• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
रामचन्द्र शर्मा
२०८० माघ ६ शनिबार ०७:०९:००
सम्झना

शान्ति र खुसी बाँड्न जीवन विज्ञानसँग हातेमालो

२०८० माघ ६ शनिबार ०७:०९:००
रामचन्द्र शर्मा

आफूभित्र शान्ति र खुसीको भण्डार छ भन्ने थाहा नपाएको मानिसले बाहिर खोज्दा नपाएर झनै अशान्त र दुःखी छ । भागवत गीता मानिसभित्र रहेको शान्ति र खुसीको खजाना देखाउने ऐना र प्राप्तिको माध्यम पनि हो । आजभन्दा करिब पच्चीस सय वर्षअघि सिद्धार्थ गौतमले उत्खनन गरेर विश्वलाई शान्तिको सन्देश दिनुभएको थियो । बुद्धको शान्ति सन्देशको अनुसरणमा आवश्यक ध्यान नपुर्‍याउँदा युद्धलाई शान्तिमा बदलेर पनि आज हामी नेपालीले पूर्ण रूपमा शान्ति र खुसीको अनुभूति गर्न पाएका छैनौँ ।


विश्वलाई शान्तिको सन्देश प्रवाह गर्न धेरै पहिले अग्रणी भूमिका खेलेका बुद्ध जन्माउने देशका सन्तति हुनुको नाताले हामी नेपालीले जिम्मेवारी बोध गरी गम्भीर कदम विश्वसामु प्रदर्शन गर्नैपर्छ । आफ्नै देशको अवस्था र युक्रेन तथा गाजामा भड्किएको युद्धलाई मनन गरी शान्तिको झन्डा लहराउन बुद्धभूमिबाटै सुरुवात गर्न अरू ढिला नगरौँ । यसको सुरुवात जीवन विज्ञान संस्थाको संयोजनमा बुद्धभूमि लुम्बिनीमा ३ चैत ०८० देखि एक सातासम्म दैनिक पाँच हजारजनालाई एकसाथ ध्यान योग गराएर कीर्तिमानी ढंगले नेपालसँगै सिंगो विश्वको ध्यानाकर्षण गराउने हेतुले कार्यक्रमको आयोजना हुन गइरहेको छ । यसमा हातेमालो गरेर युगीन कर्तव्य निर्वाह गरेको गौरवपूर्ण अनुभूति र इतिहास रच्ने अवसर जीवन विज्ञान संस्थाले हामीलाई जुराइदिएको छ ।


भागवत गीता पाँचाैँ अध्यायको अन्तिम श्लोकमा ध्यान योगतर्फ इसारा गर्दै छैटौँ अध्यायमा ध्यान योगले इन्द्रिय र मन संयमित राखेमा मन मानिसको सर्वश्रेष्ठ मित्र बनी उद्धार हुने, त्यसो नगरेमा आफ्नै मन आफ्नो ठूलो शत्रु बनी हानिकारक हुन पुग्ने जनाउँदै ध्यान योग गर्ने विधि र ज्ञान उल्लेख छ । योग ध्यानको आविष्कार आदि गुरु भगवान् शिवले हाम्रै हिमवत्खण्डमा गरेको मानिन्छ । समयक्रमसँगै ऋषिमुनिहरूले विभिन्न आयाममा अभ्यास गरी विकसित गरे । आधुनिक चिकित्सा विज्ञानले समेत उपचार पद्धतिको रूपमा मान्यता दिई समस्त मानवजगत्लाई उपयोगी सिद्ध योग ध्यान आज सबै जाति भाषा धर्म र सम्प्रदायका मानिसबीच संसारभरि फैलिएको छ ।

योग ध्यानले मानिसलाई खुसी रहन र आत्म मूल्यांकन गर्न सक्षम बनाउँछ । फलस्वरूप मुख्य भगवान् आत्मा हो, आँखा, कान, नाक जिब्रो र छाला देवी–देवता हुन् भन्ने बोध र झ्वाट्ट सुन्दा मिथ्या लाग्ने कणकणमा भगवान्को वास छ भन्ने भनाइ व्यवहारमा अनुभूत हुन्छ ।


