• वि.सं २०८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका
२०८० माघ २० शनिबार ०७:५२:००
फिल्म

राम्रो अभिनेता बन्न समाज बुझ्नैपर्छ

२०८० माघ २० शनिबार ०७:५२:००
नयाँ पत्रिका

नेपाली रंगमञ्च र सिने जगत्को चर्चित नाम हो, माओत्से गुरुङ । उनको अभिनय दर्शकले निकै रुचाएका छन् । उनी अभिनेता मात्रै होइनन्, निर्देशक पनि हुन् । उनले गुरुङ भाषाका आधा दर्जनभन्दा बढी सिनेमा निर्देशन गरिसकेका छन् । उनको लेखनमा रहेको ‘पुरानो डुंगा’ दर्शकमाझ अझै चर्चित छ । उनी निर्देशित सिनेमा ‘दयारानी’ प्रदर्शनमा आउँदै छ । यसै सेरोफेरोमा पवन बराइलीले उनीसँग संवाद गरेका छन् :

 

‘दयारानी’ कस्तो सिनेमा हो, दर्शकले कसरी ग्रहण गर्लान् ?
‘दयारानी’मा समाजको कथा छ । हाम्रो समाजमा पुरुष मानसिकता कतिसम्म हाबी हुन्छ र, आफ्नो कमजोरी छोपेर पुरुषार्थ देखाउन कतिसम्म गिर्छ भन्ने कुरा देखाउँछ । अझै पनि निसन्तानदम्पतीलाई समाज र परिवारले वंश धान्न दबाब दिने गर्छ । बच्चा भएन भने विभिन्न प्रश्न गरिन्छन् । छोरा नै हुनुपर्छ भन्ने मानसिकता अझै हटेको छैन । यसैको सेरोफेरोमा रहेर बनाएको नितान्त पारिवारिक सिनेमा हो यो । यो सिनेमा रिलिज गर्न चारपटकसम्म समय सारेको छु । ठूलो सिनेमासँग जुध्याे, जसले गर्दा आफैँ तर्सिएँ । रिलिज गर्ने वेला कोभिड– १९ ले थला पार्‍यो । बिस्तारै कोरोना मत्थर भयो । तर, मचाहिँ अभिनयमा व्यस्त हुन थालेँ । अन्तिममा सिनेमा रिलिज गर्न डराउन नहुनेरहेछ भन्ने निष्कर्षमा पुगेँ । कस्तो प्रभाव पार्ला ? आफ्नो ठाउँ छ, तर सिनेमा रिलिज गर्न डराएर नहुँदोरहेछ भन्ने लाग्यो । 


आत्मसन्तुष्टका लागि सिनेमा बनाउनुहुन्छ कि व्यावसायिक सफलताका लागि ? 
कस्ता खालका तत्व आवश्यक पर्छ र सिनेमा चल्छ भन्ने पूर्वानुमान गर्न नसक्ने निर्देशक हुँ । आजसम्म थुप्रै भाषिक सिनेमा निर्देशन गरेँ । ती सबै मेरो बुझाइले गरेँ । फिल्मेकरका आ–आफ्नै धारणा हुन्छन् । जुन विषय उठान हुनुपर्छ भन्ने लाग्छ, त्यही विषयमा सिनेमा बनाउँछु । विषयवस्तु महत्वपूर्ण हुन्छ । समाजको समस्या सिनेमामा उठाउनुपर्छ भन्ने लाग्छ । भोलि बजार बुझेर सिनेमा बनाएँ भने बेग्लै कुरा हो । आजसम्म मलाई लागेको विषयमा सिनेमा बनाइरहेको छु । 


नेपाली सिनेमालाई मूलधार र वैकल्पिक धार भनेर छुट्याइएको पाइन्छ । यो विषय तपाईंलाई कस्तो लाग्छ ? 
सिनेमामा मूलधार र वैकल्पिक धार भन्ने नै हुँदैन । बजारमा जुन चल्छ, त्यसलाई मूलधार भनियो । जुन चल्दैन त्यसलाई अलग धार भनियो । हाम्रो विचार पनि यसरी नै निर्देशित भएको छ । बजार कसको कब्जामा हुन्छ भन्ने कुरा निश्चित हुँदैन । व्यावसायिक सिनेमामा पनि कलापक्ष हुन्छ । मूलधार र वैकल्पिक धार भनेर सिनेमालाई वर्गीकरण गरिनुहुँदैन ।

ड्रम र गितारमा मात्रै म्युजिक गर्‍यो भने आफ्नो पहिचान गुम्छ । मैले आजभन्दा १० वर्षअघि जुन कुरा महसुस गरेको थिएँ, हिजोआज अरू म्युजिसियनले पनि सोच्न थालेका छन् । म्युजिकमा आफ्नोपन चाहिन्छ भन्ने सबैले बुझेका छन् । यो ट्रेन्ड अब हट्नेवाला छैन ।


