• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
महा नस्सर
२०८० मङ्सिर ३० शनिबार ०७:२१:००
अनुवाद

‘फ्रम रिभर टु द सी प्यालेस्टाइन विल बी फ्री’ : नाराको नालीबेली

विश्व

२०८० मङ्सिर ३० शनिबार ०७:२१:००
महा नस्सर

‘फ्रम रिभर टु द सी प्यालेस्टाइन विल बी फ्री’ अर्थात् ‘नदीदेखि समुद्र प्यालेस्टाइन हुनेछ स्वतन्त्र’को नारा लगाउने प्यालेस्टिनीले खासमा के भन्न खोजिरहेका हुन् ? यो नारालाई लिएर विवाद भइरहँदा पनि किन फलाकिन्छ ? ७ अक्टुबरमा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले प्रत्याक्रमणमा बमबारीको अभियान नै चलायो ।

 

प्यालेस्टिनी इतिहासकी अध्येता एवं प्यालेस्टिनी प्रवासीका नाताले मैले अमेरिका र विश्वभर इजरायलको बमबारी अभियानविरुद्ध चलिरहेको प्रदर्शनमा दशकौँ पुरानो नाराले फेरि जीवन पाएको र नाराप्रति फेरि प्रश्न उठेको पाएकी छु । 
अमेरिकामा आधारित एन्टी–डिफेमेसन लिगलगायत इजरायल समर्थक समूहले यो नारालाई ‘एन्टीसेमेटिक’को अर्थात् यहुदीद्वेषीको संज्ञा दिएका छन् । अमेरिकी कंग्रेसकी एक मात्र प्यालेस्टिनी मूलकी सदस्य रसिदा तलैबले यो नारा बोल्दा निन्दा व्यहोरेकी छिन् र कंग्रेस सदस्यले अभिव्यक्तिकै कारण निन्दा व्यहोर्नु दुर्लभ हो । तर, तलैब र अन्य असंख्यकँ लागि यो नारा कुनै कोणबाट यहुदीद्वेषी होइन । तलैबकै शब्दमा भन्ने हो भने यो नारा ‘स्वतन्त्रता, मानवअधिकार र शान्तिपूर्ण सहअस्तित्वको माग गर्ने आकांक्षा हो ।’ यो नारा प्रयोग गर्ने हरेक नारेबाजको मनमा के छ त्यो म भन्न सक्दिनँ । तर, इतिहासमा विभिन्न प्यालेस्टिनी समूहका लागि यो नाराले के अर्थ राख्छ र हाल यो नारा घन्काउने अधिकांशको अभिप्रायः के हो भनेर भन्नचाहिँ सक्छु । 


सरल भाषामा भन्ने हो भने यो नारा प्रयोग गर्ने अधिकांश प्यालेस्टिनी नारामा रहेका शब्दले तिनको व्यक्तिगत साइनोको निचोड, तिनको राष्ट्रिय अधिकार र तिनले प्यालेस्टाइन भन्ने भूमिको परिकल्पना जनाउँछ । यो नारालाई लिएर हुने पहरेदारी एक वास्तविक चिन्ता–चासोबाट निःसृत हुन सक्छ तर यसो हुँदै गर्दा नारा यहुदीद्वेषका रूपमा कलंकित हुने र प्रयोगयोग्य नहुने जोखिम पनि निम्तिन्छ । र, यसले प्यालेस्टिनी आवाजलाई मत्थर बनाउने लामो इतिहासलाई नै निरन्तरता दिन्छ ।


व्यक्तिगत साइनोको अभिव्यक्ति 
यो नारा आकर्षक हुनुका पछाडि एउटा कारण यसले आमप्यालेस्टिनीलाई उसको भूमिसँगको गहिरो व्यक्तिगत साइनो इंगित गर्छ । प्यालेस्टिनी एक–अर्कालाई प्यालेस्टाइनका ती गाउँ–सहरसँग जोड्छन्, जहाँबाट आफू आएका थिए । यी गाउँ–सहरमा पूर्वको जोर्डन नदीछेउका जेरिचो र सफेददेखि पश्चिम भूमध्यसागरछेउका जफा र हैफा पर्छन् । यी गहिरा व्यक्तिगत साइनो पहिरन, पकवान र अरबी भाषाको सूक्ष्म विविधताको पुस्ताैँदेखिको उपज हो । यी साइनो आज पनि जीवन्त छन् । प्यालेस्टिनी शरणार्थीका छोराछोरी र नातिनातिना अझै पनि आफ्ना पुर्खा बसेका ठाउँसँग आफूलाई व्यक्तिगत रूपमा जोडिएको पाउँछन् । 