योग ध्यानले कसरी शान्ति र खुसी दिन सक्छ ? भन्ने प्रश्न उठ्न सक्छ । आज पनि कतिपय मानिस योग ध्यान त मानसिक रोगी र अप्ठ्यारोमा परेकाले मात्रै गर्ने कुरा हो भन्ने भ्रममा छन् र पारिन्छ पनि । योग ध्यान आफ्नै विज्ञानमा आधारित छ, शारीरिक र मानसिक स्वास्थ्य मात्र होइन, भावनात्मक, बौद्धिक, आत्मिक, प्राणिक र परम स्वास्थ नबिग्रिऊन्, स्वस्थ र प्रभावकारी रहून् भनेर सदा निरन्तर भोजनको अंगको रूपमा हरेक मानिसले गर्नुपर्ने कुरा हो भनी बुझ्नु र बुझाउन जरुरी छ । जोसँग जे छ, उसले त्यही दिन सक्छ भन्ने भगवान् बुद्धको प्रसिद्ध भनाइ छ । हामी आफू ठीक छु कि छैन भन्ने मूल्यांकन नगरी अरूलाई ठीक पार्छु भनी हिँड्दा व्यक्ति, संस्था र देशले अपेक्षित परिणाम पाएन । योग ध्यानले मानिसको बुद्धिसँग विवेक मिलाई ठीक पार्दै खुसी रहन र आत्म मूल्यांकन गर्न सक्षम बनाउँछ । फलस्वरूप मुख्य भगवान् आत्मा हो, आँखा, कान, नाक जिब्रो र छाला देवी–देवता हुन् भन्ने बोध र झ्वाट्ट सुन्दा मिथ्या लाग्ने कण–कणमा भगवान्को वास छ भन्ने भनाइ व्यवहारमा अनुभूत हुन्छ ।


मानिस र अन्य जीवजन्तु वनस्पतीमा चेतनाको अन्तरसम्बन्ध, एकत्व र परस्पर निर्भरता महसुस गराई सबैप्रति श्रद्धा भक्ति, प्रेम, करुणा र सेवाभाव प्रकट गर्छ । अन्ततोगत्वा मानिस आत्मज्ञानले भरिई आफू शान्त र खुसी हुँदै शान्ति र खुसी अरूमा बाँड्ने लक्ष्य निर्धारण गरी सहजकर्ताको रूपमा निरन्तर अग्रसर हुन्छ । योग ध्यानको शास्त्रगत सैद्धान्तिक कुराको आधारमा होइन, पंक्तिकारलाई दुई–चार महिनाको अन्तरालमा योग ध्यानले पारेको प्रभाव र गराएको अनुभूति सेयर गर्ने प्रयास हो यो लेख ।


समतामूलक समाज मात्र द्वन्द्वरहित शान्त र समृद्ध हुन्छ भन्ने सोचले वामपन्थी झुकाव राखी माले, एमाले र नेकपामा पुगेको, जनताबीच श्रेष्ठ बनेर जनमतले राज गर भन्ने जबज र गाउँदेखि विकास गर भन्ने प्रजातान्त्रिक समाजवादमा विश्वास गरी कार्यक्रमसहित समृद्धिको स्रोत पहिचान र परिचालन अभियान उठाउने जमर्को गर्दा सरकार, जनप्रतिनिधि र दलहरूबाट बेवास्ता भई मन दुखाई पत्रकार सम्मेलनमार्फत नेकपा परित्याग गरी स्वतन्त्र रहेको अवस्थामा नातेदारको जोडबलमा मर्निङ वाकको विकल्पमा जुममार्फत योग ध्यानको साधनामा प्रवेश गरेँ । दुई वर्षको अभ्यासको क्रममा सामान्य परिवर्तन भएकोमा गत श्रावणमा जीवन विज्ञानको सातदिने चक्र साधनाको प्रशिक्षण र १०१ दिने चक्र साधनामा सहभागी भएपछि चामत्कारिक रूपान्तरण नै आयो ।

 

