• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
 मीनराज बसन्त
२०८० पौष २८ शनिबार ०८:१५:००
सम्झना

म काँठको लेखनदास हुँ

पाँच प्रश्न

२०८० पौष २८ शनिबार ०८:१५:००
 मीनराज बसन्त

 

१ हालसालै तपाईंको १९औँ कृति ‘अन्तिम पात’ निबन्धसंग्रह प्रकाशित भयो । यसमा ०५७ सालदेखि ०७९ सम्म (२२ वर्षावधिमा) लेखिएका २२ वटै निबन्ध राख्नुभएको छ । २२–२२ हुनु संयोग हो कि यसको केही अर्थ छ ?


तपाईंको यो प्रश्न निकै रोचक लाग्यो । बाइस–बाइसको खास छुट्टै अर्थ छैन । मूलतः यो संयोग नै हो । सुरुको पाण्डुलिपिमा २३ निबन्ध थिए । तर, यस संग्रहका अघोषित सम्पादक तथा हाम्रो समयका चर्चित कवि विनोदविक्रम केसीले एउटा निबन्ध हटाउन सल्लाह दिए । उनको सल्लाह सर्वथा जायज थियो । त्यो निबन्धको वैचारिकीमा केही समस्या थियो । यसपछि २२–२२ बन्यो र अहिले नयाँ अर्थ आविष्कार भयो । यसलाई संयोग आकस्मिकता भन्न सकिन्छ । 


२२–२२ को कुरा गर्दा एउटा कुरा बिर्सन मिल्दैन । त्यो हो– ‘शोकमग्न यात्री’को निरन्तरता । शोकमग्न यात्री पहिलोपटक छाएिको लगभग २४ वर्ष भयो । त्यहाँ छुटेका, थप लेखिएका, सौन्दर्य चिन्तन र परम्पराका आलेख ‘अन्तिम पात’ मा राख्ने जमर्को भएको छ । एक हिसाबले यो कृति मेरो वैचारिक र कलात्मक जीवनीको अर्को धारावाहिक हो ।


२ केही समयअघि प्रकाशित एउटा पुस्तकलाई लिएर विभिन्न खालका टीकाटिप्पणी भए । विषय थियो, पत्रपत्रिकामा पूर्वप्रकाशित लेखलाई ‘फलानो पत्रिकामा छापिएको’ नभनिनु । यस्तो प्रवृत्ति धेरै लेखकमा देखिन्छ । तर, तपाईंले सहर्ष ‘फलानो पत्रिकामा छापिएको’ भनेर उल्लेख गर्नुभयो । यो विषय तपाईंलाई कस्तो लाग्छ ?

पहिलोपटक केमा छापियो ? यो सत्य लुकाउनुहुँदैन । एक त यो इतिहास हो । यसले पछि अनुसन्धान गर्ने प्राज्ञलाई सजिलो पर्छ र इतिहासको विश्वसनीयता कायम हुन्छ । अहिले पनि हाम्रा अनुसन्धाताहरूको हविगत राम्रो देखिन्न । उदाहरणका लागि, त्रिभुवन विश्वविद्यालय नेपाली विभागका अधिकांश शोधपत्रमा मेरो पहिलो कथा २०२८ मा प्रकाशित भएको उल्लेख पाइन्छ, जबकि मेरो पहिलो कथा प्रकाशित भएको मिति हो २०३० साल । पत्रिकाको नाम हो– दमना । 


आख्यानकार नयनराज पाण्डेको सन्दर्भमा पनि यस्तै भएको छ । पाण्डेका दुई पुत्रको उमेर कहिल्यै बढ्दैन । समय गतिशील भइरहन्छ, तर उनीहरूको उमेर स्थिर रहन्छ । अनुसन्धानरूपी कर्मकाण्डमा हुने यस्ता विकृतिबाट बच्न लेखक, प्रकाशक, विश्वविद्यालय सबै इमानदार हुनुपर्छ । 


दोस्रो, नैतिकताको प्रश्न पनि छ । के हाम्रा लेखक र प्रकाशक नैतिकवान् हुनुपर्दैन र ? बजारमा नयाँ माल बेच्छु भन्ने लोभमा स्थापित प्रकाशन संहितालाई मिच्नु दुःखको कुरा हो । राम्रो रचना छ भने बिक्रीको के डर ? प्लेटोको ‘रिपब्लिक’ आज पनि उत्तिकै बिकिरहेको छ । 


