• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
प्रेम गौतम
२०८० माघ २७ शनिबार ०७:५५:००
समाज

परिस्थिति फेरिएपछि मनस्थिति पनि फेरियो

२०८० माघ २७ शनिबार ०७:५५:००
प्रेम गौतम

कम्युनिस्ट आन्दोलनमा सतहबाट निराश र सतहबाटै उत्साहित हुनुहुन्न । गहिराइमा पुगेर त्यसको निष्कर्ष निकाल्नुपर्छ । हामी कम्युनिस्ट आन्दोलनमा सिँढी थप्दै यहाँसम्म आइपुगेका छौँ । हामीले शिखरलाई कहिल्यै पनि हेर्न छाड्नु हुँदैन । त्यसको गन्तव्यलाई हामीले कहिले पनि त्याग्नु हुँदैन । हामीलाई धेरै अनुभव, धेरै प्रयोग गर्ने मौका मिल्यो । हामी जनता झन् गइराइमा पुग्यौँ । आन्दोलनको झन् गहिराइमा पुग्यौँ । विचारदेखि जीवनपद्धतिका बारेमा झन् गहिराइमा पुगेर बुझ्ने मौका मिल्यो । त्यसले हामीलाई शिक्षा दिएको छ । कम्युनिस्ट आन्दोलनलाई रक्षा कसरी गर्न सकिन्छ ? कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय कसरी बनाउन सकिन्छ भन्ने ज्ञानबोध भएको छ । र, कम्युनिस्ट आन्दोलनको लक्ष्यतिर समाज र देशलाई लिएर जान सकिन्छ भन्ने आत्मविश्वास बलियो गरी प्राप्त भएको छ ।


यसबीचमा हामीले धेरै आरोहअवरोह पार गर्‍यौँ । व्यक्तिविशेषबाट जोड्दा कुनै वेला प्रचण्ड कमरेडसँग लडेको देखिएला । कुनै वेला मोहन वैद्य किरणसँग लडेको देखिएला । कुनै वेला अमुक पात्रसँग लडेको पनि देखिएला । त्यो त प्रतिनिधित्वको कुरा मात्रै हो । लडेको त हामीले विचारसँग हो, दृष्टिकोणसँग हो । हामीले जस्तो कम्युनिस्ट आन्दोलन, समाजवादी व्यवस्था र जीवनपद्धति चाहन्छौँ, त्यो अनुरूपको संघर्ष हो ।

 

हामीले एकीकृत जनक्रान्ति संश्लेषण गरिसकेपछि समाजलाई धेरै मसिनो गरी पढ्ने मौका मिलेको छ । कम्युनिस्ट आन्दोलन कहाँ संकटमा पर्‍यो ? या असफल भयो ? यसका सम्भावना के छन् भन्ने कुरा देख्न पाइयो । पात्रलाई छाडेर हेरौँ । हामीले के देख्यौँ भने, तत्काल फाइदा लिन्छु भनेर कुद्दाकुद्दै हाम्रा आदर्श, मान्यताबाट धेरै पर पुग्ने खालको समस्या संसारभरका कम्युनिस्टमा छ । त्यसले कम्युनिस्ट आन्दोलनलाई कतै न कतै लगेर विसर्जित गर्ने खतरा देखियो । अर्को, जडसूत्रवाद । सय, डेढसय वर्षअघिको कुरामा अडिएकोअडियै, त्यसबाट डेग नचल्दा समाज, गति र विकासलाई देख्न नसकेर पूरै खुम्चिएर विसर्जन भएको पनि हामीले देख्यौँ । त्यो दुइटै कुराबाट हुँदैन भन्ने हाम्रो मान्यता हो । त्यो संघर्ष पनि हो, अध्ययन पनि हो । अहिले पनि यो कुरा यथावत् नै छ । ती दुइटा प्रवृत्तिबाट हामी बच्नुपर्छ ।


