• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
शुरोजंग पाण्डे
२०८० माघ ६ शनिबार ०८:१२:००
सम्झना

...त्यसपछि मन्त्री पद बोझ लाग्यो

मन्त्री बनेपछि मेरो निचोड के हो भने नेपाली जनतालाई चुस्ने, ठग्ने बाहिरको कोही मान्छे होइन, राज्यसत्तामै पकड भएका, हालिमुहाली गरेकाले नै सर्वसाधारणलाई ठग्दै आएका छन्

२०८० माघ ६ शनिबार ०८:१२:००
शुरोजंग पाण्डे

 

एकाथरी संकीर्णवादी, जडसूत्रवादी वामपन्थीहरू सरकारमा पनि जानुहुँदैन, सदनमा पनि जानै हुँदैन भन्ने सोचमा हुन्छन् । यो त खालि तात्कालिक ट्याक्टिकल प्रश्न(कार्यनीतिक प्रश्न) हो । कुन वेला के गर्ने अर्थात् संसद्मा जाने या सरकारमा सहभागी हुने विषय तत्कालीन आवश्यकता र वस्तुगत परिस्थितिले निर्धारण गर्ने विषय हो । किन जाने, केका लागि जाने, कहिले जाने विषयचाहिँ मूल प्रश्न हो । बाहिर चर्चा भएजस्तो हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले कहिल्यै सरकार या सदनमा नजाने नीति लिएको थिएन । 


०७२ अघिसम्म राष्ट्रिय जनमोर्चा सरकारमा सामेल भएको थिएन । यद्यपि, हामी ०५१ सालदेखि नै निरन्तर संसद्मा सहभागी थियौँ । ०७२ मा संविधान घोषणापछि छिमेकी मुलुक भारतले नेपालमाथि नाकाबन्दी लगायो । भारतीय नाकाबन्दी हाम्रो सार्वभौमसत्तामाथिकै ठाडो हस्तक्षेप थियो । संविधान जारी गरेको विरोधमा छिमेकी देशले नाकाबन्दी गर्नु गलत थियो । यस्तो परिवेशमा ‘राजमो’ले नाकाबन्दीपछि उत्पन्न परिस्थितिबारे छलफल गर्‍यो र नाकाबन्दीविरुद्ध आवश्यकता पर्दा सरकारमा पनि जानुपर्छ भन्ने निर्णय गर्‍यो । 


तत्कालीन एमालेको नेतृत्व केपी ओलीले गरिरहनुभएको थियो । उहाँले हाम्रो पार्टीसँग र मसँग धेरैपटक कुराकानी गर्नुभयो । पार्टीले पनि संविधान आफैँ बनाएबापत छिमेकीले नाकाबन्दी गर्नु गलत हो भन्यो । त्यसकारण सरकारमा सामेल हुनुपर्छ र सरकारमा बसेरै विदेशी हस्तक्षेपविरुद्ध प्रतिवाद गर्नुपर्छ भन्ने निर्णय गर्‍यो । पार्टीको त्यही निर्णयअनुसार अन्ततः म सरकारमा सामेल भएँ । ओलीजीले नेतृत्व गर्नुभएको सरकारमा उपप्रधामन्त्री भएँ । विभागीय हिसाबले सहकारी मन्त्रालयको जिम्मेवारी लिएँ ।

नौ महिना मन्त्री भएर बस्दा मलाई त सत्ता र पद कहिल्यै प्रिय लागेन । बरु बोझजस्तो मात्रै भयो । सधैँ ग्लानि अनुभूति भइरह्यो । किन यहाँ आएछु भनेजस्तो लागिरह्यो । मन्त्री भएसम्म कहिल्यै खुसी हुन सकिनँ । नौ महिनापछि सरकार नै विघटन भयो । बल्ल आनन्द महसुस गरेँ । 

 

उपप्रधानमन्त्री भएपछि सान, सौकात त भइ नै हाल्नेभो । किनकि त्यो सर्वहाराको राज्यसत्ता थिएन । गइसकेपछि सुरक्षागार्डको व्यवस्था, जहाँ गयो त्यहीँ सलामीको, सरकारी आवासलगायत सुविधा मेरा लागि नयाँ अनुभूति थियो । पहिलो दिन त्यो रमझम र सानसौकत देख्दा यसकारण पो राजनीति गर्ने मान्छेले सरकारमा जान, मन्त्री बन्न बल गर्दा रहेछन् भन्ने अनुभूति भयो । अरूले कालो बोका काटेर क्वार्टर सर्दा रहेछन्, तर मैले त्यसरी बोका काट्ने काम गरिनँ । हामी डेरा गरेर, भाडा तिरेर बसेका, दुःख पाएका व्यक्तिलाई सामान्यतया राज्यको त्यो ओहोदा र सेवा–सुविधा धेरै हुँदो रहेछ जस्तो लाग्यो । मैले प्रयोग गर्ने गाडी स्वाभाविक मूल्यको साधारण नै थियो ।


