• वि.सं २०८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नवनिर्वाचित बंगलादेशकी प्रधानमन्त्री शेख हसिना
पर्शुराम काफ्ले
२०८० पौष २८ शनिबार ०६:५१:००
रिपाेर्ट

बंगलादेशको समृद्धि सूत्र : भूराजनीतिक सन्तुलन

संवेदनशील भौगोलिक अवस्थिति भएको बंगलादेशले भारत र चीनको सद्भाव वा पत्यार हासिल गर्न कसरी सफल भयो ?

२०८० पौष २८ शनिबार ०६:५१:००
पर्शुराम काफ्ले


सन् १९६९ डिसेम्बर ५ मा बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानले घोषणा गरे, ‘म जनताको तर्फबाट के घोषणा गर्दछु भने पाकिस्तानको पूर्वी प्रान्तलाई पूर्वी पाकिस्तानको सट्टा बंगलादेश भनिनेछ ।’ यो बंगलादेश बन्नुपूर्वको कुरा हो । त्यसअघि २३ फेब्रुअरीमा उनलाई बंगलबन्धु (बंगालका मित्र) घोषणा गरिएको थियो । (शेख मुजिबुर रहमान, ती अधुरा स्मरणहरू)


मुजिब नेतृत्वको अवामी लिगले आन्दोलनकै बीचमा २६ मार्च १९७१ बंगलादेशलाई पाकिस्तानबाट स्वतन्त्र भएको भन्दै अलग देश घोषणा गरेका थिए । पाकिस्तानले बहुमत प्राप्त अवामी लिगलाई सत्ता हस्तान्तरण गर्न नमानेपछि तत्कालीन पूर्वीपाकिस्तान (बंगलादेश) स्वतन्त्रताको आन्दोलन चर्किँदै जाँदा र ढाकामा पाकिस्तान र पूर्वी पाकिस्तानका नेताहरूबीचको छलफल निष्कर्षविहीन भएपछि मुजिबले स्वतन्त्रताको घोषणा गरेका थिए । 


पाकिस्तानी सेनाले बंगालीहरूमाथि धरपकड गर्न थालेपछि २६ मार्चको अपराह्न १२:३० बजे मुजिबले स्वतन्त्रताको घोषणा गर्दै भने, ‘यो मेरो अन्तिम सन्देश पनि हुन सक्छ । तर, म दृढतासाथ भन्दै छु बंगलादेश आज उप्रान्त स्वतन्त्र हुनेछ । बंगलादेशका जनता जहाँ भए पनि आफूसँग जे छ त्यसले पाकिस्तानी आक्रमणकारीहरूसँग प्रतिरोध गर्न आह्वान गर्दछु । पाकिस्तानका अन्तिम सिपाही यहाँबाट बाहिर ननिस्केसम्म संघर्ष जारी रहनेछ ।’ मुजिब गिरफ्तार भए । बंगलादेशमा चर्केको आन्दोलनसँगै पाकिस्तानी सेनाले घुँडा टेक्यो । भारतको प्रत्यक्ष सहयोगमा बंगलादेशले स्वतन्त्रता पायो र पहिलो प्रधानमन्त्रीका रूपमा मुजिबले शपथ लिए ।


बंगलादेशमा यही जनवरी ७ मा १२औँ संसदीय निर्वाचन सम्पन्न भएको छ । संयोगले राष्ट्रपिता मुजिबको दल अवामी लिगले बहुमत हासिल गरेको छ र उनकी छोरी शेख हसिना हसिनाले बिहीबार चौथो कार्यकालको शपथ लिएकी छिन् । हसिना उक्त दलको अध्यक्ष हुन् । 


०००
हसिना सन् २००९ देखि अविच्छिन्न सत्तामा छिन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना दक्षिण एसियाको सबैभन्दा लामो समयदेखि प्रधानमन्त्री छिन् । उनको दल अवामी लिगले बंगलादेशको संसद्मा कुल २९९ सिटमध्ये २२३ सिट जितेको छ । उनले यसपालि चुनौतीरहित विजय हासिल गरेकी छिन् । बंगलादेश एकप्रकारले विपक्षीहीन भएको छ । हसिनाले १५ वर्षको दौरान करिब १७ करोड जनसंख्यालाई समृद्धिको जहाजमा सवार गराउन सफल भएकी छिन् ।


