• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
एम्मा राम्से
२०८० माघ २७ शनिबार ०७:१०:००
पर्यावरण

एक अर्ब मानिस जलवायु परिवर्तनको पहिलो मारमा

२०८० माघ २७ शनिबार ०७:१०:००
एम्मा राम्से

अभिलेखअनुसार सन् २०२३ सबैभन्दा तातो वर्ष बन्यो । त्यसैगरी, गर्मीसँगै आर्द्रता पनि बढिरहेको छ । गर्मी र आर्द्रताको मिश्रण निकै घातक हुन्छ । यसले हाम्रो जीवन र जीविकाको सबै पाटोलाई गम्भीर रूपमा असर गर्छ । जलवायु परिवर्तनले आर्द्रतायुक्त गर्मीलाई उच्चस्तरमा पुर्‍याइरहेको छ जसले मानिसलाई बाँच्न नै अप्ठ्यारो अवस्थामा पुर्‍याएको छ । 


हाम्रो एक नयाँ अनुसन्धानका अनुसार मौसम स्टेसनको कमजोर प्रभाव क्षेत्रका कारण सहरमा हुने गर्मीको तथ्यांक वास्तविकभन्दा कम देखिने गर्छ । यसको अर्थ हो वैश्विक जलवायु परिवर्तनका विविध मूल्यांकनले मानिसहरूमाझ हुने स्थानीय असरलाई अनदेखा गर्छ । प्रायः एसिया र अफ्रिकाका अनौपचारिक बस्ती ‘स्लम’ क्षेत्रका मानिस जलवायु परिवर्तनको पहिलो मारमा पर्छन् । जलवायु निरीक्षणमा देखिएको कमजोरीका कारण मानिस बढ्दो अर्द्रतायुक्त गर्मीको जोखिममा परेका छन् । अनुकूलनका सीमित विकल्प भएको अवस्थामा उष्णक्षेत्रका प्रचण्ड गर्मी भएका ठाउँमा करोडौँ मानिस अन्यत्र शरण लिन बाध्य हुनेछन् । 


अनौपचारिक बस्तीमा
नियोजित एवं औपचारिक विकासलाई माथ दिइरहेको अत्यधिक सहरीकरणले अनौपचारिक बस्ती बढाइरहेको छ । यी बस्तीका मानिससँग प्रायः विद्युत्, खानेपानीलगायतका पूर्वाधार एवं सेवा हुँदैन र सहरका मानिसले यिनलाई उपेक्षा गरिरहन्छन् । विश्वभर एक अर्बभन्दा बढी मानिस अनौपचारिक बस्तीमा बसोवास गर्छन् । राष्ट्रसंघका अनुसार यो संख्या अबको ३० वर्षमा तीन अर्बभन्दा बढी पुग्नेछ । केन्या, बंगलादेशजस्ता मुलुकमा करिब आधा सहरी जनसंख्या अनौपचारिक बस्तीमा बसोवास गर्छन् । 

प्रायः एसिया र अफ्रिकाका अनौपचारिक बस्ती ‘स्लम’ क्षेत्रका मानिस जलवायु परिवर्तनको पहिलो मारमा पर्छन् । जलवायु निरक्षणमा देखिएको कमजोरीका कारण मानिस बढ्दो आर्द्रतायुक्त गर्मीको जोखिममा परेका छन् । 