सबैका आ–आफ्नै तर्क छन् । अहिले त्यसतर्फ धेरै जानु छैन । कम्युनिस्ट आन्दोलनलाई जस्तो आदर्श हो, त्यस्तै बनाउन सकिन्छ । त्यहीअनुसारको पार्टी, त्यहीअनुसारको नेतृत्व तयार पार्न सकिन्छ । कार्यकर्ता र जनता पनि त्यहीअनुसारको बनाउन सकिन्छ । त्यसका लागि नेतृत्वमा ठूलो रुपान्तरण आवश्यक हुन्छ । नेतृत्व नै त्यसमा योग्य हुनुपर्छ । उपयोग गर्दै हिँडेर पनि समाप्त हुन्छ । उपदेश दिने, आफूले केही नगर्ने हुँदा पनि खुम्चिएर गइन्छ । 


नेतृत्व र विचार प्रयोगात्मक हुनुपर्छ । परिणाममुखी हुनुपर्छ । त्यो हराभरा हुनुपर्छ । हामीलाई विश्वास छ, त्यो बनाउन सकिन्छ । हामीले त्यस्तो बनाएका पनि छौँ । अहिले हाम्रो जति पनि पंक्ति छ, आफ्नो लक्ष्य र उद्देश्मा कुनै समस्या छैन । गौरव र आत्मविश्वासका साथ भन्न सकिन्छ–कम्युनिस्ट आन्दोलनप्रति विश्वस्त र उत्साहित शक्ति हामीसँग छ । सबैभन्दा बढी पूर्णकालीन सदस्य भएको पार्टी पनि हाम्रो हो । राष्ट्रका लागि, जनताका लागि भनेर पूर्णकालीन खट्ने संख्या हामीसँगै छ । हाम्रो आदर्श र मान्यताप्रति दृढ शक्ति हामीसँग छ । जुनसुकै दुःखकष्ट मोल्न तयार हुने शक्ति पनि हामीसँग छ ।

पार्टीहरूमा यति धेरै आर्थिक विचलन किन देखापर्‍यो ? नेता र कार्यकर्ता यति धेरै भ्रष्टाचार र तस्करीमा किन लाग्छन् ? त्यसको मुख्य कारण भनेको आर्थिक दृष्टिकोण नभएरै हो । पैसा कसरी बन्छ ? पुँजी कसरी उत्पादन हुन्छ ? मालवस्तु कसरी उत्पादन हुन्छ ? त्यसले जनताको जीवनलाई कसरी सुखमय बनाउँछ भन्ने कुराको ज्ञान नै कम्युनिस्ट आन्दोलनमा एकदम कमजोर भयो ।


सत्ता कब्जा मात्र समाजवाद होइन
विचार र राजनीतिक निष्कर्षप्रति विश्वस्त पंक्ति हामीलाई चाहिन्छ । आफ्नो उद्देश्य र आदर्शमा समर्पित नेता र कार्यकर्तापंक्तिविना कुनै पनि परिणाममुखी काम गर्न सम्भव छैन । त्यो हामीले व्यवहारबाट अनुभव गरेको कुरा हो । आन्दोलन भनेको नेता पनि हो । कार्यकर्ताले त्यो भेटाउनुपर्छ । त्यो खालको विश्वास दिलाउनुपर्छ ।


हामीले एकीकृत जनक्रान्तिको स्कुल नै खडा गरेका छौँ । अरूको अनुकरण गर्नु एकदम सरल कुरा हो । तर, अनुकरणबाट लक्ष्य प्राप्त गर्न सम्भव छैन । अनुकरणले मानिसको जीवन र सामाजिक क्षेत्रमा पनि समृद्धि ल्याउँदैन । माओ र लेनिनको कोटेसन पढ्नु सबैभन्दा सजिलो कुरा हो । त्यही कुरालाई दोहोर्‍याइतेहर्‍याइ भट्याइरहनु सबैभन्दा सरल कुरा हो । तर, त्यस्तै परिणाम हाम्रो आफ्नो जीवनमा ल्याउने कुरा निकै जटिल कुरा हो । जुन कुरो, माओ र लेनिनलाई पढेर मात्रै सम्भव छैन ।


