• वि.सं २०८२ बैशाख २९ आइतबार
  • Sunday, 11 May, 2025
शान्ति तामाङ
२०८० मङ्सिर २३ शनिबार ०८:३७:००
साहित्य

सहरमा फरक पुस्तकालय

कुनै खास विषयमा केन्द्रित पुस्तकालय उपत्यकामा पाउन मुस्किल थियो । तर, पछिल्लो समय सहरमा केही फरक पुस्तकालय थपिएका छन् । ती हुन्– जुनकिरी : नारीवादी पुस्तकालय, तामाङ राष्ट्रिय पुस्तकालय र राष्ट्रिय ब्रेल पुस्तकालय ।

२०८० मङ्सिर २३ शनिबार ०८:३७:००
शान्ति तामाङ

 

केही समयअघिसम्म पुस्तकालय भन्नेबित्तिकै केशर पुस्तकालय, नेपाल भारत पुस्तकालय, त्रिभुवन विश्वविद्यालयको पुस्तकालय मात्रै मानिसको दिमागमा आउँथ्यो । अमेरिकन लाइब्रेरी र ब्रिटिस लाइब्रेरीको पनि निकै चर्चा हुन्थ्यो । यस्ता पुस्तकालयमा सबै किसिमका पुस्तक उपलब्ध हुन्थे र हुन्छन् । तर, कुनै खास विषयमा केन्द्रित लाइब्रेरी उपत्यकामा पाउन मुस्किल थियो । 


पछिल्लो समय सहरमा केही नयाँ पुस्तकालय थपिएका छन् । ती हुन्– जुनकिरी : नारीवादी पुस्तकालय, तामाङ राष्ट्रिय पुस्तकालय र राष्ट्रिय ब्रेल पुस्तकालय । यी विविध विषयका पुस्तकालयको स्थापनाले सहरमा पठन संस्कृति अझै जिउँदो रहेको प्रमाण दिन्छ ।


यी पुस्तकालयका आफ्नै लक्षित पाठक छन् । व्यस्त सहरमा मानिसहरू आआफ्नै गतिमा दौडिरहँदा बालबालिका र नारीवादी विषय पढ्न चाहानेहरू जूनकिरी पुस्तकालयमा जम्मा भएका देखिन्छन् । नारीवादका बारेमा पढ्न चाहनेहरू वसन्तपुरपछाडिको यट्खामा आफ्ना बालबालिकासहित पुग्छन् । यो पुस्तकालय औपचारिक रूपमा सुरु भएको करिब डेढ वर्ष भयो । हाल पुस्तकालयमा करिब आठ सयजना सदस्य भइसकेका छन्, २५ सयको हाराहारीमा पुस्तक उपलब्ध छन् । पुस्तकालय भ्वाइसेस अफ वुमनले सञ्चालनमा ल्याएको हो । वुमनकी कार्यकारी निर्देशक पूजा पन्तका अनुसार पुस्तकालयमा महिलाका बारेमा, महिलाका लागि, महिलाले लेखेका धेरै पुस्तक उपलब्ध छन् । तीबाहेक अन्य विधाका पुस्तक पनि पाउन पढ्न सकिने उनको भनाइ छ ।


काठमाडौंकै बौद्ध स्तूपादेखि तीन सय मिटर दक्षिणतिर पुग्दा एउटा घरमा बोर्ड देख्छौँ– तामाङ राष्ट्रिय पुस्तकालय । त्यो पुस्तकालयमा पुग्दा भाषा आयोगका सदस्य तथा भाषाविद् अमृत योञ्जन पुस्तकहरू ओल्टाइपल्टाइ गरिरहेको देख्न सकिन्छ । उनी पुस्तकालयका अध्यक्ष पनि हुन् ।

 

