सिके राउत अहिले जस्ता छन्, कलेजका दिनमा त्यस्तै थिएनन् । जीवनमा दायाँबायाँ केही थिएन, पढाइमा घोटिनुबाहेक । होस्टेलबाट सीधै कक्षा जाने, ध्यान दिएर पढ्ने–सुन्ने, भोक लागे एक्लै क्यान्टिन जाने अनि अधिकांश समय लाइब्रेरीमा बिताउने । पारिवारिक जिम्मेवारीबोधका कारण पनि जीवनमा केही बन्नुपर्छ भन्ने हुटहुटी थियो उनमा । यद्यपि गाउँबाट कलेज पढ्न काठमाडौं छिरेपछि उनको कलेज लाइफ सोचेजस्तो सहज भने भएन । विभेद भोग्नुपर्यो । हाल जनमत पार्टीका अध्यक्ष रहेका राउतले नयाँ पत्रिकाकर्मी अनिल यादवसँग यसरी सम्झिए कलेजका ती दिन :
०५१ सालमा एसएलसी पास भएपछि म गाउँबाट बुबाले दिएको एक हजार रुपैयाँ लिएर ओभरसियर पढ्न काठमाडौं आएँ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा प्रवेश परीक्षा दिएँ । सहजै नाम निकालेँ । नाम निकालेपछि भर्ना हुन १५ सय रुपैयाँ लाग्थ्यो । त्यो रकम मसँग थिएन । ललितपुरको ठैब भन्ने ठाउँमा मेरो गाउँका केही दाइ मजदुरी गर्थे । म त्यहाँ पुग्दा मजदुर दाइले मलाई भनेका थिए– ‘हामीले त पढ्न सकेनौँ, तर तिमीले राम्रो गरेका छौ त्यसैले हार नखानू, राम्रोसँग पढ्नू । सकेको हामी गरौँला ।’ भर्ना हुने रकम कतैबाट जोहो गर्न नसकिरहेका वेला मैले उहाँहरूको त्यो वचन सम्झिएँ । तुरुन्तै त्यहाँ पुगेँ । आफ्नो समस्या सुनाएपछि त्यहाँ एकजना दाइले तुरुन्तै खत्रुके फुटाएर १५ सय रुपैयाँ दिए । त्यो दिन फेरि काठमाडौंमा हडताल थियो । गाडी बन्द भएकाले म हिँड्दै वीरहस्पिटल नजिकैको डेरामा पुगेँ । भर्ना हुने अन्तिम दिन थियो त्यो । त्यसैले कोठाबाट सर्टिफिकेट लिएर हतारहतार भर्ना गर्न पुल्चोक पुगेँ । भोकले आकुल भएको थिएँ, अरूलाई सर्टिफिकेट थमाएर रुख फेदमुनि केही खाएँ । त्यसपछि भर्ना भएँ ।
कलेजको पहिलो वर्ष मेरा लागि निकै सकसपूर्ण रह्यो । राम्रोसँग नेपाली बोल्न आउँथेन । त्यसैले मुख खोल्यो कि कक्षामा साथीहरू गलल हाँस्थे । अंग्रेजी माध्यममा पढाइ हुन्थ्यो । त्यसमा पनि अभ्यस्त हुनुपर्ने । तराईको रहनसहन पनि यहाँभन्दा फरक, मलाई देखेर अरू हाँस्थे । उतातिर चप्पल लगाएर हिँड्दा हुन्थ्यो, यहाँ जुत्ता लाउनुपर्ने । अरूभन्दा फरक व्यवहार गरेको महसुस भएपछि म पहिलो वर्ष कलेजमा ‘एड्जस्ट’ हुन सकिनँ । जहाँ जाँदा पनि ह्यारेस गर्ने ! क्यान्टिन गयो, त्यहीँ ह्यारेसमेन्ट, कक्षाकोठामा गयो, त्यतै ह्यारेसमेन्ट । ‘भैया’, ‘धोती’सम्म भन्ने ! अर्कै ग्रहको