व्यावसायिक रूपमा सफल चलचित्र निर्देशकमध्येका एक हुन्, दीपक श्रेष्ठ । तीन दर्जन चलचित्र निर्देशन गरेका उनले धेरैलाई डेब्यु गराए । श्रेष्ठको ‘गाउँले’, ‘हिम्मत’, ‘पापी मान्छे’, ‘दुःख’, ‘रामलक्ष्मण’, ‘जीवनसाथी’लगायत २० चलचित्रहरू व्यावसायिक सफलताको कोटिमा पर्छन् । निर्देशक श्रेष्ठले आफ्नो निर्देशकीय यात्राबारे पवन बराइलीसँग यसरी आत्मसमीक्षा गरे :
मेरो जीवन चलचित्रको ‘फ्ल्यास ब्याक’जस्तै लाग्छ । मलाई चलचित्रमा ‘फ्ल्यास ब्याक’ राख्दा निकै रमाइलो लाग्थ्यो । तर, आफ्नै जीवनको ‘फ्ल्यास ब्याक’मा जाँदा नरमाइलो लाग्दोरहेछ । म चलचित्र क्षेत्रमा लागेको झन्डै तीन दशक पुग्यो । अहिले विगत सम्झिँदा जीवन सकिएजस्तो लाग्छ । कहिलेकाहीँ मलाई विरक्त पनि लाग्छ । हुन त ‘फ्ल्यास ब्याक’ भएन भने जीवन अघि बढ्दैन होला ।
म धरानमा जन्मिएँ–हुर्किएँ । मेरो किशोरकाल धरानमै बित्यो । जीवनमा चलचित्रको निर्देशक बन्छु भन्ने सोचेको थिइनँ । तर, समयले मलाई चलचित्र नगरीमा ल्याइपुर्यायो । आजसम्म मैले २७ वटा चलचित्र बनाएको रहेछु । यीमध्ये २० वटा चलचित्र व्यावसायिक रूपमा सफल भएको रहेछ । मेरा सातवटा चलचित्रमा राजेश हमालले अभिनय गर्नुभएको छ । मैले रेखा थापा, निखिल उप्रेती, विराज भट्ट, राजबल्लभ कोइराललगायत दर्जनौँ कलाकारहरूलाई काम गराएँ । मेरो चलचित्रबाट डेब्यु गरेका धेरै कलाकार कलाक्षेत्रमा स्थापित हुनुहुन्छ ।
‘गाउँले’लाई फर्केर...
०५३ सालको कुरा हो । म नेपाल टेभिलिभजनमा काम गर्थेँ । त्यो वेला मैले चलचित्र र गीत–संगीतको कार्यक्रम चलाउँथेँ । त्यही दौरानमा गोपाल कर्माचार्य (दाई)सँग भेट भयो । उहाँले मलाई ‘गाउँले’को कथा सुनाउनुभयो । र मलाई नै चलचित्र निर्देशनको प्रस्ताव गर्नुभयो । तर, मैले उहाँलाई निर्देशन गर्न सक्दिनँ भन्दै टारेँ । उहाँले मान्नुभएन । मलाई नै निर्देशनको जिम्मा दिनुभयो । त्यो वेला चलचित्र निर्देशन गर्नु मेरा लागि ठुलो चुनौती थियो । मैले नजानेर बनाएको चलचित्र हो ‘गाउँले’ । नढाँटी भन्नु पर्दा मैले केही जानेको थिइनँ । तर, पनि ‘गाउँले’लाई दर्शकले अत्यधिक मन पराइदिनुभयो । ‘गाउँले’ रिलिज भएको २८ वर्ष भयो । अहिले म ‘गाउँले’मा धेरै गल्ती भेट्छु । मलाई पश्चात्ताप पनि लाग्छ । किनभने मैले त्यो वेला चलचित्र निर्देशन गर्नुहुँदैनथ्यो । चलचित्रको कतिपय दृश्यलाई न्याय गर्न सकिनँजस्तो लाग्छ । चलचित्रको ‘सट’ डिभिजन गर्न जानेको थिइनँ । ‘गाउँले’ सुपर हिट भयो । अहिले पनि त्यो चलचित्रको गीत ‘गोली सिसाको...’को लोकप्रिय छ ।
