• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
हेनरी रोबर्टस्
२०८० माघ २० शनिबार ०६:३६:००
फिल्म

शान्ति स्थापनामा कहाँ चुक्यो सिनेमा

सिनेमाले कहिल्यै पनि तानाशाहको मस्तिष्क बदल्दैन । तर, यसले देशका मानिसलाई प्रतिरोध गर्न प्रेरित गर्न सक्छ ।

२०८० माघ २० शनिबार ०६:३६:००
हेनरी रोबर्टस्

 

ठ्याक्कै एक सय वर्षअघि कोलियर म्यागेजिनमा फिल्म निर्देशक डिडब्ल्यु ग्रिफिथले एउटा भविष्यवाणी गरेका थिए, ‘सन् २०२४ मा एउटा महत्वपूर्ण जिम्मेवारी पूरा गर्न सिनेमाले ठूलो सहयोग गरेको हुन्छ । त्यो सभ्य दुनियाँबाट सबै सशस्त्र संघर्षलाई खतम गर्ने कार्य हो ।’


उनले थपेका थिए, ‘यस्तो परिस्थिति निम्त्याउन सिनेमा सबैभन्दा शक्तिशाली पक्ष हुनेछ । मोसन पिक्चरको युनिभर्सल भाषाको प्रयोगले मानिसबीच भ्रातृत्वको साँचो अर्थ पृथ्वीभर स्थापित भएको हुनेछ ।’विरोधाभासचाहिँ ग्रिफिथको १९१५ को फिल्म ‘द बर्थ अफ अ नेसन’ आफैँमा एउटा गहिरो रंगभेदी फिल्म थियो । यसले ‘कु क्लुक्स क्लान’ को पुनरुत्थानमा प्रत्यक्ष भूमिका खेल्यो, जसले धेरै उच्छृंखलता र हिंसा फैलायो ।

 

ग्रिफिथको शान्तिको पूर्वानुमान र राष्ट्र–राष्ट्रबीचको द्वन्द्व सही भएन । गाजा, युक्रेन, सुडान र अन्यत्रको वास्तविकताले युद्ध अझै पनि जीवनको पाटो हो भन्ने स्मरण गराउँछ । पछिल्लो सय वर्षमा सिनेमा धेरै फक्रिएको हुन सक्छ । तर, शान्तिदूतका रूपमा यसको भूमिकामा अझै सुधार आवश्यक छ । उल्टै यसलाई त सरकारहरूले आफ्नो सैन्य कारबाहीको पुष्टि गर्नका लागि निरन्तर प्रयोग गरेका छन्, कहिले सांकेतिक, धेरैजसो स्पष्ट प्रोपोगान्डाका रूपमा । 


रुसको संस्कृति मन्त्रालयले ती फिल्महरूलाई प्राथमिकता दिइरहेको छ, जसले युक्रेनमा रुसको युद्ध प्रयासलाई समर्थन गर्छन् । गत वर्ष रुसले ‘द विटनेस’ नामक फिल्म रिलिज गर्‍यो । युद्ध जारी रहँदा रिलिज गरिएको यो दुईघन्टे प्रोपोगान्डा प्रोजेक्टले किभमा बस्ने एक बेल्जियन भायलिनवादकको कथा बोल्छ । लेनिनले सिनेमालाई सबै कलामध्ये अत्यधिक महत्वपूर्ण भनेका थिए । र, पुटिनको सत्तामा पनि यसको विशेष ठाउँ छ । 

दुर्भाग्य, १९२४ मा ग्रिफिथले गरेको भविष्यवाणीभन्दा दुनियाँ आज निकै भयावह भइसकेको छ । हजारौँले अझै पनि विश्वभर भइरहेका युद्धमा ज्यान गुमाइसकेका छन् । सिनेमालाई अझै पनि दमनकारी र विस्तारवादीको सेवामा प्रयोग गरिएको छ । 