हसिनाले चुनाव स्वतन्त्र र निष्पक्ष भएको दाबी गरेकी छिन् । उनको भनाइ छ, ‘मैले यो देशमा लोकतन्त्रलाई निरन्तरता दिन आफ्नो ठाउँबाट भरमग्दुर प्रयास गरिरहेको छु ।’ चुनाव जितेपछि भारतीय उच्चायुक्त (बंगलादेशका लागि भारतीय राजदूत) प्रणय वर्मा र बंगलादेशका लागि चिनियाँ राजदूत याओ वेनले हसिनालाई घरमै पुगेर बधाई दिए । त्यसपछि रुस, भुटान, फिलिपिन्स र श्रीलंकाका राजदूत बधाईका पुष्पगुच्छा लिएर घरै पुगे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा बधाई दिए र राजदूतमार्फत बधाईको चिठी पठाए । हसिनालाई बधाई दिन बेइजिङ र दिल्लीको हतारो रोचक थियो । 


बंगलादेशी कपडाका ग्राहक अमेरिका र युरोपले निर्वाचनको निष्पक्षतामा प्रश्न उठाएर प्रतिक्रिया दिए । तर, बंगलादेशसँग साझेदारी गर्ने प्रतिबद्धता पनि उनीहरूले जनाए । ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिकका लागि हाम्रो साझा दृष्टिकोणलाई अगाडि बढाउन, बंगलादेशमा मानव अधिकार र नागरिक समाजलाई समर्थन गर्न, र हाम्रा जनता–जनताबीचको आर्थिक सम्बन्धलाई गहिरो बनाउन बंगलादेशसँग साझेदारी गर्न अमेरिका प्रतिबद्ध छ’ अमेरिकी विदेश मन्त्रालयको प्रतिक्रिया थियो । 


निर्वाचनको निष्पक्षता, मानव अधिकारप्रति कडा टिप्पणी गरेको युरोपियन युनियनले पनि साझदारीमा जोड दियो । ‘युरोपियन युनियन राजनीतिक, मानव अधिकार, व्यापार र विकासका क्षेत्रमा हाम्रो दीर्घकालीन सम्बन्धका प्राथमितामा बंगलादेश सरकारसँग सहकार्य जारी राख्नेछ ।’ चुनावको परिणाम सार्वजनिक भएको दिन ७ जनवरीमा पश्चिमी समाचारपत्र इकोनोमिस्टले टिप्पणी गर्‍यो, ‘यो दक्षिण एसियाकी आइरन लेडी हसिनाका लागि सुखद दिन हो भने बंगलादेशको लोकतन्त्रका लागि खराब दिन । अर्थात् जनवरी ७ ।’


यो वर्ष (२०२४)मा विश्वका ७० देश चुनावमा छन् र ४.२ अर्ब जनता लोकतान्त्रिक अभ्यासमा छन् । हाम्रावरिपरिका बंगलादेश र भुटानमा सम्पन्न भइसकेको छ । छिमेकी भारत र महाशक्ति अमेरिका (संसारको ठूलो र पुरानो लोकतन्त्र)चुनावको प्रतीक्षामा छन् । विश्वको आधा जनसंख्या लोकतन्त्रको अभ्यासमा छ । 


भारतले काँध थापिसकेको अवस्थामा अब अमेरिकाले भारतलाई बेखुसी बनाएर बंगलादेशको लोकतन्त्र वा त्यहाँको सरकारलाई अस्थिर बनाउने भूमिका निर्वाह गर्न सक्दैन । बंगलादेशले भारत र चीनलाई जसरी व्यवस्थापन गरेको छ, यो हेर्दा हसिनाको चौथो कार्यकाल सहज रूपमा अघि जानेछ । 


बंगलादेश जर्जर गरिब देश थियो । कुनै समय अस्थिर राजनीति भएको, सबैतिरबाट हेपिएको देश अहिले दक्षिण एसियामा सबैभन्दा तीव्र आर्थिक दर हासिल गरेको छ । उसले भूराजनीतिक व्यवस्थापन यसरी गरेको छ कि मुख्य शक्ति बंगलादेश जाँदै छन्, बंगलादेश दौडनुपरेको छैन । अमेरिका र युरोपका लागि लोकतन्त्रको तुलनामा सामरिक स्वार्थको प्राधान्यता पहिलो महत्वको हो । उनीहरूको स्वार्थ लोकतन्त्र होइन, सामरिक हो । यसको निहितार्थ के हो भने दुवैले बंगलादेशसँग सहकार्य गरिरहेका छन् र सहकार्य गर्नुपर्ने बाध्यतामा छन् । 


