• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
अन्वेषण अधिकारी
२०८० माघ १३ शनिबार १०:४५:००
इतिहास

सम्झनामा मूर्धन्य ९ साहित्यकार

२०८० माघ १३ शनिबार १०:४५:००
अन्वेषण अधिकारी

 

भैरव नृत्य दल खोलेर नेपाली लोकसांस्कृतिक नृत्यमा नयाँ प्राणवायु भरेका नृत्यशास्त्री भैरवबहादुर थापा ९२ वर्षका भए । वि.सं २०१३ मा चीन सरकारको निमन्त्रणामा नेपालबाट गएको पहिलो सांस्कृतिक प्रतिनिधिमण्डलमा बालकृष्ण सम, इतिहासकार काशीप्रसाद श्रीवास्तव, शिक्षाविद् अंगुरबाबा जोशी, कवि चित्तधर हृदय, जनकवि धर्मराज थापालगायतका स्रष्टासँगै थापा पनि थिए । उनले १२ मिनेटसम्म प्रस्तुत गरेको नृत्यबाट प्रभावित भएर चिनियाँ नेता माओत्सेतुङले आफूले प्रयोग गर्दै आएको कलम उपहार दिए । त्यही कलमबाट नृत्यको लिपि तयार गर्ने अनौठो र चुनौतीपूर्ण काम थालेका थापाले ६५ वर्ष लगाएर ‘नृत्याक्षर विज्ञान’ पुस्तक बजारमा ल्याए । त्यही वर्ष उनलाई मदन पुरस्कार गुठीले जगदम्बा श्री (२०७७) अर्पण गर्‍यो । पुस्तकको भूमिकामा चलचित्र निर्देशक चेतन कार्कीले लेखेका छन्, ‘यो नृत्यलिपि हो र व्याकरण पनि । ग्रन्थकार वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाको जीवनभरको सत्प्रयास हो यो ।’ नेपाली साहित्यका दिग्गजसँग बाक्लो संगत भएका थापाले यस अवधिमा ‘ढोका’ कवितासंग्रह, ‘हिँड्दाहिँडदै बनेका तस्बिरहरू’, ‘हिमाल नाट्य मिमांशा’लगायत कृति रचना गरे । अन्वेषण अधिकारीसँग थापाले आफ्नो संगतमा रहेका दिग्गज साहित्यकारहरूको सम्झना यसरी गरे :

 

सबैलाई प्रेम गर्ने लक्ष्मीप्रसाद देवकोटा 

 

डिल्लीबजारस्थित सांस्कृतिक संस्थामा वेला–वेला कविगोष्ठी हुन्थ्यो । कहिलेकाहीँ म पनि कविता सुनाउँथेँ । त्यसैले लक्ष्मीप्रसाद देवकोटाले मलाई कवि भनेर चिन्नुभएको रहेछ । ०११ सालमा हामी दार्जिलिङबाट फर्किएपछि बालकृष्ण समले महाकविसँग मेरो नृत्यको प्रभावबारे चर्चा गर्नुभएछ । अनि महाकविले मलाई नृत्यकार भनेर चिन्न थाल्नुभयो । घरनजिकै भएकाले म महाकविकहाँ गइरहन्थेँ । उहाँ सिरकले शरीर बेरेर घुँडा टेकेर लेख्नुहुन्थ्यो । त्यसरी लेख्दा शरीर चाँडै बिग्रिन्छ, किड्नी र अन्य अंगमा पनि समस्या हुन सक्छ, टेबुल–कुर्सीमा बसेर लेख्नुस् भनेर सुझाव दिन्थेँ । तर, उहाँको आदत नै भइसकेको थियो । सिगरेट धेरै तान्ने अर्को खराब लत थियो । बेलायत, अमेरिकाबाट पनि मोटो–मोटो सिगार आउँथ्यो उहाँका लागि । सिगरेट नपिउनुस् भनेर जति भन्दा पनि उहाँ मान्नुहुन्थेन । उहाँका सबै कविता, खण्डकाव्य र महाकाव्य कालजयी छन् । कविहरू धेरै जन्मन्छन्, तर उहाँ युग–युगसम्म सम्झिइरहने नाम हो । मुनामदनजस्तो खण्डकाव्य दिएर जानुभएको छ । उहाँ सबैलाई प्रेम गर्ने प्रकृतिको हुनुहुन्थ्यो । 

