• वि.सं २०८१ मङ्सिर ३ सोमबार
  • Monday, 18 November, 2024
कमल थापा अध्यक्ष, राप्रपा नेपाल
अनिल यादव  काठमाडाैं
२०८० माघ १३ शनिबार ०९:४८:००
समाज

अध्यक्षमा हारेपछि राजालाई गाली गर्नु मेरो गल्ती भयो : कमल थापा

२०८० माघ १३ शनिबार ०९:४८:००
अनिल यादव  काठमाडाैं

आत्मसमीक्षा

 

मेरो राजनीतिक जीवनमा अरूलाई धेरै जितेको मात्रै सम्झना होला, तर म धेरैपटक हारेको नै छु 

 

बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछि ०४७ साल जेठ १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको जन्म भयो । जन्मेदेखि नै यी दुइटा शरीर लिएर जन्मियो । एउटा, सूर्यबहादुर थापा नेतृत्वको राप्रपा (थापा), अर्को लोकेन्द्रबहादुर चन्द नेतृत्वको राप्रपा (चन्द) । म थापा नेतृत्वको पार्टीमा संलग्न भएँ । ०४८ सालको चुनाव अलग–अलग लडियो । थापा समूहले एक सिट प्राप्त गर्‍यो, चन्द समूहले तीन सिट जित्यो । थापासहित म आफू पनि पराजित भएँ । त्यसपछि ०४८ साल माघमा दुवै राप्रपा एकीकृत भयो । ०५१ सालका चुनावमा हामीले २० सिट जित्यौँ । त्यतिवेला जब मनमोहन अधिकारी नेतृत्वको नेकपा एमालेको अल्पमतको सरकार ढल्यो, त्यसपछि नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो र, बहुदलीय व्यवस्था पुनर्स्थापनापछि हामी पहिलोपटक देउवा नेतृत्वको सरकारमा गयौँ ।

 

सत्तामा गइसकेपछि राप्रपाभित्रको विवाद चर्किन थाल्यो । जब देउवा नेतृत्वको सरकार पनि ढल्यो, त्यसपछि नेकपा एमालेको सहयोगमा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बन्यो । पछि चन्दको सरकार ढलेपछि कांग्रेसको सहयोगमा सूर्यबहादुर थापा नेतृत्वको सरकार बन्यो । त्यहीवेलादेखि राप्रपामा विवाद झन्झन् बल्झिँदै गयो । यहीक्रममा ०५४ सालमा जब पार्टीको महाधिवेशन वीरगन्जमा भयो, त्यसमा पराजित भएपछि राजेश्वर देवकोटाले फेरि पार्टी विभाजन गर्नुभयो ।

 

त्यसपछि क्रमशः जुट्ने र फुट्ने क्रम चलिरह्यो । आधा दर्जनभन्दा बढी राप्रपा टुटफुट भयो । यसमा तीनटा मुख्य कारण देखेको छु । पहिलो, राप्रपाको स्थापना पूर्वपञ्चहरूकै सक्रियता र नेतृत्वमा भएको । र, पूर्वपञ्चहरूले दलीय संस्कार र चरित्र पूर्ण रूपमा आत्मसात् गरिसकेका थिएनन् । बहुदलीय व्यवस्थालाई स्वीकार गरे पनि त्यसको चरित्रलाई आत्मसात् गर्न सकिएको थिएन । तर, हामीकहाँ अलिकति असन्तुष्टि र विवाद हुनेबित्तिकै पार्टी फुटिहाल्थ्यो । दोस्रो कारणचाहिँ सत्ताकेन्द्रित मानसिकता पनि हो । राजनीतिको अभीष्ट भनेकै सत्तामा पुग्नु हो भन्ने मानसिकताका कारण पनि पार्टी विभाजन भयो । तेस्रोचाहिँ नीतिगत मतभिन्नताका कारण पनि पटक–पटक पार्टी विभाजन भयो ।

 

