• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
अन्वेषण अधिकारी
२०८० माघ ६ शनिबार ०८:५३:००
इतिहास

त्यो भक्तपुर, यो भक्तपुर

आफ्नोपन रहे मात्रै हामी रहन्छौँ, आफ्नोपन नभए जतिसुकै आधुनिक भए पनि अर्थ छैन

२०८० माघ ६ शनिबार ०८:५३:००
अन्वेषण अधिकारी

त्यतिवेला भक्तपुरको मुख्य बजारमा अहिलेजस्तो धेरै घर थिएनन् । जनसंख्या थोरै भएको भक्तपुर आत्मनिर्भर थियो । १९९० सालको भूकम्पले ठूलो क्षति पुर्‍यायो । त्यसपछि जुद्धशमशेरका छोरा बिग्रेडियर जनरल ध्रुवशमशेरलाई भक्तपुरको कमान्डिङ जनरल बनाएर ९० सालको भूकम्पपछि पुनर्निर्माण गर्न लगाएको थियो । १९९२ सालमा जन्मिएकाले आमा, हजुरआमा, मामालगायत घरपरिवारका सदस्यबाट भूकम्पको कथा सुन्दै हुर्किएँ । सुर्की, चुना मिसाएर तयार गरिएको बज्रलेपबाट त्यतिवेलाका घर बन्थे । काठको प्रयोग हुन्थ्यो ।


धेरै घर ०७२ सालको भूकम्पमा भत्किए । फेरि पुनर्निर्माण भयो । अझै बैठक दरबार गेटभित्र (दरबार स्क्वायरभित्र) टेको लगाएर राखेकोे देखिन्छ । अहिले, घर बनाउन सिमेन्ट प्रयोग हुन्छ । आल्मुनियम र सिसाबाट झ्याल–ढोका तयार हुन्छन् । समय धेरै परिवर्तन भइसक्यो । यद्यपि, भक्तपुरले आफ्नो पहिचान संरक्षण गरेर राखेको छ । यहाँ प्राचीनकालदेखिका काष्ठकलाका (झ्याल, ढोका, टुँडाल, आँखीझ्याल) नमुना देख्न पाइन्छ । पुस्तान्तरणका कारण भाषा, संस्कृति र रीतिरिवाजले निरन्तरता पाइरहेको छ । गाईजात्रा, बिस्केट जात्रा, ठिमीको सिन्दुरे जात्रालगायत यहाँका जात्राको आ–आफ्नै महत्व छ । साना केटाकेटीदेखि वृद्धवृद्धासम्म जात्रामा उल्लासमय रूपमा सहभागी हुन्छन् । 

 

भरियो भक्तपुर
भक्तपुरको मुख्य बजारबाहेक अन्यत्र थोरै मात्र घर थिए । हामी हनुमानघाटमा पौडी खेल्न जान्थ्यौँ । त्यहाँ माछा, सर्प, भ्यागुता प्रशस्तै देखिन्थे । उहिले भक्तपुरको मुख्य बजारबाहिर मुस्किलले घर भेटिन्थे । यहाँ (सूर्यविनायक) म ४२ वर्षअघि आउँदा अर्को एउटा मात्रै घर थियो । खेतैखेत र जंगल थियो । अक्सिजन प्रशस्तै थियो । हिउँदमा जाडोको समय थालमा राखिएको पानी जमेर बरफ हुन्थ्यो । यहाँ पुस, माघमा बाक्लै शीत पथ्र्यो । असाध्यै जाडो हुन्थ्यो, कुइरो लाग्थ्यो । रानीकोट, नगरकोट, चाँगुनारायणमा मज्जाले हिउँ पथ्र्याे । 