०००
बंगलादेश दक्षिण पूर्वी एसियाको सिमानामा अवस्थित छ । यसको तटीय लाइन हिन्द महासागरबाट जान्छ । भारतसँग बंगलादेशको चार हजार ९६ किलोमिटर सीमा जोडिएको छ । पश्चिम, उत्तर र पूर्वी सिमाना भारतसँग जोडिएको छ, दक्षिण पूर्वी सिमाना म्यानमारसँग र दक्षिण बंगालको खाडीको तटीय क्षेत्रमा जोडिएको छ । नेपाल र भूटानलाई बंगलादेशसित भारतको सिलिगुडी करिडोरले जोड्दछ । चीन बंगलादेशको छिमेकी होइन, तर भौगोलिक रूपमा चीनसित बंगलादेशको दूरी सिक्किमबाट नजिकै पर्दछ । 


बंगलादेशको प्रतिव्यक्ति आय दुई हजार ६ सय ८८ अमेरिकी डलर छ जुन भारतको (२३८९ डलर)भन्दा बढी हो । देश स्थापना हुँदा (सन् १९७१ मा) बंगलादेशको प्रतिव्यक्ति आय १३४ डलर थियो । स्वतन्त्रताको ५३ वर्षमा प्रतिव्यक्ति आय करिब २० गुणाले वृद्धि हुनु सामान्य होइन । बंगलादेश गरिबी निवारण र विकासको एउटा अनुपम कथा हो । बंगलादेश २०१५ मा निम्नमध्यम आय भएको देशमा परिणत भएको थियो । अझै पनि ऊर्जा संकट, भुक्तानी सन्तुलन, राजस्वको कमीलगायतको चुनौती झेलिरहेको बंगलादेशले २०३१ मा प्रतिव्यक्ति आय चार हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ । अर्थात् अबको पाँच वर्षपछि उच्च मध्यम आय मुलुक बन्ने बंगलादेशको सपना छ । अनि, २०४१ मा विकसित मुलुक बन्ने महŒवाकांक्षामा बंगलादेश अघि बढेको छ । 


बंगलादेशको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन हो । बंगलादेशले विश्वमा वार्षिक ५५ अर्ब डलरको गार्मेन्ट निर्यात गर्छ । भारतसँग उसको अत्यन्तै घनिष्ठ सम्बन्ध छ भने चीन उसको रणनीतिक साझेदार हो । 

हसिना सन् २००९ देखि अविच्छिन्न सत्तामा छिन् ।  उनको दल अवामी लिगले बंगलादेशको संसद्मा कुल २९९ सिटमध्ये २२३ सिट जितेको छ ।


यसको नेपालसँग ऐतिहासिक साइनो छ । बंगलादेशको स्वतन्त्रता संग्राममा नेपाली कांग्रेसले हतियार पठाएर सहयोग गरेको थियो । नेपाली कांग्रेससित अवामी लिगको यसप्रकार भावनात्मक सम्बन्ध छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा धेरै फौज पठाउने देशहरूको सूचीमा नेपाल, बंगलादेश अग्रणी छन् । नेपाल र बंगलादेशका सैनिकबीच गहिरो सम्बन्ध छ । सार्कको संस्थापक देशमध्येको बंगलादेश नेपालसँग बिमस्टेक, बिबिआइएनमा पनि सँगै छ । आज दक्षिण एसियाको गतिशील अर्थतन्त्रका रूपमा बंगलादेश सगर्व खडा भएको छ । 


आज नेपाल अल्पविकसितबाट विकासशील हुन दौडधुप गरिरहेको छ । दक्षिण एसियाको कान्छो देश विकसित राष्ट्र बन्ने दिशामा छ । शेख हसिनाको नेतृत्वमा यो सम्भव भएको हो । उनले भारत र चीन दुवैबाट लाभान्वित हुने गरी सम्बन्ध विस्तार गरिन् । दुवै देशबाट बंगलादेशले सहानुभूति हासिल गर्ने परिस्थिति हसिनाले निर्माण गरेकी हुन् । बंगलादेशमा सफल नेतृत्व स्थापित गरेको छ । राजनीतिक नेतृत्व कूटनीतिक कला प्रदर्शन गरेर दुवैलाई मिलाएको छ । बंगलादेशसित सन् २००९ देखि अमेरिकाकको संशयले केही फरक परेको छैन । बंगलादेशले निरन्तर आर्थिक वृद्धि हासिल गर्दै आएको छ । भूराजनीतिक व्यवस्थापन हुँदा उसको समृद्धिको रथ निरन्तर लम्किरहेको छ । 