०७८ सालमा मैले राप्रपा नेपाललाई पुनर्जागृत गरेँ । त्योभन्दा अगाडि पार्टीको विभाजनमा मेरो कुनै किसिमको भूमिका रहेन भन्दा हुन्छ । यद्यपि, ०६२ सालमा जब राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन प्रारम्भ गर्नुभयो, त्यो वेलामा सूर्यबहादुर थापा राष्ट्रिय जनशक्ति पार्टी खोलेर पहिल्यै नै अलग भइसक्नुभएको थियो । मचाहिँ राप्रपाकै मूलधारमा थिएँ । जसको अध्यक्ष पशुपतिशमशेर राणा हुनुहुन्थ्यो । त्यो पार्टीले राजाको कदमलाई साथ दिनेबारेमा विवाद भएको थियो ।

 

त्यतिवेला राजाको नेतृत्वको सरकारले घोषणा गरेको स्थानीय तहको चुनावमा सहभागी नहुने निर्णय गरेपछि म, रवीन्द्रनाथ शर्मा र पद्मसुन्दर लावती विधानबमोजिम पार्टीको विशेष महाधिवेशन बोलायौँ । ९० प्रतिशत प्रतिनिधि सहभागी भए । त्यो महाधिवेशनले पशुपतिजीको ठाउँमा मलाई निर्वाचित गराउँदै पार्टीको नेतृत्वमा पुर्‍यायो । त्यतिवेला पार्टी विभाजन थिएन, विधानबमोजिम नै अध्यक्ष मात्रै फेरिएको थियो । बाँकी कार्यसमिति पुरानै थिए ।

 

तर, पशुपतिजीले त्यसलाई स्वीकार गर्नुभएन । उहाँले समानान्तर ढंगबाट पार्टी अगाडि बढाउनुभयो र अदालतमा मुद्दा हाल्नुभयो । तर, राजनीतिक परिवर्तन भइसकेपछि हामीले अदालतमा गएर मुद्दा–मामिला गर्न अर्थपूर्ण ठानेनौँ । वैधानिक राप्रपा हामी नै थियो, यद्यपि सैद्धान्तिक विवाद मात्रै भएका कारण हामीले नाम संशोधन गर्ने निर्णय गर्‍यौँ । राप्रपाको पछाडि नेपाल थपेर राप्रपा नेपाल बनायौँ । चुनाव चिन्ह् पनि हलोबाट गाई राख्यौँ । यतिवेला पनि हामीले होइन, पशुपतिजीले पार्टी विभाजन गर्नुभएको थियो ।

 

०६२ सालको विशेष महाधिवेशनपछि मेरो नेतृत्वमा जन्मिएको राप्रपा नेपालले ०६४ सालको चुनावमा चार सिट र ०७० सालको संविधानसभाको चुनावमा २५ सिट प्राप्त गर्‍यौँ । ०७२ सालमा हामीले संविधान निर्माणका निमित्त र हाम्रो पार्टी मुख्य एजेन्डा राजसंस्था र हिन्दुराष्ट्र निर्माणका निमित्त हरसम्भव प्रयास गर्‍यौँ । संविधानसभादेखि सडकसम्म निरन्तर दुई वर्ष हामीले संघर्ष गर्‍यौँ । तर, संख्याको कमीले गर्दा हामीले हाम्रो एजेन्डा प्राप्त गर्न सकेनौँ । ०७२ असोज ३ गते संविधान जारी भयो ।

 

त्यसपछि नयाँ चुनाव हुने भयो । त्यो नयाँ चुनावमा पार्टीलाई ठूलो बनाउने आकांक्षाका साथ हामीले पशुपतिशमशेर नेतृत्वको राप्रपासँग एकता गर्ने प्रयास गर्‍यौँ । तर, त्यो एकता लामो समय टिक्न सकेन । खासगरी जब प्रचण्ड नेतृत्वको सरकारबाट पार्टी अलग हुने निर्णय गर्‍यो, त्यसपछि दोस्रो संविधान संशोधनको प्रसंग आयो । त्यो संविधान संशोधनको विपक्षमा हामी रहेको कारणले पशुपतिजीले पार्टी फेरि विभाजित गर्नुभयो र राप्रपा प्रजातान्त्रिक जन्मियो । प्रकाशचन्द्र लोहनीले पनि पार्टीबाट अलग भएर राप्रपा राष्ट्रवादी गठन गर्नुभयो ।

