• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
महेश पौड्याल
२०८० माघ २० शनिबार ०७:३९:००
साहित्य

पुरुषार्थ परीक्षणका लोकमान्य सूत्रहरू

२०८० माघ २० शनिबार ०७:३९:००
महेश पौड्याल

महाकवि विद्यापतिको उल्लेखविना हिन्दी र मैथिली साहित्यको अध्ययन अपूरो हुन्छ । महान् साहित्यकार रवीन्द्रनाथ ठाकुरलगायत धेरै साहित्यिक मनिषीहरूले विद्यापतिलाई आफ्नो प्रेरणाको स्रोत मान्ने गरेका छन् । उनका रचना नीति, सूक्ति र उच्च मानवीय मूल्यका अनमोल अभिलेख हुन् । तर पनि, विद्यापतिको अध्ययन र चर्चाले पाउनुपर्ने जति महत्ता नपाएको अनुभव हुन्छ । 


विद्यापति अध्ययनमा उल्लेख्य टेवा पुर्‍याउने एउटा काम साहित्यकार धीरेन्द्र प्रेमर्षिले उनको संस्कृतमा लिखित कथाहरूको सँगालो ‘पुरुष–परीक्षा’ लाई नेपालीमा अनुवाद गरेका छन् । अम्बर प्रकाशनद्वारा बजारमा ल्याइएको उक्त कृतिका चार खण्डमा विद्यापतिका ४४ कथाहरू संकलित छन् । यस अनुवादले विद्यापति अध्ययनमा टेवा पुर्‍याउने, विद्यापतिबारे कतिपय भ्रमको निवारण गर्ने, तथा संस्कृतिमा निकै पातलो मानिएको कथा परम्परालाई समृद्ध तुल्याउने कार्य गर्ने अपेक्षा गरिएको छ । आचार्य विष्णु शर्माको पञ्चतन्त्र (इ. ६००) तथा नारायण पण्डितको हितोपदेश (इ. १२००), सँगै विद्यापतिको पुरुष–परीक्षा (इ. १४००) अध्ययनका लागि उपलब्ध भएको छ । यो आफैँमा स्तूत्य कार्य हो । भारतमा अंग्रेज शासनका बखत इन्डियन सिभिल सर्भिसेसको पाठ्यक्रममा ‘पुरुष परीक्षा’लाई पाठ्यपुस्तकको रूपमा समावेश गरिएको थियो । 


कथाहरू पारावर नामक राजा र सुबुद्धि नामक ऋषिबीचको संवादमा आधारित छन् । पारावरले आफ्नी छोरीका लागि कस्तो वर योग्य होला भनेर सोध्दा, सुबुद्धिले ‘पुरुष’ खोज्नुहोस् भन्छन् । पुरुष को हो त भन्दा, तिनका गुण बुझाउन यी कथा भनिएको छ । 


कथाका अनुसार पुरुष भनेको मूलतः वीरता, बुद्धिमत्ता, विद्वता र पुरुषार्थ (धर्म, अर्थ, काम, मोक्ष) जस्ता गुणले सम्पन्न मानिस हो । यस ग्रन्थमा पुरुषको सैद्धान्तीकरण पनि गरिएको छ । पुरुष यहाँ लिंगको कुरा होइन, योग्यताका कुरा हो । गुण सम्पन्नताको कुरा हो । नारी चरित्रको योग्यताका पनि कथा छन् यहाँ । तिनलाई पनि पुरुष–परीक्षाभित्रै राखिएको छ ।
संग्रहको पहिलो खण्डमा वीरताका कथा छन्, जसमा चार विशुद्ध कथा र चार प्रत्युदाहरण छन् । यी कथाका अनुसार कन्जुस्याइँबाट मुक्त हुनु शूरता हो ।

 भानुभक्तको व्यापकताभन्दा उनलाई सीमित घेराभित्र राखेर अध्ययन गर्ने परिपाटी बसाएर जो गल्ती हामीले गर्‍र्यौँ, त्यो विद्यापतिको हकमा पनि हुन सक्छ । 