 

बहुआयामिक व्यक्तित्व भीमनिधि तिवारी

 

भीमनिधिसँग मेरो पारिवारीक सम्बन्ध हो । जेठो दाइ श्यामबहादुर थापाको मिल्ने साथी हुनुहुन्थ्यो । दाइ वनारस गएपछि माइलो दाइ सिंहबहादुरसँग सम्बन्ध बाक्लिएको रहेछ । म सानैमा वनारस गएको, त्यहाँ पढ्दा–पढ्दै ब्रिटिस आर्मीमा क्लर्कको जागिरे भएँ । सिंगापुर र मलायामा मेरो नाच धेरैले मन पराएका थिए । उनीहरूले ‘नेपाली बाबु’, ‘डान्सर’ र ‘टार्जन बाबु’जस्ता उपनाम दिएका थिए । महारानी एलिजाबेथको शुभराज्याभिषेकको उपलक्ष्यमा मलायामा १९५३ जुन २ मा रातभर कार्यक्रम राखिएको थियो । त्यहाँ मैले नाचेको देखेर अंग्रेज अफिसरहरू दंग परे र मलाई ६ महिनाको छुट्टी दिइयो । काठमाडौं फर्केपछि तिवारीसँग चिनजान गराउँदै माइलो दाइले भन्नुभयो, ‘कान्छोलाई पढाउनुपर्छ भनेर सानैमा दाईले वनारस लिएर गएको, ऊ त बेलायती सेनामा भर्ती भएर नृत्यकार बनेर आयो ।’ तिवारी नेपाल नाटक संघका संस्थापक नाटककार हुनुहुन्थ्यो । उहाँले मलाई नेपाल नाटक संघको ‘प्रतिभाशाली कलाकार’ घोषणा गरिदिनुभयो । उहाँ उदार हृदय भएको मानिस हो । बहुआयामिक व्यक्तित्व । नाटक, कथा, गजल सबै लेख्न सक्ने । लघु नाटक र एकांकी लेख्न सुरु गर्ने नै उहाँ हो । मलाई उहाँको ‘किसान’ नाटक निकै मनपर्छ । ‘नैनीका राम’ उहाँको त्यतिवेला निकै चलेको नाटक हो । उहाँबारे कथाकार पुस्कर शम्शेरले भन्नुभएछ– मेरो भाइ (बालकृष्ण सम) पनि नाटक लेख्छ । एउटै विधामा दुई व्यक्ति आउँदा न तपाईंलाई फाइदा, न उसलाई । उहाँ यसपछि नाटक लेख्न छाडेर गजल र कथामा केन्द्रित हुनुभयो । उहाँका गजलका किताब त्यतिवेला युवतीहरूले केटाहरूलाई किन्न पठाएर सिरानमुनि राखेर पढ्छन् भन्ने चर्चा हुन्थ्यो । 

 

मेरा गुरु बालकृष्ण सम 

 