पुस्तकालयमा तामाङ इतिहासदेखि वर्तमानसम्मका गहकिला पुस्तक प्रशस्तै देख्न सकिन्छ । पुस्तकालयले दुई वर्षमै करिब ३५ लाखको संरचना जम्मा पारिसकेको छ, १५ हजार पुस्तक संकलन गरिसकेको छ । दुई वर्ष मात्र भयो, पुस्तकालय सञ्चालनमा आएको । तर, भाषाविद् योञ्जनको छटपटी भने अझै रोकिएको छैन । उनी ¥याकहरूमा नआइपुगेका पुस्तकका सूचीहरू तयार पारिरहेका भेटिन्छन् । पुस्तकालयका सहकर्मीहरू इन्द्र तामाङ र लक्ष्मी रुम्बालगायत साथीहरूसँग बसेर आफ्ना योजना अझै बताइरहन्छन् । उनको सक्रियता हेर्दा लाग्छ, उनी सीमान्त तामाङ जातिको सम्पूर्ण ग्रन्थहरू एकै ठाउँमा जम्मा पार्न चाहन्छन्, ताकि भावी पुस्ता आफ्नो पुस्ता जस्तो भौँतारिन नपरोस् । उनी भन्छन्, ‘काम अझै धेरै गर्नु छ । यो त सुरुवात मात्रै हो ।’

पुस्तकालयविद् इन्दिरा दली भन्छिन्– पुस्तकालयले मानिसलाई सामाजिक रूपमा घुलमिल हुन मद्दत गर्छ । एक–अर्कोमा सम्मान बढाउँछ । विचार आदान–प्रदान गर्न सहयोग गर्छ । तर, इ–पुस्तकालयको अवधारणा ठीक भए पनि मानवीय सम्बन्ध धराशयी बनाउँदै लैजान्छ । सामाजिक सम्बन्ध बिग्रिएर जान्छ । मान्छे एक्लो हुन्छ ।
 


सहरमा दृष्टिविहीनहरूले पढ्ने पुस्तकालय पनि छ भनेर धेरैलाई थाहा नहुन सक्छ । तर, त्रिपुरेश्वरको राष्ट्रिय बे्रल पुस्तकालय स्थापना भएको १५ वर्ष बितिसक्यो । नेपाल दृष्टिविहीन कल्याण संघले सञ्चालनमा ल्याएको पुस्तकालयमा अहिले दैनिक दुई–चारजना मात्रै दृष्टिविहीन पाठक आउने गरेका छन् । पुस्तकालय प्रमुख अम्बिका श्रेष्ठका अनुसार यहाँ २२ हजार पुस्तक छन् । सुरुवाती दिनमा दृष्टिविहीनको राम्रै उपस्थिति हुन्थ्यो । तर, पछिल्लो समय भने पाठकको संख्यामा कमी आएको श्रेष्ठको भनाइ छ ।


यसकारण आवश्यक छ पुस्तकालय
अमेरिकी समाजशास्त्री एरिक क्लिनबर्ग भन्छन्, ‘पुस्तकालय सामाजिक पूर्वाधार हो, जसले लेखपढ संस्कृतिलाई बढावा मात्र दिँदैन, सामाजिक रूपमा घुलमिल हुने र बहस गर्नसमेत सघाउ पु¥याउँछ । पुस्तकालयमा विषयगत अन्तक्र्रिया हुन्छ । किताबसँगै विचार साटिन्छ ।’ नेपालमा भने सामाजिक पूर्वाधारको रूपमै पुस्तकालयलाई लिएको अझै देखिन्न । समाजमा विविध विषयका पुस्तकालय सञ्चालन भएपछि नै सामाजिक पूर्वाधार बन्ने हो । तर, पुस्तकालय निर्माणमा अझै चासो कम देखिन्छ । तामाङ पुस्तकालयका अध्यक्ष योञ्जनले आफ्नो निजी तीन दराज पुस्तक पुस्तकालयलाई हस्तान्तरण गरेर पुस्तकालय निर्माणमा जुटेका थिए । ‘तामाङ किताबहरू यति छरिए कि पाउन गाह्रो भयो । अभिलेख कहीँ कतै भएन । व्यक्तिगत रूपमा मसँग, मुक्ताजीसँग (मानवशास्त्री डा. मुक्तसिंह लामा) र केही गणेश दाई (पूर्वराजदूत गणेश योञ्जन)सँग होला । तर, देखिने ठाउँमा भएन । त्यसैले त्यस्ता पुस्तकको अभिलेखका लागि पुस्तकालय सुरु गरेका हौँ,’ अध्यक्ष योञ्जन भन्छन्, ‘पाठक आउँछन् कि आउँदैनन्, पुस्तक पढ्छन् कि पढ्दैनन्, अहिले हाम्रो चासो र चिन्ता होइन ।