उपप्रधानमन्त्रीका लागि राज्यले जे–जे सुविधाको व्यवस्था गरेको छ, मैले पनि त्यही नै उपभोग गरेँ । किनभने म नै पहिलो उपप्रधानमन्त्री थिइनँ, त्यतिवेला मसहित ६ जना व्यक्ति एकैपटक उपप्रधानमन्त्री भएका थियौँ । बरु त्यति धेरै उपप्रधानमन्त्री किन बनाइयो भन्दै सरकारको आलोचना भयो । मैले कुनै सामान यस्तो चाहिन्छ भनेर कसैलाई भनिनँ, न सरकारी कर्मचारीले नै हजुरलाई के आवश्यक पर्छ भनेर सोधे । मन्त्री भएपछि पहिलो दिन बधाई दिन आउने कुरा स्वाभाविक थियो । देशको उपप्रधानमन्त्री भएकोमा जिल्लाका नेता–कार्यकर्ता, शुभेच्छुक, नातागोता, भाइसाथीले भेटेर बधाई दिए । त्यसो त, निर्वाचन जितेर सांसद हुँदा पनि मलाई त्यसरी नै बधाई आउँथ्यो । स्कुलको मास्टर हुँदा होस् या हेडमास्टर, बधाई आउने गरेकाले मन्त्री बन्दाको बधाई र शुभकामना कुनै नौलो विषय थिएन । 


मन्त्री बनेपछि अलिक फरक अनुभूति हुने कुरा स्वाभाविक थियो । त्यति महŒवपूर्ण ठाउँमा पार्टीले विश्वासका साथ जिम्मेवारी दिएर पठायो । अब जिम्मेवारी कसरी पूरा गर्ने होला ? पहिलो दिन सुत्ने वेला मेरा मनमा यस्तै थुप्र्रै प्रश्नहरू खेले । मन छोयो । विभागीय हिसाबले मैले गरिबी निवारण तथा सहकारीमन्त्रीको जिम्मेवारी पाएको थिएँ । मन्त्री भएको थाहा पाएपछि विशेषतः सहकारीपीडितहरूले धमाधम फोन गरेर बधाई दिन थाले । उनीहरूलाई लागेछ, चित्रबहादुर केसी सहकारीमन्त्री भयो, सहकारीका ठगहरूलाई अब पाता कसेर बान्छ, कारबाही गर्छ, हाम्रो बचत फिर्ता गरिदिन्छ । सहकारीपीडितहरू धेरै खुसी भएछन् । त्यसैले बधाईको धेरै फोन सहकारीपीडितकै थियो । त्यसबाट मैले सहकारी क्षेत्रमा कति धेरै बेथिति रहेछ, जनता कसरी लुटिएका रहेछन् भन्ने थाहा पाएँ । हुन त त्यसअघि पनि केही पनि थाहा नभएको त थिएन । तर, बाहिर यदाकदा पत्रपत्रिकामा मात्र सुनिन्थ्यो । मैले उतिसारो गम्भीर रूपमा लिएको पनि थिइनँ । 

पहिलो दिन त्यो रमझम र सानसौकत देख्दा यसकारण पो राजनीति गर्ने मान्छेले सरकारमा जान, मन्त्री बन्न बल गर्दा रहेछन् भन्ने अनुभूति भयो । अरूले कालो बोका काटेर क्वार्टर सर्दा रहेछन्, तर मैले त्यसरी बोका काट्ने काम गरिनँ ।


त्यतिवेला ठग्ने सहकारीमध्ये चर्चामा थियो–ओरियन्टियल सहकारी । त्यस सहकारीले सर्वसाधारण निक्षेपकर्ता सदस्यको करिब १२ अर्ब रुपैयाँ हिनामिना गरेको थियो । म मन्त्री क्वार्टरबाट थापाथली माइतीघर हुँदै सिंहदरबार कार्यालय जान्थेँ । तर, सिंहदरबार अगाडिको बाटाबाटामा पीडितहरूले घेर्थे, भेट्न खोज्थे । मैले त्यतिवेला सुनेँ– ६५ जना सहकारीपीडितहरूले आत्महत्या नै गरे । विशेषगरी छोराबुहारीसँग मेलमिलाप नभएपछि छुट्टिएर अंश लिएका बुढाबुढी बाबुआमा ठग सहकारीको चंगुलमा परेको पीडा व्यथा थाहा पाएँ । उनीहरूले अचल सम्पत्ति बेचेर नगद पैसा बैंकमा राखे । तर, जब सहकारी सञ्चालकहरूले त्यसरी बैंकमा पैसा राखेको थाहा पाए, त्यसपछि उनीहरू धेरै ब्याज दिने प्रलोभन देखाएर उनीहरूकहाँ धाउन थाले ।