बालकृष्णको चेला भन्न पाउँदा मलाई सधैँ गर्व लाग्छ । उहाँकै कारण छुट्टी सकिएपछि ब्रिटिस आर्मीमा फर्कनुको साटो म नेपालमै लोकसांस्कृतिक नृत्य प्रवर्द्धनमा खटिएँ । भीमनिधि तिवारीले कलाकार घोषणा गरेको केही दिनपछि मलाई अखिल नेपाल किसान संघको वार्षिक सम्मेलनमा बोलाइयो । कमरेड पुष्पलालको निर्देशनमा निर्मल लामाले बोलाउनुभएको रहेछ । नाच्नका लागि बोलाइएको भन्ने थाहा थिएन । अकस्मात अन्तिम दिन भुरुङखेलको चौरस्थित डबली मञ्चमा मैले आफ्नो एकल भाव लोकसांस्कृतिक नृत्य एक घन्टासम्म प्रस्तुत गर्नुपर्‍यो । मेरो नाच मनपरेपछि उपस्थित सर्वसाधारणले नृत्य प्रस्तुति थप केही दिन लम्ब्याउनुपर्ने माग राखे । त्यसपछि उद्घोषकका रूपमा रहनुभएका कृष्णचन्द्रसिंह प्रधानले मञ्चबाटै थप ६ दिनसम्म मलाया डान्सरको लोकसांस्कृतिक प्याखँ हुने निर्णय सुनाउनुभयो । नुवाकोट, काभ्रे, सिन्धुपाल्चोकलगायत काठमाडौंनजिकका जिल्लाबाट पनि मानिसहरू प्रस्तुति हेर्न आए । यसपछि अन्य विद्यार्थीलाई पनि डान्स सिकाउनुपर्छ भनेर माग गर्ने अभिभावक र विद्यार्थीहरूको संख्या ठूलो थियो । स्कुलमै नृत्य सिकाउन पाउने व्यवस्था भएमा आएर सिकाइदिन्छु भनेको थिएँ । तर, दरबार स्कुलका शिक्षकहरूले ‘गाईजात्रे नाच सिकाउन स्कुल खोलेको होइन’ भन्दै विद्यार्थीलाई झपारेछन् । त्यतिवेलासम्म पुरुषले नाचेको ‘अशुभ’ मानिने रहेछ । तर, मेरो नृत्य हेर्न भिड लागेकाले परिस्थिति फरक हुँदै थियो । तीनमहिने स्काउट ट्रेनिङ लिएका एक सज्जनले उपाय निकाल्नुभयो, ‘भुरुङखेलकै चौरमा आर्मी ड्रिलको ट्रेनिङसँगै नृत्यको पनि तालिम गराउने । विद्यार्थी पनि खुसी हुन्छन्, भैरव सरको पनि प्रचार हुन्छ ।’

 

त्यसपछि ६५ जना विद्यार्थीलाई मैले स्काउटको ड्रेसमा आर्मी ड्रिल र नृत्य सिकाउन थालेँ । हामीले मादल बजाएर लोकसांस्कृतिक नृत्य देखाउँथ्यौँ । लोकप्रियता बढ्दै गएपछि विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, ऋषिकेश शाह, पुष्पलाल श्रेष्ठ, पिएन राणा, निर्मल लामा, तुलसीलाल अमात्यलगायत नेताले पार्टीका विभिन्न कार्यक्रममा मेरो टोली नै बोलाएर लोकसांस्कृतिक नृत्य प्रस्तुत गर्न लगाए । काठमाडौं र पाटनका विभिन्न टोलमा हुने स्थानीय कार्यक्रममा समेत ‘मलाया डान्सरको लोक प्याखँ’ मञ्चन हुन थाल्यो । यही क्रममा बालकृष्ण समको ‘अमरसिंह’ नाटकमा मैले नृत्य प्रस्तुति दिएँ । सिंहदरबारमा यो नाटक र मेरो प्रस्तुति हेरेपछि प्रभावित भएर सूर्यविक्रम ज्ञवाली र धरणीधर कोइरालाले दार्जिलिङमा नाटक देखाउने योजना बनाउनुभयो । त्यहाँ पनि निकै राम्रो प्रतिक्रिया पाएपछि हामीले खर्साङमा पनि यो नाटक देखायौँ । समजी मसँग प्रभावित भइसक्नुभएको थियो । 