अधिकांश अनौपचारिक बस्ती उष्ण क्षेत्रमा पर्छन् । यी क्षेत्रमा वर्षैभरि गर्मी र आर्द्रता महसुस गर्न सकिन्छ, तर यी क्षेत्रमा बसोवास गर्ने मानिससँग गर्मीको तापलाई अनुकूलन गर्ने सीमित विकल्प छन् । यी बस्तीका अधिकांश घरधुरीको आम्दानी न्यून हुने गर्छ । अधिकांश बासिन्दाले जीविका चलाउन घरबाहिर काम गर्नुपर्ने बाध्यता छ । नतिजा यी मानिस गर्मी र आर्द्रताको चपेटामा पर्छन् । त्यसमाथि यी बस्ती अनौपचारिक भएकाले यी बस्ती औपचारिक प्रणाली र नियमनभन्दा बाहिर हुन्छन् । नतिजा हामी अनौपचारिक बस्तीका बासिन्दाले व्यहोरिरहेको खतराका तथ्यांकका बारेमा हामी अनभिज्ञ हुन्छौँ ।


जलवायु आँकडा 
विश्वका अधिकांश मानिस मौसम स्टेसनभन्दा २५ किलोमिटर टाढा बसोवास गर्छन् । यसकारण मौसम स्टेसनले सहरका पूर्ण तापक्रम र आर्द्रताको मापन गर्न सक्दैनन् । वास्तवमा सहरी क्षेत्रमा गैरसहरी क्षेत्रभन्दा बढी गर्मी हुने गर्छ जसलाई सहरी गर्मी टापु भनेर पनि चिनिन्छ । तापक्रम र आर्द्रताको मापनमा हुने भिन्नता उष्ण क्षेत्रमा बढी देखिएको छ र उष्ण क्षेत्रमा अधिकांश अनौपचारिक बस्ती बसेका छन् । जब गर्मी हामीले स्थानीयस्तरमा व्यहोर्छौँ त्यस्तो गर्मीलाई टाढाटाढा फैलिएका मौसम स्टेसन वा मौसम प्रणालीले ठम्याउँदैन । यसैकारण, घर निकै तातो हुँदा मौसमी प्रतिवेदन तापमान कम छ भन्दा हामीलाई राहत हुँदैन ।


हाम्रो अनुसन्धानले अनौपचारिक बस्ती भएका सात उष्णक्षेत्रीय मुलुकका जलवायु निगरानी तथ्यांक केलाएको थियो । हामीले यी तथ्यांकलाई नजिकैको मौसम स्टेसनको तापमान एवं आर्द्रता मापनसँग तुलना गरेका थियौँ । हामीले मानिसले आफ्ना घरमा र समुदायमा व्यहोरेको तापमानको तनाव वास्तविकताभन्दा कम पाएका थियौँ । यसको अर्थ हो वैश्विक जलवायु मूल्यांकन र प्रक्षेपणले पनि स्थानीय प्रभावलाई अवमूल्यन गर्न सक्छ । उसो त यी तथ्यांक तुलनात्मक रूपमा सानोस्तरको अध्ययनबाट आएको हो, तर तथ्यांकले जलवायु अनुकूलनमा ठूलो व्यवधान सिर्जना गर्छ भन्ने देखाउँछ । 
गर्मी लहरको सूचना 


अस्ट्रेलियामा गर्मी लहर आउँदा हामीलाई घरभित्रै बस्न र पर्याप्त पानी पिउन सल्लाह दिइन्छ । अनौपचारिक बस्तीमा बस्ने बासिन्दालाई यो सुझावले विपरीत प्रभाव पार्न सक्छ अर्थात् स्वास्थ्य समस्याका जोखिम बढ्न सक्छ । कमजोर भेन्टिलेसन र भित्ता भएका अनौपचारिक घरमा घरभित्रै बस्नु थप जोखिमयुक्त हुन सक्छ । धेरै कम घरमा मात्रै वातानुकूलको व्यवस्था हुन्छ र हुनेले पनि वातानुकुलित व्यवस्था सञ्चालन गर्ने हैसियत राख्दैनन् । अनौपचारिक बस्तीका मानिससँग सफा पिउने पानीको पहुँच नहुन सक्छ जसले गर्मीको तनावमा स्वास्थ्य जोखिम थप्न सक्छ । त्यसमाथि गर्मी लहरको चेतावनी वा लहरबाट जोगिन दिइने सुझाव नै अनौपचारिक बस्तीसम्म पुग्न पाउँदैनन् । 