 

यद्यपि, १० वर्षसम्म गणतन्त्रमा रहेका, गणतन्त्र घोषणा गर्दा हस्ताक्षर गरेका, धर्मनिरपेक्ष र संघीयतामामा हस्ताक्षर गरेका पशुपतिजी, प्रकाशजीहरूलाई ०७३ सालमा फेरि राजासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र र स्थानीय स्वायत्त शासनको नीतिमा लिएर आउन म सफल भएँ । नत्र १० वर्षसम्म उहाँहरू अलग नै हुनुहुन्थ्यो । 

 

...अनि पार्टी छाड्न बाध्य भएँ

 

त्यसपछि ०७७ सालमा फेरि हामी एक भयौँ । पशुपति र प्रकाशजी त्यसअघि नै एक भएर राप्रपा (संयुक्त) बनाउनुभएको थियो । उहाँहरूसँग वार्ता गरेर फेरि हामीले एकता गर्‍यौँ । ०७८ साल मंसिरमा पार्टीको एकता महाधिवेशन भयो । तर, एकता महाधिवेशनमा एकप्रकारले भन्नुपर्दा दुर्घटना नै भयो । मलाई चुनावमा हराइयो । मेरो नाममा खसेको ४७२ मत बदर गरेर मलाई निर्वाचनमा हराइयो ।

 

तर, त्यसलाई मैले सहर्ष स्वीकार गरेँ । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई र शुभकामना पनि दिएँ । त्यसपछि पार्टीको महाधिवेशनमा निर्मलनिवासको हस्तक्षेप भएको भन्दै त्यसको छानबिनको माग गरेर मैले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै पत्र लेखेँ । पार्टीको आन्तरिक मामिलामा दरबारले खुलेआम हस्तक्षेप गर्नु उपयुक्त होइन, यसले पार्टीको राजसंस्थाप्रति मूलभूत मान्यतामा नै आघात पुग्छ, हामीले परिकल्पना गरेको साझा राजाको मान्यतामा नै आघात पुग्छ, त्यसैले यसको निराकरण हुनुपर्छ भनेर पत्र लेखेको थिएँ । पत्रलाई उहाँले रद्दीको टोकरीमा फालिदिनुभयो ।

 

केन्द्रीय समितिको बैठकमा केही साथीहरूले आवाज उठाउँदा बोल्न दिनुभयो । त्यसको दुई महिनापछि मैले अर्को पत्र लेखेँ । पहिलो पत्र स्मरण गराउँदै त्यसको निराकरण नभए अप्रिय निर्णय गर्न बाध्य हुने आशामा अर्को पत्र लेखेँ । त्यसको पनि सुनुवाइ भएन । महाधिवेशन सकिएको दुई महिनापछि भेट्न आउँदा पनि अध्यक्ष लिङ्देनज्यूलाई यही कुरा दोहोर्‍याएँ । तर, कुनै सम्बोधन हुने छाँटकाँट नदेखिएपछि मन एकदमै विरक्त भएर मैले ३० वर्षदेखि रगत–पसिना बगाएको पार्टी, ०६३ सालपछि वैचारिक नेतृत्व नै प्रदान गरेको र पार्टीको मूल विचारकै प्रतिवादन गरेको भए तापनि म पार्टीबाट अलग हुन बाध्य भएँ । 

 

अलग भएपछि म केही समय चुपचाप बसेँ । सन्न्यास नै त नभनौँ, तर करिब–करिब राजनीतिबाट निष्क्रिय नै हुने मनस्थितिमा पुगिसकेको थिएँ । तर, साथीहरूले ‘तपाईंलेले एउटा विचारसहित अघि बढेकाले चुपचाप बस्न पाउनुहुन्न’ भनेपछि पहिल्यै नै निर्वाचन आयोगमा दर्ता भएर बसेको राप्रपा नेपालको साधारण सदस्यता लिने निर्णय गरेँ । नयाँ पार्टी खोलेको पनि होइन । साधारण सदस्य भएपछि मलाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिइयो । 

 

मतदान गर्नु गलत थिएन

 

