फेरि अझ जोडले कस्छ
यसरी बिस्तारै सर्पले सास थुनेर मार्छ ।
म झस्किएँ
र सम्झेँ आफ्नै पहाड ।


००
अब पहाडले 
सास ताने पनि मर्छ
सास छोडे पनि मर्छ ।


–प्रणय थ्योरी हो, सर्पबाट छुट्काराको उपाय नबताउनु । नीति शिक्षा नदिनु । किनभने कवि आफैँ त्यो पहाड हो, जसलाई सर्पले कसेको छ । कवि आफैँ मृग हो । र कविताचाहिँ सर्पले कसेर मारिसकेपछिको ‘ट्रमा’ वा असफलता आन्दोलनपछिको ‘आफ्टरसक’ ।


यसो हो भने कवि प्रणय शंकर छुट्टै राज्य गोर्खाल्यान्डलाई केन्द्रमा राखेर चलिरहेको राजनीति र असफल आन्दोलनमाथि कति तटस्थ ? कति पक्षपाती ?


रमाइलो कुरा के हो भने पहाडलाई कुन–कुन सर्पले कसरी–कसरी कस्दै छ, त्यसबारे कविलाई हेक्का छ । तर, समग्र भुइँमानिसलाई छैन । यति फरक हुन्छ, भुइँमानिस र कविबीच ।


यस्तो कवि, जो भुइँमानिसमाथि यतिखेर कवितीय शासन थोपिरहेका छन् । कवि चिन्तनादेखि कोसौँ दूर छन् भुइँमानिस । 
भिड मनोविज्ञानमाथि १८४१ मै चाल्र्स मेकेले ‘एक्सट्राअर्डिनेरी पपुलर डेल्युजन एन्ड दि म्याडनेस अफ क्राउड’ लेखेका रहेछन् । मेके भन्छन्, ‘सबै अर्थनैतिक संक्रमणको पछिल्तिर भिड मनोविज्ञानको लगानी हुन्छ ।’ भारतलाई मात्र हे¥यौँ भने सारा पोलिटिकल म्याकनिज्म यही भिडतन्त्रको टेकोमा उभिएको छ । भारतीय जनता पार्टीले भिडलाई उद्वेलन दिने प्रभावकारी नारा तयार पारेको छ, भारत भर्सेस पाकिस्तान, हिन्दू भर्सेस मुसलमानजस्ता । पत्रकार रवीशकुमार भन्छन्, ‘राजनीतिक महत्वाकांक्षीले भारतीय लोकतन्त्रलाई भिडतन्त्रमा परिणत गरेको छ । र, भिडसित विवेक हुँदैन, आवेग हुन्छ ।’


भिडले दिने फाइदा के त ?


सत्ता ।


कवि प्रणय शंकरका कवितामा त्यही भिडको आवेग हाबी छ ।


भन्छन्, ‘ग्यासच्याम्बरको बटन दबाउने औँला एउटा थिएनत्यसको पछि गतिलो जमातको सोच थियो ।


जनसमुद्रको समर्थन थियो ।’


पाठकलाई ‘हत्यारा’ कविताबाट भिड मनोविज्ञान बोकेर हिँडेको कविको बयान सुन्न डर लाग्नुपर्ने हो । किनभने सद्दे विवेक बोकेर हिँडिरहेका हरकोहीलाई कसरी सत्ताले हत्यारामा परिणत गर्छ, त्यसको डकुमेन्ट्री प्रणयको कविता किताबभरि छन् । यस्तो लाग्छ, प्रणयले लेखिरहेको कविता होइन, डर हो । र त्यो ‘डर’ भिडभित्र शक्तिको रूपमा छ, भिडबाहिर आसक्तिको रूपमा ।


प्रणय कुरा घुमाउन जान्दैनन्, अभिधामा बोल्छन् । यसैले काँसभाँडा–लाई कविता मानेर पढे पनि भयो, निबन्ध मानेर पढे पनि भयो । रिसर्च मानेर पढ्दा पनि भयो, फिचर मानेर पढ्दा पनि भयो । जसरी पढून्, तर उसको हातको वर्तमानको अनुहार कति कुरूप छ, छर्लंग देख्ने गरी पढून् । प्रणयको कविता कला विचारमा छ । र त्यो विचार हो– आफैँले आफैँलाई चिन्नु । 


आफूलाई कसरी चिन्ने त ?


हो, त्यसैको सिलेबस हो– काँसभाँडा ।


प्रणय शंकर भन्न चाहन्छन्– देश महत एक भिड मात्र हो । कविता पढिरहेका कुनै पाठक वा कविता लेखिरहेका कुनै कवि, त्यही भिडका सदस्य हुन् । प्रणयको दाबी हो– अब त्यो भिडबाट कोही भाग्न सक्दैनन् ।