हित र अहित बुझ्न सक्ने सामथ्र्य भनेको विवेक हो । कामप्रतिको लगनशीलता उत्साह हो । यी तीनैथरी विशेषता भएको मानिसलाई वीर भनिन्छ । वीर चार प्रकारका हुन्छन्– राजा बलाह र विक्रमादित्यजस्तो दानवीर, दुस्मनको दूतलाई पनि जोगाएर आफू मर्ने योगिनीपुरका राजा हम्मिरदेवजस्तो दयावीर, मिथिलाका राजकुमार मल्लदेवजस्तो युद्धवीर, र हस्तिानपुर आसपासका योद्धा चाचिकदेवजस्तो सत्यवीर ।

 

यसै खण्डमा, यी वीरताका अभावमा गुण, वीरता र नैतिकताबाट च्युत भएका पात्रहरूका पनि केही कथा छन् । दरिद्रताका कारण चोर बनेको सरीसृपलाई विक्रमादित्यले शाल्मलिपुरको राजा बनाइदिन्छन् । तर, सुध्रिए पो ? उता परिभद्रजस्तो कापुरुष छ अर्को कथामा, जो युद्धका डरले राज्यै छाडेर भाग्छ । मथुराको कन्जुस व्यापारी गुढधन अनिकालमा छोराछोरीलाई पनि खान नदिएर मार्छ । आफू पनि अन्त्यमा माझीलाई सुनको पोको जिम्मा लाएर गंगा किनारमा मारिन्छ । यसै खण्डमा अल्छीका पनि केही कथा छन्, मिथिलातिरका । आगो लाउँदा पनि नभाग्ने एउटा वास्तविक अल्छीको कथा निकै रोचक लाग्छ ।


दोस्रो खण्डमा बुद्धिमत्ताका १७ कथा छन् । काम पर्दा जसको बुद्धिमा स्फूर्ति आओस् र जाँगर चलोस्, त्यस्ता प्रतिभावान् व्यक्तिलाई तीक्ष्ण बुद्धि भएको व्यक्ति भनिन्छ भनेर पृष्ठ ३६ मा उल्लेख गरिएको छ । उदाहरणमा राजा पृथु र सुलोचनाले जंगलमा भेट्टाएका बालक विशाख छन्— जो बुद्धिको बलमा राजा हुन्छन् । जन्मले उनी तपश्शील नामक मुनी र तिलोत्तमा अस्पराका छोरा हुन् । जंगलमा फ्याँकिएका उनलाई सुलोचनाले भेटेर राख्छिन् तर पृथुले उनैलाई त्यागिदिन्छन् । त्यसैले, पृथुलाई हतकडी लगाउनु उनको बाध्यता बन्न पुग्छ । यो काम विशाखले गरिदिन्छन् र आफू राजा बन्छन् । सभामा भने ‘तपाईंहरूमध्ये एकजनासँग मात्रै मेरो सल्लाह भएको छैन’ भनेर सबैको जिज्ञासाको ढ्यांग्रो बजाएर आफ्नो कार्य फत्ते गर्ने पृथु बुद्धिमान ठहरिन्छन् । 


संग्रह भन्छ, एकचोटि भनेपछि बुझ्ने, सुनेको कुरा नबिर्सने र बुद्धिले कुनै कुरालाई तुरुन्तै धारण गर्ने सामथ्र्य भएको व्यक्तिलाई मेधावी भनिन्छ । जस्तो– गौड देशका कोक कवि, जसले श्रीहर्षको काव्य सुनेकै भरका सम्पूर्ण व्याख्या गरिदिए । जुन व्यक्तिमा मेधा र प्रतिभा छ, बुद्धि श्रेष्ठतम ऊ सुबुद्धि हो । 