कतिपयले आफ्नो एजेन्डालाई बिर्सिएर संविधानमा हस्ताक्षर गर्नु भुल भएको आरोप पनि लगाए । संविधानमा हस्ताक्षर गर्ने विषय पार्टीको आधिकारिक निर्णय थियो । खेलका नियमलाई स्वीकार गरेर निर्वाचनमा भाग लिने, आफ्नो एजेन्डालाई स्थापित गर्न हरसम्भव प्रयास पनि गर्ने र त्यो असफल भएपछि त्यसलाई अस्वीकार गर्नु भनेको त प्रजातान्त्रिक चरित्र होइन । राप्रपा नेपाललाई हामीले स्थापना गर्दा फरक एजेन्डा त बोकेका हौँ, तर जनताको सर्वोच्चता र प्रजातन्त्रलाई पनि स्वीकार गरेका हौँ । त्यसकारण, हामी पराजित भए तापनि संविधानसभामा सम्पूर्ण संविधानलाई अन्तिम निर्णयार्थ प्रस्तुत गर्दा त्यसको विपक्षमा भोट हाल्ने २५ जना राप्रपा नेपालका सांसदहरू मात्रै थियौँ । यसरी सबै प्रक्रिया भएपछि संविधानलाई अस्वीकार गर्ने भन्ने कुरा आउँदैन । 

 

फेरि अर्को महत्वपूर्ण पक्ष के हो भने संविधानसभाले तयार गरेको संविधानको पहिलो मस्यौदामा संघीयता, गणतन्त्र र धर्मनिरपेक्ष अपरिवर्तनीय हुनेछ भनेर लेखिएको थियो । तर, हाम्रै प्रयासले ‘राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्ताबाहेक सबै विषय परिवर्तन गर्न सकिने’ भनेर लेखायौँ । जनताको अभिमत प्राप्त गरेपछि संशोधन गर्न सकिने अधिकार प्राप्त भयो । त्यसकारण संविधान संशोधनको विपक्षमा मत हाल्नु हाम्रो गल्ती थियो भन्ने मलाई लाग्दैलाग्दैन । 

 

...अनि मैले महाधिवेशनमा हारेँ

 

एउटा राजावादी पार्टीको महाधिवेशनमा स्वयं राजाले नै हुकुम भएको छ भनेर राजाका सचिवहरूले खुलेआम रूपमा ‘राजाको चाहना कमल थापालाई जसरी भए पनि हराउनु’ भन्ने सन्देश प्रवाह गरेपछि पार्टीका कार्यकर्ता स्वाभाविक रूपमा प्रभावित भए । तर, त्यति हुँदाहुँदै म जम्मा दुई सय भोटले हारेको छु । मलाई भोट हालिएर ४७२ मत त बदर भएको अहिले पनि ब्यालेट खोलेर हेर्दा भेटिन्छ । यद्यपि, राजा या दरबार किन मेराविरुद्धमा लाग्यो, मैले अहिलेसम्म बुझेको छैन । 

 

म जन्मजात राजावादी । राजसंस्थाप्रतिको निष्ठामा म कहिल्यै पनि विचलित भएको छैन । सारा देश गणतन्त्रमय भएको वेला टाउकोमा कफन बाँधेर, ज्यान हत्केलामा राखेर, मेरो घरमा दुईदुईपटक बम राखिएको अवस्थामा, सामाजिक रूपमा बहिष्कार र राजनीतिक रूपमा निषेध गरेको अवस्थामा पनि म राजाको एजेन्डा बोकेर हिँडेँ । मलगायत व्यक्तिहरूलाई कहिल्यै चुनाव लड्न नपाउने भनेर कानुनसम्म बनाइएको थियो तैपनि यो एजेन्डा छाडिनँ । कैयौँ ठाउँमा कुटाइ खाएको छु, रगत बगेको छ । त्यस्तो व्यक्तिलाई दरबारका सचिवहरू किन हराउन लागिपरे, त्यसको जवाफ मैले अहिलेसम्म पाउन सकेको छैन । 

 