हामीले समाज, देश र नागरिकलाई पढ्नुपर्छ । त्यो वातावरण हामीले पार्टीमा बनाएका छौँ । त्यसले राजनीतिमा एउटा विश्वास पैदा गरेको छ । समाजवाद भनेको केवल केन्द्रीय सत्ता कब्जा गरेपछि मात्रै बन्ने कुरा होइन । हरेक मान्छे समाजवादको अंग हो । समाज र पार्टी पनि त्यसका इकाइ हुन् । त्यसअनुसार आफ्नो जीवनपद्धतिमा आजैदेखि प्रयोग गर्ने क्षमता राख्नुपर्छ ।


नेपालमा राजनीतिक संकट किन आयो भने उपभोग र परनिर्भरता बढी भयो । आर्थिक विषयमा हामीले गम्भीर भएर योजना बनाएनौँ । समाजमा यति धेरै भ्रष्टाचारको समस्या आउनु भनेको एउटा कारण यो पनि हो । पार्टीहरूमा यति धेरै आर्थिक विचलन किन देखापर्‍यो ? नेता र कार्यकर्ता यति धेरै भ्रष्टाचार र तस्करीमा किन लाग्छन् ? त्यसको मुख्य कारण भनेको आर्थिक दृष्टिकोण नभएरै हो । पैसा कसरी बन्छ ? पुँजी कसरी उत्पादन हुन्छ ? मालवस्तु कसरी उत्पादन हुन्छ ? त्यसले जनताको जीवनलाई कसरी सुखमय बनाउँछ भन्ने कुराको ज्ञान नै कम्युनिस्ट आन्दोलनमा एकदम कमजोर भयो । खाली भाषणमा मात्रै समय गयो । सबै पैसा कमाउने जिम्मा पुँजीवादीलाई जस्तो, सबै काम गर्ने जिम्मा अरूलाई दिएर आफूचाहिँ सुखभोग मात्रै गर्न खोज्ने प्रवृत्ति विकसित हुँदा समस्या आयो । उत्पादनविनाको सुखभोग भ्रष्टाचार हो, शोषण हो । जुन नेता उत्पादन कार्यमा सहभागी नभएर ठूलो सुखभोगको चाहना राख्छ, त्यो एकप्रकारले पार्टीमाथि र समाजमाथि पनि शोषण हो । कार्यकर्ता र जनताका लागि त्यस्तो काम अन्ततः स्वीकार्य हुँदैन । 


उत्पादनसँग सम्बन्ध
नेतृत्वले राजनीतिक कार्य मात्रै गर्ने भन्ने चलन गलत छ । राजनीतिक कार्य जीवन रुपान्तरण कार्यसँग जोडिन जरुरी छ । जुन आर्थिक कार्य हो । पुँजी उत्पादन नगरेसम्म आन्दोलनमा गति पैदा हुँदैन । जीवनमा हराभरापन आउँदैन भन्ने कुरा हामीले व्यवहारतः बुझ्ने मौका पायौँ ।


सबैभन्दा पहिला आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता र कार्यकर्ता हुनुपर्छ । त्यसपछि विस्तारै आत्मनिर्भर जनता र आत्मनिर्भर देश बनाउन सकिन्छ । यसतर्फ हामी लाग्नैपर्छ । त्यो आधार हामीसँग छ । त्यो गर्नुपर्छ भन्ने विश्वास हाम्रो पार्टीमा पैदा भएको छ । र, परिणाम पनि आउन थालेको छ ।


अहिले त हामी कृषिमा मात्रै बढी फोकस भएका छौँ । कृषिमा अहिले हामीलाई कुनै समस्या छैन । हामीले उपयोग गर्नेभन्दा बढी उत्पादन भएको छ । यसलाई हामीले बिस्तारै उद्योग र व्यापारमा पनि प्रवेश गराउने सोचमा छौँ । हामीसँग यस्तो आत्मविश्वास छ, हामी आफैँ त गर्छौँ, गर्छौँ । अरूलाई पनि यो मार्गमा ल्याउन खोजिरहेका छौँ । 


