• वि.सं २०८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
मिसेल गज्जोला
२०८० पौष १४ शनिबार ०९:०१:००
अनुवाद

संसारमा अझै छ, अंग्रेजीको शासन

२०८० पौष १४ शनिबार ०९:०१:००
मिसेल गज्जोला

आफ्नो क्रिसमस छुट्टी युरोपको मुख्य भूमिमा बिताउने जोकोहीले त्यहाँका पसल र होटेलहरूमा अंग्रेजीमा कुराकानी गर्न र यस भाषामा लेखिएका मेन्यु र संकेतहरू पढ्न सक्ने कर्मचारीहरू भेटिनु सामान्य भएको अनुभव गर्छन् नै । यो तथ्यलाई आश्चर्यका रूपमा पनि लिइनुहुँदैन । न त यो कुनै भवितव्य वा आकस्मिक परिघटना नै हो । युरोपमा अंग्रेजी भाषा–कौशलको फैलावट मुख्यतया उसका शैक्षिक नीतिहरूको परिणाम हो । युरोपले दशकौँदेखि सार्वजनिक विद्यालयमा अंग्रेजीको पठनपाठनलाई गहन रूपमा बढावा दिइरहेको छ ।


यसका कारण विविध, तर ज्ञात छन् । संस्कृतिको एउटा प्रमुख भाषा हो अंग्रेजी । र, यो चिनियाँ र स्पेनिसपछि मातृभाषाको रूपमा विश्वमा तेस्रो सबैभन्दा बढी बोलिने भाषा पनि हो । मातृभाषाका रूपमा अंग्रेजी बोल्नेहरूको संख्या लगभग ३७ करोड ३० लाख (विश्वको जनसंख्याको लगभग पाँच प्रतिशत) छ र यो जनसंख्या मूलतः औद्योगिकीकरण भएका लोकतान्त्रिक मुलुकहरू (अस्ट्रेलिया, क्यानडा, आयरल्यान्ड, न्युजिल्यान्ड, बेलायत र संयुक्त राज्य अमेरिका)मा बसोवास गर्छ । विश्वको कुल (नोमिनल) जिडिपीमा यिनको हिस्सेदारी करिब ३३ प्रतिशत छ । यस औपनिवेशिक विरासतको परिणामस्वरूप अंग्रेजी विश्वका धेरै देशमा मुख्यतया अफ्रिकाको आधिकारिक वा सहआधिकारिक भाषा भएको छ ।


यसर्थ, अंग्रेजीको सञ्चारमूल्य उच्च छ । त्यसैले यो सिक्ने रुचि पनि उच्च छ । धेरै मानिसले अंग्रेजीलाई दोस्रो वा विदेशी भाषाको रूपमा प्रयोग गर्छन् । सटीक अनुमान लगाउनु जोखिमपूर्ण होला, तर नेटिभ (अंग्रेजी मातृभाषा भएका) र गैरनेटिभभाषी मिलाउँदा विश्वमा अंग्रेजी बोल्नेहरूको संख्या एकदेखि साढे एक अर्बको हाराहारीमा छ । यो विश्वको कुल जनसंख्याको १२ देखि १९ प्रतिशत हुन आउँछ । तथापि, यी सबैको भाषिक प्रवीणतास्तर समान भने छैन । प्रमुख अन्तर्राष्ट्रिय भाषाको रूपमा अंग्रेजीको उदयलाई धेरैले पर्याप्त व्यावहारिक फाइदा भएको र कुनै बेफाइदा नभएको एक सकारात्मक परिघटनाको रूपमा हेर्छन् । तर, यसले समस्याहरू पनि खडा गर्दाेरहेछ भन्ने कुरा अहिले बिस्तारै बुझ्न र अध्ययन गर्न थालिएको छ ।

अंग्रेजीका धाराप्रवाह वक्ताका फाइदा सुस्पष्ट छन्, तर अरूले त्यसको ठूलो मूल्य चुकाउनुपर्छ । यहाँ भाषिक न्यायलाई बढावा दिने केही तरिका प्रस्तुत गरिएका छन् ।


