• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
नवीन अर्याल
२०८० पौष २१ शनिबार ०६:१८:००
सम्झना

नेपालमा यसरी भित्रियो युनिलिभर

२०८० पौष २१ शनिबार ०६:१८:००
नवीन अर्याल

नेपालमा बहुराष्ट्रिय कम्पनी युनिलिभर भित्रिनुको रोचक कथा छ । त्यसवेला बुबा इन्द्रभक्त श्रेष्ठ इन्द्रचोकमा व्यापार गर्नुहुन्थ्यो । म बुबालाई व्यापारमा सघाउन थालिसकेको थिएँ । त्यसवेलै हिन्दुस्तान लिभरका उत्पादनहरूको नेपालका लागि आधिकारिक विक्रेता थियौँ । लिभरका शृंगारका सामग्री, लक्स साबुनलगायत खुबै आयात हुन्थ्यो । 


बुबा वाणिक मण्डलको सदस्य (सन् १९५१), नेपाल चेम्बर अफ कमर्सको चार कार्यकाल अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष (१९७८–८१), नेपाल राष्ट्र बैंकको निर्देशक (१९७८–८०), शाही नेपाल वायुसेवा निगमको बोर्ड सदस्य (१९८२) भइसक्नुभएको थियो । पछि म आफैँ पनि महासंघको अध्यक्ष भएँ । बुबा व्यापार व्यवसायसँगै सरकारी निकायदेखि विभिन्न संघसंस्थामा उत्तिकै सक्रिय हुनुहुन्थ्यो । यसैले राष्ट्रदेखि परराष्ट्रसम्म उहाँको एक किसिमको पहिचान बनिसकेको थियो । 


युनिलिभर सेप्टेम्बर १९२९ मा स्थापित भएको बहुराष्ट्रिय कम्पनी हो । नेपालमा युनिलिभरका प्रडक्टहरूको एकसरो बजार बनिसकेको थियो । देशमै उद्योग खोलेर सामान उत्पादन गर्न सकेमा देशैभर कम्पनीका वस्तु पु¥याउन सकिने सम्भावना थियो । बुबाको मनमा लाग्यो, ‘युनिलिभरको उद्योग नेपालमै खोल्न पाए राम्रो हुन्थ्यो ।’ संयुक्त लगानीमा उद्योग स्थापना गर्न बुबाले प्रस्ताव गर्नुभयो । हामीले प्रस्ताव गर्नेबित्तिकै युनिलिभरले तत्कालै ‘ओके’ भन्नेवाला थिएन । बजार अध्ययन गरेर सम्भावना देखे मात्र अनुमति दिनेवाला थियो । 


त्यसताका नेपालमा प्रजातन्त्र आइसकेको थिएन । राज्य नियन्त्रित अर्थव्यवस्था थियो । त्यसवेला कुनै पनि उद्योग व्यवसायले लाइसेन्स पाउनु चानचुने कुरो थिएन । बुबाको प्रस्तावपछि हिन्दुस्तान लिभरले नेपालमा आएर बजार सम्भाव्यता अध्ययन गर्‍यो । हाम्रो क्रियाकलाप र प्रतिष्ठाबारे सोधखोज गरेछन् । अरू थुप्रै व्यावसायिक घरानासँग पनि कुराकानी गरेछन् । अरू ठूला घरानाहरू पनि युनिलिभरसँग सहकार्य गर्न इच्छुक थिए । हामी युनिलिभरको वितरक भन्नेबित्तिकै उद्योग चलाउन हामीसँगै सहकार्य गर्नुपर्छ भन्ने बाध्यता थिएन ।

युनिलिभर नेपालले सन् १९९२ देखि व्यावसायिक उत्पादन गरिरहेको छ । हामीले पहिलो वर्षदेखि नै राम्रो गर्दै गयौँ । उद्योग खोल्नुअघि नै युनिलिभरका प्रडक्टले नेपाली उपभोक्ताको विश्वास जित्दै थिए । यहीँ उत्पादन सुरु गरेपछि युनिलिभरका प्रडक्ट देशैभर पुग्न थाले । केही वर्ष हामीले निर्यात पनि गर्‍यौँ ।


हिन्दुस्तान लिभरका प्रतिनिधिले बजार सम्भाव्यता अध्ययन गरे । हाम्रा बारेमा सोधखोज गरेपछि सहकार्यका लागि सहमत भए । त्यो हाम्रो लागि गौरवको कुरा थियो । विश्वकै प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीसँग साझेदारी गर्न धेरै क्राइटेरिया पूरा गर्नुपथ्र्यो । राम्रो गुडविल र इथिकल बिजनेस गरेको हुनुपथ्र्यो । उनीहरूले सबै तहबाट हामीलाई उपयुक्त ठह¥याई हातेमालो गर्न तयार भए । 


लिभर हामीसँग साझेदारी गरेर उद्योग खोल्न तयार भयो । उसले कसैसँग संयुक्त लगानी गरेको उद्योग खोल्न लागेको त्यो पहिलोपटक थियो । उनीहरूले त्यतिवेलै भनेका थिए, ‘अरू देशमा कसैसँग पनि संयुक्त लगानी गरेको छैनौँ ।’ हामीले त्यो अवसर प्राप्त गर्‍यौँ । प्रचलित औद्योगिक ऐन तथा नियमअनुसार ‘नेपाल लिभर लिमिटेड’ कम्पनी दर्ता गर्न आवेदन दियौँ । तर, त्योे समयमा उद्योग दर्ता गर्न कठिन भयो । बहुराष्ट्रिय कम्पनी प्रोफेसनल र इथिकल काम गर्न खोज्छन् । त्यसवेला नेपालमा पैसा खर्च नगरी केही काम हुँदैनथ्यो । इजाजत दिन झन्डै दुई वर्षसम्म आलटाल गरियो । धेरै प्रयासपछि ०४६ सालमा इजाजत पायौँ र हेटौँडामा जग्गा लिएर उद्योग स्थापना गर्‍यौँ ।


