• वि.सं २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
प्रा.डा. अभि सुवेदी
नयाँ पत्रिका
२०८० माघ १३ शनिबार १०:०८:००
साहित्य

सात उपन्यास जसको नेपाली अनुवाद आवश्यक छ

२०८० माघ १३ शनिबार १०:०८:००
नयाँ पत्रिका

 

प्रा.डा. अभि सुवेदीको व्यक्तित्व बहुआयामिक छ । निबन्ध, कविता, नाटक, अनुवाद, समालोचनालगायत साहित्यका विभिन्न विधामा उनी सक्रिय छन् । दर्जनौँ पुस्तक अनुवाद गरिसकेका सुवेदी फरक संस्कृति, भूगोल र घटनाक्रममा आधारित पुस्तकले पठन संस्कृति प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् । ‘हामीले अनुवादमा खासै कलम चलाउन सकेका छैनौँ । विश्व–साहित्यका उत्कृष्ट पुस्तकले फरक परिवेश, समाज बुझ्न र फराकिलो दृष्टिकोण निर्माण गर्न सहयोग गर्छन् । यसमा व्यक्तिभन्दा पनि प्राज्ञिक निकायले नै ध्यान दिनुपर्छ,’ उनले भने । सुवेदीले नेपाली भाषामा अनुवाद गर्न आवश्यक सात विश्वप्रसिद्ध उपन्यास सुझाएका छन् :

 

द हन्ड्रेड इयर्स अफ सोलिट्युड

 

१९६७ मा प्रकाशित यो उपन्यास कोलम्बियाली लेखक ग्राबियल ग्रासिया माक्र्वेजले लेखेका हुन् । उनले सन् १९८२ मा नोबेल साहित्य पुरस्कारसमेत पाएका थिए । यस उपन्यासले पुस्ता–पुस्ताको कथा बोल्छ । बेजोड कल्पनाशक्तिको प्रयोग गरिएको यो उपन्यास आधुनिक साहित्यको एक उत्कृष्ट नमुना मानिन्छ । यसमा आप्रवासनको कथा, विगत र वर्तमानका जटिलता, छटपटी देखाइएको छ । ल्याटिन अमेरिकी परिवेशमा लेखिएको भए पनि यो उपन्यासका पात्र र उनीहरूको मानवीय संवेदनाले सबैलाई छुन्छ । तसर्थ, धेरै भाषामा अनुवाद भइसकेको यो उपन्यास नेपालीमा पनि अनुवाद गर्न जरुरी छ भन्ने लाग्छ ।

 

मोन्टो–सेलेक्टेड सर्ट स्टोरिज

 

सदात मोन्टोले भारत–पाकिस्तान विभाजनको पीडामा आधारित रहेर धेरै कथा लेखेका छन् । सदातले विभाजनलाई एक ‘ठूलो त्रासदी’ र ‘संवेदनहीन पागलपन’का रूपमा व्याख्या गरेका थिए । दक्षिण एसियाली महाद्वीपकै एक दुःखान्त घटनाले निम्त्याएका परिणति (आप्रवासनको पीडा, तत्कालीन भूराजनीति, सिमानाले थोपरेका पारिवारिक दुःख) सदातका कथामा वर्णन गरिएको हुन्छ । उनका कथाहरूको संग्रह ‘मोन्टोः सेलेक्टेड सर्ट स्टोरिज’ हिन्दीसँगै अंग्रेजी भाषामा उपलब्ध छ । यसलाई नेपालीमा पनि अनुवाद गर्न पाए राम्रो हुने थियो । 

 

लर्ड अफ द फ्लाइज

 

नोबेल पुरस्कार विजेता बेलायती लेखक विलियम गोल्डिङको उपन्यास लर्ड अफ द फ्लाइज नेपालीमा अनुवाद हुनुपर्ने अर्को एक पुस्तक हो । यसमा युद्धकालको समय उद्धारका क्रममा महासागरको सुदूर क्षेत्रस्थित टापुमा एक बेलायती हवाईजहाज दुर्घटना भएपछिको काल्पनिक घटनाक्रम देखाइएको छ । मानिस नबस्ने टापुमा फसेका बेलायती केटाहरूको (दुर्घटनामा वयस्कहरू सबै मरिसकेका हुन्छन्) स्वशासनको असफल प्रयाससँगै सामूहिक र व्यक्तिगत सोच, तर्कसंगत र व्यावहारिक सोच तथा नैतिकता र नैतिकहीनताबीचको अन्तर देखाइएको छ । उपन्यासले शक्ति, हिंसा र मानवीय परिस्थितिका विविध पाटाहरू प्रस्तुत गर्छ । 