निष्पक्षता वा ‘भाषिक न्याय’को चुनौती सबभन्दा महत्वपूर्ण हो । साझा भाषा भनेको टेलिफोन नेटवर्कजस्तै हो । जति धेरै मानिसले भाषा जान्दछन्, सञ्चारका लागि यो त्यति नै उपयोगी हुन्छ । व्यक्तिगत रूपमा भाषाको यो नेटवर्कमा पहुँच प्राप्त गर्न निकै फरक–फरक लागत चुकाउनुुपर्ने हुन्छ । त्यसैले यसलाई प्रयोग गर्दा प्रयोगकर्ताहरू असमानतामा हुन्छन् । यसर्थ, निष्पक्षताको प्रश्न खडा हुन्छ । द्वितीय भाषाको रूपमा अंग्रेजी सिक्नेहरूले पनि त्यसको मूल्य चुकाउनुपर्छ, जब कि यसका मातृभाषीहरूले नेटवर्कका सबै सदस्यसँग कुनै मूल्य चुकाएविना नै सञ्चार गर्न पाउँछन् । यो भनेको उनीहरूले नयाँ मोडेलको उन्नत स्मार्टफोन र असीमित डाटासहितको सिमकार्ड निःशुल्क पाएजस्तै हो ।


युनिभर्सिटी अफ जेनेभाका फ्रान्कोइज ग्रिनका अनुसार पश्चिमा युरोपेली देशहरूले आफ्नो शिक्षा–बजेटको पाँचदेखि १५ प्रतिशत विदेशी भाषा शिक्षणमा खर्च गर्छन् । इयूमा यी स्रोतको अधिकांश हिस्सा एउटै भाषा अर्थात् अंग्रेजीको शिक्षणमा जान्छ । आयरल्यान्डलाई एउटा अपवादका रूपमा लिने हो भने इयूका अन्य सबै सदस्य राष्ट्रका स्कुलमा अंग्रेजीलाई विदेशी भाषाको रूपमा सामान्यतया अनिवार्य विषयको रूपमा पठनपाठन गराइन्छ । युरोपियन कमिसनले प्रकाशित गरेको तथ्यांकअनुसार (युरोपका) प्राथमिक विद्यालयका ८४ प्रतिशत, निम्नमाध्यमिक विद्यालयका ९८ प्रतिशत र उच्च माध्यमिकका ८८ प्रतिशत विद्यार्थीले अंग्रेजी पढ्छन् । माध्यमिक तहमा अन्य भाषा (विशेषगरी फ्रेन्च, जर्मन वा स्पेनिस) अध्ययन गर्नेहरूको प्रतिशत योभन्दा निकै कम औसतमा २० देखि ३० प्रतिशत हाराहारीमा छ । 


यसको ठीकविपरीत अंग्रेजी भाषा बोल्ने देशहरूमा युवा पुस्ताले अन्य भाषा सिक्नुपर्ने आवश्यकता खासै महसुस गर्दैनन् । त्यसैले ती मुलुकमा विदेशी भाषाको पढाइ लामो समयदेखि कम हुँदै गएको छ । त्यसको सट्टा उनीहरू अन्य विषयमा ध्यान दिन्छन् । यो प्रवृत्तिले अंग्रेजीभाषी देशका शिक्षा प्रणालीको पर्याप्त स्रोतसाधन बचत गराएको छ, जुन बचतलाई उनीहरूले अन्य उत्पादक सार्वजनिक लगानीहरूमा विनियोजन गर्न पाउँछन् ।


दोस्रो प्रकारको असमानता साझा भाषाको अनुप्रयोगसँग सम्बन्धित छ । अधिकांश व्यावसायिक सवालमा, व्यक्तिले आफ्नो मातृभाषा प्रयोग गर्न पाउँदा नै ऊ अधिक किफायती र प्रभावकारी हुन्छ । यो असमानता मापन गर्न कठिन त छ, तर असम्भव भने छैन । वैज्ञानिक अनुसन्धानमा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशन गर्न र अनुसन्धान कोश प्राप्त गर्न अक्सर अंग्रेजी आवश्यक पर्छ ।


युनिभर्सिटी अफ क्विन्सल्यान्डका तत्सुया अमानो नेतृत्वको एउटा टोलीले हालै वातावरण विज्ञानका नौ सय अनुसन्धानकर्तामाथि गरेको एउटा अध्ययन प्रकाशित गरेको छ । सो अध्ययनले मूल भाषाका रूपमा अंग्रेजी भाषा नबोल्ने अनुसन्धाताहरूलाई मूल भाषाका रूपमा अंग्रेजी बोल्ने अनुसन्धाताहरूको तुलनामा अंग्रेजीका प्रकाशन पढ्न, लेख्न वा समीक्षा गर्न दोब्बर समय लाग्ने देखाएको छ । गैरअंग्रेजीभाषीहरूले प्रकाशनका लागि अनुसन्धानपत्रहरू पठाउँदा भाषागत कारण उनीहरूको काम अस्वीकृत हुने सम्भावना अंग्रेजीभाषीको तुलनामा लगभग साढे दुई गुणा बढी हुन्छ । उनीहरूले भाषा सम्बन्धित संशोधनहरू गर्नुपर्ने सम्भावना साढे १२ गुणा बढी हुन्छ । यसर्थ, समान वा अधिक प्राविधिक दक्षता हुँदासमेत उनीहरूले कम अवसरहरू पाउने सम्भावना रहन्छ ।