महाधिवेशन हुनु दुई–तीनअघि नै मेराविरुद्ध लागेको जानकारी पाएपछि मैले सचिवहरूलाई ‘राजाको सचिवजस्तो मान्छे होटेल–होटेलमा गएर यस्तो हुकुम भएको छ भनेर भन्ने काम राम्रो भइरहेको छैन,’ भनेर सचेत गराएको थिएँ । म महाधिवेशनमा बैठक सञ्चालन गरिरहेकै वेला मेरोछेउमा बसेका एकजना वरिष्ठ नेताको मोबाइलमा राजाको सचिवको फोन आएको त मलाई नै देखाउनुभएको थियो । ‘कति फोन गर्छन्, हेर्नुस् न’ भन्दै उनले मलाई देखाएका थिए । यद्यपि, अहिले म यो विषयमा धेरै चर्चा गर्दिनँ । इतिहासको तितो अनुभवका रूपमा लिएको छु । फेरि पनि भन्छु, मजस्तो जन्मजात राजावादीलाई मेरो राजनीतिक जीवन नै समाप्त गर्नलाई जुन किसिमबाट प्रहार भयो, त्यसको कारणचाहिँ मैले बुझेको छैन । 

 

राजालाई गाली गर्नु मेरो गल्ती भयो 

 

एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजय भएपछि म राप्रपा नेपालको नेतृत्वमा पुगेँ । त्यतिवेला सञ्चारमाध्यमसँग अन्तर्वार्ता दिने क्रममा मैले ‘राजसंस्था पुनर्स्थापना हाम्रो पार्टीको एजेन्डा हुनेछैन’ भनेँ । करिब एक वर्ष राप्रपा नेपालको त्यही नै नीति रह्यो । वास्तवमा मैले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श राजसंस्था थियो । संविधान र राजनीतिभन्दा माथि उठेको सबैको साझा राजसंस्था । माओवादीदेखि राजासम्म अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र हुनुपर्छ भन्ने मेरो मान्यता हो । त्यो मान्यता राख्ने व्यक्तिकै पार्टीको आन्तरिक मामिलामा जब राजाको सचिवालयको प्रत्यक्ष हस्तक्षेप रहन्छ, मेरो मान्यतामा त कुठराघात भयो नि ।

 

त्यहीकारण मेरो चित्त दुखेको हो । मान्यतामा आघात पुगेपछि यसको निराकरण पार्टीबाट खोजेँ । तर, पार्टीले निराकरण नदिएपछि म पार्टीबाट अलग भएको हुँ । यसमा आत्मालोचनाको कुरा गर्नुहुन्छ भने त्यो अवधिमा भएका घटना सत्य हुन् । तर, मैले राजा या राजसंस्थाको विरुद्धमा जुन किसिमबाट तीखो प्रहार गरेँ, त्यो उपयुक्त थिएन भन्ने मलाई अहिले आत्मबोध भएको छ । त्यो मेरो सैद्धान्तिक निष्ठाविपरीत पनि भयो । अर्को कुरा, राजसंस्था या राजा त जसले जे आरोप लगाए पनि त्यसको प्रतिकार या खण्डन नै नगर्ने संस्था हो नि । त्यस्तो संस्थाका विरुद्धमा मैले एकोहोरो प्रहार गर्नु उपयुक्त हाेइन भन्ने महसुस भएर गल्ती भएको आत्मालोचनासहित म पुरानो राजसंस्थाकै एजेन्डामा फर्किएको हुँ । राजासँग भेटपछि मैले आत्मालोचना गरेको भने होइन । महाधिवेशनमा पराजय भएयता अहिलेसम्म राजासँग मेरो भेट भएको छैन । 

 

सत्ताकेन्द्रित आरोप

 