मान्छेजस्तै ठान्ने ! त्यही भएर होला, मलाई पढ्न खासै मन लागेन । त्यसैले कलेज बंक गरेर म्युजियमहरू चहार्थें । बाँसबारीमा गाउँकै दाइले खोलेको सैलुन थियो, कहिले कलेज बंक गरेर त्यहीँ पुग्थेँ । धेरैजसो कलेज बंक गरेका कारण पहिलो वर्ष परिणाम पनि खासै राम्रो आएन । त्यत्तिकै एक दिन सैलुनको दाइले ‘खाली यहाँ बसेर हुन्छ, कलेज जानुपर्दैन’ भनेर गाली गरेपछि त्यहाँ पनि जान छोडेँ ।
बुबाको त्यो पत्र
त्यतिवेला हातमा फोन हुन्थेन, त्यसैले हरेक महिना बुबा र मबीच हस्तलिखित पत्र आदानप्रदान हुन्थ्यो । म काठमाडौंबाट एकजना गाउँको हाईस्कुलको टिचरको नाममा पत्र पठाउँथेँ । उहाँले स्कुल लानुहुन्थ्यो । स्कुलबाट गाउँको मान्छेले घरसम्म पुर्याइदिन्थ्यो । बुबाले मासिक खर्च आठ–नौ सय रुपैयाँ त्यही पत्रमा राखेर पठाइदिनुहुन्थ्यो । मेरो पहिलो वर्षको परिणामबारे जानकारी दिएपछि बुबाले राम्रोसँग पढ् भनी अर्को पत्र पठाउनुभयो । त्यसपछि म फेरि गम्भीर भएँ । साथीहरूले जे भने पनि, जसरी हेरे पनि, मैले ‘इग्नोर’ गर्न सिकेँ । जति उडाए पनि केही भनिनँ, बस् मुस्कुराएर टारिदिएँ । दोस्रो वर्ष म पढाइमा टपर भएँ । त्यसपछि सबैले सम्मान गर्न थाले । डिप्लोमाको अन्तिम अर्थात् तेस्रो वर्ष पनि म टपर नै भएँ ।
ममा इन्जिनियरिङ पढ्ने चेतना पहिल्यैदेखि थियो । डिप्लोमाको अन्तिम वर्षमा पुग्दादेखि नै बिएस्सी पढ्नुपर्छ भन्ने थियो । बिएस्सीको प्रवेश परीक्षामा प्रायः आइएस्सीको प्रश्न आउँथ्यो । त्यसैले प्रवेश परीक्षा पास गर्न कोचिङ क्लास लिने चलन थियो । त्यतिवेला चारजनाले एकैपटक भर्ना गर्दा एकजनाले फ्री पढ्न पाइने अफर थियो । हामी चारजना साथी एकैपटक जाने योजना बनायौँ । कोचिङका लागि चार हजार चाहिन्थ्यो । मैले बुबालाई चार हजार पठाइदिन पत्र लेखेर खाममा हालिसकेको थिएँ । तर, पत्र पठाउने–नपठाउने खुब असमञ्जस भयो । बुबाले जसोतसो महिनामा नौ सयदेखि हजार त पठाउनुहुन्थ्यो, त्यसमाथि यत्रो पैसा मागे कहाँबाट पठाउनुहोला भन्ने भयो । त्यसकारण खाममा सिल गरेको पत्र पनि पठाइनँ । त्यसपछि साथीहरू तीनजना मात्रै कोचिङ गए, म छुटेँ । कोचिङ भर्ना नपाउँदा मनमा इख बस्यो ।