०००
भारत र चीनको रणनीतिक मूल्यांकनमा बंगलादेशको महत्व हिन्द महासागरीय क्षेत्रमा उसको भौगोलिक अवस्थिति मात्र होइन, बंगलादेश यो क्षेत्रको सबैभन्दा द्रुत वृद्धि हुने अर्थतन्त्र र सबैभन्दा धेरै जनसंख्या भएको अल्पविकसित देशका कारण पनि हो । 


वेलामौकामा भारतमा उत्पन्न हुने संशयलाई प्रधानमन्त्री हसिनाले जवाफ दिँदै आएकी छिन्, ‘भारतले हाम्रो चीनसँगको निकट सम्बन्धबाट चिन्तित हुनुपर्दैन । हाम्रो सहकार्य केवल विकासका लागि मात्रै हो ।’ यो क्षेत्रमा व्यापक प्रतिद्वन्द्विता भारत र चीनबीच छ । हिन्द प्रशान्त क्षेत्रमा अमेरिकाको चीनकेन्द्रित रणनीतिक स्वार्थका कारण पनि चीन बंगलादेशसँग हातेमालो गर्न तयार छ । भारत परम्परागत प्रभाव र मित्रताको कसी अझ बलियो बनाउन चाहन्छ ।


यही पृष्ठभूमिमा बंगलादेशचाहिँ रणनीतिक मामिलामा राष्ट्रिय हितअनुसार भारत र चीनसित लाभप्रद सम्बन्धलाई प्राथमिकता दिएर अघि बढेको छ । रणनीतिक स्वायत्तता र आफ्नो हित बंगलादेशको मन्त्र हो जो ठूला देशहरूको छिमेकी रहेका साना मुलुकहरूका लागि पनि राम्रो सिकाइ हुनेछ । 


भारत र बंगलादेशबीचको द्विपक्षीय व्यापार १५ अर्ब डलर नाघेको छ । भारतका लागि बंगलादेश पूर्वी क्षेत्रको ‘पूर्वी बफर’ हो । अर्कोतर्फ, बंगलादेशको चीनसँगको द्विपक्षीय व्यापार २५ अर्ब डलर नाघेको छ । बंगलादेशले चीनसँग रणनीतिक साझेदारी गरेको छ । चीनको बिआरआईअन्तर्गत मात्रै करिब ३८ अर्ब डलरका विभिन्न पूर्वाधार परियोजना सञ्चालित छन् । बिआरआईका लागि बंगलादेश चीनको महत्वपूर्ण साझेदार हो । 

बंगलादेश जर्जर गरीब देश थियो । कुनै समय अस्थिर राजनीति भएको, सबैतिरबाट हेपिएको देश अहिले दक्षिण एसियामा सबैभन्दा तीव्र आर्थिकदर हासिल गरेको छ । उसले भूराजनीतिक व्यवस्थापन यसरी गरेको छ कि मुख्य शक्ति बंगलादेश जाँदै छन्, बंगलादेश दौडनुपरेको छैन ।


प्रा. सैयद मुनिर खसरुको शब्दमा बंगलादेश २०४१ सम्ममा विकसित राष्ट्रको हैसियत हासिल गर्ने प्रयासमा छ । ‘यस सन्दर्भमा बंगलादेशले रणनीतिक रूपमा भारत र चीन दुवैको आर्थिक र प्राविधिक शक्तिको उपयोग गरेको छ, विकासशील गतिशीलताको बीचमा सम्बन्ध सन्तुलनमा राखेको छ’ उनको भनाइ छ, ‘बिआरआईअन्तर्गत मोङ्ला बन्दरगाहको आधुनिकीकरणलाई बढावा दिँदै छ ।’


बंगलादेशले एक–अर्काका प्रतिद्वन्द्वी देशहरूसँगको सहयोगलाई एकैसाथ अगाडि बढाएको छ । बंगलादेशको स्थायित्वमा भारत र चीन दुवैको एकप्रकारको गहिरो लगानी देखिन्छ । यो बंगलादेशको सफल कूटनीतिक प्रयासको प्रतिफल हो । 