युनिलिभर नेपालले सन् १९९२ देखि व्यावसायिक उत्पादन गरिरहेको छ । हामीले पहिलो वर्षदेखि नै राम्रो गर्दै गयौँ । उद्योग खोल्नुअघि नै युनिलिभरका प्रडक्टले नेपाली उपभोक्ताको विश्वास जित्दै थिए । यहीँ उत्पादन सुरु गरेपछि युनिलिभरका प्रडक्ट देशैभर पुग्न थाले । केही वर्ष हामीले निर्यात पनि गर्‍यौँ । अहिले युनिलिभर देशको सबैभन्दा ठूलो उद्योगमध्ये पर्छ । 


युनिलिभर नेपालको पुँजीबजारमा ‘ब्लु चिप’ कम्पनी बनेको छ । बिहीबार दोस्रो बजारमा युनिलिभरको सेयर प्रतिकित्ता ४० हजारमा किनबेच भएको थियो । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५८० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । नेपालमा लगानीकर्तालाई सबैभन्दा धेरै लाभांश दिनेमा युनिलिभर अग्रस्थानमा छ ।


विख्यात बहुराष्ट्रिय कम्पनी आएपछि विश्वभरि नेपालको राम्रो सन्देश प्रवाह भयो । अरू लगानीकर्तालाई पनि प्रोत्साहन मिल्यो । क्रमशः अरू बहुराष्ट्रिय कम्पनीले पनि नेपालमा चासो देखाउन थाले । यसैक्रममा ०४६ सालमा प्रजातन्त्र आयो । ०४८ सालमा बनेको खुला बजार अर्थनीति अवलम्बन गरियो । देशमा लाइसेन्सराज समाप्त भयो । र, सबैले निर्बाध व्यापार व्यवसाय गर्न पाउने भए । बैंक, इन्स्योरेन्स, शिक्षा, स्वास्थ्य, टेलिकमदेखि व्यापारसम्म निजी क्षेत्र मौलाउन पायो । र, धमाधम बहुराष्ट्रिय कम्पनी पनि भित्रिन थाले । 


अहिले विश्वकै प्रख्यात मल्टिनेसनल कम्पनी नेपाल आइसकेका छन् । हस्पिटालिटी क्षेत्रमा बहुराष्ट्रिय चेन होटेल ब्रान्ड भित्रिन प्रतिस्पर्धा गरिरहेका छन् । डेढ दर्जन होटेल ब्रान्ड नेपाल भित्रिसकेका छन् भने अझै एक दर्जन ब्रान्ड भित्रिने तयारीमा छन् । अहिले म्यारियट इन्टरनेसनल, इन्टरकन्टिनेन्टल होटेल ग्रुप (आइएचजी), हिल्टन, र्‍याडिसन, ताजजस्ता चेन होटेल नेपालमा कार्यरत छन् । सूर्य नेपाल, डाबर नेपाल, कोकाकोला, पेप्सी, विभिन्न लिकर ब्रान्डले नेपालमै उद्योग खोलिसकेका छन् । र, राम्रो मुनाफा पनि कमाइरहेको देखिन्छ ।


बरु राजनीतिक र नीतिगत अस्थिरताका कारण देशमा काम गर्ने वातावरण भने त्यति सन्तोषजनक छैन । लगानीका लागि पुराना ऐन–कानुन बाधक बनेका छन् । देशमा लगानीको वातावरण बनाउन ऐन–कानुन सुधार आवश्यक छ । अनुकूल ऐन–कानुन भएमा भइरहेकै बहुराष्ट्रिय कम्पनीले लगानी थप्छन् । र, नयाँ पनि आउँछन् ।


हामीले पर्यटनमा धेरै फड्को मारेका छौँ । होटेल रिसोर्टमा ठूलो लगानी भएको छ । विश्वका हाई एन्ड होटेल ब्रान्ड पर्यटकलाई सेवा दिन आएका छन् । तर, अपेक्षित मात्रामा पर्यटक आउन सकेका छैनन् । निजी क्षेत्रले लगानी ओइराएको छ, तर सरकारले भएकै एयरपोर्ट चलाउन सकेन । सडक जताततै भत्काएर राखेको छ । निर्माणमा ढिलाइ भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले हालै देशवासीका नाममा सम्बोधन गर्दै काम गर्ने दृढता प्रकट गर्नुभएको छ ।

 

बोलेको काम गर्नुहोस् । अब लक्ष्य प्राप्तिमा सरकार र निजी क्षेत्र हातेमालो गरी अगाडि बढ्नैपर्छ । हामीले प्रधानमन्त्री अध्यक्ष रहेको ‘इन्डस्ट्री एन्ड ट्रेड प्रमोसन डायलोग काउन्सिल’ बहुराष्ट्रिय कम्पनीका तर्फबाट सुझावहरू दिएका छौँ । सरकारले ती सुझाव कार्यान्वयनमा तदारुकता देखाउनुपर्छ । त्यसो भएमा बहुराष्ट्रिय कम्पनीलाई थप लगानी गर्न मद्दत नै पुग्नेछ ।