म र म नेतृत्वको राप्रपालाई सत्ताकेन्द्रित भएको र त्यही कारण राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको एजेन्डा कमजोर भएको आरोप लाग्यो । कमल थापा र थापाले नेतृत्व गरेको राप्रपा सत्ताकेन्द्रित भयो, जुनसुकै सरकारमा पनि मौका पाउनेबित्तिकै गइहाल्छ भन्ने बुझाइ जनतामाझ पर्न गएको सत्य हो । यसको नैतिक जिम्मेवारी मैले लिनुपर्छ । प्रकारान्तरणले त्यो आरोपमा सत्यता पनि छ । तर, भित्री कुराचाहिँ राप्रपा नेपाल मैले स्थापना गर्दा सिद्धान्तनिष्ठ पार्टीका रूपमा वैचारिक विकल्पको रूपमा नै निर्माण गरेका हुँ । पञ्चायतका वेला राजाको विश्वासमा म मन्त्री भएँ । बहुदलीय व्यवस्था आएपछि ०५२ सालमा शेरबहादुर देउवा नेतृत्वमा धेरै सिनियर नेता हुँदाहुँदै पार्टीबाट मलाई मन्त्री बनाइयो। 

 

०७२ साल असोज ३ गते संविधान जारी भएपछि त्यसको केही दिनमा म हेटौँडा पुगेँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर मलाई तुरुन्तै काठमाडौं बोलाउनुभयो । काठमाडौं फर्किएपछि ओलीजीको घरमा विद्या भण्डारीसहितको उपस्थितिमा उहाँसँग मेरो दुई राउन्ड कुराकानी भयो । उहाँले त्यतिवेला ‘देश गृहयुद्धको सँघारमा जस्तो छ । भारतले आर्थिक नाकाबन्दी लगाएको छ । मधेशकेन्द्रित दलहरू आन्दोलनको आगो बालिरहेका छन् । पूर्वका जिल्लाहरूमा पृथक्वादीले हिंसात्मक गतिविधि मच्चाइरहेका छन् । यो स्थितिमा तपाईंजस्तो राष्ट्रवादी पार्टीको राष्ट्रवादी नेता सरकारमा आउनुपर्छ,’ भन्नुभयो । त्यतिवेला प्रचण्ड नेकपाको अध्यक्ष हुनुहुन्थ्यो । उहाँले मलाई घरमा बोलाएर भन्नुभयो– ‘मलाई भारतीय विदेशसचिव एस. जयशंकर आएर यो संविधान जारी गर्‍यौँ भने तिमीहरूले यसको सजाय भोग्नेछौँ । भारतको सहयोग नभएको भए अहिले तिमीहरू जेलमा सडिएका हुन्थ्यौ । अहिले हामीले भनेको यति मान्दैनौ भने यसको सजाय तिमीहरूले भोग्छौ भनेर धम्की दिएर जानुभयो । कहिलेसम्म यो धम्की सहने ? त्यसैले तपाईं–हामी राष्ट्रवादी शक्ति मिलेर एकपटक देशलाई जुरुक्कै उठाऊ । 

 

त्यसपछि पार्टीमा सल्लाह भएपछि हामी सरकारमा जान तयार भयौँ । फेरि संयोगवश मधेशकेन्द्रित दल र भारत दुवैसँग वार्ता गर्न बनेको समितिको संयोजक मलाई नै बनाइयो । नेपालको स्वाभिमानमा एक इन्च पनि आँच आउन नदिईकन हामीले भारतले लगाएको नाकाबन्दी खुलाउन सफल भयौँ र मधेशको आन्दोलन पनि मत्थर पार्न सफल भयौँ । त्यसपछि ओलीको सरकारलाई विस्थापित गर्न स्वयं प्रचण्ड प्रयोग हुनुभयो । प्रचण्डज्यूले पनि मलाई सरकारमा आउन आग्रह गर्नुभयो । तर, त्यो मलाई ठीक लागेन । मैले मानिनँ । सत्तालिप्त भएको भए त त्यतिवेला पनि मान्थेँ होला । र, उहाँ प्रधानमन्त्रीमा उम्मेदवार हुँदा उहाँको विपक्षमा मतदान गरेँ । 

 

‘प्रचण्ड नेतृत्वको सरकारमा नगएको भए हुन्थ्यो’

 