विषयवस्तु र प्रस्तुति फितलो
‘गाउँले’पछि बिस्तारै मेरो व्यस्तता बढ्न थाल्यो । एकपछि अर्काे चलचित्र निर्देशनको अफर आइरह्यो । मेरो त सास फेर्ने फुर्सद पनि नहुने स्थिति आयो । सुटिङस्थलमा निर्माता आएर मेरो समय कुरेर बस्थे । सुटिङको लन्च ब्रेक टाइममा निर्माताहरूसँग मिटिङ गर्थे । म खाना खाँदै गर्थेँ, उहाँहरूले मलाई कथा सुनाउनुहुन्थ्यो । खाँदै स्क्रिप्ट करेक्सन पनि गर्थेँ । लन्च ब्रेकको समयमा अर्काे फिल्मको स्क्रिप्टको काम हुन्थ्यो । कुनै चलचित्रको नाइट सिनको सुटिङ नहुँदा अर्काे चलचित्रको डबिङ हुन्थ्यो । यसरी फिल्मको सुटिङ, स्क्रिप्ट राइटिङ, डबिङ भइरहेको हुन्थ्यो ।
तर, समय एकनासले कहाँ चल्दोरहेछ र । मेरा पछिल्ला केही चलचित्र असफल भए । वास्तवमा दर्शकलाई मनपर्ने विषय पस्कन सकिनँ । चलचित्रको विषय, शैली र प्रस्तुति फितलो हुनगयो । चलचित्र दर्शकले मन नपराउनु भनेको असफल हुनु हो । चलचित्र असफल हुनुको दोष आफैँ लिन्छु । मैले चलचित्रमा राम्रो कथा प्रस्तुत गर्न सकिनँ । म आफू समयअनुसार चल्न सकिनजस्तो लाग्छ । समय गतिशील र परिवर्तनशील हुनेरहेछ । समयले निकै फड्को मारे पनि पुरानै शैलीमा चलचित्र बनाएँ । समय र सन्दर्भअनुसार चल्नुपर्नेरहेछ ।
जीवनमा यस्तो परिस्थिति भोग्नुपर्छ होला भनेर कल्पना गरेकै थिइनँ । मलाई दैनिक फोन गर्ने साथीहरूको फोनको घन्टी वर्षाैँसम्म पनि बजेन । साथीहरूले मलाई बिर्सिन्छन्, बाटोमा ठोक्किँदा पनि बोल्दैनन् भन्ने सोचेकै थिइनँ । यस्तो समयको परिकल्पना गरेको थिइनँ ।
त्यसवेला निर्माताहरूले मलाई हारालुछ गर्थे । तर, समय एकनास नचल्दोरहेछ । मेरो जीवनमा ठूलो समस्या सुरु भयो । मेरो कामलाई साथीभाइले सकारात्मक रूपमा बुझिदिएनन् । मैले निर्माता पाइनँ । मेरो कामलाई नबुझ्दा मलाई घमन्डी छ भन्ने आरोप पनि लगाए । मलाई कतिपय निर्माताले पैसा दिएर निर्देशक बनाएकोसम्म भन्न भ्याए । मैले निर्देशन गरेको चलचित्र मेरो चलचित्र भन्न पनि पाइनँ । त्यो चलचित्रमा मेरो कति लगाव र मिहिनेत हुन्छ ? उनीहरूले त्यो कुरा बुझेनन् ।
...अनि बन्द भयो साथीभाइको फोन
मेरो समय खराब चलेको छ कि भन्ने शंका लाग्न थाल्यो । घरपरिवारमा मेरो काम असफल हुँदा चिन्ता हुन थाल्यो । साँच्चै समय खराब हो कि भनेर ज्योतिषलाई चिना पनि हेराएँ । त्यसवेला ज्योतिषले मेरो साढे सातको दशा लागेको छ भन्यो । झन मलाई तनाव हुन थाल्यो । मैले पूजापाठ गर्न थालेँ । तर, कुनै पनि चलचित्रमा काम गर्न पाइनँ । हुँदाहुँदा ग्रहशान्ति गर्न चाँदीको नाग बनाएर पनि मन्साएँ । तर, मेरो उत्कृष्ट समय आएन । मेरो समय खराब नै चलिरह्यो ।