 

ब्रिटिस आर्मीको छुट्टी सकिनै लागेको थियो । तर, मेरा चेलाहरू मलाई रोक्न खोज्दै रहेछन् । उनीहरूले बालसखा दल खोल्ने र त्यसको अध्यक्षमा मलाई राख्ने योजना बनाएछन् । बालकृष्ण समलाई भनेपछि मलाई रोक्न सकिन्छ भन्ने लागेर उहाँलाई भेट्न गएछन् । समजीले त्यसको नाम परिवर्तन गरेर ‘भैरव नृत्य दल’ राखिदिनुभयो । उहाँ भन्नुहुन्थ्यो, ‘नाटकको दृश्य समाप्त भएपछि पर्दा लाग्छ र त्यही पर्दाअगाडि मात्रै नृत्य देखाइने चलन हुन्छ । तर, भैरवजीको लोकसांस्कृतिक नृत्यको प्रचारले गर्दा सांस्कृतिक कार्यक्रम भनेर नृत्य मात्रै राख्ने चलन आयो ।’ भैरव नृत्य दल खुलेपछि मेरो बाटो मोडियो । ब्रिटिस आर्मीमा फर्किनुको साटो लोकसांस्कृतिक नृत्यकै प्रवर्द्धनमा लागेँ । उहाँका नाटक ‘भीमसेन थापाको अन्त्य’ र ‘हरितारा’मा मैले नृत्य निर्देशन गरेको थिएँ । नाटकमा बालकृष्ण समको नजिक कोही आउँदैनथे । उहाँले कविता र मुक्तक पनि लेख्नुहुन्थ्यो । त्यतिवेलाका अंग्रेज अफिसर कर्नेल प्राउडले समलाई नेपाली ‘सेक्सपियर’ भनेर सम्बोधन गरेका थिए । त्यसपछि धेरैले उहाँलाई यही उपनाम दिन लागे । उहाँ निकै फराकिलो सोच भएको र मलाई माया गर्ने मानिस हुनुहुन्थ्यो ।

 

मनमा व्यथा बोकेर चुप लाग्ने शंकर लामिछाने 

 

लामिछानेको व्यक्तित्व बहुआयामिक थियो । कथा, कविता, उपन्यास, लेख लेख्न सक्ने, तर उहाँलाई विशेषगरी मानिसले निबन्धकारका रूपमा सम्झन्छन् । ‘अब्स्ट्रयाक्ट चिन्तन प्याज’ निबन्धले उहाँको खुबीलाई सबैमाझ उजागर गरेको छ । व्यक्तिगत रूपमा उहाँ अलि रिजर्भ, मनमा व्यथा राखेर पनि चुप लाग्ने स्वभाव थियो । आफ्ना दुःख हत्तपत्त सुनाउने बानी थिएन । हरेक विषयवस्तुमा नयाँ विचार र व्याख्या दिन सक्ने । नयाँ प्रयोग गर्न नडराउने, सामाजिक मनोविज्ञानलाई सूक्ष्म गरी बुझ्न सक्ने खुबी थियो । अंग्रेजी भाषामा पनि उत्तिकै अब्बल हुनुहुन्थ्यो । उहाँसँग मेरो निकै गहिरो संगत रह्यो । उहाँले मेरो विषयमा पनि लेख लेख्नुभएको छ । नृत्यलिपिको पुस्तक तयार गर्ने मेरो सोच सुनेर निकै खुसी हुनुभएको थियो । ‘शंकरजी यसलाई छिटो लेख्नुस् । यसमा भूमिका लेख्न मन छ, यसलाई त नोबेल पुरस्कारमा मनोनयनका लागि दिनुपर्छ भन्नुहुन्थ्यो ।’ तर बिडम्बना, उहाँ बितेको धेरै वर्षपछि मात्रै मैले यो पुस्तक तयार गर्न सकेँ । 

 