पहिले सामानसँग सामान साट्ने चलन थियो । चामल, तरकारीसँग माटोका सामान, कपडा साटिन्थे । अब त सबै कुरा पैसामै कारोबार हुने भयो । पर्म लगाउने चलन हरायो । खेत रोप्न, बाली उठाउन एक–अर्कालाई सहयोग गर्ने चलन थियो । मानिसहरू एक–अर्कालाई खुलेर सहयोग गर्थे । अहिले सबै हराउँदै गयो । भक्तपुर साँघुरो हुँदै गयो । 


अहिले प्रदूषणसँगै तापक्रम बढेको छ । ढल, विषादी औषधिका कारण नदीनाला फोहोर भए । खोला मिचेर घर बनाइएका छन्, खोलाको क्षेत्रफल सानो भएकाले बाढी आउँदा ‘राधेराधे’ क्षेत्रमा ठूलो संख्यामा घर डुबानमा पर्छन् ।पहिले, भक्तपुरमा पातपतिंगरलाई कुहाएर अर्गानिक मल तयार गरिन्थ्यो । त्यसैलाई खर्पनमा राखेर बारीमा लगेर छरिन्थ्यो । खानेकुरा स्वस्थ्यवद्र्धक थियो । खर्पन उपत्यकाको प्रतीकजस्तै थियो । मानिसहरूले घरमा पनि ठूला–गहिरा खर्पन राखेका हुन्थे ।

 

बाली भित्र्याएपछि त्यस्ता खर्पनमा धान भरिन्थ्यो, त्यसपछि फूलको गुच्छा राखेर पूजा गर्ने अनि ‘खासे खासेः वा’ भनेर गाउँदै रमाइलो गरिन्थ्यो । मानिसहरू लाइनै लागेर उमंगका साथ खुसियाली साट्थे । तीन–चार महिना हिलो माटोमा चोपलिएर, झरीमा रुझेर हुर्काएको बाली भित्र्याएपछि प्रफुल्लित भएर गाउने गरिएको हो । ‘खासे’ भनेको उमंग हो । अहिले धानखेती नै कम भएपछि यो जात्राको रस पहिलेजस्तो छैन । पहिले, भक्तपुरबाट काठमाडौंमा रातो मुला निर्यात गरिन्थ्यो । काउली काठमाडौंबाट आउँथ्यो । अहिले त यहाँ पनि काउली खेती टन्नै हुन्छ । अर्कोतर्फ, काठमाडौं र ललितपुरमा पनि कृषियोग्य जमिन धेरै मासिए । यहाँभन्दा त्यता धेरै प्रदूषण र कोलाहाल छ । मानिस गाउँमा बस्न नसक्ने भए । भागाभाग भएर आए । काठमाडौं र ललितपुरसँगै यहाँ पनि भरियो । खेतीयोग्य जमिनमा कंक्रिटका घर ठडिए ।

 

परनिर्भरता बढ्यो 
आधुनिकतासँगै विदेशीप्रतिको हाम्रो निर्भरता बढेको छ । आजकाल चाहेजस्तो फेसनेबल कपडा किनेर लगाउन पाइन्छ । पहिले, लुगा यहीँ बन्थे । रंग पनि त्यसको निख्खर हुन्थ्यो । भादगाउँले टोपी प्रख्यात थियो र छ । कपासको धागोको न्यानो र बाक्लो कपडा लगाइन्थ्यो । सडक–किनारमा महिलाहरू खाली ठाउँमा नर्कट राखेर तान बुनिरहेका भेटिन्थे । तानको झ्यारझ्यार आवाज आउँथ्यो । आजकाल गाडीको ड्यारड्यार आवाज पो आउँछ । सिन्धुपाल्चोकमा चार–पाँच वर्ष हेडमास्टर भएर बसेँ । स्कुल बनाएँ, पढाएँ । त्यहाँ पनि त्यस्तै किसिमको अर्गानिक वातावरण थियो । हावापानी स्वच्छ थियो । पूर्वमा पाँचथर, संखुवासभा, पश्चिममा हुम्ला, डोल्पालगायत देशका सबै जिल्ला घुमियो । सबैतिर वातावरण राम्रो थियो । गृह मन्त्रालयमा अधिकृत थिएँ । पञ्चायतकालमा देशको विकेन्द्रीकरण योजना लागू भएपछि जियोग्राफरहरू ल्याएर सबैलाई तालिम दिएर ७५ जिल्लाको सीमांकन गरियो । 