आर्थिक रूपमा पनि संकट आयो । घर चलाउन पनि निकै गाह्रो भएको थियो । गुजारा चलाउन मैले सानोतिनो काम पनि गरेँ । साथीहरूले बिस्तारै बिर्सिन थालेजस्तो महसुस हुनथाल्यो । मनलाई शान्त पार्न रेडियोमा कार्यक्रम चलाउन गएँ । कलाकारहरूसँग साक्षात्कार हुन थाल्यो । काम नगरी ६–७ वर्ष बित्यो । त्यसमाथि कोरोना महामारी आयो । यसले जीवनमा झन् ठूलो संकट थपिदियो । यो मेरा लागि त अर्काे बाहना नै बन्यो । कोभिडले गर्दा काम गर्न पाइनँ भन्न पनि पाएँ । मलाई मानसिक रूपमा निकै गाह्रो भयो । जीवनमा यस्तो परिस्थिति भोग्नुपर्छ होला भनेर कल्पना गरेकै थिइनँ । मलाई दैनिक फोन गर्ने साथीहरूको फोनको घन्टी वर्षाैँसम्म पनि बजेन । साथीहरूले मलाई बिर्सिन्छन्, बाटोमा ठोक्किँदा पनि बोल्दैनन् भन्ने सोचेकै थिइनँ । यस्तो समयको परिकल्पना गरेको थिइनँ ।
कोरोना मत्थर भएपछि चलचित्र बनाउन लागेँ । त्यसपछि ‘घिन्ताङ’ भन्ने चलचित्र बनाउने अफर आयो । त्यसपछि ‘पर्खी बसेँ तिमीलाई’ भन्ने चलचित्रका लागि अफर आयो । अहिले केही निर्माता साथीहरूले मसँग चलचित्र बनाउने इच्छा देखाउनुभएको छ । ग्रहदशा बिग्रिएको छ बन्दै घरमा बस्न नहुनेरहेछ । यसले मलाई पाठ सिकायो । दिनदशा बिग्रिएको छ भनेर सोच्नु ‘फगत’ रहेछ । समयसँग लड्नुपर्नेरहेछ । त्यो पाँच–सात वर्ष मेरा लागि कठिन समय थियो । मेरो जीवनको तितो भोगाइ थियो । मैले ढिलै भए पनि पाठ सिकेँ । जीवनमा जस्तै कठिनाइ आइपरे पनि आफू लड्नचाहिँ नछोड्नुपर्नेरहेछ ।
चलचित्र बनाउनभन्दा चलाउन सकस
मेरो चलचित्र हल मालिक र वितरकहरू कुरेर बस्थे । मेरो फिल्म कसले किन्ने भन्ने हानाथाप हुन्थ्यो । दसैँ–तिहारमा हलवालाहरू दीपक श्रेष्ठको फिल्म चलाउनुपर्छ भन्दै बुक गरेर राख्थे । हल मालिकहरूले घरमै बोलाएर डिनर गराउँथे । पारिवारिक सम्बन्ध हुन्थ्यो । अहिले समय ठ्याक्कै उल्टो भयो । अहिलेका हल मालिकले निर्माता निर्देशकलाई पनि नचिन्दारहेछन् । चलचित्र बनाए पनि हलमा चलाउन सक्ने अवस्था छैन । नयाँ कलाकार ल्याएर चलचित्र बनाउनु झन् ठूलो सकस हुँदोरहेछ । चलचित्र बनाउनुभन्दा चलाउन सकस हुने समय आयो ।