नाराविरुद्ध एउटा अर्को पनि तर्क छ– नारा आफैँमा यहुदीद्वेषी नभए पनि केही यहुदीले खतरा महसुस गर्ने भएकाले यसको प्रयोगमा रोक लगाउनुपर्छ । तर, यस्तो तर्कले मेरो विचारमा एक समूहको भावनालाई उपेक्षा गरेर अर्को समूहको मूल्यमा विशेषाधिकार दिन्छ ।


राष्ट्रिय अधिकारको माग   
नारा भूगोल इंगित गर्ने वाक्यांश मात्रै होइन, यो नारा एक राजनीतिक नारा हो । ‘नदीदेखि समुद्र’ले प्यालेस्टिनीलाई आफ्नो गृहभूमिमाथिको अधिकार र एकीकृत प्यालेस्टाइन स्वतन्त्र राष्ट्रको आधार हो भन्ने तथ्यलाई पुनस्र्थापित गर्छ । जब प्यालेस्टाइन सन् १९१७ देखि १९४८मा बेलायती उपनिवेश थियो, तब यो मुलुकका अरब बासिन्दाले बेलायती र सियोनवादी (जायानिस्ट : प्यालेस्टिनी भूमिलाई यहुदी मात्रको राज्य बनाउनुपर्छ भनेर पैरवी गर्नेहरू) स्वार्थअनुरूप अघि सारिएका मुलुकको विभाजनका विभिन्न प्रस्तावको तीव्र विरोध गरेका थिए । यी प्रस्तावका प्रावधानले लाखौँ प्यालेस्टिनी अरबलाई आफ्नो थातथलोबाट बेदखल गर्‍यो ।   


सन् १९४६मा अरब क्षेत्रका सरकारको प्रतिनिधिमण्डलले ‘एकीकृत राज्य’को प्रस्ताव गरेका थिए, जहाँ ‘लोकतान्त्रिक संविधान’ले सबैलाई ‘धार्मिक स्वतन्त्रताको अभ्यास’को प्रत्याभूति गर्नेछ । प्रस्तावअनुसार एकीकृत राज्यमा ‘यहुदीलाई हिब्रु भाषालाई दोस्रो आधिकारिक भाषाका रूपमा लागू गर्ने अधिकार’ पनि प्रत्यायोजित गरिएको थियो । यसको एक वर्षपछि संयुक्त राष्ट्र संघले प्यालेस्टाइन विभाजनको योजनालाई अनुमोदन गर्‍यो, जसले प्रस्तावित यहुदी राज्यका पाँच लाख प्यालेस्टिनी अरबलाई आफ्नै थातथलोमा अल्पसंख्यक भएर बस्ने वा थातथलो छोड्ने दुई विकल्पका अगाडि उभ्यायो ।

 

अरबी विद्वान् इलियट कोलाका अनुसार यही परिस्थितिका कारण एकीकृत स्वतन्त्र प्यालेस्टाइन सतहमा आएको हो । 
सन् १९४८को युद्धले इजरायली राज्यको निर्माण गर्‍यो, जहाँ करिब सात लाख ५० हजार प्यालेस्टिनी अरबले आफ्नो थातथलो छोडे वा तिनलाई बेदखल गरियो । युद्धको अन्त्यसम्ममा प्यालेस्टाइन तीन भागमा विभाजित भयो । ७८ प्रतिशत भूमि यहुदी राज्य इजरायल बन्यो र बाँकीको क्षेत्र जोर्डन वा इजिप्टको अधीनमा रह्यो ।


प्यालेस्टिनी शरणार्थीलाई नयाँ इजरायली राज्यमा रहेको आफ्नो घरमा फर्किने अधिकार छ भन्ने विश्वास थियो । नयाँ बनेको राज्यमा यहुदी सर्वोच्चता कायम गर्न खोज्ने इजरायलको नेतृत्व पंक्तिले धेरै टाढाको स्थानमा शरणार्थीको व्यवस्थापन गर्न खोजिरहेका थिए । र, यसैक्रममा पश्चिमा मुलुकमा सन् १९५०को दशकताका प्यालेस्टिनी राजनीतिक माग अवैध हुन् भन्ने भाष्य फैलिन पुग्यो ।  

 

भविष्यको बाटो 
प्यालेस्टिनी जनताले आफ्नो राष्ट्रिय अधिकार र शान्तिका लागि वैकल्पिक दृष्टिकोण उपाय पत्ता लगाउनुपर्नेछ । जब इजरायलले सन् १९६७को अरब–इजरायली युद्धका क्रममा वेस्ट बैंक, पूर्वी जेरुसलेम र गाजापट्टीमा कब्जा जमायो, तब सबै भूमि प्यालेस्टाइनलाई फिर्ता गर्नुपर्छ भन्ने जनताका माझ स्वतन्त्र प्यालेस्टाइनको माग झल्काउने ‘फ्रम द रिभर टु द सी’ले थप महत्व पाउन थाल्यो । र, लगत्तै यो नाराले सबैलाई समानताको प्रत्याभूति गराउने धर्मनिरपेक्ष लोकतान्त्रिक राज्यको अवधारणा बोक्यो । 