ठूलो जनसंख्यालाई प्रभावित गर्न सक्ने सिनेमाको शक्तिलाई यसका सुरुवाती दिनबाटै स्विकारिएको थियो । ग्रिफिथले आदर्शवादी अपिल गर्नुअघि नै फिल्मलाई राष्ट्रिय शक्तिको प्रवद्र्धन गर्ने र युद्धकालमा जनसमर्थन बटुल्ने माध्यमका रूपमा प्रयोग गरिएको थियो । उदाहरणका लागि, पहिलो विश्वयुद्धका दौरान बेलायत सरकारले युद्ध प्रयासलाई बाढावा दिन सिनेमाटोग्राफ कमिटी गठन गरेको थियो । यस कमिटीले निर्माण गरेको पहिलो ड्रकुमेन्टी ‘हाउ ब्रिटेन प्रिपियर्ड’ले बेलायतको युद्धमोह देखाएको थियो । उद्देश्य थियो, सैनिकको आत्मविश्वास बढाउने र दुस्मन सेनाको कमान्डमा डर सिर्जना गर्ने । त्यसले युवाहरूको हृदयमा राष्ट्रवाद जगाउने र उनीहरूलाई भर्ती हुन प्रेरित गर्ने काम गरेको कुरालाई नकार्न सकिन्न । लन्डनमा भएको प्रिमियरको दृश्यबारे एउटा पत्रिकाले लेखेको थियो, ‘यदि कुनै कुराले भर्ती हुन सहयोग गर्न सक्छ भने यस्ता चलचित्रले भर्ती हुने सिपाहीको हृदयलाई पक्कै पनि आनन्दित पार्नुपर्छ ।’


दोस्रो विश्वयुद्धमा अमेरिकी सैनिकहरूले विदेशी भूमिमा लड्नुपरेको कुरालाई पुष्टि गर्न फ्रयांक काप्राले धारावाहिक नै तयार गरेका थिए । १९४२ देखि १९४५ सम्म ‘ह्वाई वी फाइट’ शीर्षकमा निर्माण गरिएका सातवटा फिल्म पक्कै पनि कुनै सरकारले आफ्नो युद्ध प्रयासको बचाउ गर्न मूलधारका फिल्म निर्देशकको सहयोग लिएर गरिएको कार्यको सबैभन्दा चर्चित उदाहरण हो । 


पहिले यी फिल्महरू सैनिकलाई मात्रै देखाउने योजना बनाइएको थियो । तर, राष्ट्रपति फ्रयांकलिन रुजवेल्टलाई युद्धमा समर्थन बटुल्नका लागि यी सिनेमा सर्वसाधारणलाई पनि देखाउनुपर्छ भन्ने महसुस भयो । यसरी, अमेरिकी आर्सनलमा क्यामेरा र स्क्रिम एक महत्वपूर्ण हतियार बन्यो । पछिल्लोपटक पनि अमेरिकाले आफ्ना सेनाको नाम चम्काउन चर्चित फिल्महरूको सहारा लिइरहेको छ । जब १९८६ मा टप गन दर्शकमाझ पुग्यो, तब अमेरिकी सेनामा भर्ती हुनेको संख्या पाँच सय प्रतिशतले बढ्यो । चलचित्र हेर्न जानेहरूलाई आकर्षित गर्नका लागि कतिपय सिनेमाघर अगाडि नै भर्ती केन्द्रका टेबुलहरू राखिएका थिए । टम क्रुजले हाम्फालेको दृश्य देशभरका हजारौँ युवालाई सैनिक भर्तीकेन्द्रमा तान्न पर्याप्त थियो, भ्वाइसओभर र न्युजरिल फुटेज आवश्यक नै परेन । उत्कृष्ट प्रोपोगान्डाले आफूलाई कहिल्यै प्रोपोगान्डा भन्नुपर्ने आवश्यकता पर्दैन । 


तर, सिनेमाको प्रयोग पश्चिमाले मात्रै गरेनन् । अफ्रिका र दक्षिण अमेरिकामा उपनिवेशवादविरुद्ध चलेको संघर्षमा पनि फिल्मलाई प्रमुख हतियारका रूपमा प्रयोग गरियो । केही चलचित्र कुनै देशमाथि उपनिवेशले थोपरेको भावनात्मक र आर्थिक श्रमबारे केन्द्रित थिए, अन्य फिल्मले आन्दोलनको आह्वान गरेका थिए । ल्याटिन अमेरिकामा पुँजीवादविरोधी फिल्म अभियान चल्यो । उपनिवेशवादी शक्तिहरूले आफ्नो सामथ्र्यलाई थप सुदृढ बनाउन सिनेमाको प्रयोग गरेको थर्ड सिनेमाका ज्ञाताले राम्रोसँग बुझेका थिए । यो स्वाभाविक थियो, प्रतिक्रियामा प्रतिक्रान्तिकारी सिनेमा आयो ।