 

पहिले, लुगा यहीँ बन्थे । रङ पनि त्यसको निख्खर हुन्थ्यो । भादगाउँले टोपी प्रख्यात थियो र छ । कपासको धागोको न्यानो र बाक्लो कपडा लगाइन्थ्यो । सडककिनारमा महिलाहरू खाली ठाउँमा नर्कट राखेर तान बुनिरहेका भेटिन्थे । तानको झ्यारझ्यार आवाज आउँथ्यो । आजकाल गाडीको ड्यारड्यार आवाज पो आउँछ ।


समयअनुसार सबै परिवर्तन हुने नै भयो । सरकार परिवर्तन भयो, व्यवस्था र नेतृत्व परिवर्तन भयो । गाउँ–गाउँमा सडक पुगे । विकासको यो क्रमलाई रोक्न सकिन्न । तर, उद्योगधन्दालाई संरक्षण र प्रवद्र्धन गर्न जरुरी थियो, नसक्दा हामी विदेशीप्रति निर्भर भयौँ । 


भक्तपुरमा कालीमाटी पाइन्छ । खनेर जमिनमुनिबाट झिक्छन् । त्यसलाई मज्जाले मुछेर, गिर्खा फालेर, नरम पारेर किसिम–किसिमका भाँडो बनाइन्छ । अहिले यहाँ माटोका भाँडा बन्छ । तर, पहिलेजस्तो छैन । प्लास्टिकका भाँडा र गमला धेरै प्रयोगमा आउन थालिसकेका छन् । घर भत्काएर खन्न भएन । स्थानीय सीपको जगेर्ना र सम्मान गर्ने परिपाटी नहुँदा यस्तो अवस्था निस्कियो । 


पहिले, सामानसँग सामान साट्ने चलन थियो । चामल, तरकारीसँग माटोका सामान, कपडा साटिन्थे । अब त सबै कुरा पैसामै कारोबार हुनेभयो । पर्म लगाउने चलन हरायो । खेत रोप्न, बाली उठाउन एक–अर्कालाई सहयोग गर्ने चलन थियो । मानिसहरू एक–अर्कालाई खुलेर सहयोग गर्थे । अहिले सबै हराउँदै गयो । भक्तपुर साँघुरो हुँदै गयो । 


नेपाली कागजमा विद्वान्हरूले हातैले लेखेर महत्वपूर्ण संग्रहहरू तयार गर्थे । । दुई सय वर्ष पुरानो स्वस्थानी व्रतकथा (हातले लेखिएको) मसँग अहिले पनि सुरक्षित छ । कागज अहिले पनि नेपालमा बन्छ । तर, त्यो पर्याप्त छैन । यस्ता धेरै कुरामा हामी परनिर्भर भयौँ । प्रविधिको विकास राम्रो हो । तर, आत्मनिर्भर हुन पनि सिक्नुपर्छ । 

 

घरघरमा देखिने भँगेरा रूखमा सरे
भँगेराको संख्या अहिले घटिरहेको छ । पहिले, प्रत्येक घरमा भँगेरालाई बस्नका लागि सानो प्वाल राखिएको हुन्थ्यो । आजकाल बस्ने ठाउँ नभएपछि भँगेराको संख्या घटिरहेको छ । मन्दिर र पुराना घरमा त्यस्ता प्वाल अनिवार्य राखिएको छ । अहिले पनि कतिपयले राख्ने गरेका छन् । तर, सिमेन्ट प्रविधि भित्रिएपछि बनेका कतिपय घरहरूमा यस्तो व्यवस्था छैन । भँगेरा बसेको ठाउँमा धमिरा पनि नलाग्ने भएकाले घरको काठ पनि जोगिन्थ्यो । भेन्टिलेसनको व्यवस्था पनि हुन्थ्यो ।