समाधान खोज्नुभन्दा समस्याको पहिचान गर्न पक्कै पनि सजिलो हुन्छ । विशेषगरी विश्वव्यापी मुद्दाहरूको सवालमा यही हुन्छ । तथापि, क्षतिपूर्तिका केही उपाय यस विश्वव्यापी भाषिक अन्यायलाई घटाउन मदतगार हुन सक्छन् । युनिभर्सिटी अफ लुभेनका फिलिप भान पारिजसले अलिकति आवेशमा अंग्रेजी बोल्ने देशहरूमा भाषिक कर लगाउने र अन्य देशहरूमा अंग्रेजी पढाउने खर्चको क्षतिपूर्ति गर्ने प्रस्ताव गरेका छन् । यो प्रस्ताव बहुसंख्यक जनसंख्याले मातृभाषाको रूपमा अंग्रेजी बोल्ने देशहरूमा विश्वव्यापी भाषिक कर लगाउने र विदेशी भाषाको रूपमा विद्यालयहरूमा अंग्रेजी पढाउने देशहरूलाई त्यो कर राजस्व दिने प्रस्ताव हो । 


हुन त, अप्रत्यक्ष क्षतिपूर्तिका अन्य स्वरूपहरूमाथि पनि विचार गर्न सकिन्छ । उदाहरणका लागि, औद्योगिक सम्पत्ति अधिकारहरूलाई आंशिक रूपमा खुकुलो बनाउने जस्तो कि पेटेन्ट अधिकारहरू । पेटेन्टको कानुनी संरक्षणको अधिकतम अवधि २० वर्ष हुन्छ । अंग्रेजी बोल्ने देशमा आधारित व्यवसायहरूले गैरअंग्रेजीभाषी देशमा पेटेन्ट दर्ता गर्दा यो अवधिलाई केही वर्ष कम बनाउन सकिन्छ । यसको अर्थ, यी पेटेन्टहरूलाई अंग्रेजीभाषी देशमा दर्ता पेटेन्टहरूभन्दा छिटो इजाजतपत्रविना नै व्यावसायिक रूपमा उपयोग गर्न पाइनेछ । विश्व बौद्धिक सम्पत्ति संगठन (डब्लुआइपिओ)ले यस दिशामा नियमहरू सुधारलाई बढावा दिन सक्छ ।


अन्य उपायमा प्रकाशकले वैज्ञानिक खोजका प्रकाशनहरूमा मेसिन अनुवाद तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को व्यापक प्रयोगको लागत व्यहोर्नेलगायत हुन सक्छन् । यसैगरी, शिक्षामा लैंगिक समानतालाई बढावा दिने नीतिहरूको उदाहरणलाई अनुशरण गर्दै अन्तर्राष्ट्रिय परियोजनाहरूमा अनुसन्धान वृत्तिका लागि क्राइटेरिया तय गर्दा बहुभाषी अनुसन्धानकर्तालाई पुरस्कृत गर्ने गरी मापदण्डहरू डिजाइन गर्न सकिन्छ । 


निःसन्देह, भाषिक न्यायको समस्या अंग्रेजीमा मात्रै सीमित छैन । विश्वव्यापी सञ्चारको प्रमुख भाषा स्पेनिस वा फ्रेन्च (तर एस्पेरान्तोजस्ता तटस्थ भाषा होइन) हुन्थे भने पनि यही समस्या उत्पन्न हुने थियो । तर, अहिलेका लागि अंग्रेजी नै प्रमुख र वर्चश्वशाली अन्तर्राष्ट्रिय भाषा हो । थुप्रैका लागि यो एउटा वरदान हो, तर के हामीले ती मानिसबारे चाहिँ सोच्नुपर्दैन जसका लागि यो एउटा चिन्ताको विषय हो ?


(उल्स्टर विश्वविद्यालय, बेलफास्टमा सार्वजनिक नीति तथा प्रशासनकी अध्यापक मिचेल गज्जोला ‘ल्याङ्वेज प्रब्लम्स एन्ड ल्याङ्वेज प्लानिङ’ नामक जर्नलकी सम्पादक हुन् । यो आलेख 
‘द गार्जियन’बाट नारायण शिवाकोटीले अनुवाद गरेका हुन् ।)