यस खण्डमा प्रत्युदाहरणका पनि केही कथा छन् । ठग वा वञ्चकको उदाहरणका रूपमा गोदावरी किनारको एक व्यापारीलाई प्रस्तुत गरिएको छ, जसले आफूसँग यात्रामा निस्किएका राजकुमार चन्द्रसेनका आँखा फुटाएर धन लुट्छ । तर, चन्द्रसेनले त्यसलाई अन्त्यमा माफी दिन्छन् । चुक्लीखोर छन् कतै, जस्तो कि कुसुमपुरमा ब्राह्मणीको कोखबाट जन्मिएको बालक, पछि सोमनाथ साहूले हुर्काएको । ऊ कसै गरे पनि सुध्रिँदैन । अधमको उदाहरणमा छ कौशाम्बीका ज्योतिषी देवधरको छोरो शान्तिधर । ऊ भन्छ– राजाको मुठीमा गोलो जाँतो छ । संसर्ग–वर्बर, नराम्रो संगतबाट बिग्रन्छ । गण्डकी नदीको तीरको ग्वाला शलभजस्ता पनि पात्र छन्, जो आमाको सेवा, गाईलाई जस्तो दाम्लोले बाँधेर, घाँस हालेर गर्छ । गोबरका गुइँठा बालेर धुवाँ लगाइदिन्छ । 


तेस्रो खण्डमा विद्वताका १४ कथा छन् । यस खण्डमा ज्ञान र चौध विद्याको चर्चा गरिएको छ । विद्यामा शस्त्रविद्या र शास्त्रविद्या प्रमुख मानिएका छन् । विद्या आर्जनका चार स्रोत बताइएको छ– संगत, अध्ययन, अभ्यास र बोध । भनिएको छ– नीचहरूको ढलीमली भएको फोहोरी गाउँमा, कुरौटेहरूको जगजगी भएको सहरमा, मूर्ख राजाको शासन भएको देशमा विद्वान्हरूले दुःख पाउँछन् । 


सुविद्य वा विद्वान् चार प्रकारका मानिएका छन्–  शस्त्रविद्य, शास्त्रविद्य, लोकविद्य र उपविद्य । शास्त्रविद्यको कथामा निर्विवेक शर्मा नाम गरेका ब्राह्मणपुत्रको चित्रण छ, जो हिंस्रक छ । एक दिन परेवा समात्न खोज्दा सर्प समात्छ । उसको ज्यानलाई धनुर्धारी राजपुत सिंहलले धनुकाँणबाट सर्पको टाउको छिनालेर बचाइदिन्छ । शास्त्रविद्यामा ‘ब्रह्मकीट’ नामक कीटाणुबाट संक्रमित एक ब्राह्मणको कथा छ, जसलाई ज्योतिषी र वैद्यले मदिरा पिलाएर बचाउँछन् । शास्त्रीय ज्ञानमा उनीहरूको निपूणता हेरौँ । वेदविद्यको उदाहरणमा महिलाको अस्मिता जाँच्ने विधिको ज्ञानको कथा छ । भनिएको छ सती, अग्नि–परीक्षामा उत्तीर्ण हुन्छिन्, तर वेश्याको भने लोटामा हात हालेर औँठी निकाल्न खोज्दा आगो उठेर हातै जल्छ । यो परीक्षण विधि वेद वर्णित हो, र वेदवेत्ता यसलाई जान्दछन् । लोकविद्या पनि अर्को ज्ञान हो । यसमा बुद्धिकै प्रयोग गरेर चाणक्यले कुसुमपुरका क्रूर राजा नन्दको वध गराएर कुशल मन्त्री शकटारलाई मुक्त गरेको कथा छ । चाणक्यकै बुद्धिको अर्को पनि कथा छ, जसमा तन्त्रको प्रयोगद्वारा अर्को देशका कुशल मन्त्रीलाई चन्द्रगुप्तका मन्त्री बनाइदिएका छन् । 