म केही समयअघि जाजरकोट भ्रमणमा गएँ । हामीले भूकम्पपीडित जनताको सयभन्दा बढी घर बनायौँ । फोटो खिचेर हाल्ने खालले होइन, जनताले ढुक्कले बस्न सक्ने गरी घर बनाइदियौँ । भूकम्प प्रभावित क्षेत्रमा जाँदा जनता आफैँले हामीले पठाएको चामलको कुरा उठाए । त्यसले उत्पादनमा लाग्न हामीलाई झन् उत्साहित बनाएको छ । खान, लाउन र शिक्षाका लागि देश छाडेर जानुपर्ने अवस्था छैन भन्ने हाम्रो अभ्यासले देखाएको छ । हामीसँग प्रशस्त आधार छन् । तर, राज्यले स्पष्ट नीति लिन सकेन । त्यही कारण यति धेरै स्रोतसाधन भएको देशमा हामी ‘मगन्ते’जस्तो भएर मरुभूमिमा भौँतारिनुपर्ने अवस्था छ । यस्तो अवस्था आएको राज्यकै कारण हो । नेतृत्वकै कारणले हो । यो नेता र व्यवस्थाको असफलता हो । उनीहरूले जनतालाई प्रेरित गर्नै सकेका छैनन् । सबै नेताका छोराछोरी विदेश, सबै उद्योगी, व्यवसायीका छोराछोरी विदेश, जर्साबको घर पनि विदेश, छोराछोरी पनि विदेश, सबै फस्र्ट क्लास अफिसरको विदेशमा घर, छोराछोरी उतै, भाषा पनि विदेशी । अनि कसरी बन्छ देश ? देश कसले बनाउने ? त्यसकारण हामी सक्छौँ, नेपाललाई बनाउन सकिन्छ भन्ने आत्मविश्वास हामीसँग छ ।


यदि, सरकारले सहयोग गर्‍यो भने जुम्लामा १० हजार स्याउको बिरुवा लगाउने हाम्रो योजना छ । केही बिरुवा हामी पार्टीकै स्रोतबाट लगाउँदै छौँ । नियम, कानुन भन्दै राज्य पन्छिएन भने १० हजार बिरुवा लगाउने सोच हाम्रो छ । गर्न सकिन्छ । हामीले यो वर्ष मात्रै दुई–तीन हजार कागती र सुन्तलाको बिरुवा रोपेका छौँ ।


हाम्रो उत्पादनमा एकीकृत स्वामित्व हुन्छ । निजी र सामूहिकको मिश्रण हुन्छ । जनता र कार्यकर्ताले मात्रै गर्ने सामूहिकताको अर्थ छैन । नेतृत्व सामूहिक हुनुपर्छ । नेताहरूले सुखभोग गरेर आलिसान जीवन बिताउने अनि कार्यकर्तालाई सामूहिक काम गर भन्नुको औचित्य नै छैन । पैसा कमाउने वेला निजी भन्ने अनि दुःख गर्ने वेला सामूहिक भन्ने हो भने त्यस्तो सामूहिकको अर्थ रहँदैन । त्यो असफल भइसक्यो । निजी त संकटमै छ । निजीबाट मात्रै हुँदैन । अमूर्त सामूहिक पनि काम लाग्दैन । त्यसकारण हामीले एकीकृत स्वामित्व भनेका छौँ । काम गर्नेले मुनाफा पाउनुपर्छ । र, उत्पादनबाट समाजले पनि लाभ पाउनुपर्छ । संस्थाले पनि लाभ पाउनुपर्छ । जस्तो कि, हाम्रो सहकारीमा काम गर्ने हरेक युवाले मुनाफाको निश्चित प्रतिशत पाउँछ । संस्थाले पनि पाउँछ र पार्टीले पनि पाउँछ । व्यक्ति, संस्था र पार्टीले दुःख पनि गर्छ, प्रतिफल पनि पाउँछ । हामीले प्रतिफल १०० लाई ४० र ६० प्रतिशत बनाएका छौँ । अनि, ४० लाई पनि १०० बनाएर फेरि ७० र ३० बनाएका छौँ । त्यसमध्ये एउटा प्रतिशत उत्पादन गर्ने साथीले पाउनुहुन्छ । अहिले पार्टीले नै व्यवस्थापन गरेको हुनाले ६० प्रतिशत पाउँछ । ४० प्रतिशत संस्था र उत्पादकले पाउँछ ।