 

पुस्तक एक ठाउँमा हुनुप¥यो । खोज्न आउने पाठक, अनुसन्धानकर्तालाई देखाउन सक्नुप¥यो । होइन भने पुस्तक, अभिलेख छरपस्ट हुने भयो । हराउने भयो ।’ उनको विचारमा पुस्तक र अभिलेख हराउनु भनेको इतिहास हराउनु हो । 
‘धादिङको एकजना दाइले तीन किताब लेख्नुभएको रहेछ । उहाँले त्यो किताब पुस्तकालयमा लिएर आउनुभयो र पटक–पटक पुस्तकालयलाई ढोग्नुभयो । किन भनेको त अब मेरो किताब बाँच्ने भयो । म बाँच्ने भयो भन्नुभयो,’ एक गुमनाम तामाङ लेखकलाई पुस्तकालयले दिएको असाधारण खुसीबारे उनले सम्झिए । एक वर्षमा पुस्तकालयले मारेको फड्को देखेर योञ्जनसहितको टिमले अर्को एक वर्ष होइन, आगामी २० वर्षसम्मको उद्देश्यको खाका तयार पारिसकेको छ । उनीहरूका अनुसार २० वर्षको लक्ष्य बोकेर हिँडेको पुस्तकालयले तामाङ इतिहास खोतल्न भरमग्दुर प्रयास गर्नेछ ।

 

पुस्तकालयले २० वर्षे (०२२ देखि ०४२) दीर्घकालीन, पाँच वर्षीय कार्ययोजना (०२२ देखि ०२६) समेत तयार पारेको छ । भविष्यमा इ–पुस्तकालयको अवधारणासमेत अघि सारेको छ । तर, आर्थिक अभाव उनीहरूको समस्या बनेर खडा भएको छ । ‘करिब १० वर्षअघि नै हामीले तामाङ इ–लाइबे्ररी खोलिसकेका छौँ । हामीसँग त्यो अनुभव छ । हामीसँग त्यो प्रविधि छ,’ योञ्जनले भने, ‘कहिलेदेखि सुरु हुने भन्ने कुरा भन्न सकिने अवस्था छैन । यसका लागि आर्थिक अभाव नै प्रमुख समस्या हो । कसैले सुरु गर्नुस् । हामी सहयोग गर्छौं भन्नुभयो भने केही महिनाभित्र सुरु गर्न सक्ने अवस्थामा छौँ ।’ उनले आफूहरूलाई सहयोग गर्ने हात बढे केही समयपछि आ–आफ्नो मोबाइलमा पुस्तकालय हेर्न सकिने बताउँछन् ।

 

पुस्तकालयमा तामाङ भाषामा, तामाङबारे र तामाङद्वारा लेखिएको पुस्तक, पुस्तिका, पत्रपत्रिका, जर्नल, प्रतिवेदन, शोध, अभिलेख, श्रव्य र दृश्य सामग्री, आदिवासी अध्ययन, नेपाल तथा विश्व अध्ययन, लोकवार्ता, भाषा र भाषा विज्ञान, राजनीतिजस्ता विषयका किताब संकलन हुनेछन् । ऐन–कानुन र नीति–नियम, अर्थतन्त्र, बन्द व्यापार तथा व्यवसाय, सञ्चार र मिडिया अध्ययन, शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, अपांगमैत्री ग्रन्थजस्ता विषय संकलन हुनेछन् । 

सानेपामा रहेको बालबालिकाकेन्द्रित पुस्तकालयमा मजदुरी गरेर गुजारा गर्नेहरूका छोराछोरी पढ्न आउँथे । दैनिक करिब ५० जनासम्म बालबालिका पुस्तकालय पुग्थे । उक्त पुस्तकालय बन्द भएपछि त्यस क्षेत्रमा रहने मजदुरका छोराछोरीका लागि ज्ञान आर्जन गर्ने स्थल खट्केको छ । 