कक्षामा म टपर भएका कारण मैले इन्जिनियरिङको ‘इन्ट्रान्स’ दिन्छु भन्ने धेरैको अनुमान थियो । मलाई भने नदिए डराएर भाग्यो भन्लान् भन्ने पिर । त्यसैले पैसा नभए नपढौैँला, तर नामचाहिँ निकालौँला भनेर होस्टेलबाटै प्रवेश परीक्षाको तयारी थालेँ । निकै मिहिनेत गरेर पढ्न थालेँ । एक त ओभरसियरको पढाइ, सँगसँगै इन्जिनियरिङको तयारी । दबाब धेरै थियो । हरेक बिहान दुई–तीन बजेतिर उठेर लगातार ९ बजेसम्म पढ्थेँ । एकछिन खाना खान जान्थेँ । फर्किएर फेरि पढ्थेँ । लगातार सात महिना यसरी नै तयारी गरेपछि परीक्षा दिएँ । फाइनल्ली, मेरो नाम टप फाइभभित्र निस्कियो । त्यसपछि त कोचिङ नपढी नाम निकालेको भनेर सबैले तारिफ गरे । म त सेलिब्रेटीजस्तै भएँ । पुल्चोककै विद्यार्थीले यसरी नाम निकाल्यो भनेर कलेजका दाइहरूले पनि खुब प्रशंसा गरे ।
तर, पास भएर पनि धेरैबेर खुसी हुन सकिनँ । उही पैसाकै चिन्ता । भर्ना हुनलाई चार–पाँच हजार कहाँबाट ल्याउने ? नाम निकालेको पहिलो दिन अरूले भर्ना गरेको हेरेरै फर्किएँ । सबैले भर्ना भयौ भनेर सोध्थे । म मुसुक्क हाँस्दै ‘छैन’ भन्थेँ । यत्तिकैमा एक रात दीपककुमार साहलगायत मेरा साथी भर्ना गरे–नगरेको सोध्न राति मेरो कोठामा आइपुगे । मैले भर्ना नगरेको थाहा पाएपछि भोलिपल्टै पाटन कलेजको प्रोफेसरसँग ऋण मागेर पैसा ल्याइदिए । त्यो दिन पनि काउन्टर बन्द हुने वेला अन्तिम समयमा गएर मैले भर्ना गरेको मलाई अझै सम्झना छ । मसँग सेन्ट जेभियर्सजस्ता टप स्कुलबाट पढेर आएका साथीहरू थिए, तर पनि कलेजमा म सधैँ टपर भएँ ।
बिएस्सी तेस्रो वर्षमा भने म अलि साथीहरूमाझ खुल्ने भइसकेको थिएँ । मेरो अन्तर्मुखी स्वभाव, बहिर्मुखीमा परिणत भइसकेको थियो । यतिसम्म कि योभन्दा अघिसम्म विद्यार्थी राजनीतिमा मलाई कुनै रुचि थिएन । न विद्यार्थीको चुनावमा म भोट हाल्न नै जान्थेँ । तर, तेस्रो वर्षमा भने मैले इन्जिनियरिङ विद्यार्थी संगठनको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएँ । साथीहरूले ‘तँ टपर होस्, उठ्नुपर्छ’ भनेपछि म पनि ‘हो त नि’ भन्दै उठिदिएँ । तर, त्यो त चुनाव थियो, म स्वतन्त्रले कसरी जित्नु ! नमिठोसँग पराजित भएँ (हाँस्दै) ।
ऋतिक रोशन काण्डले मलाई बदल्यो
टपर भएका कारण साथीहरूले मलाई कलेजमा सम्मान दिन थालिसकेका थिए । म पनि ‘ओपन’हुन थालेको थिएँ । गीत–संगीतमा रमाउन थालेको थिएँ । तर, त्यो खुसी पनि धेरै लामो समयसम्म टिक्न सकेन । सन् २००२ मा ऋतिक रोशन काण्ड आएपछि मेरो त्यो सम्मान एकाएक हरायो । त्यतिवेला ऋतिक रोशनको पहिलो फिल्म ‘कहो ना प्यार हे’ रिलिज भएको थियो । यो फिल्मले असाध्यै चर्चा कमाइरहेका वेला चितवनको एक स्थानीय पत्रिकामा ‘भारतीय अभिनेता