ध.च. गोतामेले भन्नुभयो– भैरव पागल हुने भो

 

ध.च. अति नजिकको साथी । मेरो घरमा आइरहनुहुन्थ्यो । ‘घामका पाइलाहरू’का पात्र मेरो परिवेश र जीवनबाट पनि प्रभावित छन् भन्नुभएको थियो । उत्तम नेपालीले यसको कभर डिजाइन तयार गर्नुभएको हो । उहाँ मलाई निकै माया गर्ने, नृत्यलिपि तयार गर्ने विषयमा म सोचमग्न भएको देखेर उहाँलाई पागलै हुन्छ भन्ने लागेछ । हाकाहाकी भन्नुहुन्थ्यो, ‘नृत्यको पनि कहीँ लिपि हुन्छ ? नहुने काम सोचेर भैरवजी पागल हुनुहुने भयो ? भैरवजी यो मृत्युको घन्टा हो, हृदयाघात हुन्छ, यसलाई बोकेर नहिँड्नुस् ।’ मेरो माया र चिन्ता पनि मिसिएको थियोे । मैले नृत्यकारकै रूपमा राम्रो गर्न सक्छु, नृत्यलिपि तयार गरिरहन आवश्यक छैन भन्ने उहाँको तर्क थियो । एकपटक मेरी श्रीमतीलाई भैरव यही कामले पागल हुन्छ भनेर सुनाइदिनुभएछ । मैले तयार गरिसकेका धेरै पुस्तक श्रीमतीले फालिदिइन् । ती कुरा फेरि लेखेर उतार्न मलाई वर्षौं लाग्यो । 

 

भीमदर्शन रोकासँग कुस्ती

 

भीमदर्शन भारत बसेर नेपाल आएको । उसका मुक्तक निकै राम्रा थिए । कथा पनि सशक्त छन् । थोरै, तर बेजोड लेख्ने मानिसमा पर्छ । साथीहरू भूपी शेरचन र शंकर लामिछाने मदिराका सौखिन भए पनि उसमा मदिराको लत कहिल्यै परेन । मसँग कुस्ती पथ्र्यो । म वनारसी दाउले खेल्ने, ऊ देहरादुने दाउले । उसले शिक्षकका रूपमा पनि धेरै राम्रो गर्‍यो । महाकविले भन्ने गर्नुहुन्थ्यो– अब भूपी शेरचन, शंकर लामिछाने र भीमदर्शन रोकाले नै साहित्यको बिँडो थाम्ने हो ।’ न्याय र मानवताका पक्षमा अडिग थियो । ‘रातको एक प्रहर बाँकी छ । तीन प्रहरको अन्तिम असर बाँकी छ...’ मुक्तक धेरै चर्चित थियो । मलाई यो निकै मनपर्छ । 

 

हिन्दीमा कविता लेख्ने भूपि शेरचन

 

भूपिसँग पनि लामै संगत रह्यो । ऊ स्वतन्त्र र स्वच्छन्दतावादी । वनारसमा म सात कक्षा पढ्दा ऊ नौ कक्षा पढ्थ्यो । त्यतिवेलै हिन्दीमा बेजोड कविताहरू लेखेर सुनाउँथ्यो । वामपन्थी भएकाले उसले राजा र कांग्रेस फिटिक्कै मन नपराउने । पछिल्लोपटक राजाको विरोध गरेन । कविता लेखनमा नयाँ आयाम प्रवर्द्धन गर्न भूपीको ठूलो भूमिका रह्यो । उसका कविता पढेर धेरैले जीवनमा परिवर्तन महसुस गरेका छन् । भूपिको कविता हृदयमै बस्छ भन्छन् । समाजलाई हेर्ने फराकिलो चेत थियो । मनमा केही कुरा नराख्ने, सबै कुरा साथीहरूसँग सेयर गर्ने । नाचगान र संगीतमा पनि सौख थियो । अझ विशेषगरी शास्त्रीय संगीत उसको सौख थियो । भूपी सबैलाई माया गर्ने, बच्चाहरूलाई अझै बढी माया गर्ने, प्रेमिल स्वभावको थियो । उसको नराम्रो लत मदिरा हो । उसको निधन नेपाली साहित्यका लागि एउटा अपूरणीय क्षति थियो । भूपी अझै धेरै बाँचेको भए नेपाली साहित्य अलग्गै हुने थियो । 