अहिले पाटीको नेतृत्वमा रहेका साथीहरू एउटै नाम गरेका पार्टीहरू सडकमा रहँदा कसरी चुनाव जित्ने दाइ भनेर दबाब दिएपछि ०७३ सालमा अगाडि राप्रपा लेखिने तीनवटै पार्टीबीच एकता भयो । त्यसपछि प्राविधिक गल्ती नै भनौँ, पटक–पटकको दबाबपछि प्रचण्ड नेतृत्वको सरकारमा हामी जान तयार भयौँ । र, सत्तापक्ष भयौँ । यसमा मेरो आत्मालोचना छ– त्यतिवेला म आफैँ उपप्रधानमन्त्री बनेर जानुपर्छ भन्ने जरुरी थिएन । तर, अहिले राप्रपाको नेतृत्वमा रहेकै साथीहरूले– ‘अरू जाँदा हामीलाई उपप्रधानमन्त्री पनि दिँदैनन्, तपाईं गएजस्तो मन्त्री भए पनि उनीहरू छाउँदैनन्’ भन्दै उचाले । मलाई पनि ‘होजस्तो’ लाग्यो । म गएँ । तर, अहिले म एकदमै आत्मालोचना गर्छु, यो मेरो गल्ती थियो । त्यो सरकारमा गएको दिनदेखि नै मलाई गाह्रो भएको थियो । यद्यपि, प्रचण्डज्यूले माया नै गर्नुभएको थियो । त्यतिवेला विमलेन्द्र निधिले वरीयताको बखडा निकालिरहँदा उहाँले कमलजी तपाईंभन्दा सिनियर हो भनेर प्रस्ट भनिदिनुभएको थियो । 

 

त्यहीवेला निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दुराष्ट्र र राजसंस्था हटाइदियो । हामीले आन्दोलन सुरु गर्‍यो । म मन्त्री भएकाले सहभागी हुने कुरा थिएन । तर, बहादुर भवनअगाडि जब प्रहरीले लाठी चार्ज गर्‍यो, मैले निजी गाडी मागेर बरु सरकार छोडिदिन्छु भनेर आन्दोलनमा सहभागी भएँ । त्यही दिन बेलुका प्रचण्डज्यूले निर्वाचन आयोग प्रमुखलाई फोन गरेर निर्णय सच्याउन लगाउनुभयो । त्यसपछि हामी सरकारमा होल्ड भयौँ । केही दिनपछि कांग्रेस र माओवादीले हामीलाई थाहै नदिईकन तत्कालीन प्रधानन्याधीश सुशीला कार्कीको विरुद्धमा महाभियोग दर्ता गर्‍यो । त्यसपछि हामीले सरकार छोड्यौँ । पशुपतिजीहरू तयार हुनुहुन्थेन । त्यसको केही समयपछि संसद्मा संविधान संशोधनसम्बन्धी प्रस्ताव थियो । हामीले विपक्षमा मतदान गर्ने निर्णय गर्‍यौँ । त्यसपछि फेरि पार्टी विभाजित भयो । त्यसपछि बसेको राप्रपाको केन्द्रीय समितिको बैठकले औपचारिक रूपमै प्रचण्ड नेतृत्वको सरकारमा जानु राप्रपाको गम्भीर राजनीतिक भुल हो ।

 

यहीकारण मलाई सत्ताकेन्द्रित भएको आरोप गणतन्त्रवादीहरूले त लगाए–लगाए, तर त्योभन्दा बढी राजावादीहरूले लगाए । त्यसपछि ०७६ सालमा पार्टी एकता हुँदा चुनाव चिह्न गाई नै थियो । एकता भएको तीन महिनापछि उहाँहरूले चुनाव चिह्न परिवर्तन गरेर हलो नराख्ने भयो भने हामी मान्दैनौँ भन्नुभयो । तैपनि, मैले अड्डी कसेको थिएँ । तर, अहिले नेतृत्वमा रहेका भाइहरूले नै चिह्नले फरक पर्दैन भनेर दबाब दिएपछि म अन्तिममा मान्न तयार भएँ । पछि मेराविरोधीहरूले मलाई गाई बेच्यो, हिन्दुराष्ट्रको एजेन्डा बेच्यो, पटक–पटक सरकारमा गयोजस्तो आरोप लगाए र एकता महाधिवेशनमा मलाई हराए । केही हदसम्म मेराविरुद्ध भ्रम सिर्जना गर्न यो हतियारले काम गरेको छ । 

 

धेरैपटक हारेको छु 

 