जुनकिरी पुस्तकालयले भने त्यति लामो खाका बनाएको छैन । गैरसरकारी संस्थाबाट सञ्चालित जूनकिरीले आउने वर्षमा स्थानीय सरकारसँग मिलेर काम गर्नेछ । ‘हामीले नयाँ पुस्तासँग काम गर्दा प्राविधिक तालिम दियौँ । तर, उनीहरूको ज्ञानसँग पहुँच भएन । त्यसैले त्यो सुविधा हामीले नै किन नदिने भनेर पुस्तकालय सुरु गरेका हौँ । पुस्तकालयलाई लामो समयसम्म टिकाउन पनि स्थानीय सरकारसँग हातेमालो गरेर अगाढि बढ्छौँ,’ कार्यकारी निर्देशक पन्तले भनिन् । उनका अनुसार जूनकिरी पुस्तकालयमा युवाहरूले धेरै विषयमा पुस्तक पढ्न पाउनेछन् । ‘पुस्तकालय भनेको किताब पढ्ने ठाउँ मात्र होइन, युवा पुस्ताका लागि सुरक्षित स्थल पनि हो । त्यहाँको शान्त वातावरणमा ज्ञान आर्जन गर्दा व्यक्तित्व वृत्ति र विकासमा सघाउ पु¥याउँछ,’ पन्त भन्छिन्, ‘पुस्तकालय सञ्चालनमा ल्याउनु राज्यको दायित्व हो । नागरिकको समग्र विकासका लागि सार्वजनिक पुस्तकालय बनाउनुप¥यो । राज्यको दायित्व बाटो बनाउने मात्र होइन । ज्ञान अभिवृद्धिका लागि पुस्तकालय खोल्नु पनि हो । र, पुस्तकालय काठमाडौंमा मात्र होइन, नेपालभर नै हुनुपर्छ ।’ 


लोकतान्त्रिक मुलकका लागि पुस्तकालय अत्यन्तै आवश्यक रहेको विज्ञहरूको भनाइ छ । डिल्लीरमण रेग्मी पुस्तकालयका पूर्वपुस्तकालय प्रमुख भोलाकुमार श्रेष्ठ व्यक्तिलाई समाजमा सक्षम बनाउन पुस्तकालयको महत्व धेरै भएको बताउँछन् । ‘पुस्तकालय भनेको लोकतन्त्रको जग हो । यसले लोकतन्त्र मजबुत बनाउन सहयोग गर्छ,’ पूर्वप्रमुख श्रेष्ठ भन्छन्, ‘व्यक्तिलाई समाजमा सक्रिय बनाउन पुस्तकालयको महत्वपूर्ण भूमिका हुन्छ ।’ उनले भनेजस्तै समुदायको सक्रिय सहभागितामा तीनै तहको सरकारको तर्फबाट सहयोग भएमा मात्र पुस्तकालय सञ्चालन, प्रवद्र्धन र पुस्तकालयप्रति आममानिसलाई जागरुक बनाउन सकिन्छ । पछिल्लो समय तीनै तहको सरकार पुस्तकालय सञ्चालन र प्रवद्र्धनतर्फ छिटफुट लागेको देखिन्छ । पुस्तकालयमा ३६ वर्ष बिताएकी पुस्तकालयविद् इन्दिरा दलीसँग भने आफ्नै पहलमा सानेपामा सुरु गरेको सामुदायिक बाल पुस्तकालय बन्द भएको तीतो अनुभव छ । हाल उनले पुस्तकालयमा भएको करिब पाँच हजार पुस्तक नेपाल राष्ट्रिय पुस्तकालयअन्तर्गत बाल शाखालाई हस्तान्तरण गरेकी छिन् ।

 

