मानव जातिलाई जीवित राख्नु महिलाको मात्र जिम्मेवारी होइन । किनभने, प्रजननलाई ‘महिलाको अस्तित्वको अंश’को रूपमा मात्र हेरिन्छ, पुरुषहरू सजिलैसँग यसबाट अप्रभावित हुन सक्छन्, जबसम्म तिनीहरूले कुनै न कुनै रूपमा लाभ उठाउन सक्दैनन् ।
म यो लेख गहिरो व्यक्तिपरक आवाज र भावमा लेख्न बाध्य छु । एक माननीय मन्त्रीले ‘महिनावारी हुने महिला’को रूपमा आफ्नो ‘व्यक्तिगत विचार’ सेयर गर्न चाहेकाले म केबल अर्को ‘महिनावारी हुने महिला’को रूपमा उक्त विचारको प्रतिक्रिया दिँदै छु ।
म एक महिनावारी महिलाको रूपमा पनि लेख्छु, जसले आफ्नो १५ वर्ष लामो जागिरे जीवनमा महिनावारीकै कारण एक दिन बिदा लिएकी छैन । मैले ‘पेड पिरियड लिभ’ अर्थात् महिनावारी बिदाको भुक्तानी नमागेकोमा पुरस्कार पाउनुपर्छ । मेरो महिनावारीको अवधि केही सुखद भए पनि वास्तवमा ती घातक छन् । तैपनि, मैले मेरो महिनावारीको पहिलो बिहान हाफ म्याराथन दौडेँ । मैले गाउँ–गाउँ घुमेकी छु, हिमाल आरोहण गरेकी छु, जंगलमा पदयात्रा गरेकी छु, उपत्यकामा साइकल चढेकी छु र महिनावारीले आघात हुँदा अस्थायी सेनेटरी सामग्री प्रयोग गरेकी छु । मसँग अनावश्यक सोचबारे क्लिनिकल निदान छ, मेरो घरेलु संघर्ष सरसफाइका बारेमा मात्र हो । मेरो वरपरका मानिसलाई मेरो शारीरिक गन्ध (मुख, काखी, खुट्टा र महिनावारी)को अधीनमा त राखेकी छैन भनेर म बारम्बार चिन्तित छु । जब म महिनावारी हुन्छ, मेरो सरसफाइसम्बन्धी चिन्ता उत्कर्षमा पुग्छ । जे होस अगाडि बढ्नुअघि केही अनौठा चिजको खुलासातर्फ जाऔँ ।
यो सरसफाइको कुरा होइन । यो एक गम्भीर स्वास्थ्य चिन्ता हो । हो, प्रायः ठट्टा गरिएको र अत्यधिक मेमिफाइड (तस्बिर, भिडियो तथा पाठको अंश, जुन सामान्यतया हास्यपूर्ण हुन्छ र यसलाई इन्टरनेट प्रयोगकर्ताले नक्कल गरेर छिटो फैलाउने गर्छन्) गरिएको विषय हो मासिक धर्म । जब हामी सरसफाइजस्ता शब्दहरू प्रयोग गर्छौं, दायित्व सहज रूपमा पीडित व्यक्तिको थाप्लोमा थोपरिन्छ । जे भए पनि महिनावारीलाई सफा र साहसका साथ व्यवहार नगर्ने तर त्यसका लागि तलब बिदाको माग गर्न पर्याप्त हकदार महसुस गर्नुमा महिला जिम्मेवार छन् । आखिर यो नारीको अस्तित्वको अंश हो । त्यस तर्कले यौन उत्पीडन पनि महिलाको अस्तित्वको एक हिस्सा हो । के हामीले समानताको नाममा आँखा चिम्लिएर यसलाई ‘अवरोध’ होइन भन्ने ?
के महिलाले कार्यबलमा सामेल हुनुअघि आफ्नो पाठेघर हटाउनुपर्ने हो ? तपाईं उत्पादकता चाहनुहुन्छ ? यहाँ उत्पादकता छ । विडम्बनाको कुरा के छ भने यो मानिसको त्यही समूह हो, जसले बच्चा नजन्माउने निर्णय गरेकोमा महिलालाई राक्षस बनाउँछ । प्रजननविनाको उत्पादकताले महिलालाई सम्मान गर्दैन ।
मूलतया, महिलाहरूले चुपचाप बच्चा जन्माउन र हुर्काउन आवश्यक छ । एक सक्षम वातावरणबारे कहिल्यै चिन्ता नगर्नुहोस् । किनभने यो असमर्थता होइन ! छोराछोरी नभएकोजस्तो काम गर्नुहोस्, काम नभएको जस्तो आमा बन्नुहोस् । केही पनि नमाग्नुहोस्, किनकि यसले समानताको ठेलागाडीलाई घोप्टो पार्नेछ । सम्झनुहोस्, यो एक बाधा होइन !
