धन्न रूप थियो र तिमीले बिस्तरासम्म लग्यौ
नत्र कोठा नदिने तिम्रो घरमा
कुलसम्म जाने मेरो हैसियत नै कहाँ थियोे र .....!?
योनीमा जात थिएन र मात्र !
नत्र त तिमीले पनि बिस्तराबाटै फर्काइदिने थियौ
संभोगले झन्डै तिम्रो धर्म मासिने थियो .....!
तिमीले छोड्यौ भनेर पनि के गुनासो गर्नु
राख्न सक्ने ठाउँसम्म राखेकै हौ
दिन सक्ने हक दिएकै हौ ।
नत्र, नामको पछि
थर राख्न त कहाँ मेरो थरले दिन्थ्यो र ...?
तिम्री आमा नारी भएर पनि
“प्रेमिकालाई राजीखुसी चलाउनु
तर, घरमा नल्याउनु” भनेकी हुन् तिमीलाई
चल्नेसम्म चलायौ अनि धन्न वेलैमा सम्झियौ
यहाँभन्दा माथि चलाउन त मेरो जातै कहाँ हो र ...?
नाथे गोठमासम्म बस्न नदिने मलाई
तिमीले आफ्नो रात अनि साथ दियौ
फेरि, तिम्रो शरणमा पर्नुबाहेक
अरू विकल्प नै के थियो र ...?
भन्थ्यौ,
“हाम्रो प्रेम– अन्तर्जातीय प्रेमको उदाहरण हुनेछ”
तिम्रो उदाहरण पनि
खै त्यही बिस्तरासम्म लगेर निभायौ त ...!
तिम्रोअघि हल्काफुल्का नाइटी लाएर आउने म
तिम्रो खानदानी साडी बोक्न औकातले कहाँ भ्याउँथ्यो र ...?
तिम्रो प्रेममा कुनै खोट छैन,
गर्न सक्नेसम्म गरेका हौ
नत्र यत्तिकै त म पनि
किन पछिपछि आएथेँ होला र ...?
होटेलको बिस्तरामा निदाएर
म तिम्रो घरको बिस्तरामा
तिमीसँगको भविष्यको सपना देखिरहेथेँ
धन्न सपनाबाट तिमीले झस्कायौ र यथार्थलाई स्विकारेँ
नत्र मैले
यथार्थमा सम्भव हुने सपना कहाँ देखेको थिएँ र ...?
– खोटाङ