फेरिएको परिस्थिति
परिस्थिति फेरियो, मनस्थिति पनि फेरियो । मनस्थिति भनेको हिजो पाइएन, त्यसकारण गरौँ भन्नेबाट होइन । नेपाल एकदम नयाँ ठाउँमा पुगेको छ । हामीले हेक्का नराख्ने हो भने हाम्रो देशको भविष्य खतरामा परेको छ । जनताको भविष्य खतरामा परेको छ । अर्को मनस्थिति भनेको के हो भने, केवल आलोचना मात्रै होइन । नेतृत्व गर्न पनि सबैले सबैलाई तयार गर्नुपर्छ । हामी आफैँ पनि तयार हुनुपर्छ । त्यो मनस्थिति पनि हामीले बदलेका छौँ ।


म अहिले परिकल्पना गर्छु, माओवादीको जस्तो स्रोतसाधन र अहिले हामीले गरेजस्तो उत्पादन मिलाउन पाएको भए देशलाई त अर्कै बनाइसक्थ्यौँ । १० वर्षमा त साँच्चै अर्को बनाइन्थ्यो भन्ने एउटा आत्मविश्वास छ । फेरि उत्साह थपिएको महसुस भएको छ । सहकारीमा काम गर्ने, कम्युनमा काम गर्ने साथीहरूसँग केही समयअघि राप्ती क्षेत्रमा भेट भएको थियो । पहिला जनयुद्धमा हामीले गरेको प्रयोग ठीक थिएन कि के हो भन्ने थियो । असफल भइयो भन्ने मनस्थिति थियो । अहिले हामीले सफल प्रयोग गरिसकेपछि त्यहाँ पार्टीले नै मिस गरेको थियो भन्ने ढंगबाट मानिसहरू प्रेरित भएका छन् ।

 

कम्युनका घरहरू फेरि सरसफाइ हुन थालेका छन् । हामी बनाउँछौँ भन्ने वातावरण बन्दै छ । सहकारीमा आउन साथीहरू उत्साहित हुनुहुन्छ । रुपान्तरित हुने मनस्थिति पनि हाम्रो बदलिएको छ । हामीले किन नगर्ने ? प्रचण्ड कमरेडहरूमा पनि केही न केही ज्ञानको जरुर विकास भएको छ । त्यसलाई पनि हामीले किन नपढ्ने ? किन अध्ययन नगर्ने ? संसदीय केन्द्रमा बसेर घट्दा वा बढ्दा के कस्तो अनुभव छ ? एमाले र एकीकृत समाजवादीसँग पनि किन बहस नगर्ने ? हामीसँग पनि अनुभव, शिक्षा छन् । यी विषयलाई जोड्ने वेला आएको छ । कुनै पनि मान्छे पूर्ण हुँदैन भनेजस्तै पार्टी पनि पूर्ण हुँदैन । केही सबल हुन्छन्, केही दुर्बल हुन्छन् । नराम्रो पक्षलाई रुपान्तरण र राम्रोलाई थप गर्दै जानुपर्छ । त्यो समय अहिले आएको छ । बहस गर्न हामी योग्य छौँ । हामी गर्र्छौँ भन्ने आत्मविश्वास अझै बढेर आएको छ ।