हामी यस्तो देशमा बस्छौँ, जहाँ महिनावारी स्वास्थ्य सबैभन्दा खराब अवस्थामा छ । अनौपचारिक क्षेत्र महिलाका लागि सक्रिय हत्या क्षेत्र जस्तै हो, जहाँ शौचालय, सफा पानी वा मासिक धर्मका सामग्री प्रयोग गर्न गोपनीयताको पहुँच कम छ । अर्कोतर्फ, कर्पोरेट जगत्ले आफ्नो चम्किलो नारीवादी अभियानसँगै महिलालाई प्रतीकात्मक रूपमा मार्छ ।
प्रसूति बिदा, बाल हेरचाह बिदा, कामको सिलसिलामा सुरक्षित यात्रा, काम गर्ने सुरक्षित वातावरण वा यौन उत्पीडनको सामना गर्ने संयन्त्र माग गर्दा महिलालाई सूक्ष्म रूपमा दण्डित गरिन्छ । हो, आवधिक श्रमशक्ति सर्वेक्षणले देखाएअनुसार श्रमशक्तिमा महिला सहभागिता सन् २०१७ को ३६.९ प्रतिशतबाट बढेर सन् २०२२–२०२३ मा ४२.४ प्रतिशत पुगेको छ । तर, स्वरोजगार उद्यम (पारिवारिक काम, कृषि आदि) वा राष्ट्रिय ग्रामीण रोजगार सुनिश्चितताअन्तर्गतको कार्यमा संलग्न ग्रामीण महिलाहरूको संख्या ठूलो छ । धेरै महिलाले कर्पोरेट जगत्लाई आफूविरुद्ध देखिरहेका छन् र उपर्युक्त रूपमा छाड्ने निधो गरिरहेका छन् ।
मातृत्वको जैविक भार किन बोक्ने ? यस प्रक्रियाको उपहास र खिल्ली उडाइए पनि मानव जातिलाई जीवित राख्नु महिलाको मात्र जिम्मेवारी होइन । किनभने प्रजननलाई ‘महिलाको अस्तित्वको अंश’को रूपमा मात्र हेरिन्छ, पुरुषहरू सजिलैसँग यसबाट अप्रभावित हुन सक्छन्, जबसम्म तिनीहरूले कुनै न कुनै रूपमा लाभ उठाउन सक्दैनन् ।
प्रजननलाई हेर्ने यो पितृसत्तात्मक सोचका कारण महिलाको दैनिक कामकाजमा उल्लेखनीय रूपमा बाधा पुर्याउने डिसमेनोरिया (महिनावारीको समयमा बारम्बार दुखाइ) पाठेघरको क्यान्सर, हर्मोनल असन्तुलन, आदिलाई गम्भीर स्वास्थ्य चिन्ताको रूपमा हेरिएको छैन ।
पोस्टपार्टम डिप्रेसन (बच्चा जन्माएपछि सुत्केरी महिलामा हुने डिप्रेसन) अझै पनि एक पौराणिक कथा हो । ‘मुडी’, ‘कमजोर’, वा ‘खराब आमा’जस्ता विशेषणद्वारा सजिलै व्याख्या गर्न सकिन्छ भने किन दिक्कलाग्दो विज्ञानमा जाने ? धेरै अवस्थामा यस्ता ‘कमजोर’ महिलाको निन्दा गर्ने महिला नै सबैभन्दा निर्दयी हुन्छन् ।
मैले जागिर छाड्दा मेरो बिदाको भुक्तानी रकम मेरो मासिक तलबभन्दा बढी थियो । पिरियड लिभको कुरा बिर्सनुहोस्, मैले विवाह बिदा पनि लिइनँ र डिसेम्बरमा लामो सप्ताहन्तमा विवाह गर्ने निर्णय गरेँ । कम्प्युटर स्क्रिनमा हेर्दै र अफिसमा मेरो डेस्कमा एक टन मिठाइ अर्डर गर्दै मैले मेरो महिनावारीका सबैभन्दा खराब दिनहरू सामना गरेकी छु । मेरो रोजगारदाता भुक्तान बिदाको विचारको विरुद्धमा भएकाले मैले त्यसो गरेको होइन । (वास्तवमा म एकपटक अफिसमा धेरै ढिलो पुगेँ र मालिकलाई म अबेरसम्म सुतेकाले ढिलो भएको बताएकी छु । मैले यसका लागि दण्ड पाएकी छैन ।) मैले शारीरिक र मानसिक पीडामा काम गरिरहेँ, किनभने हाम्रो सामान्य कार्य संस्कृतिले कुनै पनि प्रकारको कमजोरीलाई सजाय दिन्छ । हामी महिला सधैँ सबै कुराको शीर्षमा हुनुपर्छ, चाहे हाम्रो शरीर र दिमाग यसमा सक्षम होस् वा नहोस् ।
धार्मिक वा धर्मनिरपेक्ष व्यासपीठबाट बोलिने कुराहरूले दूरगामी परिणाम दिन्छन् । जब हामी सःशुल्क महिनावारी बिदाको विरुद्धमा बहस गर्छौं, हामी महिलालाई कार्यबलमा स्थिर स्थान पाउन अझ गाह्रो बनाउँछौँ । र, महिनावारी भएका महिलाहरूले बहस गर्दा यो अझ खराब हुन्छ ।
(गौतम भारतीय लेखक हुन् । भारतीय समाचार संस्था एनडिटिभीमा प्रसारित यो सामग्री सुभाष शर्माले अनुवाद गरेका हुन् ।)