ऋतिक रोशनले एक अन्तर्वार्तामा नेपाललाई होच्याएर बोले, नेपाल र नेपाली मन पर्दैन भने’ भनेर आधारहीन खबर छापेको थियो । त्यो खबर रातारात भुसको आगोझैँ यसरी फैलियो कि मधेशीमाथि आक्रमण नै सुरु भयो । ऋतिकको त्यो अपुष्ट अभिव्यक्तिलाई लिएर काठमाडौंमा मधेशीहरू ताल्चा लगाएर कोठाभित्रै लुक्ने स्थितिसम्म बन्यो । होस्टेलमा बसेर पढिरहेको मलाई पनि पहाडी मूलका साथीहरूसँग भेट्न डरमर्दो स्थिति भयो । एक दिन कलेजको क्लास जाने क्रममा भर्याङमै मेरा केही सहपाठीले मलार्ई घेरे, नानाथरी रंगभेदी गाली गरे । म उम्केर भाग्न खोजेँ, फेरि समातेर घेरे । तिनीहरू तिनै साथी थिए, जो अरू वेला मसँग क्यान्टिन, लाइब्रेरी र क्लासमा एउटै टेबलमा बस्थे, म टपर भएका कारण मसँग नोटहरू सार्न आउँथे । यो घटनापछि नै मैले मधेश र मधेशीप्रतिको अरूको बुझाइ र विभेदलाई झन् गहिरोसँग महसुस गरेँ । यो घटनापछि नै म मानसिक रूपमा मधेश विद्रोहमा होमिएको हुँ । ‘कलेजको अन्तिम वर्षभरि म लो प्रोफाइलमै बसेँ, कमै देखिन्थेँ, कमै बोल्थेँ, कतै जान्नथेँ । कहिलेकाहीँ आवेगमा पनि आउँथेँ । त्यतिवेला म कोठामा एक्लै बस्थेँ, मेरो रुममेट आफ्नो परिवारसँग बाहिरै बस्न थालेको थियो । कहिलेकाहीँ त्यही पुराना साथीसँग बस्ने कोसिस गर्थें । तर, दंगाताका मैले देखेको तिनीहरूको दानवता सम्झिँदा झस्किन्थेँ । म आफ्नो ढोका प्रायः छेस्किनी लगाएर बन्द राख्थेँ,’ यो प्रसंग मैले मेरो पुस्तक ‘वैराग्यदेखि बचावसम्म’मा पनि लेखेको छु ।
एकोहोरो प्रेम
‘थर्ड इयर’मा पुग्दा म अलि खुल्नुको एउटा कारण प्रेम पनि थियो । अर्थात्, म आफूभन्दा दुई ब्याच जुनियर एक युवतीलाई मनपराउन थालेको थिएँ । उनीप्रति बिस्तारै आकर्षण बढेको थियो । म स्पष्ट स्वभावको मान्छे । उनले मलाई मनपराउँछिन् या पराउँदिनन्, त्यो जान्न नपाउँदा गाह्रो भयो । कहिले हो जस्तो लाग्ने, कहिले होइन । देखभेट भइरहने । ऊ जता जाने, म त्यतै पुग्ने । म जता जाने, ऊ पनि त्यतै आइपुग्ने । सहयोग पनि गरिरहने । साथीभाइले पनि जिस्काउने । त्यसैले मलाई माया गर्छिन् जस्तो लाग्ने । तर, ‘कन्फर्म’ नभएपछि एक दिन मैले मुख खोलेरै सोधेँ– ‘मप्रति आकर्षण हो कि होइन ?’ उनले त सीधै होइन भनिदिइन् । मनमा चिसो पनि पस्यो । सायद आकर्षण मात्रै थियो । धेरै ‘ब्रेक’ त भइनँ । ऋतिक रोशन काण्ड, त्यसपछि उनको ‘नो’, मलाई फेरि परिवर्तन हुन समय लागेन । मभित्रको अन्तर्मुखी स्वभाव फेरि फर्कियो । अहिले पनि साथीभाइ भेट हुँदा त्यो प्रेम भनौँ या आकर्षण, सम्झाउने गर्छन् । सम्झिँदा रमाइलो लाग्छ ।