 

छिनमै गीत रच्ने धर्मराज थापा 

 

धर्मराजसँग पनि पारिवारिक सम्बन्ध रह्यो । उहाँ काठमाडौं बस्दा (२०१७ सालको आमनिर्वाचनअघि) हामी सिनेमा हेर्न जान्थ्यौँ । एकपटक अनारकली भन्ने फिल्म हेर्न गइएको थियो । त्यतिवेला जयनेपाल चित्रघरको अगाडि त्यस फिल्मको विज्ञापन मज्जाले गुन्जिएकोे थियो । उहाँले त्यही देखेर तत्कालै गीत रचना गर्नुभयो, ‘अनारकली भनी ड्वांग करायो... ।’ भोलिपल्टै टुँडीखेलमा सुनाउनुभयो । मज्जाको गीत थियो । छिनको छिनमै गीत रचना गर्न सक्ने उहाँको खुबी बेजोड थियो । लोकगीतलाई त्यतिवेला काँठे गीत, पाखे गीत भनिन्थ्यो । तर, उहाँले त्यही गीतलाई लोकप्रिय बनाउनुभयो । माओले मलाई कलम दिँदाको साक्षी उहाँ पनि हो । त्यतिवेला बालकृष्ण सम, चित्तधर हृदयलगायत साहित्यकार पनि हुनुहुन्थ्यो ।

 

व्यंग्यमा क्रान्ति ल्याउने भैरव अर्याल 

 

भैरव अर्याल निकै तेजिलो र फराकिलो सोच भएको मानिस । झारमा तुलसी पवित्र भएजस्तो मानिसमा उहाँ अति पवित्र हुनुहुन्थ्यो । कहिल्यै कसैको कुभलो नचिताउने । उहाँको व्यंग्यमा क्रान्ति छ । हामी वनारस पढ्दा हाथरसी भन्ने कवि निकै चर्चामा थिए । भैरव अर्याल पनि त्यही उचाइको मानिस हुनुहुन्थ्यो । उहाँका रचनालाई हिन्दीमा अनुवाद गरेर राम्रो प्रचार गर्न सकेको भए लोकप्रियता अझै बढ्ने थियो । उहाँले व्यक्तिभन्दा पनि प्रवृत्तिमाथि व्यंग्य गर्नुभयो । जय भुँडीजस्ता कालजयी रचना दिनुुभयो । गोरखापत्रको जागिर भ्याएर न्युरोडबाट फर्किंदा महिनामा तीन–चार दिन मेरोमा छिर्नुहुन्थ्यो । तपाईंको घर (कमलपोखरी) हाम्रा लागि ट्रान्जिट हो भन्नुहुन्थ्यो । उहाँसँग रमेश विकल कहिल्यै नछुट्ने, हामी डाडु–पन्यु भन्थ्यौँ । रमेश विकलले धेरैलाई कम्युनिस्ट बनाए, तर भैरव अर्याललाई बनाउने प्रयास पनि गरेनन् । अरूका कुरा सुन्ने, रमाइलो गर्ने स्वभाव भए पनि आफ्ना विचारमा सधैँ अडिग हुनुहुन्थ्यो । लीलाध्वज थापा, रोचक घिमिरेसँग पनि उहाँहरूको राम्रो संगत थियो । भैरव अर्यालको अल्यापुमै निधन भयो, जो नेपाली साहित्यका लागि अपूरणीय क्षति हो ।