सन् १९६९मा निर्वासनमा रहेका प्यालेस्टिनीको सर्वोच्च निकाय प्यालेस्टिनियन नेसनल काउन्सिलले औपचारिक रूपमा ‘प्यालेस्टिनी लोकतान्त्रिक राज्य’को माग गर्‍यो, जुन ‘सबै किसिमका धार्मिक र सामाजिक विभेदबाट मुक्त हुनेछ ।’ जब इजरायलसँगै प्यालेस्टिनी नेता वेस्ट बैंक, गाजापट्टी र पूर्वी जेरुसलेम भएको आधा अधुरो प्यालेस्टाइनको स्थापनातर्फ लागिरहेका थिए, तब पनि प्यालेस्टिनी जनतामाझ ‘प्यालेस्टिनी लोकतान्त्रिक राज्य’ लोकप्रिय नै थियो । थुप्रै प्यालेस्टिनी नेतृत्व सहमत हुन खोजिरहेको दुई राज्यीय समाधानप्रति सन्देह व्यक्त गर्थे । सन् १९४८का शरणार्थी दुई राज्यीय समाधानले आफू थातथलोमा फर्किन दिँदैन भन्ने ठान्थे । त्यसैगरी इजरायलमा रहेका प्यालेस्टिनी नागरिक दुई राज्यीय समाधान हुँदा यहुदी राज्यमा अरब अल्पसंख्यक भएका कारण थप अलगावमा परिने हो कि भनेर भयभीत भएका थिए । 


दुई राज्यीय समाधानबाट तुलनात्मक रूपमा सहजता हासिल गर्ने वेस्ट बैंक र गाजाका प्यालेस्टिनी पनि यो समाधानप्रति सकारात्मक थिएनन् । सन् १९८६को एक मत सर्वेक्षणका अनुसार यो क्षेत्रका ७८ प्रतिशत उत्तरदाताले ‘प्यालेस्टाइनको समग्र भूमि समेट्ने धर्मनिरपेक्ष लोकतान्त्रिक प्यालेस्टाइनमा समर्थन गरेका थिए’ र १७ प्रतिशत उत्तरदाताले मात्रै दुई राज्यीय समाधानमा समर्थन गरेका थिए । यसले सन् १९८७ देखि १९९२सम्मको पहिलो इन्टिफाडा अर्थात् पहिलो प्यालेस्टिनी विद्रोहका वेला ‘फ्रम द रिभर टु द सी’ नाराले बोक्ने स्वतन्त्र प्यालेस्टाइनको माग लोकप्रिय हुनुको अवस्थालाई पुष्टि गर्छ । उल्लेख गर्न योग्य कुरो के छ भने सन् १९८७मा स्थापना भएको इस्लामवादी पार्टी हमासले प्यालेस्टिनी धर्मनिरपेक्ष राष्ट्रवाद बोक्ने भएकाले सुरुमा ‘फ्रम द रिभर टु द सी’को नाराको प्रयोग गरेको थिएन ।  


दुई वा एक राज्यीय समाधान ?
सन् १९९३मा ओस्लो सम्झौता हुँदा धेरैलाई दुई राज्यीय समाधान हुने भयो भन्ने लागेको थियो । तर, यो समाधान हुने आशामा तुसारापात भयो, तब केही प्यालेस्टिनी ‘फ्रम द रिभर टु द सी’ नाराले बोक्ने स्वतन्त्र प्यालेस्टाइनको अवधारणालाई अँगाल्न थाले । 


कालान्तरमा हमासले सन् २०१७को संशोधित घोषणापत्रमा ‘फ्रम द रिभर टु द सी’को नारालाई स्वीकार ग¥यो । यो नारा छनोट गर्नुका पछाडि हमासको धर्मनिरपेक्ष राजनीतिक प्रतिद्वन्द्वी फतह कमजोर भएका वेला थप वैधता हासिल गर्ने उद्देश्य थियो । फतहलाई धेरैले प्यालेस्टिनी जनतालाई असफल बनायो भनेर हेर्ने गर्छन् । आजका मितिमा पनि अधिकांश प्यालेस्टिनी समानताको अवधारणालाई मान्छन् । सन् ०२२को एक सर्वेक्षणअनुसार प्यालेस्टिनी जनता सबैलाई समानताको प्रत्याभूति गराउने एक राज्यलाई भारी समर्थन गर्छन् । 