३ सीमित लेखकका कृति मात्र एउटै प्रकाशनगृहबाट प्रकाशित हुन्छन् । नत्र, आज कुनै एउटा प्रकाशनबाट छापिएको लेखक भोलि अर्कैबाट छापिन्छ । यो कुरा तपाईंको हकमा पनि लागू हुन्छ । लेखकलाई प्रत्येकपल्टजसो प्रकाशनगृह फेर्न बाध्य बनाउने तत्वचाहिँ के रहेछ नि ?
यो लेखक र प्रकाशकबीचको समझदारीको विषय हो । दुवै पक्षबीच मन मिलेपछि किताब जन्मिने हो । यसपटक मेरो हकमा पनि त्यही हो । योभन्दा अघिका मेरा किताब ‘बुकहिल’ र ‘फाइनप्रिन्ट’ले छापेका थिए । अहिले ‘बेला’ले छाप्यो । त्योभन्दा अघि ‘साझा’ले पनि छाप्यो । तर, सबैसँग अहिले पनि मेरो मित्रवत् सम्बन्ध छ ।


लेखक र प्रकाशकबीच त्यसबखत सम्बन्ध बिग्रन्छ, जब प्रकाशक लेखकसित छलछाम र ढाँटको व्यवहार गर्छ ।हृदयचन्द्रसिंह प्रधानलाई प्रकाशकले गरेजस्तो व्यवहार अब कुनै लेखकलाई नहोस् । अब फेरि ‘मरुभूमिको लेखक’ लेख्न नपरोस् । धेरै दशकअघि प्रधानको यो नाटक पढेर म धेरै दिनसम्म विचलित बनेको थिएँ ।


४ तपाईंले निबन्ध लेख्नुभयो, उपन्यास लेख्नुभयो । कविता, कथा पनि छोड्नुभएन, अनुवादसमेत गर्नुभयो । तर, तपाईंकै समकालीन मित्रहरूले ‘नारायण ढकाल निबन्ध÷गैरआख्यानमा चाहिँ पर्फेक्ट मान्छे हो’ भन्छन् । साँच्चै हो र ?
यो पाठकको मूल्यांकनको विषय हो । म आफू भने सबै विधामा उत्तिकै बल लगाएर प्रयत्नशील छु । मेरो साहित्यमा यात्रा कविताबाट सुरु भएको हो । तर, पछि म कथामा बढी एकोहोरिएँ । कथापछि म उपन्यासमा हामफालेको हुँ । यात्रा, पठन र विचारचाहिँ अलि पछिका उपज हुन् । हरेक विधाका आआफ्ना अभीष्ट र सार्वभौमिक विशेषता हुन्छन् । म ती सबैमा उत्तिकै आनन्दका साथ उभिन खोज्छु ।


गैरआख्यान वा निबन्धमा म आफूलाई धेरै लेख्छु । हुन सक्छ मेरा समकालीन मित्रलाई आत्मवृत्तान्त बढी रुचिकर लाग्छ । यसैले उनीहरूले मलाई गैरआख्यानमा पर्फेक्ट पाएका होलान् । जे भए पनि उनीहरूको मप्रतिको प्रेममय मूल्यांकन अति नै मूल्यवान् छ ।


५ तपाईं आफूलाई ‘काँठको क्लर्क’ दाबी गर्नुहुन्छ । सोहीअनुसार तपाईंका सिर्जनामा काँठको परिवेश, मनोविज्ञान झल्किन्छ । तर, विडम्बना ! साहित्यमा काँठ लेख्ने लेखक लगभग छैनन् भन्दा पनि हुन्छ । आफूपछि ‘काँठ’ कसले लेख्ला भन्ने चिन्ता लाग्दैन ? अनि यसका चुनौती के हुन् ?
‘आफूपछि काँठ कसले लेख्ला भन्ने चिन्ता’ सायद वंश परम्पराले निरन्तरता पाउनुपर्छ भन्ने जस्तो सोच हो । म यसरी सोच्दिनँ । मेरो विचारमा साहित्यमा यस्तो वंशवादी सामन्तवाद हुँदैन । त्यसबाहेक मैले अहिलेसम्म जुन काँठ लेखेँ, अब त्यो काँठ भत्किसकेको छ । म जन्मे–हुर्केको काँठ अब सहर भएको छ ।


काँठ वा सहर वा विश्वको जुन कुनाबाट लेखे पनि रचना प्रक्रियाका चुनौती उस्तै–उस्तै होलान् । मानिसको इतिहास, सभ्यता, आपसी सन्बन्धसेतु कसरी बने, त्यो समुच्चयमा मानिसको चेतना र बाह्य संसारसित उसको अन्तत्र्रिmया कसरी भइरहेछ भन्ने विषय नै सबै लेखकका रचनाका आधारशिला हुन् । मेरो रचनात्मक संघर्ष पनि यिनै वरिपरि छ । चुनौती पनि यही वरिपरि छ ।काँठको लेखन्दास त म हुँ नै । किनकि मलाई मैले भोगेको काँठबाहेक धेरै कुरा थाहा छैन ।