• वि.सं २०८२ बैशाख २९ आइतबार
  • Sunday, 11 May, 2025
२०८० मङ्सिर २३ शनिबार ०६:५८:००
समाज

ग्रामीण पर्यटनका दुई ‘क्रस–बोर्डर’ अभियन्ता

२०८० मङ्सिर २३ शनिबार ०६:५८:००

ग्रामीण पर्यटन र वातावरणमा विद्यावारिधि (पिएचडी) गरेर भारत सरकारको उच्च तहको जागिर खाइरहेका राज वसु (६०) अनि नेपाली सेनाको जागिर छाडेर चियाखेतीमा सहभागी भएर पर्यटनको विकासमा लागिपरेका झापा बाहुनडाँगीका अर्जुन कार्की (५३) दुवैको राष्ट्रियता र जाति अलग हो । वसु भारतीय बंगाली मूलका हुन् र पश्चिम बंगालको दार्जिलिङ जिल्लास्थित सिलिगुडीमा बस्छन् । अर्जुन नेपालका खसआर्य मूलका हुन् र झापाको मेचीनगर नपा ४ बाहुनडाँगीमा बस्छन् । वसु वातावरणविज्ञ हुन् भने कार्की काँकडभिट्टा नगरपालिकाको वडाध्यक्ष ।


भाषा दुवैको फरक छ । तर, पनि उनीहरूबीचमा एउटा समानता छ, त्यो हो– ग्रामीण पर्यटनको विकासमा नेपाल र भारतमा बोर्डर हुँनुहुँदैन अनि मात्र दुवै देशको पर्यटन व्यवसाय फस्टाउन सक्छ । वसु र कार्की दुवै सादा जीवनका धनी छन् । अझ वसु त करोडपतिका छोरा भए पनि आफूलाई पूरै सर्वहाराकरण गरेर जीवन जिउने अभियानमा लागेका छन् ।

 

तडकभडकबाट उनी परै भाग्छन् । खुट्टामा सधैँ चप्पल मात्र लगाउँछन् । खासी र सुतीका सामान्य पोसाक उनको पहिरन हो । यता मध्यमवर्गीय परिवारका अर्जुनले बाहुनडाँगीमा १० बिघा पाखोबारीमा चियाखेती गरेका छन् । र, त्यही उनले मरिचको खेती पनि थालेका छन् । हात्ती आतंकले आजित बनाएको बाहुनडाँगीमा ‘हात्तीपोलो’ रेस्टुरेन्ट सञ्चालन गरेर हात्ती हेर्ने पर्यटकलाई प्रोत्साहन गर्न सफल भएका उनी निरन्तर पूर्वी नेपालको ग्रामीण पर्यटनका लागि सक्रिय छन् ।

 

उनकै कारण आजकाल बाहुनडाँगीमा हात्ती अवलोकन गर्ने पर्यटन पनि बढ्न थालेका छन् । यसैले त अर्जुनको पर्यटन प्रवद्र्धनको दायरा बढेर इन्डो–नेपाल नेटवर्कमा रहेको ‘एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजम’को महासचिवसम्म पुगेको छ । यो फोरमले हाल पूर्वी नेपाल र पूर्वोत्तर भारतको ग्रामीण पर्यटनको विकासका लागि साझा धारणा तयार गर्न निरन्तर वकालत गरिरहेको छ । 


उता पढेर विज्ञ बनिसकेका वसुले पनि आफ्नो सबै काम पत्नीलाई जिम्मा लगाएर आफू दत्तचित्त भई ग्रामीण पर्यटनको सेवामा लगाएका छन् । उनकी पत्नी सिलिगुडीमा निजी स्कुल चलाउँछिन् र एउटा पर्यटकीय होटेल पनि सञ्चालन गर्छिन् । विज्ञ वसुचाहिँ पश्चिम बंगाल, सिक्किम, असम, भुटान, बंगलादेश र नेपालका विभिन्न क्षेत्रका ग्रामीण पर्यटकीय क्षेत्र भ्रमण गरेर अध्यन अनुसन्धान गर्नमै व्यस्त हुन्छन् । नेपालमा भएका धेरै राष्ट्रिय महत्वका महोत्सव र गोष्ठीमा उनले सहभागिता जनाइसकेका छन् । प्रदेश र पालिका सरकारहरूलाई ग्रामीण पर्यटनको प्रवर्द्धनबारे उनले सुझाव पनि दिने गरेका छन् ।

नेपालका अर्जुन कार्की र भारत सिलिगुडीका राज वसु दुवै देशको ग्रामीण पर्यटन विकासका लागि अहोरात्र जुटिरहेका छन् ।

 
वसु र अर्जुन पूर्वी नेपाल र पूर्वोत्तर भारतको ग्रामीण पर्यटनको विकासका लागि निर्माण गरिएको इन्डो–नेपाल ग्रामीण पर्यटन सञ्जालमा सँगै आबद्ध छन् । जसलाई ‘एसोसिएसन अझ कन्भजर्भेसन एन्ड टुरिजम’ नाम दिइएको छ । वसु संयोजक छन् भने अर्जुन महासचिव । यो सञ्जालमा अरू पद छैनन् । उक्त सञ्जालको काम नेपाल र भारतको ग्रामीण पर्यटनको विकासका लागि आपसमा सहजता प्रदान गर्नु, अन्तत्र्रिmया कार्यक्रम सञ्चालन गराउनु, आपसी अनुभव आदान–प्रदान गर्नु र दुवै देशको ग्रामीण पर्यटनको विकासका लागि वकालत गर्नु हो । 