यसैमा उपविद्य कथा पनि छन्, जसमा चित्रकला, इन्द्रजाल, नृत्य र संगीतजस्ता कला सामेल छन् । उदाहरणमा पूर्वजन्ममा आफू मृगिणी हुँदा मृग गुमाएकी एउटी सुन्दरी राजकुमारीको कथा छ । उनी एउटा चित्रकारलाई आफ्नो पूर्वजन्मको कथा चित्रमा उतारेकोमा पति वरण गर्छिन् । उता गोरखपुरमा, उदयसिंहको दरबारमा कलानिधि नाम गरेका गायकले गायनको बलमा गाईलाई आफूतिर तानेर आफ्नो गायन कला सिद्ध गर्छन् । गौड देशमा भने लक्ष्मण सेनका दरबारमा एउटा गन्दर्भ अभिनय गर्दागर्दै भगवान् रामको भूमिकामा यसरी प्रवेश गर्छ कि ऊ सीताको अनुपस्थितिमा विह्वल हुन्छ, र ढलेर मर्छ ।

 

इन्द्रजालविद्याको उदाहरण हेतु एकजना राजदेव नामक राजाको ज्वाइँको कथा राखिएको छ । भोजनको सौखिन त्यो ज्वाइँ, समयअगावै आइपुग्न लाग्दा राजालाई आपत पर्छ । मन्त्री पक्षधर पण्डितले इन्द्रजाल गरी भेडा जुधाएर, पहलमान जुधाएर, झरनामा माछा र बकुल्लाको दृश्य देखाएर, कुकुरले मृग लखेटेको दृश्य देखाएर बाटैमा अलमल्याउँछन् । कविको कविता सुनेर धारापुरीका राजा भोजदेवले उक्त कविलाई उसैको वजनबराबरको मोती दान दिएको कथा पनि यसै खण्डमा छ । कहिल्यै नचोरेकाले बिउ छर्दा सुन फल्छ भन्ने चोर कुम्भिलकको कथा पनि यसै खण्डमा समेटिएको छ । अर्कोतिर राजा मूर्ख हुँदा अपमानित भएर मर्न पुगेका राढा नगरका कवि बागविलासको कथा पनि छ । मूर्ख बाबाको मूर्ख कथनलाई सच्याएर छोराले कसरी बौद्धिक व्याख्या गर्छ, त्यो कथा रविधर र मनधरको कथा हो । शास्त्रका श्लोकै अशुद्ध पढेर विद्वान् कहलिने गोरखपुरका उपबुज्रुक कुश शर्माको कथा पनि यहीँ छ । 


चौथो खण्डमा पुरुषार्थका १५ कथा छन् । यो पुस्तकको मूल खण्ड हो र यसमा विविध प्रकारका पुरुषार्थका कथा छन् । कायस्थ बोधिले आफू सात्विक भएको परीक्षा गर्न आफैँलाई गंगामा समर्पण गर्छन् र तात्विक कहलिन्छन् । उता, गौडमा भने गंगामा गोहीको मुखमा परेको गाई बचाएर तामस आफू मर्छन् । आफूलाई नास्तिक मान्ने कम्पिलाका कुमार रत्नाङ्गद, अन्त्यमा ईश्वरीय सत्ताका समर्थक बन्छन् । गौडमै, महाराजदेव नामक मन्त्री पनि छन्, जो धनी भएर पनि याचकहरूको घर–घरमै दान पठाइदिन्छन् र देवलोक पुग्छन् । अयोध्याको प्रचुरवसु भने आफूसँग भएको सबै गुमाएर अन्त्यमा भोकमरीले मर्न पुग्छ र ऊ मूढ कहलिन्छ । सात अँजुली सुन लैजाऊ भन्दा थप लान खोज्ने विजयपुरको माली कृतिकुशल बह्वाशको उदाहरण हो । 


