• वि.सं २०८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024
प्रेमराजा महत
२०८० मङ्सिर २३ शनिबार ०८:०२:००
यात्रा

स्वर्गको टुक्राजस्तै शैलुङ

सय थुम्काहरूको सुन्दर संगम शैलुङ निकै मनमोहक र आकर्षक देखिन्थ्यो

२०८० मङ्सिर २३ शनिबार ०८:०२:००
प्रेमराजा महत

 

हिमाल, पहाड तथा बादलका सुन्दर सतह र चिसो हावा । शैलुङ जाने जोकोहीलाई यी विशेषताले मोहित पार्छन् । चारैतिर देखिने हिमालहरूले झनै लोभ्याउँछ । स्वर्ग भन्ने शब्दलाई महसुस गर्न शैलुङ पुग्नैपर्नेरहेछ । सय थुम्काहरूको संगम शैलुङका यी विशेषतालाई प्रत्यक्ष नियाल्दा लाग्छ कि, स्वर्गको एक टुक्रा शैलुङ हो जहाँ हिमाल, पहाड तथा बादल एकापसमा लुकामारी गर्दै त्यहाँ पुग्ने पाहुनालाई नियालिरहेका छन् । यी सब दृश्य प्रत्यक्ष रूपमा मैले शैलुङबाट नियाल्न पाउनु निकै गर्वको विषय बन्यो ।


‘स्पार्क कार’को टिमले केही दिनअघि मलाई शैलुङ यात्राका लागि प्रस्ताव गर्‍यो । स्पार्कको टिमले मलाई दोलखा र रामेछापको सिमानामा रहेको शैलुङमा पर्यटन प्रवद्र्धनका लागि ’वाइल्ड स्टे विथ चौँरी’ कार्यक्रम राखेको जानकारी गराएको थियो । म व्यस्त नै थिएँ । तैपनि शैलुङ जाने कुरा धेरै सोच्नै परेन । पलभरमै मैले कार्यक्रममा सहभागी हुने निर्णय गरेँ । शैलुङमा जानु नै मेरा लागि निकै महत्वको कुरा थियो । म कामको सिलसिलामा मुलुकका विभिन्न ठाउँ घुमे पनि शैलुङ आउन भने अवसर मिलेको थिएन । तर, अवसर पर्खिएर बसेको मलाई स्पार्क एडभेन्चर नै अवसर बनेर आइदियो ।


हामी दुई सयजनाभन्दा बढीको शैलुङमा सँगै रमाइलो गर्ने कार्यक्रम रहेछ । त्यो भिडमा शैलुङमा म मात्र पहिलोपटक थिइनँ, अधिकांशको उपस्थिति पहिलोपटक नै थियो । म पनि पर्यटन प्रवद्र्धधनका लागि विश्वव्यापी हिँड्ने नेपालीमध्ये एक हुँ । शैलुङ भनेपछि मलाई आउँआउँ लागिहाल्यो । 


अन्य सहभागीहरू कार्यक्रमको पहिलो दिन नै शैलुङ गएका थिए । कार्यव्यस्तताका कारण म भने दोस्रो दिन मात्रै सहभागी हुन सकेँ । मैले पहिलो दिनमा आएर अलिअलि प्राइभेट गफ गर्न छुटाएँ । त्यहाँ थुप्रै मेरा साथीहरू सहभागी थिए । उनीहरूसँग कुराकानी गर्ने अवसर कम मात्रै मिल्यो । खास कार्यक्रम दोस्रो दिन भएकाले मैले कार्यक्रम भेट्ने गरी गएको थिएँ । जसले गर्दा अघिल्लो रातको बसाइलाई मैले छुटाएका थिएँ ।


म दोस्रो दिन पुगेकाले उज्यालैमा त्यहाँ पुग्न पाएँ । खोलाखर्कदेखि उकालो सिँढीमा निकै बल गरेर पाइला सार्दासार्दै करिब ४० मिनेटजति हिँडेपछि शैलुङ पुगियो । मसँग प्रिय बहिनी एवं कलाकार रीना थापा मगर पनि सुस्तरीसुस्तरी उकालो चढ्दै थिइन् । हामी माथि पुगेपछि सबैभन्दा पहिला एकैपटक देखिएका आकर्षक थुम्काहरूले मोहित बनायो । मानिसले नै चट्ट मिलाएर बनाएजस्तो तर सबै प्राकृतिक, यति धेरै थुम्काको एकैपटक अवलोकन सायदै गरिएको थियो विगतमा । ती सबै थुम्कामा दुबो र घाँसको कार्पेट मिलाएर बिच्छाएजस्तो आकर्षक दृश्य, त्यहाँको अर्को आकर्षण हो ।


यसपछि देखिएका आकर्षक हिमशृंखला, बादल उडेको दृश्य तथा भुइँकुहिरोले पनि केही ‘नोस्टाल्जिक’ बनायो । माथि पुगेको केही समयपछि त्यहाँको स्थानीय परिकार खाजाका रूपमा खाइयो । चौँरीको दूध, भुटेको मकै, आलुको तरकारी निकै स्वादिला थिए । यी परिकारले साँच्चै रैथाने भनेको यो पो हो त भन्ने आभास दिलाएको थियो । खाजापछि साथीहरूसँग भेटघाट र घुमघाम निकै नै अविस्मरणीय रह्यो ।