 

१५ देखि २४ प्रतिशतसम्म ब्याज दिने प्रलोभन देखाएर, लालचमा पारेर सहकारीले पैसा ल्याए, हिनामिना गरे । उनीहरूले सुरुसुरुमा ब्याज पनि घरमै पुर्‍याइदिए । हाम्रो बागलुङतिर थारो भैँसी या रांगो मार्नुपर्‍यो भने मिठो बन्से घाँस देखाउँछन् । घाँसको लोभले जब उसले चण्डी सोझ्याउँछ, सिकारीले घनले वा बन्चरोको पासोले भैँसी मारेको मैले धेरै ठाउँमा देखेको छु । मैले त्यस्तै कारुणिक चित्र सहकारीले गर्ने ठगीमा पनि देखेँ । जब छोराबुहारीसँग वृद्ध बाबुआमा अलग भए, सम्पत्ति नगद बनाएर बैंकमा राखे, सहकारीका ठगहरूलाई ती सबै कुरा जानकारी भयो अनि आएर उनीहरूले फकाए र पैसा दिए । बाँचेका पीडितहरूले मलाई रुँदै आफ्ना कथा त्यसरी सुनाएका थिए । ब्याज घरमा पुर्‍याउँदा मिठा खानेकुरा दिएर पनि फकाए । थाप्लामा हानेर भैँसी ढाल्नेहरूले जसरी झुक्याए ,त्यसरी नै सहकारी ठगले बुढाबुढी ठगिएको कहानी सुन्दा तिनै गाउँघरको दृश्यको धेरैपटक याद आयो । यी कुरा थाहा पाएपछि मैले त्यतिवेलाको समस्यालाई धेरै गम्भीरतापूर्वक लिएँ । प्रत्येक मन्त्रिपरिषद्को बैठकमा सहकारीको नामबाट मान्छे यसरी ठगिएका छन्, राज्यसत्तामा पहुँच हुनेहरू नै त्यस्तो ठगी धन्दामा लाग्दा रहेछन् भनेँ ।


सहकारी मन्त्रालयमा एकजना कर्मचारी थिए । उनले सुरुमै मलाई सुझाव दिए, ‘तपाईं सोझो मान्छे, फकाउन कोसिस गर्छन्, सहकारीका ठगले किन्न पनि कोसिस गर्छन्, त्यसकारण तपाईं धेरै सतर्क हुनुहोला ।’सहकारीका ठगहरूको त राज्यको उपल्लो तहमा बसेका उच्च पदका व्यक्तिसँग नै उठबस र संगत हुँदो रहेछ । उनीहरू पावरफुल हुँदा रहेछन् । अहिले जसरी सहकारीले ठगेको कुरा आइरहेको छ, त्यो उनीहरूले त्यत्तिकै गरेका छैनन् । मन्त्री भएर बस्दै गर्दा मैले के अनुभूति गरेँ भने राज्यसत्ताको उपल्लो तहमा बसेका व्यक्ति स्वयं ती सहकारी ठगहरूलाई सहयोग गर्ने र उनीहरूबाट पनि आफूले सकेसम्म धेरै फाइदा लिने र ठगहरूको साधारणसभामा गएरसमेत बोलिदिने गर्दा रहेछन् । राज्यसत्ताको उपल्लो ओहोदामा बस्ने मान्छेहरूकै मिलिभगतमा, सहयोगमा सांसदहरू सहकारी चलाउने । मन्त्रीहरू देखिन्नन् तर सहकारी चलाइरहेका हुन्छन् । पार्टीका जिम्मेवार नेताले सहकारी चलाएका हुँदा रहेछन् ।