 

सङ अफ सोलोमन

 

अमेरिकी लेखिका टोनी मोरिसनका धेरै पुस्तक उत्कृष्ट छन् । यसमध्ये मलाई ‘सङ अफ सोलोमन’ निकै मनपर्छ । यो पुस्तकलाई पनि नेपालीमा अनुवाद गर्न जरुरी छ भन्ने लाग्छ । पहिलो उपन्यास ‘द ब्लुयेस्ट आई’ (यो पनि अनुवाद हुनुपर्ने उपन्यास हो) बाटै चर्चा कमाइसकेकी मोरिसनले ‘सङ अफ सोलोमन’मा मिसिगन बस्ने ‘मिल्कम्यान डेड’ नामक एक अफ्रिकी–अमेरिकी पात्रको बाल्यकालदेखि वयस्क हुँदासम्मको कथालाई प्रस्तुत गरेकी छिन् । परिवारको विगत र आफ्नो पहिचानको खोजीमा रहेका पात्रलाई केन्द्रमा राखेर उपन्यासले पहिचान, परिवार र अश्वेत–अमेरिकीको अनुभव उजागर गरेको छ । 

 

द टिन ड्रम 

 

टिनको ड्रम ठटाउनुको अर्थ आफ्नो मुद्दामा ध्यान केन्द्रित गराउनका लागि अशान्ति पैदा गर्नु हो । कथाको अजीव पात्र ओस्कर मात्जेरथ (मुख्य पात्र) टिनको ड्रम ठटाएर संवाद गर्न खोज्छ । बाबुले भविष्यमा तरकारी विक्रेता बन्छ भन्ने ठोकुवा गरेको सुनेपछि तीन वर्षको उमेरदेखि नै उमेर नबढ्ने निर्णय गरेको उसको दाबी छ । त्यसैले, ऊ बाहिरी दुनियाँसामु बच्चाजसरी प्रस्तुत हुन्छ । १९५९ मा प्रकाशित यस उपन्यासले बीसौँ शताब्दीको जर्मनीका (दोस्रो विश्वयुद्धताका) जटिल ऐतिहासिक तथा सामाजिक घटनाक्रमलाई जादुयी यथार्थ, व्यंग्य र सशक्त काल्पनिकीमार्फत प्रस्तुत गरेको छ । लेखक गुन्टरग्रासलाई १९९९ मा नोबेल साहित्य पुरस्कार मिलेको थियो । 

 

पोउ ! 

 

चिनियाँ लेखक मोयान मलाई निकै मनपर्छ । उनीसँग भेटेर मैले कुराकानी पनि गरेको थिएँ । उनका उपन्यासमध्ये मलाई ‘पोउ !’ निकै मनपर्छ । यसको मुख्य पात्र लुओ जियाओतोङ कथा भन्न रुचाउँछ । उसले गुम्बामा बसेर एक भिक्षुलाई आफ्नो बाल्यकालमा हुर्कंदाको कठिनाइ सुनाउन थाल्छ । सन् २००३ मा प्रकाशित यस उपन्यासमा चीनको आधुनिक र ग्रामीण दुवै परिवेश झल्काइएको छ । लेखक मोयानले सन् २०१२ मा नोबेल साहित्य पुरस्कार पाएका थिए ।

 

अ पर्सनल म्याटर

 

१९६४ मा प्रकाशित यस उपन्यास व्यक्तिगत जिम्मेवारी र अस्तित्वको संकटमा आधारित छ । आफ्नो नवजात छोराको कठोर मानसिक अपांगताले विचलित एक युवाको आत्मखोज र नैतिक रूपमा अन्योलग्रस्त यात्रालाई यसले दर्शाएको छ । व्यक्तिगत रोजाइ र सामाजिक अपेक्षाबीचको अन्तर यसमा समेटिएको छ । यस उपन्यासका लेखक कान्जाबुरो ओएले १९९४ मा नोबेल साहित्य पुरस्कार जितेका थिए । ‘द साइलेन्ट क्राई’, ‘हिरोसिमा नोट’लगायत ओएका धेरै पुस्तक नेपालीमा अनुवाद गर्न सकिन्छ ।