विश्व मौसम विज्ञान संगठनको सन् २०२३ को एक प्रतिवेदनअनुसार विश्वका आधा मुलुकसँग मात्रै गर्मी लहरका लागि पूर्वनिर्धारित चेतावनी प्रणाली छ । यी प्रणाली सञ्चालनमा तब आउँछन् जब भविष्यवाणी गरिएको तापमानले आफ्नो माथिल्लोस्तर नाघ्छ । आमजनतालाई दिइने चेतावनी र स्वास्थ्य सुझावलाई थप सार्वजनिक स्वास्थ्य उपायसँग जोडेर अगाडि बढाउन सकिन्छ । क्षेत्रीय जलवायु केन्द्रले हाल व्यापकस्तरमा चेतावनी जारी गर्छन्, तर पूर्वानुमान र प्रतिक्रिया प्रभावकारी हुन सानास्तरमा जलवायु केन्द्र सञ्चालन गर्न आवश्यक छ । र, हाम्रो अध्ययनले देखाएझैँ क्षेत्रीय जलवायु केन्द्र मौसम स्टेसन तथ्यांकमा आधारित हुन्छन् जसले अनौपचारिक बस्तीको वास्तविक गर्मीलाई कम देखाउँछ । यसको मतलव यी बस्तीका बासिन्दाले खतरनाक गर्मी तनावको अनुभव गरे तापनि प्रारम्भिक चेतावनी प्रणाली असफल हुन सक्छन् ।


जनतालाई जोगाउन के गर्ने ? 
हालको जलवायु अनुगमन प्रयासले करोडौँ कमजोर तप्काका मानिसलाई गर्मी लहरको जोखिममा छोडिदिएको छ । यसले प्रत्यक्ष रूपमा व्यक्तिको सुस्वास्थ्यलाई असर गर्छ जसले समाज र राष्ट्रिय अर्थतन्त्रमा व्यापक असर गर्छ ।विकासोन्मुख मुलुकमा मौसम विज्ञान संस्थानको जलवायु अनुगमनलाई बलियो बनाउन र प्रारम्भिक–चेतावनी प्रणालीमा सुधार गर्न तत्काल सहयोगको आवश्यकता छ । विश्व मौसम विज्ञान संगठनका नयाँ प्रमुखले सहयोग गर्ने वाचा गरेका छन् । वाचा गरेको अवसरमा सरकार र विकास बैंक एवं गैरसरकारी संस्थाले नयाँ मौसम अनुगमन प्रणालीमा अनौपचारिक वस्तीलाई समेटने प्रयास गर्नुपर्छ । 


स्रोत र अनुकूलन क्षमतामा रहेको असमानतालाई पनि हटाउनुपर्छ । सहरी हरियाली र सुलभ आवासजस्ता स्थानीय परियोजनालाई समर्थन गर्दा सहरी गर्मी कम हुन सक्छ । अनुकूलन प्रयासमा यी समाधानलाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।


अनुकूलनको विकल्प स्थानान्तरण हो । जलवायु आधारित आप्रवासन हुन थालिसकेको छ, अर्थात् बढ्दो समुद्री तह र गर्मीका कारण अस्ट्रेलियामा समेत आप्रवासन देखिएको छ । मानिस स्वेच्छाले आफ्नो घर छोड्दैन र वैध कारणविना आफ्नो जीवनमा अवरोध ल्याउँदैनन् । तसर्थ, जलवायु परिवर्तनसँग अनुकूलन गर्न मद्दत गर्ने समाधानलाई प्राथमिकता दिनु आवश्यक छ ।


(राम्से मोनास विश्वविद्यालयकी पोस्टडक अनुसन्धाताहुन् । ‘द कन्भर्सेसन’बाट दिनेश पन्तको अनुवाद ।)