फलस्वरूप जीवनका सबल–दुर्बल पाटा जस्ताको तस्तै स्विकार्ने, अरूको गल्ती खोज्न होइन, सच्याउन सहयोगी बन्ने प्रेम, करुणा र सेवाभाव जगाई आत्मैदेखि खुसी प्रकट भई मनमा शान्ति र मुहारमा कान्ति ल्यायो । समयमा ताजा खाने, छिटो सुत्ने, सबेरै उठ्ने, खुसी हुँदै काम गर्ने र अकस्मात रिस उठ्यो वा झर्को बोली बोलिएमा तत्काल सच्याउन स्वतस्फूर्त सजगता बढाएको छ । परिवर्तनकारी दल र तिनका शीर्ष नेताले हिजो गरेको कष्ट साधना र लोकतान्त्रिक गणतन्त्रलाई जनताको इच्छा ठानी पूर्वराजाले खुसी राजीले गद्दी छाडेकोप्रति सम्मानभाव आत्मैदेखि आएको छ ।


विगत र भविष्यमा निरर्थक भौँतारिने मन के गर्दा आफूसँगै समाज देश र मानवजगत्को बृहत् हित होला भनी वर्तमानमा आत्मचिन्तन गरिरहेको छ । हिजो जेमा र जता पनि समस्या देखी तनावग्रस्त भई अरूमा दोष थुपार्दै आलोचनामा जल्ने मन आज जो पनि सहयोगी र जताततै सम्भावनै सम्भावना देख्दै सबैलाई सघाउन पाएहुन्थ्यो भन्ने परिकल्पनामा रमाएको छ । राजनीति पारस्परिक सम्मानसहितको संयोजन, सहकार्य र आआफ्नो ठाउँबाट अपेक्षित भूमिका निर्वाह गर्ने सहयोगी मनोवृत्तिको प्रदर्शनी बन्नुपर्नेमा खिसिट्युरी, काखापाखा र दोषारोपणको प्रहसन बनाइँदा देशैभरि अविश्वास र नैराश्यले अभूतपूर्व स्तरमा सीमापार गरेको छ । एकता र सहकार्यबाट मात्र विश्वासको पुनर्निर्माण र आर्थिक पुनरुत्थान सम्भव छ । एकता र सहकार्यको वातावरण सिर्जना गर्न सक्षम र सबैले विश्वास गर्न सक्ने माध्यम र शक्ति आजको हाम्रो प्राथमिक आवश्यकता हो ।


जीवन विज्ञानका विशेषज्ञ, नेपाललाई विश्वसामु योग ध्यानको तपोभूमिको रूपमा चिनाई पुर्खाको विरासतलाई पुनर्ताजगी र समृद्ध बनाउने लक्ष्य लिई नेपाली जनजनमा योग ध्यान फैलाउँदै वर्षाैँदेखि दिनरात खटिई प्रभाब विस्तार गर्दै आउनुभएका श्रद्धेय गुरुदेवहरूको जीवन विज्ञान संस्था भरपर्दो विकल्प हुन सक्छ । महान् काम सफल पार्न धेरैको साथ चाहिन्छ । संघ, प्रदेश र स्थानीय सबै सरकारी तह, सबै राजनीतिक दल, पेसागत र सामाजिक संघसंस्था, नागरिक अगुवा सबैलाई औपचारिक पत्रद्वारा आह्वान र अनुरोध हुन्छ नै होला । कार्यक्रम आयोजना गरेर संस्था र त्यसमा आबद्धहरूको अग्निपरीक्षा सुरु भइसक्यो ।


अगुवा नागरिकदेखि सरकारसम्म र समाजसेवामा खटिएका संस्थाहरूसमेत परीक्षण हुने अवसर ऐतिहासिक रूपमा जुरेको छ । मननयोग्य र स्मरणीय कुरा यो छ कि न यस्ता अवसर बारम्बार आउँछन्, न अवसरले पर्खिन सक्छ । आफूसँगै देश बनाउन पटक–पटक संघर्ष गर्दै आएका स्वाभिमानी नेपालीले आफूखुसी मान्छे बन्ने यो ऐतिहासिक अवसर गुमाउनेछैनन् ।