• वि.सं २०८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
टोपलाल अर्याल
२०८० पौष २१ शनिबार ०७:४२:००
सम्झना

सन्तोषको सपना

२०८० पौष २१ शनिबार ०७:४२:००
टोपलाल अर्याल

१७ वर्षीय सन्तोष घर्ती फुटबलका डिफेन्डर हुन् । तम्घासको चिदिचौर खेल मैदानमा सञ्चालित ‘फोर्टिन स्टार कप’ जिल्लास्तरीय छात्र फुटबल प्रतियोगितामा उनले सबैको ध्यान खिचे । मालिका गाउँपालिका–८ को मालिका माविको कक्षा १० मा पढ्ने सन्तोषको एउटा हात छैन । तर, खेल हेर्ने दर्शकलाई उनको एउटा हात छैन भन्ने पत्तो नै हुँदैन । खेलका दौरान अरू खेलाडी र उनमा केही फरक देखिँदैन । उत्कृष्ट खेल प्रदर्शनबाट उनले निकै तारिफ पाइरहेका छन् ।


सन्तोष सानैबाट फुटबलमा रुचि राख्थे । सन्तोष हरेक दिन साँझ गाउँमै साथीहरूसँग फुटबल खेल्छन् । उनी समूहको कमजोर पात्र नभएर भरोसा नै हुन् । सन्तोषको आत्मबल निकै उच्च देखिन्छ । ‘खेलमैदानमा पसेपछि ऊर्जा प्राप्त हुन्छ ।कहिल्यै आफूलाई कमजोर ठानेको छैन,’ उनले भने, ‘खेल्दा इमानदार र अनुशासित भएर खेल्ने प्रयास गर्छु ।’ 


गाउँमा सन्तोषलाई कमजोर सोच्नेहरू नभएका होइनन् । तर, सपना, आत्मबल तथा स्कुल, साथीभाइ र परिवारको साथले उनी खेलिरहेका छन् । सन्तोष पहिले हात छोप्न ज्याकेट लगाएर खेल्थे । तर, अहिले एन्फाको नियमका कारण हाफ टिसर्टमा खेलिरहेका छन् । ‘म दर्शकलाई हातभन्दा खेल देखाउन चाहन्छु,’ उनले भने, ‘जिल्लास्तरीय खेलमा सबैले मेरो हात देखे । मलाई अर्कै महसुस भए पनि विचलित नभई खेलेँ ।’ 

एक हात नभएर पनि उत्कृष्ट फुटबल खेलिरहेका सन्तोष घर्ती भन्छन्, ‘म दर्शकलाई हातभन्दा खेल देखाउन चाहन्छु,


सन्तोषलाई बिद्यालयले पनि राम्रो हौसला दिइरहेको छ । अहिलेसम्म दुइटा जिल्लास्तरीय खेलमा सन्तोषले भाग लिए । एन्फाका रेफ्रीहरू भएकाले सन्तोष सहभागी गराउन नपाइने र आफ्नो टिम कमजोर हुने हो कि भन्ने विद्यालयलाई चिन्ता थियो । तर, त्यस्तो भएन । सौहार्दतापूर्ण रूपमा मालिका मावि र रिडी माविबीच प्रतिस्पर्धा चल्यो । अन्ततः रिडी माविलाई पराजित गरेर सन्तोषहरूको समूह क्वार्टर फाइनलमा प्रवेश पायो । 


खेलमा सन्तोषको विश्वास देखेर आफू पनि प्रभावित भएको मालिका माविका खेल शिक्षक तीर्थबहादुर शाहीले बताए । ‘सन्तोषको विश्वास र इमानदारिताका कारण मैले उसलाई निरन्तर हौसला दिएको छु । सन्तोष खेल्न र पढ्न दुवैमा राम्रो विद्यार्थी हो,’ उनले भने, ‘खेलमा हारजित स्वाभाविक छ । तर, सहभागिता ठूलो कुरा हो ।’ राम्रो क्लबमा खेल्न पाए सन्तोषले राम्रो गर्न सक्ने शिक्षक शाहीले बताए । सँगै फुटबल खेलिरहेका साथी अमित खत्रीले पनि सन्तोषले खेलमैदानमा कहिल्यै आफू कमजोर नठानेको प्रतिक्रिया दिए । आफुहरूलाई समेत सन्तोषले ऊर्जा दिने गरेको अमितले बताए ।