विज्ञ तर फकिर स्वभावका वसुले चाहेको भए शानले सरकारी जागिर खाएर अनि आफ्नै व्यवसाय चलाएर नामी र दामी जीवन गुजार्न सक्थे । तर, उनले त्यो बाटो रोजेनन् । बरु ग्रामीण पर्यटनको विकासका लागि सधैँ फकिरझैँ घुमन्ते बने । यता नेपाली सेनाबाट बढुवा भई पेन्सन लिएर आरामको जीवन गुजार्न सक्ने भए पनि अर्जुनले लोभ गरेनन् । सितेरियो करांतेका नाम चलेका प्रशिक्षक अर्जुनले ग्रामीण पर्यटनको सेवालाई नै आफ्नो लक्ष्य बनाए । हात्ती प्रभावित ग्रामीण क्षेत्रमा व्यावसायिक कृषिखेती र ग्रामीण पर्यटनमै आफ्नो जीवन अर्पण गरे । जसको लाभ उनले अब ग्रामीण पर्यटनको अगुवा अभियन्ताको नामबाट पाउन थालिसकेका छन् । पहिले त अर्जुन प्रकृति संरक्षण समाजको अध्यक्ष भएर आठ वर्ष हिँडे । त्यसपछि पढेका युवाहरूलाई गाउँमै आकर्षित गर्नुपर्छ भन्ने अभियानले उनी ग्रिन जेनेरेसन झापा नामको संस्थापक अध्यक्ष पनि बने । 


अर्जुन बाहुनडाँगीको पहिलो चिया कृषक पनि हुन् । उनले जोखिम मोल्नुभन्दा पहिले बाहुनडाँगाीको आमडाँगी क्षेत्रमा चिया कृषक नै थिएनन् । जब उनी सफल भए तब अहिले चियाखेती गर्ने साना कृषकहरू बाहुनडाँगीमा ह्वात्तै बढेका छन् । अर्जुन तिनै व्यक्ति हुन् जसले हात्तीले सुपारीखेती नष्ट गर्न थालेपछि विकल्पमा तेजपत्ताको खेती गर्न थालेका थिए । जसले गर्दा आजकाल वार्षिक लाखौैँको तेजपत्ता भारत निर्यात हुन्छ । अर्कोतिर, मरिच र कागतीको खेतीलाई पनि उनले बढवा दिइरहेका छन् । अर्जुनकै कारण कञ्चनजंघा ल्यान्डस्केपमा झापाको बाहुनडाँडी, शनिश्चरे, बुधबारे क्षेत्र पर्न सफल भएको छ । उनकै प्रयासले बाहुनडाँगीको सलकपुर क्षेत्रमा पहाडी प्राकृतिक दृश्य र खेती अवलोकन गर्नेहरूका लागि होमस्टे सञ्चालन भइरहेका छन् । 


प्राचीनकालदेखिनै थियो पर्यटन 
जानकारहरूका अनुसार प्राचीनकालमा नेपाल र भारतमा कुनै बोर्डर थिएन । हिमालय क्षेत्रमा धेरै गुरुकुल थिए । दुवै देशका मानिसहरू आवतजावत गरेर शिक्षा लिने गर्दथे । नेपाल भारतको उच्च पहाडी क्षेत्रबाटै हो त्यसवेला मानिसहरू हात्ती–घोडामा आवतजावत गर्ने गर्दथे । जसले गर्दा संस्कृतिले विस्तार हुने मौका पायो । पर्यटन अभियन्ता वसु त्यही सौहाद्र्र्रतालाई फर्काउन चाहन्छन् । जुन ग्रामीण पर्यटनको विकासबाट मात्र सम्भव छ । वसु भन्छन्, ‘गुराँस, हात्ती, हिमालय, चरा, सँस्कृति र ट्रेकिङ पूर्वी नेपाल र पूर्वोत्तर भारतको ग्रामीण पर्यटनका साझा फ्याक्टर हुन् यसलाई साझा रूपले बिक्री गर्न सक्नुपर्छ ।’ 

 

मा बोर्डर हुनुहुँदैन । अनि मात्र फस्टाउँछ । यसको अर्थ राष्ट्रको सिमाना हुनुहँुदैन भनिएको होइन । अर्थ हो, दुवै देशको ग्रामीण क्षेत्रमा खासखास समानता छन्, यसैले साझा कुरा पत्ता लगाएर आपसमा सहयोग आदानप्रदान गर्नु हो । जस्तो पूर्वी नेपालको हात्ती समस्या भारतको पश्चिम बंगाल र असामको पनि समस्या हो । पूर्वी नेपालको भाषा, संस्कृति र परम्परात, सिक्किम बंगाल र असामको पनि संस्कृति हो । पर्यटनमा धेरै समानता भए पनि साझा धारणा बन्न नसक्दा धेरै सम्पदा र संस्कृति लोप भएर गइरहेका छन् । यसैले त्यसलाई जोगाउन सके मात्र ग्रामीण पर्यटनको विकास हुनेछ । 