बालबालिकामा केन्द्रित उक्त पुस्तकालयमा मजदुरी गरेर गुजारा गर्नेहरूका छोराछोरी पढ्न आउँथे । दैनिक करिब ५० जनासम्म बालबालिका पुस्तकालय पुग्थे । उक्त पुस्तकालय बन्द भएपछि त्यस क्षेत्रमा रहने मजदुरका छोराछोरीका लागि ज्ञान आर्जन गर्ने स्थल खट्केको छ । स्थानीय सरकारले यसबारे उचित ध्यान नदिएको दली बताउँछिन् । ‘मैले बल्लबल्ल सुरु गरेको पुस्तकालयमा सार्वजनिक बिदाका दिन खुबै बच्चाहरू आउँथे, पढ्थे, रमाइलो गर्थे । तर, मैले त्यो पुस्तकालय चलाउन भाडा तिरिरहन सकिनँ । वडालाई भन्दा वास्ता गरेन । यो क्षेत्रबाट जितेका सांसदलाई भन्दा डिजिटल पुस्तकालयबारे प्रवचन दिए,’ उनले आफ्ना दुःख पोखिन् ।

 

जापानको ओसाकामा एक महिना मोबाइल पुस्तकालयमा समेत काम गरेकी उनले ओसाकामा सन् १९८३ ताका नै प्रत्येक १० मिनेट अन्तरमा एक पुस्तकालय भएको तैपनि उनीहरू अझै आफूलाई अमेरिकाभन्दा ५० वर्ष पछि रहेको बताउने गरेको अनुभव साटिन् । पछिल्लो समय डिजिटल पुस्तकालयबारे कुरा भए पनि त्यहाँ हाम्रा रैथाने ज्ञान अभिलेख हुँदैनन् । त्यसकारण पुस्तकालय नै जानुपर्ने उनको भनाइ छ । ‘इ–लाइब्रेरीमा पाउन त धेरै कुरा पाइन्छ । तर, इन्डिजिनियस ज्ञान, जो अभिलेख भएका छैनन्, त्यो सबै पाउन सकिँदैन । पुस्तकालयले समुदायका विभिन्न जात, धर्म, भाषाका मानिसबीच अन्तर्क्रिया  गराउन सघाउ पुर्‍याउँछ । मानिसलाई सामाजिक रूपमा घुलमिल हुन मद्दत गर्छ । एकअर्कोमा सम्मान हुन्छ । किताब साटिन्छ । विचार आदानप्रदान गर्न सहयोग गर्छ,’ दली भन्छिन्, ‘इ–पुस्तकालयको अवधारणा ठीक भए पनि मानवीय सम्बन्ध धराशयी हुँदै जान्छ । सामाजिक सम्बन्ध बिग्रिएर जान्छ । मान्छे एक्लो हुन्छ ।’


पुस्तकालयले सचेत नागरिक निर्माणमा सकारात्मक भूमिका खेल्न सक्ने भन्दै मानवशास्त्री जनक राई स्थानीय तहले भौतिक विकासका काम मात्र होइन, पुस्तकालय निर्माणमा पनि नेतृत्वदायी भूमिका निभाउनुपर्ने बताउँछन् । ‘पुस्तकालयमा किताब, लेख, रचना, पत्रिका पढ्न त सक्छौँ नै । पुस्तकालयलाई ज्ञान वृद्धि, सही सूचना दिने ठाउँको रूपमा विकास गर्न सक्छौँ । त्यसैले सार्वजनिक, सामुदायिक पुस्तकालय चलाउन बहस हुनुपर्‍यो,’ उनी भन्छन्, ‘स्थानीय तहका जनप्रतिनिधिले जसरी बाटो बनाउने, पुल, पुलेसा निर्माणका काम गरिरहनुभएको छ, त्यसैगरी पुस्तकालय निर्माणमा पनि नेतृत्वदायी भूमिका रह्यो भने पाठन संस्कृति बढ्छ ।’ विभिन्न ठाउँमा सांस्कृतिक, भाषिक समुदायले आ–आफ्नो संग्रहालय, पुस्तकालय बनाउन सुरु गरे पनि जनचासोको विषयमा पुस्तकालय नपर्नु ठूलो चिन्ताको विषय भएको उनी बताउँछन् । 


पुस्तकालयविहीन कर्णालीका धेरै जिल्ला
अहिलेसम्म खुलेका अधिकांश पुस्तकालय काठमाडौं केन्द्रित छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत पुस्तकालय समन्वय शाखाका प्रमुख यादवचन्द्र निरौलाका अनुसार काठमाडौं उपत्यकामा जम्माजम्मी ८२ सार्वजनिक र सामुदायिक पुस्तकालय छन्, जसमध्ये धेरै पुस्तकालय सञ्चालनमा छन् । केही आंशिक रूपमा मात्र सञ्चालन छन् । केही बन्दसमेत भएका छन् । केही थपिने क्रममा पनि छन् । 