 
पहिले दाउरा बालेर इँट्टा तयार गरिन्थ्यो । आजकाल कोइलाबाट चल्ने मेसिन छन् । यसले वातावरणमा दुष्प्रभाव पारिरहेको छ । अर्कोतर्फ, गाडीबाट निस्कने धुवाँको असर छ । कोरिया जाँदा मलाई त्यहाँका मानिसहरूले फर्टिलाइजर फ्याक्ट्री देखाएका थिए । घरजत्रा फलामका पाइपहरू आकाशमा उठाइएका थिए । त्यहाँ चिनी मल (केमिकलयुक्त मल) तयार हुनेरहेछ । भारत, अमेरिका, बेलायत, रुसजस्ता विकसित देशले वातावरणलाई ध्यान नदिई उद्योगहरू सञ्चालन गर्दा ओजन लेयर पातलो हुँदै गयो । औद्योगीकरणको दुष्प्रभाव विश्वभर नै परिरहेको छ । वातावरण बिग्रने नै भयो । जलवायु परिवर्तनले विभिन्न जटिलता निम्त्याइरहेको छ । 

 

सम्पदा संरक्षणमा नगरपालिकाको पहल
देशका धेरै ठाउँमा निर्वाचनअनुसार नै पार्टी परिवर्तन भइरहन्छन् । भक्तपुर नगरमा नेपाल मजदुर किसान पार्टीले ‘क्लिन स्विप’ गर्ने गर्छ । जनताको मन जितेर काम गरेकाले नै यस्तो भएको हो । भाषा संरक्षण र सम्पदा संरक्षणमा धेरै काम गरिरहेको छ । यहीँबाट सिकेर अहिले काठमाडौं, ललितपुर र देशका अन्य स्थानीय तहले पनि भाषा तथा संस्कृतिको संरक्षणमा जोड दिइरहेका छन् । काठमाडौं र ललितपुरको दाँजोमा भक्तपुर पृथक् देखिनुको कारण पनि सम्पदा संरक्षण हो । 


देशका सबै स्थानीय तहले यसरी नै काम गरेको भए हाम्रा स्थानीय भाषाहरू लोपोन्मुख अवस्थामा पुग्ने थिएनन् । भाषा–संस्कृतिको संरक्षणमार्फत पर्यटकलाई आकर्षित गर्न सकिन्छ भन्ने उदाहरण नगरपालिकाले देखाएको छ । जस्तो, दरबार स्क्वायरमा विदेशीलाई प्रवेशका लागि टिकटको व्यवस्था छ । सार्क देशका नागरिकलाई अलि कम छ । अध्ययन–अनुसन्धानका लागि यहाँ विदेशीहरू आइरहेकै छन् ।

 

विद्यालय र कलेजमा नेवारी भाषामा पनि पढाइ हुन्छ । संस्कृतिबारे कतिपय पुस्तक मैले नै लेखेको छु । पहिले पढाउन पनि जान्थेँ । अहिले नसक्ने भएँ । जात्राहरू संरक्षणमा पनि नगरपालिकाले जोड दिइरहेको छ । गाईजात्रा हेर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको भिड थामिनसक्नु हुन्छ । सम्पदा संरक्षणमा अहिले देशका अन्य स्थानीय तहले पनि चासो देखाएका छन् । यो सकारात्मक छ । पहिचान रहे मात्रै हामी रहन्छौँ । आफ्नोपन नभए जतिसुकै आधुनिक भए पनि अर्थ छैन । भक्तपुरले आधुनिकतालाई स्विकारे पनि आफ्नो पहिचान मर्न दिएको छैन । यसमा खुसी छु ।