हालका वर्षहरूमा, भारत र चीन दुवैले बंगलादेशमा आफ्नो आर्थिक प्रभाव विस्तार गरेको छ । दुई देशको बढ्दो भूराजनीतिक प्रतिद्वन्द्वितासँग यो जोडिएको छ । र, ढाकाले दुवै देशका प्रतिस्पर्धी अपेक्षालाई आफ्नो हितमा प्रभावकारी व्यवस्थापन गरेको छ । प्रधानमन्त्री हसिनाको नेतृत्वमा बंगलादेशले एकातिर बाह्य प्रभावलाई सन्तुलनमा राख्न सफल भएको छ भने अर्कातिर भारत र चीनबाट आएका सहायता र साझेदारी प्रस्ताव स्वीकार गर्दै निर्भरताबाट बच्न प्रयास गरेको छ ।


बंगलादेशमा २०२३ मा मात्रै चिनियाँ सहयोग वा ऋणका १४ ठूला पूर्वाधार आयोजना सम्पन्न भएका छन् वा हुने क्रममा छन् । बंगलादेशमा झन्डै सात सय चिनियाँ कम्पनी कार्यरत छन् । तिनीहरूले स्थानीय मानिसका लागि पाँच लाखभन्दा बढी रोजगारी सिर्जना गरेका छन् । 


बंगलादेशका निवर्तमान विदेशमन्त्री डा. एके अब्दुल मोमेनले निर्वाचन सम्पन्न भएका पर्सिपल्ट इन्डिया टुडेसँग जनवरी ९ मा पश्चिमाहरूको आलोचनाप्रति तिखो टिप्पणी गरेका छैनन् । बरु उनले बंगलादेशको चुनावमा १२ करोड जनताले भाग लिएको, लोकतन्त्र स्थिर रहेको उल्लेख गरेका छन् अनि भारत र चीनसँगको सम्बन्धबारे राम्रो व्याख्या गरेका छन् । भारत र चीनसँग बंगलादेशको सम्बन्धबारे उनको व्याख्या रोचक छ । उनले स्वतन्त्रताको युद्धमा भारतको सबैभन्दा ठूलो मद्दत रहेको भन्दै शेख हसिना र मोदीको नेतृत्वका सम्बन्धमा थप न्यानोपन आएको भनेका छन् । भातसँग रणनीतिक साझेदारी बढेको उल्लेख गरेका छन् । चीनको प्रभाव बढेको सन्दर्भमा उनको टिप्पणी छ, ‘बंगलादेशमा त्यस्तो धेरै चीनको प्रभाव बढेको छैन । चीन हाम्रो विकास साझेदार हो । जिडिपीको १ प्रतिशतभन्दा कम रकम चीनबाट लिएका छौँ । १३.६ प्रतिशत ऋण छ चीनको । ५५ प्रतिशत नपुगेसम्म ऋणपासोमा पुगिन्न ।’


 पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको शब्दमा बंगलादेशको आर्थिक र राजनीतिक दक्षता तथा कूटनीतिक सीप उत्कृष्ट साबित भएको छ । ‘नेपालमा प्रजातन्त्र स्थापनाको २० वर्षपछि जन्मिएको बंगलादेशको कुल गार्हस्थ्य उत्पादन अहिले नेपालको भन्दा १० गुणा बढी छ । यसको जस आन्तरिक राजनीतिक स्वामित्व सुरक्षित राख्ने राष्ट्रिय अनुशासन तथा भारत र चीनसँग समनिकटताको सम्बन्ध विकास गर्ने कूटनीतिक सीपलाई जान्छ’ पाण्डे शेख हसिनाको नेतृत्व कुशलताको विश्लेषण गर्छन् ।


 वास्तवमा हसिनाले चीन र भारतसँगको सम्बन्धलाई कसरी बंगलादेशको हितमा व्यवस्थापन गरिरहेकी छिन् ? छिमेकी र महाशक्ति मुलुकहरूको भूराजनीतिक तानातानमा नेपाल फसिरहेका वेला नेपालभन्दा पनि संवेदनशील भौगोलिक अवस्थिति भएको बंगलादेशले मुख्य रूपमा भारत र चीनको सद्भाव वा पत्यार कसरी हासिल गर्न सफल भयो ? अनि, यही पत्यार वा विश्वासको जगमा उभिएर बंगलादेश दक्षिण एसियाको सबैभन्दा तीव्र आर्थिक वृद्धिदर हासिल गरेर सन् २०४१ मा विकसित मुलुक बन्ने महत्वाकांक्षामा कसरी लम्किरहेको छ ? आइरन लेडी अर्थात् बंगलादेशकी कुशल राजनेता शेख हसिनाबाट नेपालले मात्र होइन, दक्षिण एसियाका साना देशले सिक्नुपर्ने पाठ यही हो ।