के नारा आपत्तिजनक छ ?
सम्भवतः नारालाई हमासले अंगीकार गरेका कारण केहीले नारालाई नरसंहारको आह्वानका रूपमा लिएका छन्, अर्थात् ‘यहुदीबाट मुक्त प्यालेस्टाइन’ बुझेका छन् । ७ अक्टुबरमा हमासको आक्रमणमा करिब एक हजार दुई सय मानिस मारिएको (इजरायली सरकारी आँकडाअनुसार) सन्दर्भमा यो भयको सिर्जना हुनु भनेको असामान्य भने होइन । तर, अरबी मूल भाषामा उच्चारण हुने ‘फिलस्तिन हुर्रा’ले स्वतन्त्रता हासिल गरेको प्यालेस्टाइनको अर्थ दिन्छ । तर ‘...बाट मुक्त’को अरबी अनुवाद नै भिन्न हुन्छ । नाराका अन्य आलोचक इजरायलको अस्तित्वको अधिकारलाई अस्वीकार गरेर नारा यहुदीद्वेषी बन्यो भन्ने दलिल पेस गर्छन् । यो अवधारणाअन्तर्गत प्रदर्शनकारीले इजरायललाई नै प्रतिस्थापित गर्ने नाराको सट्टा इजरायलसँग सहअस्तित्व हुने प्यालेस्टिनी राज्यको माग गर्नुपर्छ । तर, यो अवधारणाले मौजुदा यथार्थलाई बेवास्ता गर्छ । अहिलेको समयमा दुई राज्यीय समाधान सम्भव छैन भन्नेमा बलियो प्राज्ञिक मतैक्यता देखिन्छ । यी प्राज्ञ वेस्ट बैंकमा फैलिएको अवैध यहुदी बस्ती र गाजाको आर्थिक अवस्थाले परिकल्पित प्यालेस्टिनी राज्यको एकता र व्यावहारिकतालाई समाप्त पारिसकेको छ भन्नेमा एकमत छन् ।


थप राक्षसीकरण
नाराविरुद्ध एउटा अर्को पनि तर्क छ– नारा आफैँमा यहुदीद्वेषी नभए पनि केही यहुदीले यसबाट खतरा महसुस गर्ने भएकाले यसको प्रयोगमा रोक लगाउनुपर्छ । तर, यस्तो तर्कले मेरो विचारमा एक समूहको भावनालाई उपेक्षा गरेर अर्को समूहको मूल्यमा विशेषाधिकार दिन्छ । पछिल्लो एक महिनायता युरोपमा प्यालेस्टिनी समर्थकका अनुसार तिनको अभियानमा ‘अभूतपूर्व दमन’ भएको छ । यसैबीचमा अमेरिकामा प्यालेस्टाइनको समर्थनमा विचार व्यक्त गर्नेमाथि व्यापक विभेद, बदला र हिंसा भइरहेको छ । १४ नोभेम्बरका दिन जर्ज वासिंटन विश्वविद्यालयले स्टुडन्ट्स फर जस्टिस इन प्यालेस्टाइन समूहका विद्यार्थीलाई क्याम्पसको लाइब्रेरीमा ‘फ्री प्यालेस्टाइन फ्रम द रिभर टु द सी’नारा प्रोजेक्ट गरेका कारण निलम्बन गरेको छ । 


स्वतन्त्रता एवं सहअस्तित्वको आकांक्षा
यति लेख्दै गर्दा ‘फ्रम द रिभर टु द सी प्यालेस्टाइन विल बी फ्री’का अन्य व्याख्या हुँदैन भनेर भन्न खोजेकी होइन । प्यालेस्टिनी जनता आफैँ आफ्नो मूलभूमिमा कस्तो राजनीतिक व्यवस्था चाहन्छन् भन्नेमा विभाजित छन् । तर, कुरो यो होइन । अधिकांश प्यालेस्टिनी जनता यो नारा घन्काइरहँदा न राजनीतिक व्यवस्थाको पैरवी गरिरहेका छन् वा न कुनै राजनीतिक समूहसँग आबद्धता जनाइरहेका छन् । बरु अधिकांश मानिस यो नारालाई स्वतन्त्रता एवं सहअस्तित्वको सैद्धान्तिक अवधारणाका रूपमा लिन्छन् । 


(नस्सर एरिजोना विश्वविद्यालयको स्कुल अफ मिडल इस्टर्न एन्ड नर्थ अफ्रिकन स्टडिजकी सहप्राध्यापक हुन् । ‘द कन्भर्सेसन’मा प्रकाशित यो लेख दिनेश पन्तले अनुवाद गरेका हुन् ।)