म खेलकुदमा सानैदेखि रुचि राख्ने मान्छे । फुटबल हुँदै टेनिससम्मको राम्रो खेलाडी । तर, राजनीतिको खेलकुदसँग कुनै तुलना हुँदैन । मेरो अनुभवमा खेलकुद पारदर्शिता र अनुशासनसँग जोडिएको खेल हो, राजनीतिचाहिँ फोहोरी खेल नै हो । मेरो चरित्र निर्माणमा खेलकुदको ठूलो योगदान छ । यसले मलाई ‘स्पोर्ट्सम्यान स्पिरिट’ सिकाएको छ । हारलाई पनि सहज रूपमा स्वीकार गर्न सक्ने चरित्र मैले यसबाटै सिकेको हो । खेलकुदमा हारजित स्वाभाविक हो, मेरो राजनीतिक जीवनमा पनि अरूलाई धेरै जितेको मात्रै सम्झना होला, तर म धेरैपटक हारेको नै छु । तर, त्यो पराजयलाई सहर्ष स्विकार्न खेलकुदले नै सिकाएको हो । 

 

‘मलाई सिध्याउन दुई भाइलाई अस्त्र बनाए’

 

राप्रपा नेपाल पुनर्जागृत भएको तीन महिनामा ७७ जिल्ला र अढाई सय पालिकामा एकाइ कमिटी गठन भएको छ । म संगठन विस्तारमा तीव्र रूपमा लागेको छु । राजनीतिक जीवनमा केही गल्ती मबाट पनि भए, केही भ्रम छरिए । तर, अहिले मेराबारे छरिएका भ्रम हट्दै गएको छ । 

 

जनताले अहिले राजावादी शक्तिबीच एकता चाहेका छन् । म एकताको विपक्षमा छैन । एकतापछि मलाई नै नेतृत्व चाहिन्छ भनेर दाबी पनि गर्दिनँ । तर, पार्टी ठूलो बनाउने नाममा गलत प्रवृत्तिसँग सम्झौताचाहिँ गर्दिनँ । पुरानै गल्ती म दोहोर्‍याउन चाहन्नँ । अब मेरो पार्टी एकताको बटमलाइन पार्टी महाधिवेशनबाट पारित भएको प्रस्ताव नै हो । त्यो प्रस्तावमा भनिएको छ– ‘हिन्दुराष्ट्र र राजसंस्था एजेन्डा बोकेको पार्टी सरकारमा गएको जनतालाई चित्त बुझेको छैन । त्यसैले आगामी दिनमा राप्रपा सत्ताकेन्द्रित होइन, सिद्धान्तकेन्द्रित हुनेछ । हिन्दुराष्ट्र र राजसंस्था निर्माणको सुनिश्चित नभएसम्म राप्रपा सरकारमा जानेछैन ।’ यदि अहिले राप्रपा यो प्रस्तावमा सहमति जनाउन तयार छ भने म भोलि नै एकता गर्न तयार छु ।

 

मैले विगतमा जति पनि निर्णय गरेँ, त्यसमा अहिलेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको कति हात थियो त्यहाँ उहाँलाई राम्रोसँग थाहा छ । मैले उहाँलाई आफ्नो उत्तराधिकारी नै ठानेर अघि बढाएको थिएँ । उहाँलाई अन्याय हुने ढंगबाट एउटा पनि काम गरेको छु भन्ने मलाई लाग्दैन । राजेन्द्र लिङ्देन र दीपक सिंह दुवैको व्यक्तित्व निर्माणमा मेरो राम्रै योगदान छ भन्ने लाग्छ । किनभने दुवै मेरा भाइसरह थिए, आज पनि हुन् । मैले कुनै वेला आफैँ पराजित हुने पीडा सहेर पनि उहाँहरूलाई साथ दिएको छु । तर, मलाई राजनीतिक जीवनबाट समाप्त पार्न चाहनेहरूले यी मेरा प्रिय दुई भाइलाई नै अस्त्रका रूपमा प्रयोग गरेँ, यो सम्झिँदाचाहिँ मन खिन्न हुनेरहेछ । सायद यो मैले जीवनभर बिर्सन नसक्ने गरी मनमा बनेको घाउ पनि हो !