 
उपनिवेशविरुद्धको संघर्षलाई गिल्लो पोन्टेकोर्भोको १९६६ को फिल्म ‘द ब्याटल अफ अल्जियर्स’ले उतारेको छ, यसले फ्रान्सेली उपनिवेशविरुद्ध अल्जेरियनले गरेको हिंसात्मक प्रतिरोधलाई देखाएको छ । फिल्ममा देखाइएका डरलाग्दा एक्सनलाई ब्ल्याक प्यान्थर र आइआरएले प्रशिक्षण निर्देशिकाका रूपमा प्रयोग गरेका थिए । यो फिल्मले हिंसालाई मलजल गर्न सक्छ भन्ने फ्रेन्च सरकारले राम्ररी बुझेको थियो, उसले फिल्मको प्रदर्शनमै प्रतिबन्ध लगाइदियो । केही सिनेमाले बेजोडसँग शान्ति र सहकार्यको आह्वान गरेका छन् । सन् १९४० मा रिलिज भएको ‘द ग्रेट डिक्टेटर’को अन्त्यतिर चार्ली चाप्लिनले मानवताका लागि गरेको चिच्याहट र रुवाइ निकै चर्चित छ । यो फिल्मलाई चार्ली आफैँले लेखन, निर्देशन र निर्माण गरेका थिए ।


च्याप्लिनले एक यहुदी नाईको भूमिका निभाएका छन्, जसलाई भूलवश मानिस एडेनोइड हिन्केल भनेर भुक्किन्छन् । हिन्केल हिटलरको प्यारोडी गर्छन् । यी नाईले हिन्केलजस्तै बनेर एक सार्वजनिक भाषण दिन्छन्, तर उनले संघर्षका लागि उत्प्रेरित गर्नुको साटो उपदेश दिने अवसर उपयोग गर्छन् । भन्छन्, ‘सैनिकहरू ! आफूलाई क्रूरको हातमा जान नदिनुस् । जसले तिमीहरूलाई तिरस्कार गर्छ, गुलाम बनाउँछ । तिमीहरूको जीवनलाई रेजिमेन्ट गर्छ । के गर्ने, के सोच्ने र कस्तो महसुस गर्ने भनेर भन्छ । यस्ता अप्राकृतिक मानिससमक्ष आफूलाई नसुम्पिनू ।

 

मेसिनको दिमाग र हृदय भएका मेसिन म्यानसँग नसुम्पिनू । तिमीहरू मेसिन होइनौ, गाईवस्तु होइनौ, तिमीहरू मानिस हौ । तिमीहरूसँग मानवताप्रति आफ्नो हृदयमा प्रेम छ ।’ च्याप्लिनको भाषण शान्तिको आह्वान मात्र थिएन । यो त तानाशाहविरुद्ध मानिसहरूलाई एकीकृत गर्ने रुवाई थियो । ‘सैनिकहरू दासताका लागि नलड,’ च्याप्लिन रुन्छन्, ‘स्वतन्त्रताका लागि लड ।’ उनका भावनाहरू काप्राको फिल्म ‘ह्वाई वी फाइट’ मा व्यक्त भएजस्तै छन् । र, यी दृश्य आज हेर्दा पनि कुनै भावुक व्यक्तिको मन रुन सक्छ । 


दुर्भाग्य, १९२४ मा ग्रिफिथले गरेको भविष्यवाणीभन्दा दुनियाँ आज निकै भयावह भइसकेको छ । हजारौँले अझै पनि विश्वभर भइरहेका युद्धमा ज्यान गुमाइसकेका छन् । र, सिनेमालाई अझै पनि दमनकारी र विस्तारवादीको सेवामा प्रयोग गरिएको छ । सिनेमाले कहिल्यै पनि तानाशाहको मस्तिष्क बदल्दैन । तर, यसले देशका मानिसलाई प्रतिरोध गर्न प्रेरित गर्न सक्छ । सिनेमाको आविष्कार नभएको भए पछिल्लो एक शताब्दीमा कम वा बढी हिंसा हुन्थ्यो ? यो भन्न असम्भव छ । के निश्चित छ भने हामी सैनिक युद्धलाई निमिट्यान्न पार्नबाट धेरै टाढा छौँ । आशा छ, अर्को सय वर्षमा हामी कम्तीमा थोरै नजिक हुनेछौँ । 


(द गार्जियनबाट अन्वेषण अधिकारीको अनुवाद)