मैले जुनवेला चलचित्रमा काम गरेँ त्यसवेला नेपाली चलचित्रप्रति दर्शकको प्रेम थियो । त्यो समय एउटा कथाजस्तो भयो । त्यो वेला चलचित्रको सुटिङ हेर्नेको भिड थाम्न नसकेर पुलिस बोलाउनुपथ्र्याे । मलाई आज ती दिन सम्झिँदा बडो रमाइलो पनि लाग्छ । कुनै चलचित्रको सुटिङका लागि गाउँघर जाँदा खाजा खाना बोलाउँथे । त्यो आत्मीयता आजभोलि पाइँदैन । त्यो नेपाली चलचित्रप्रतिको माया थियो । त्यो समय र आजको ठ्याक्कै उल्टो छ । हिजोआज सुटिङ गर्नका लागि घर पाइँदैन । सुटिङ गर्ने मान्छे आए भने टोलमा बस्दैनन् । गाउँलेले बोलाएर खाना, खाजा दिने कुरा धेरै टाढा कुरा भइसक्यो ।
मान्छेले विगतलाई भुल्दो रहेछ
मैले नेपाल टेलिभिजनको गीत–संगीतको कार्यक्रम सञ्चालन गर्दा नयाँ–नयाँ गायक–गायिकालाई प्लाटफर्म दिन्थेँ । रामकृष्ण ढकाल, राजेश पायल राई, सञ्जय श्रेष्ठ, प्रवेशमान शाक्यलगायत धेरै कलाकार हुनुहुन्छ । उहाँहरू मेरो टेलिभिजन कार्यक्रमको समयमा ग्रोथ हुनुभएको हो । मलाई त्यो वेला नयाँ प्रतिभालाई प्लाटफर्म दिनुपर्छ भन्ने लाग्थ्यो । त्यहीअनुसार कार्यक्रम बनाएर प्रसारण गर्थेँ । रेडियो नेपालमा कार्यक्रम सञ्चालन गर्दा पनि नयाँ कलाकारहरूलाई प्रस्तुत गर्थेँ । चलचित्र बनाउन थालेपछि नयाँ कलाकारलाई अवसर दिनुपर्छ भन्ने लाग्यो । मैले अधिकांश नयाँ कलाकारलाई नै डेब्यु गराएँ ।
गायक दीपक लिम्बू ‘नेपाल तारा’ विजेता लामो समय ओझेल परे । कुनै पनि चलचित्रमा प्ले–ब्याक दिने अवसर पाएका थिएनन् । मैले चलचित्र ‘हिम्मत’मा उनलाई गाउने अवसर दिएँ । दीपकले गाउनुअघि ‘मैले त्यही भएर मन पराएको...’ बोलको गीत गायक उदितनारायण झाको स्वरमा मुम्बईबाट रेकर्ड भएर आएको थियो । तर, उदित नारायणको भ्वाइस हटाएर दीपक लिम्बूको स्वरमा गीत रेकर्ड गराएँ । त्यो गीत अझै दर्शकमाझ लोकप्रिय छ । त्यो गीतले उनलाई स्थापित गरायो । तर, विगतलाई मान्छेहरूले बिर्सँदारहेछन् । हिजो गरेको कामलाई कसैले मूल्यांकन नगर्दाेरहेछ । नेपाली चलचित्र क्षेत्रलाई बचाउन मैले पनि एउटा इँटा थप्न सफल भएँजस्तो लाग्छ । सायद, त्यसवेला मलगायत केही साथीहरूले चलचित्र नबनाएको भए कतिको घरमा चुला बल्दैनथ्यो । सिनेघरहरू बच्न गाह्रो हुन्थ्यो । कलाकार प्राविधिकहरू बिदेसिन्थे ।
हामीले चलचित्र बनाउने कामलाई निरन्तरता दियौँ । मैले राम्रो चलचित्र बनाउन सकिनँ होला, त्यो दर्शकले मूल्यांकन गर्ने कुरा हो । तर, निरन्तरता त दिएको थिएँ । आज त्यसको कुनै अर्थ नरहँदोरहेछ । मैले उद्योगमा केही राम्रा काम पनि गरेको छु होला । मेरो चलचित्रबाट मैले कुनै पुरस्कार–सम्मान कहिल्यै पाइनँ । मलाई कसैले सम्झिँदैन । मैले कसैको खुट्टा ढोक्न पनि गइनँ । किनभने पुरस्कार भनेको मूल्यांकन गरेर दिने कुरा हो । मैले चलचित्र क्षेत्रमा केही पनि गरेको रहेनछुजस्तो लाग्छ ।