काठमाडौंको पुस्तकालयका संख्या अझै थपिने क्रम रहँदा कर्णाली प्रदेशका धेरै जिल्ला भने पुस्तकालयविहीन छन् । १० जिल्ला भएको कर्णालीका सुर्खेत, सल्यान, दैलेख, जाजरकोटबाहेक हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, रुकुम पश्चिम पुस्तकालयविहीन छन् । मन्त्रालयको अनुसार जिल्ला प्रशासन, जिल्ला शिक्षा कार्यालय, प्रदेश र स्थानीय तहमा दर्ता भएका सामुदायिक र सार्वजनिक पुस्तकालयको संख्या ९२९ छन् ।


मन्त्रालयले रिड नेपाल र शान्ति भोलुन्टियर एसोसिएसनको सहयोगमा गतवर्ष गरेको सर्वेअनुसार ९२९ पुस्तकालयमध्ये करिब ३२७ पुस्तकालय मात्र सञ्चालनमा छन् । प्रमुख निरौलाका अनुसार २००७ सालदेखि ०२० सम्म पुस्तकालय खोल्ने लहर चले पनि सरकारी क्षेत्रबाट सहयोग नजाने भएपछि धेरै पुस्तकालय बन्द भएका छन् । ‘हामीले जुन खालको तथ्यांकसार्वजनिक गरेका छौँ, तीमध्ये आधाभन्दा धेरै पुस्तकालय बन्द भएका छन् । भएका कतिपय पनि राम्रोसँग सञ्चालन हुन सकेको छैन । यसको प्रमुख कारण पुस्तकालय आर्थिक अभावबाट गुज्रिनु हो,’ उनले भने ।

 

देश संघीयतामा गएसँगै पुस्तकालय स्थापनाको जिम्मेवारी प्रदेश र स्थानीय तहको हो । सोहीअनुसार केही प्रदेश र स्थानीय तहले कामसमेत गरिरहेका छन् । ‘हामीले पनि ७५३ वटै स्थानीय तहमा नमुना पुस्तकालय निर्माण गर्ने र त्यसपछि ६ हजार ७४३ वटै वडामा पुस्तकालय निर्माण गर्ने योजना बनाएका थियौँ । तर, सार्वजनिक र सामुदायिक पुस्तकालय निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई पुगेपछि हामीले उहाँहरूको अधिकार क्षेत्र हस्तक्षेप गर्ने कुरा पनि भएन । त्यसैले हामीकहाँ नीतिगत काम कुरा, सल्लाह, सुझाब लिन आउने स्थानीय तहलाई सोहीअनुसार सुझाब दिन्छौँ । त्योबाहेक यस्तो गर्नू, उस्तो गर्नू भनेर हस्तक्षेप गर्दैनौँ,’ निरौला भन्छन्, ‘पछिल्लो समय प्रदेश र स्थानीय तहले पनि पुस्तकालय निर्माणका लागि बजेट छुट्याउने, नीति तथा कार्यक्रममै पुस्तकालय निर्माणलाई प्राथमिकता दिने काम गर्नुभएको छ । त्यसैले पुस्तकालय खुल्छन्, खुल्दै छन् ।’


नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुंगाना धेरै स्थानीय तहले पुस्तकालयलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँछन् । उनले आफ्नो नगरपालिकाले नै पुस्तकालय स्थापना नगरे पनि पुस्तकालयलाई सहयोग गरिरहेको बताए । ‘हामीले दबाब दिन मिल्दैन । तर, धेरै पालिकाले आफ्नो तहबाट आवश्यकताअनुसार काम गरिरहनुभएको छ,’ ढुंगाना भन्छन्, ‘हाम्रो नगरपालिकाले पनि पुस्तकालय नै भनेर स्थापना गरेको छैन । तर, पुस्तकालयको भवन बनाउन भनेर वार्षिक बजेटमै व्यवस्था गरेको छु ।’