मलाई प्रधानमन्त्री ओलीकै सामुन्ने एमालेका नेताहरूले, सांसदहरूले, कांग्रेसका नेता र सांसदहरूले सहकारीका मान्छेहरूलाई भेट्टाउने भन्दै लगे । प्रधानमन्त्रीलाई उनीहरूले चित्रबहादुर दाइलाई सहकारीको कुरा बुझाउनै सकिएनसम्म भने । आश्चर्यको विषय त्यो छ । मैले उनीहरूको साधारणसभामा सहभागी हुन अस्वीकार गरेपछि उनीहरूले कुनै कार्यक्रममा राष्ट्रपतिलाई लगे, कतै सभामुखलाई, कतै स्वयं प्रधानमन्त्रीलाई नै प्रमुख अतिथि बनाएर लगे । त्यसकारण मन्त्री बनेपछि मेरो निचोड के हो भने नेपाली जनतालाई चुस्ने, ठग्ने, बाहिरको कोही मान्छे होइन ।

 

राज्यसत्तामै पकड भएका, हालिमुहाली गरेकाले नै सर्वसाधारणलाई ठग्दै आएका छन् । अहिले पनि सहकारीले ठगेको कुरा आएको छ । बागलुङतिर देवकुमार भन्ने एकजना मेयर थिए । पहिलेका माओवादी उनी पछि एमालेबाट मेयर निर्वाचित भए । उनले करोडौँ रुपैयाँ हिनामिना गरेर भूमिगत भएका छन् । उनको काठमाडौं र पोखरा, बागलुङसहित १८ ठाउँमा घर छ । उनी हेलिकोप्टरमा मात्र सयर गर्थे । उनको सानसौकातको रहस्य त बल्ल खुलेको छ । अझ सुरुमा त उनले ब्याज लिन जानेहरूलाई पेटभरि खुवाएर, सत्कार गरेर पठाउँदा रहेछन् । कैयन् सहकारी उनले गाभे । त्यस्ता देवकुमारहरूलाई राज्यसत्तामा बस्नेहरूले नै संरक्षण गरेका छन्, पैसा खाएका छन् । अर्का व्यक्ति हुन्, इच्छाराज तामाङ । सहकारीको अगुवा उनले सिभिल सहकारीको आठ अर्ब रुपैयाँ डुबाएका छन् । यसैगरी ठूला पार्टीका धेरैले सहकारीमार्फत जनतालाई ठगी गरेका छन् ।


राज्यसत्ताको दुरुपयोग गरेर हालिमुहाली गर्ने मान्छेहरूकै कारण भ्रष्टाचार मौलाएको हो । नौ महिना मन्त्री भएर बस्दा मलाई त सत्ता र पद कहिल्यै प्रिय लागेन । बरु बोझजस्तो मात्रै भो । सधैँ ग्लानि अनुभूति भइरह्यो । किन म यहाँ आएछु भने जस्तो लागिरह्यो । मन्त्री भएसम्म कहिल्यै खुसी हुन सकिनँ । नौ महिनापछि सरकार नै विघटन भयो । बल्ल आनन्द महसुस गरेँ । 


मेरी श्रीमतीले मन्त्री बन्दा कहिल्यै कुनै सौख व्यक्त गरिनन् । अहिले उनी बिरामी छिन् । तर, मैले स्वास्थ्य उपचारमा त्यति ध्यान दिन सकेको छैन । मन्त्री बनेपछि मलाई यो चाहियो, यो दिनुपर्‍यो कहिल्यै केही पनि भनिनन् । म सांसद थिएँ । तर, श्रीमतीले मधेशमा अरुवा खेती अधियाँमा गरिन् । मैले भेटेरै भनेँ, ‘अब त सांसद भइसकेँ । तलब आउँछ, पार्टीलाई लेबी बुझाएर पनि खानपुग्ने पैसा बचिहाल्छ । तिमी दुइवटा माउभैँसी पाल । छोराछोरी स्कुल जान्छन्, नपुगे बाख्रा पाल्ने, कुखुरा पनि पाल्ने । चामल एक–दुई क्विन्टल पठाइदिन्छु ।’ उनले भनिन्, ‘यी कुरा मलाई नसुनाउनुस्, तपाईं देश र जनताको सेवा गर्नुस् ।’ उनले चार वर्षभरि खेत कमाइन् । २५–३० मुरी धान उब्जाइन् । 


उपप्रधानमन्त्री भएपछि जहान परिवारलाई क्वार्टरमै राखेँ । उपप्रधानमन्त्री हुँदा र अहिलेको मेरो जीवनशैलीमा कहिल्यै उतारचढाव आएन । आवश्यक स्वकीय सचिव पार्टीबाटै राखेँ दुईजना । कानुन जानेकालाई राखेँ । सहकारी ऐन बनाउन धेरै कोसिस गरेँ, पास हुन दिइएन । हिनामिना गर्नेलाई कडा कारबाहीको व्यवस्था भएकाले राखेको प्रस्तावमाथि कैयन् संशोधन गरेपछि बल्ल पास गरे जस्तो लाग्छ ।