तपाईं सिनेमा निर्देशनसँगै अभिनय पनि गर्दै हुनुहुन्छ । रंगमञ्चमा पनि तपाईंको सहभागिता देखिन्छ । सबैतिर छरिँदा हराउँछुजस्तो लाग्दैन ? 
पछिल्लो समय सिनेमामा व्यस्त भएँ । जसले गर्दा नाटकमा काम गर्न पाएको छैन । मैले ‘अटल बहादुरको आतंक’पछि कुनै नाटकमा अभिनय गर्न पाएको छैन । तर, पोखरामा फेरि रंगमञ्च जुर्मुराउँदै छ । नाटकका लागि पोखरा उर्भरभूमि हुँदै छ । अनुप बराल सर पोखरा फर्किएर नाटकघर निर्माण गर्दै हुनुहुन्छ । म पनि उत्साहित छु । अब नाटकका लागि समय छुट्याउँछु ।

 
‘मलामी’लगायत दर्जनौँ नाटकमा अभिनय गरिसक्नुभयो । थुपै्र भाषिक सिनेमा पनि बनाउनुभयो । नाटक र सिनेमा कुनमा काम गर्दा बढी सन्तुष्टि मिल्छ ?
सिनेमामा अभिनेता र निर्देशकको रूपमा काम गरिरहेको छु । लेखन, निर्देशन र अभिनयमा मेरो रुचि छ । हुन त कतिपयले नाटक र सिनेमा एउटै हो भन्छन् । तर, मेरो बुझाइमा नाटक र सिनेमा एउटै होइन । नाटक नाटक नै हो, सिनेमा सिनेमा नै हो । यसमा केही मिल्दाजुल्दा पक्ष हुन्छन् । तर, धेरै कुरा फरक हुन्छन् । सिनेमाको सेट र नाटकको स्टेज फरक हुन्छ । त्यसैले यी दुई कुरालाई तुलना गर्नुहुँदैन । रंगकर्मीको हिसाबले नाटकमा काम गर्दा नाटकमै रमाउँछु । सिनेमामा काम गर्दा सिनेमामै रमाउँछु ।


तपाईंको अनुभवमा राम्रो अभिनेता बन्न के–के आवश्यक पर्छ ? 
सिनेमा ‘पुरानो डुंगा’को भक्ते पात्र अझै मेरो दिमागमा घुमिरहन्छ । भक्तेजस्तो पात्र मैले अब सिनेमामा गर्न पाउँदिनँ कि जस्तो लाग्छ । सिनेमाका अरू पात्र पनि दिमागमा आइरहन्छन् । म अझै पनि कताकता ‘पुरानो डुंगा’तिरै हराउँछु । मेरो दिमागमा दृश्य र पात्र अझै मेटिएको छैन । ‘दलन’ टेली सिरियलको सदमान पात्रलाई अझै सम्झन्छु । त्यो पात्र सम्झिँदा अझै रोमाञ्चित हुन्छु । आजसम्म त्यस्तो खालको पात्र मैले पाएको छैन । गाउँको नेताको भूमिका थियो । त्यो पात्र निकै चुनौतीपूर्ण थियो । मलाई चुनौतीपूर्ण चरित्र निर्वाह गर्न मन लाग्छ । त्यसैले सफल कलाकार बन्नका लागि समाज बुझ्न जरुरी छ । मैले जसरी बुझेँ त्यसरी नै अरूले पनि बुझ्नुपर्छ भन्ने होइन । यद्यपि, तपाईं समाज नबुझी राम्रो अभिनेता बन्न सक्नुहुन्न । समाजलाई बुझ्नैपर्छ । कलाकारले मात्रै होइन, सिने क्षेत्रमा लागेका सबैले समाज बुझ्नुपर्छ ।


तपाईं अधिकांश समय पोखरामै भेटिनुहुन्छ । तपाईंको अनुभवमा एकजना सर्जकका लागि काठमाडौं ठीक कि पोखरा ?
मेरो अधिकांश समय पोखरामै बित्छ । केही प्राविधिक कामका लागि मात्रै काठमाडौं आउँछु । सिर्जनाका लागि केन्द्रमै बस्नुपर्छ भन्ने धारणा बनाउनुहुँदैन । मोफसलमा बसेरै धेरै अग्रजले राम्रो काम गरिरहनुभएको छ । संसारभरका मान्छे पोखरा आएर बसिरहेका छन् । तर, हामीचाहिँ पोखरा छोडेर बाहिर किन जाने ? मेरो अपनत्व जोडिएको सहर भएकाले पोखरामा जसरी सजिलै सास फेर्न सक्छु अन्य ठाउँमा अलि गाह्रो हुन्छ । तपाईंको सोच कस्तो छ ? यसमा पनि निर्भर हुन्छ । अरूले इज्जत दिनुपर्छ भन्ने लाग्दैन, सामान्य नागरिक भएर हिँड्छु । यसैमा रमाउँछु ।