कामकथाको अर्को खण्ड छ यसैमा । पत्नीप्रति इमानदार हुने, र परस्त्रीबाट बच्ने ‘अनुकूल’को उदाहरणमा शूद्रकको कथा छ । उनी आफ्नी रानी सुखालसालाई सर्पले टाकेर कुरूप बनाउँदा पनि छोड्दैनन् र आफू मरेर बचाउँछन् । दीपावलीका दिन जसरी पनि आइपुग्छु भनेर युद्धमा हिँडेका गौडका लक्ष्मण सेन, ‘दक्षिण पुरुष’ का उदाहरण हुन् । केतकी र जातकी वेश्याको कथामा केतकी गुणवान् छे, किनकि ऊ एकछिनको ग्राहकलाई पनि प्रेम गर्छे । जातकी केवल पैसा हेर्छे । धूर्त ती हुन्, जो केवल मोजमस्तीका लागि अन्य स्त्रीकहाँ जान्छन् । पाटलीपुत्रका शशीको कथा धूर्तको कथा हो, जो माइत जाँदै गरेकी अर्काकी श्रीमतीमाथि पनि आँखा गाढेर अनेक प्रपञ्च गरेर दुष्कर्म गरेरै छोड्छ । घस्मर त्यो हो, जो स्त्रीको वशमा छ । उदाहरण, कान्यकुब्जका राजा जयचन्द्र । स्त्रीलम्पट राजाको पोल थाहा पाएको सहाबुद्दिन शाह यसैगरी उनको राज्य कब्जा गरिदिन्छ । 


मोक्षको तत्व थाहा पाउने निर्बन्धी, निस्पृह र लब्धसिद्ध हुन्छन् । निर्बन्धी, द्वारका नगरका शुद्धाशय ब्राह्मणको छोरो विवेक शर्माजस्तो, जो संसार छोडेर मोक्षको बाटोमा लाग्यो र आफ्नै बुबालाई गुरु थापेर शरणागत भयो । निस्पृह भनेको विषयविकारबाट मुक्त हुनु हो, वाराणसीका कृष्णचैतन्य परमहंसजस्ता, जसमा वासना छँदै छैन । लब्धसिद्ध भनेका उज्जयिनीका राजा भर्तृहरिजस्ता हुन्, जो राजभोग र विलास त्यागेर तपस्यामा गए र परमपद पाउन सफल भए । 


भानुभक्तको व्यापकताभन्दा उनलाई सीमित घेराभित्र राखेर अध्ययन गर्ने परिपाटी बसाएर जो गल्ती हामीले ग¥र्यौं, त्यो विद्यापतिको हकमा पनि हुन सक्छ । भानुको लोककल्याणको दर्शनबारे हामीले बोल्दै बोलेनौँ । विद्यापतिमा पनि यी दोष छन्, तर तत्–तत् समयको परिप्रेक्ष्यमा हेरिनुपर्छ । उज्जयिनी, योगिनीपुर, मिथिला, हस्तिनापुर, गंगाको उत्तरदक्षिण, मथुरा, गौड, गोदावरी किनार, कुसुमपुर, कौशाम्बी, गण्डक नदीको किनार, धारा, आवन्ती, गोरखपुर, धारापुरी, कञ्ची, राढा, अयोध्या, विजयपुर, जयन्ती नगर, पाटलीपुत्र, कान्यकुब्ज, वाराणसीजस्ता दक्षिण नेपाल र उत्तर भारतका प्राचीन नगरहरूको चर्चाले यस संग्रहलाई एक विशाल सभ्यताको प्रतिनिधि कथा बनाएको छ । इतिहासबाट पनि विक्रमादित्य, राजा नन्द, राजा भोज, चाणक्य जस्ता पात्र आएकाले यस ग्रन्थको ऐतिहासिक महत्व पनि उत्तिकै बढेको छ । मौलिकजस्तै लाग्ने मानमोहक अनुवादमा यदाकदा सामान्य भाषागत त्रुटि र उत्तर भारतीय शब्दहरूको उपस्थिति भने छ, जसलाई न्यूनीकरण गर्दै लानुपर्ने देखिन्छ ।