अर्कोतिर, समस्यालाई पनि पर्यटनका रूपमा विकास गर्न सकिन्छ । यसैले अर्जुनले हात्ती हेर्नका लागि बाहुनडाँगीमा हात्ती रिसोर्ट खोलेका हुन् । जब गैँडा र गोही हेर्नकै लागि लाखौँ पर्यटक नेपाल आउन सक्छन् भने हात्ती हेर्न किन आउन सक्दैनन् ? यस्तै, नेपालमा बसोवास गर्ने आदिवासी जनजाति र भारतको सिक्मिम, पश्चिम बंगाल र असाममा बस्ने आदिवासी जनजातिहरूको भाषा र संस्कृतिको अध्ययन गर्न अनुसन्धानकर्ता किन आउन सक्दैनन् ? वसु र अर्जुनको दाबी छ– सही सूचना प्रवाह गर्न सके नेपाल र भारतको ग्रामीण पर्यटनको विकासका लागि सम्भावनै सम्भावना छ । त्यसका लागि दुवै देशले निसंकोच सहकार्य गर्नुपर्छ । 


ग्रामीण पर्यटनका लागि होमस्टेलाई प्रवद्र्धन गर्नुपर्नेमा वसु र अर्जुनको जोड छ । ग्रामीण क्षेत्रमा लाखौँ–करोडौँ खर्चेर होटेल रिसोर्ट सञ्चालन गर्न पनि गाह्रो हुने र गरे पनि मुनाफा पाउने गरी सञ्चालन गर्न सम्भव हुँदैन । यसैले पर्यटकलाई सहज रूपमा सस्तो र दिगो बसोवासका लागि होमस्टे प्रभावकारी हुनेछ । उनीहरूका अनुसार होमस्टेमा बस्दा स्थानीयको संगतबाट बढीभन्दा बढी सूचना पाउन सकिने भएकाले आफ्नो अध्ययन–अनुसन्धानमा धेरै फाइदा पनि हुन्छ । 
पूर्वी नेपाल र पश्चिम सिक्किममा विश्वमै चिनिएको फूल लालीगुराँस पाइन्छ । याक र चाैँरी पनि हुन्छन् । खानपान र रहनसहन पनि एकै किसिमको छ । ट्रेकिङको साझा रुट पनि छ । किनभने कञ्चनजंघा हिमाल नेपाल–भारत दुवैतिर पर्छ । हात्ती समस्या दुवै देशमा छ । चरा र चिया दुवै देशका सम्पत्ति हुन् । अलैँची दुवै देशमा उत्पादन हुन्छ । भाषा, संस्कृति र रहनसहनमा धेरै समानता छ । यति धेरै साझा फ्याक्टर भएपछि किन पर्यटनमा सहकार्य नगर्ने ? अर्कोतिर, नेपाल र भारतमा पर्यटनका लागि खासै बाधा छैन । मुद्रा, आवागमनदेखि भाषा र संस्कृति अनि खानपानमा पनि समस्या छैन । यसैले यसलाई बढवा दिनसकेमा नेपाल र भारतको ग्रामीण पर्यटनमा तेस्रो मुलुकबाट पर्यटन बोलाइरहनु नपर्ने उनीहरूको भनाइ छ । वसु भन्छन्,‘ घुम्नकालागि सिमला र नैनीताल जाने बिहारीहरू नेपालका पूर्वी पहाडी जिल्लाहरूमा किन नजाने ? अनि नेपालीहरू बंगाल र सिक्किमका रमणीयस्थलमा किन नपुग्ने ?’ 


संकीर्णता ग्रामीण पर्यटनको बाधक 
ग्रामीण पर्यटन फस्टाउन नसक्नुमा दुवै देशका संकीर्ण सोचलाई उनीहरू दोष दिन्छन् । नेपालमा पोखरा, चितवन र लुम्बिनी मात्र पर्यटकीयस्थल हुन् भन्ने प्रचार गरेर लगानी गरिएको छ । तर, त्यो सही होइन । लगानी गरेमा पूर्वी नेपालको तीनजुरे मिल्के जलजले, मकालु, कञ्चनजंघा, सन्दकपुर, पाथीभरा सबै विशेष पर्यटकीय क्षेत्र हुन् । यस्तै, सिक्किमको देन्ताम, नाम्ची, गान्तोक पनि पर्यटकीय क्षेत्र हुन् । बंगालको कालिम्पोङ, दार्जिलिङ पनि पर्यटकीय क्षेत्र हुन् । तर, पर्यटनको विकास सहर होइन गाउँकेन्द्रित हुनुपर्छ । यसो भएमा ग्रामीण क्षेत्रको आयआर्जन बढ्ने र आर्थिक अवस्था पनि सबल हुने विश्वास उनीहरूको छ ।