विदेशको कलेज लाइफ
म सात वर्ष पुल्चोकको होस्टेलमा बसेर कलेज पढेँ । तितामिठा दुवै पल भोग्दै बिएस्सी सकेँ । त्यसपछि छात्रवृत्तिमा जापान पुगेँ । विदेशको कलेज लाइफ भने नेपालको भन्दा साह्रै कष्टकर भयो । एक त त्यहाँको भाषाका लागि संघर्ष । अर्को म भेज भएकाले खानाका लागि संघर्ष । मासु नमिसाएको खाना त हत्तपत्त पाइँदै नपाइने । जेमा पनि माछामासु हालेकै हुने । यद्यपि त्यहाँ यसैगरी तीन वर्ष बिताएँ । त्यसपछि पिएचडी गर्न जापानबाट क्याम्ब्रिज युनिभर्सिटी गएँ । पिएचडी गर्न साढे तीन वर्ष लाग्यो । क्याम्ब्रिजको कलेज लाइफ त्यहीँका साथीका लागि रमाइलो थियो, तर मेरा लागि भएन । खाने, पिउने, रमाइलो गर्ने ठाउँ पनि थियो । पार्टीहरू पनि हुन्थ्यो । तर, म कहिल्यै सहभागी भइनँ । भए पनि मुस्किलले वर्षमा एकपटक । धेरैजसो डिपार्टमेन्टमै पढेर बिताएँ । पहिलो त मेरो स्वास्थ्य अवस्था ठीक नभएर पनि होइन । अर्को कुरा, म पढ्दापढ्दै नेपाल फर्किएर मागी बिहे गरेँ ।
काठमाडौंमा हुँदै मधेशीमाथि विभेदले मलाई मानसिक रूपमा विद्रोही बनाइसकेको थियो । म मधेश र मधेशीमाथि इतिहासका पुस्तकहरू खोजीखोजी पढ्न थालिसकेको थिएँ । जब जापान पुगेँ, मधेशसम्बन्धी सूचना, आलेखहरू राखेर मधेश डटकम अनलाइन नै चलाएँ । न्युज पोर्टलजस्तै चलेको थियो त्यतिवेला । अमेरिका पुग्दासम्म म गोप्य नाममा मधेशका मुद्दामाथि लेखसम्म लेख्न थालेको थिएँ । त्यतिवेला मेरो गोप्य नाम थियो– ‘आजाद’ । अन्तर्राष्ट्रिय मिडिया, नेपाली मिडिया सबैतिर लेख छपाएँ ।
साथीहरू छुटे, उनीहरूले सुनाएका जोक छुटेनन्
कलेज पढ्दासम्म मेरो कसैसँग दुस्मनी भएन । जति गाली गर्दा पनि मुस्कान मात्रै दिने भएकाले सबै साथी नै भए । छुट्टिँदासम्म विनोद, अच्युतलगायत केही साथी अलि नजिक भए । समयसँगै साथीहरू छुटे होलान्, तर उनीहरूले पिकनिकमा गितार बजाउँदै, आगो ताप्दै सुनाएका जोकहरू म अहिले पनि सम्झन्छु । एकपटक हामी पालुङमा पिकनिक जाँदा भिरमा अड्किएको याद छ । न माथि चढ्न सक्ने, न ओर्लन सक्ने त्यो भिर देखेर डर लागेको थियो । जिन्दगीमा हजाराँै जोक सुनियो होला, टिकटकमा पनि हेरियो होला । तर, कसैलाई सुनाउनुपर्दा त्यो पिकनिकको दौरान साथीहरूले सुनाएको जोक नै याद आउँछ । त्यहाँ सुनेका जोक नै म अहिले पनि अरूलाई सुनाउने गर्छु ।