दिउँसो सांस्कृतिक कार्यक्रमको मज्जा लिइयो । पाँच घन्टाभन्दा बढी पैदल हिँडेर कार्यक्रममा सहभागी हुनका लागि स्थानीयहरू आएका थिए । यो आत्मीयताले मन भावुक बनायो । मेरा ४० वर्षअघि गाएको गीतहरूलाई पनि यहाँका नागरिकले सुनेको र मनपराएको देख्दा म भावुक बनेँ । ‘सिमसिमे पानीमा’, ‘बाँझो खेतमा’, ‘पानको पात’लगायतका गीतमा गाउँ नै नाच्यो । को बालक, को युवा वा को वृद्ध सबै नाचेका थिए । जसले मलाई शैलुङको पर्यटन प्रवद्र्धन गर्नका लागि थप झकझकाएको छ ।


कार्यक्रमपछि साँझमा देखिएका सुर्यास्त र त्यसवेलाका सुनौला बादलहरूको संगमले मन लोभित बनायो । यस्तो लाग्थ्यो कि, बादलका प्रेमजोडी एकै समय एकटकले प्रेमालापमा बसिरहेका छन् । र, ती दृश्य हामीले हेरिरहेका छौँ । रात बित्दै जाँदा चिसो निकै बढ्दै गएको थियो । हामी असोजमा शैलुङ पुग्यौँ । पुस–माघको समयमा त हिउँले ढाकेर शैलुङ सेताम्मे देखिनेरहेछ । अब हिउँको समयमा पनि त्यहाँ पुगौँ भन्ने सोच आइरहेको छ ।


गुम्बामा गुरुसँग वास बस्ने अवसर पनि पाएँ । मेरो साथी विजय लामा र मसँगै गुरुसँग बसेका थियौँ । म अध्यात्म र प्रकृतिसँग अन्तर्घुलित हुने प्रकृतिको व्यक्ति । शैलुङमा धार्मिक हिसाबले सुरुमा बौद्धको गुम्बा र पछि भ्यु–टावर बनेपछि पर्यटकको आउजाउ राम्रो हुन थालेको देखेँ । अहिले हिन्दू मन्दिर पनि बन्दैरहेछ । त्यहाँ बुद्धिस्ट मात्र नभई हिन्दुहरूको पनि उत्तिकै बसोवास रहेछ । त्यहाँका प्रदेश सांसद युवराज चौलागाईंलगायतसँग कुरा भयो । उहाँहरू शैलुङमा पर्यटन प्रवद्र्धनका लागि अग्रसर भइरहेको थाहा पाउँदा खुसी लाग्यो ।


भोलिपल्ट सुनौलो सूर्य डाँडामाथिबाट झुल्किँदै गर्दा मन अझ खुलेर आयो । नेपालको पर्यटकीय हिसाबले सुन्दर स्थान रहेछ शैलुङ । यहाँ आउने जो कोही बेखुस हुनुपर्दैन । चौँरीको दूध, छुर्पीदेखि काउली, बन्दालगायत लोकल खानासँग भुल्न पाइयो । चौँरीको छुर्पी किनेर कोसेली पोको पारेँ । 


सय थुम्काहरूको सुन्दर संगम शैलुङ निकै मनमोहक र आकर्षक देखिन्थ्यो । मैले यहाँ आएर एउटा गीतका लागि थेगो बनाउन भ्याएँ । ‘रमाइलो शैलुङ डाँडैमा, चौँरी हेर्ने मायालुको माया दिलको माझैमा...’ भन्ने गीत लेख्नेछु । यस गीतलाई जीवन्त बनाउँदै शैलुङमा नै सुटिङ गराउने सोच आएको छ । 


शैलुङ घुम्दै गर्दा मैले निकै नै लोकप्रिय गीत माथिमाथि शैलुंगेमा चौँरी चराउनेलाई’ गीतकी गायिका कुन्ति मोक्तानलाई पनि सम्झिएँ । कलाकारले कुनै पनि चिजलाई जीवन्त रूप दिन सक्दछ भन्ने उदाहरण उहाँ पनि हो । शैलुङ जान खास मन लागेको मोक्तानकै गीत सुनेर पनि हो । मैले गत वर्ष ‘बन्दीपुरै’मा भन्ने गीत गाएँ । सो गीत रुचाएर पर्यटकहरू बन्दीपुर जान थाले । बन्दीपुरमा अहिले पर्यटकको संख्या पनि बढेको देखिन्छ ।


शैलुङ ठाउँ नै अनौँठो रहेछ । आएपछि आफूले केही नगरे पनि विपश्यनामा बसेजस्तो आभास हुन्छ । काठमाडौंको व्यस्त सहर, कोलाहल ठाउँबाट शैलुङ आउँदा निकै आनन्द लाग्नेरहेछ । यहाँबाट धेरैतिर हेर्न सकिने हुँदा थप मोहित भइन्छ । अन्य ठाउँमा जाँदा कसको फोन आयो, के म्यासेज आयो, कार्यक्रमका लागि कताबाट निम्ता आयोजस्ता विषयले ध्यान भुलाउँछन् । तर, यस ठाउँमा आएपछि यी सबै कुरा बिर्सिएर प्रकृतिसँग लीन भइन्छ । प्रकृतिको काखमा यसरी बस्नु साँच्चै स्वर्ग यही त हो हाम्रा लागि । 


शैलुङको पर्यटन विकासका लागि सडकको विकास ‍गर्नुपर्ने रहेछ । यस्तै शैलुङमै पनि हेलिप्याड निर्माण गरिदिएमा सुरक्षित र रमणीय गन्तव्यस्थलको रूपमा शैलुङलाई अगाडि लैजान सकिन्छ ।