 

रेफ्रीबाट प्रशंसा
गाउँमा मापदण्डअनुसारको खेलमैदान, प्रशिक्षक र प्रशिक्षण छैन । खेलाडीहरू खेतबारी र सडकमा खेल खेल्न बाध्य छन् । तर, पनि सन्तोषजस्ता हिम्मतवाला खेलाडी जन्मिरहेका छन् । जिल्लामा लामो समयदेखि फोर्टिन स्टार युवा क्लबले छात्र र पुल्चोक स्पोर्ट क्लबले छात्रा फुटबल प्रतियोगिता गर्दै आएका छन् । जसका कारण सन्तोषको प्रतिभा र अवस्था उजागर भयो । सन्तोष समूह चरणको खेलमा म्यान अफ द म्याचसमेत भए । एन्फाका रेफ्री प्रकाश नेम्बाङले सन्तोषको हिम्मत र खेल देखेर आफू निकै प्रभावित भएको बताए । डिफेन्डरको भूमिकामा सन्तोष कहीँकतै नचुकेको र फिल्डमा ठूलो आत्मबलका साथ खेलेको नेम्बाङले बताए । ‘म्यान अफ द म्याच दयाले दिने पुरस्कार होइन । उनले एउटा हात नहुँदा पनि निकै उत्कृष्ट खेल प्रर्दशन गरे,’ नेम्बाङले भने, ‘उच्च मनोबल र राम्रो प्रशिक्षण पाए उनको भविष्य उज्ज्वल देखेका छौँ ।’


यसरी गुम्यो सन्तोषको हात 
सन्तोषका बुबा खिमबहादुर घर्ती भारतमा इलेक्ट्रिसियनको काम गर्थे । बुबासँगै काम गर्ने ठाउँमा पुगेका सन्तोषलाई अचानक करेन्ट लाग्यो । ०६८ सालमा सन्तोष पाँच वर्षका थिए । तीन महिना अस्पतालमा बसेर मृत्युबाट फर्किएर आउँदा उनीसँग एउटा हात थिएन । दुर्भाग्यवश २८ जेठ ०७० मा बुबा खिमबहादुरको स्टेसनकै करेन्ट लागेर ज्यान गयो ।

 

त्यसवेला सन्तोषकी कान्छी बहिनी आमाको पेटमा थिइन् । बुबा बितेको १५ दिनमा उनी जन्मिइन् । विक्षिप्त अवस्थामै सन्तोषकी आमा चन्द्रकला घर्ती(४२) छोराछोरी च्यापेर नेपाल फर्किइन् । घर आउँदा छुट्टै घर थिएन । लालाबालालाई हुर्काउन चन्द्रकलाले कैयन् कष्ट खेपिन् । सन्तोषले ३ देखि ६ सम्म गाउँमै बोर्डिङ पढे । कक्षा ७ देखि मालिका माविमा अध्ययन गर्दै आएका छन् । उनकी आमा अहिले गाउँकै आँखा अस्पतालमा कार्यालय सहयोगीका रूपमा काम गर्छिन् । सन्तोष आमाको बुढेसकालको आशा हुन् । तीन बहिनीहरूका भरोसा पनि हुन् । उनले खेलमा आफ्नो भविष्य देखेका छन् । ‘परिवारको अवस्था बुझेको छु । अवसर पाए अझै धेरै राम्रो गर्ने हिम्मत बोकेको छु,’ उनी भन्छन् ।