• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
रिमा केसी
२०८० माघ १३ शनिबार ०९:०९:००
साहित्य

कविता : कुर्ने आदत

२०८० माघ १३ शनिबार ०९:०९:००
रिमा केसी

 

कहिले–
बाउको लासले चितामा छोरोको दागबत्ती कुर्छ
कहिले–
छोराको बाटो हेरिबसेको बाउले त्यही छोरोको लास कुर्छ
आँसु भरिएका आमाका धमिला आँखाले–
दिव्य मुस्कानसहितको सन्तानको अनुहार कुर्छ
हिजो गर्भमै छोडिएको शिशुले आज अन्जान बाबुसँग
नाना र चाचा कुर्छ
सिउँदो रंग्याएर हिँडेको परदेशी घर फर्किएर
प्रियसीसँगै जीवन काट्ने समय कुर्छ
माला र खादा भिरेर हाँसेर बिदाइ गरेको विमानस्थलले
सुट्केससँगै निदाएर फर्किएको रातो बाकस कुर्छ
यता मेरो देश छ–
जसले सधैँ रेमिट्यान्स मात्र कुर्छ
आर्यघाटले महिनौदेखि कफिनमा सडेको लास कुर्छ
सरकारले सत्ता र भोट मात्र कुर्छ
नेताले सधैँ कुर्सी र चिल्ला नोट मात्र कुर्छ
यो सरकारले कुर्न मात्रै जानेको छ
हिम्मत किन गर्दैन देश बनाउन ?
हिजो बम्बईका कोठीमा बेचिन्थे चेलीबेटी
आज कालो सरकारले खाडीतिर मान्छे बेच्ने व्यापार गर्छ
नेपालमा बस्नु र बिदेसिनु
बहुलाउनु र मर्नुका पर्याय बनेका छन्
मान्छे कि बहुलाएर आत्महत्या गर्छ
कि बेरोजगारीको साङ्लोले बाँधिएर खाडीमा मजदुरी गर्छ
विदेशको दास बनेको छ मान्छे !

 

यो देशमा अब कहिले पुरिएला अभावको खाडल ?
कहिले अन्त्य होला भोकको आन्दोलन ?
कहिले सकिएला गरिबीको संघर्ष ?
कहिले समाप्त होला बेरोजगारीको पीडा ?
अनि,
कहिले खत्तम होला 
अन्याय, अत्याचार, बलात्कार र हिंसाका घटना ?

 

परिवारका थोरै सपना, थोरै रहर, थोरै खुसी
र सुनौलो भविष्यको मीठो कल्पना र 
आशा बोकेर गएका युवा
आज एक–एक गर्दै फर्किरहेछन् हरेक दिन लास बनेर ।

 

जवाफ दे सरकार !
यसको जिम्मा कसले लिन्छ ?
देश बोकेर परदेसिएका युवाहरू सपना पूरा गर्न
आफ्नै देश फर्किने दिन कहिले आउँछ ?