• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
मीनराज बसन्त
२०८० माघ २७ शनिबार ०८:३१:००
समाज

५ प्रश्न : प्रश्नहरूको बोझ हल्का गर्न कविता लेख्छु

२०८० माघ २७ शनिबार ०८:३१:००
मीनराज बसन्त

१ हालसालै ‘पर्वत पर्वतमा बटुवा घाम’ प्रकाशित भएको छ । तपाईंको कविता लेखनको तीन दशकलाई फर्केर हेरौँ । समयान्तराल हेर्दा हरेक दशकजसो कवितासंग्रह आइरहेका देखिन्छन् । एकपछि अर्को संग्रह प्रकाशनका लागि कविहरू अधैर्य बनिरहेको वेला तपाईंचाहिँ एक–एक दशकको फरकमा संग्रह निकाल्नुहुन्छ । संग्रह निकाल्न अरूलाई जस्तो हतार तपाईंलाई किन लाग्दैन ?


लेख्ने मानिसको आन्तरिक संवेगको अवस्था, बाहिर देखिएको घटनाले गरेको चोटिलो स्पर्श र सोचको मन्थनले निस्कने कलात्मक प्रस्तुति सधैँ भइरहने घटना होइनन् । राम्रो कविता आफैँमा एक दुर्लभ संयोग हो । एक दशकपछि संग्रह आउने खास कारण त यस्ता संयोग कम घटित भएर नै होला । मनमा उथलपुथल नभई बल गरेर कविता कहिले लेख्दिनँ । अर्काे कुरा कवितामा नयाँ कुरा होस्, आफ्नै कुराको पुनरावृत्ति नहोस् भन्ने प्रयास पनि रहन्छ । संग्रह लामो अवधिपछि निस्किँदा ताजापन र नवीनता आउँछ भन्ने मेरो विश्वास छ । अर्काे कुरा, फिरन्तेजस्तो मेरो जीवनयात्रा आफ्नै प्रकारका उल्झनमा भएकाले लामो समय लाग्ने बनाउँदो हो । 


२ तपाईं कवितामा कोमलता लेख्न रुचाउनुहुन्छ । समाजका राजनीतिक, सामाजिक तथा सांस्कृतिक मुद्दामािथ तपाईं अलि कम लेख्नुहुन्छ भन्ने सुनिन्छ । एउटा कविलाई आफूसँगसँगै समाजले बाँचिरहेको, भोगिरहेको समयकालखण्ड नलेख्ने छुट हुन सक्छ ?


कविले के लेख्ने, कस्तो लेख्ने नितान्त उसको कुरा हो । सबैले एकैप्रकारको कविता लेख्नुपर्छ भन्ने होइन । तपाईंले भनेजस्ता कविता प्रशस्त आइरहेका छन् । छापिने, चर्चित हुने र पुरस्कृत हुने त्यस्तै कविता हुन् अचेल । तर, मेरो हकमा भन्नुपर्दा कविता मैले आफ्ना लागि लेखेको हो । आफैँले रुचाएर हिँडेको फरक बाटो हो यो । लेख्दा आनन्दको अनुभूति हुने भएर, आफूलाई प्रश्नहरूको बोझबाट हल्का गर्न लेखेको हुँ । कविता लेखेर आनन्दित नहुँदो हुँ त लेख्ने थिइनँ । त्यो अर्कै कुरा कि लेखिसकेपछि कविता पाठकको बन्छ र यसको उपयोग र उद्देश्य कविले सोचेभन्दा फरक पनि बन्छ ।मलाई जीवनबोधि कविता मनपर्छ । कविताको कोमलता, कलात्मकता, चिन्तनको एक तहमा उभिएर उसले बोलेको भाषा मनपर्छ । तर, कविले आफू बाँचेको समय लेख्छ । मेरा कविता मेरो समय वा वर्तमानभन्दा पर छन् भन्ने मलाई लाग्दैन । यत्ति हो, सपाट भाषा वा नाराले मलाई कहिल्यै आकर्षित गरेन ।

मलाई जीवनबोधी कविता मनपर्छ । कविताको कोमलता, कलात्मकता, चिन्तनको एक तहमा उभिएर उसले बोलेको भाषा मनपर्छ । तर कविले आफू बाँचेको समय लेख्छ । मेरा कविता मेरो समय वा वर्तमानभन्दा पर छन् भन्ने मलाई लाग्दैन ।


३ समीक्षकहरू भन्छन्– तपाईंका तीनवटै संग्रहमा कविताको लेखन शैली उस्तै–दुरुस्तै देखिन्छ । कतिले यसलाई कविले आफ्नो शैली पछ्याएको वा धार परिवर्तन नगरी ठीकै गरेको भन्छन् । तर, कतिले फेरि क्षितिजका कवितामा नयाँ शैलीशिल्प विकास हुन सकेन, पुनरावृत्ति भइरह्यो भनेर गुनासो पनि गर्छन् नि !


यो कुराचाहिँ कसैले मलाई नै ‘तपाईं  जहिले भेट्दा नि रमेश क्षितिजजस्तै देखिनुहुन्छ’ भनेजस्तो हो कि ? मेरो कविताको शिल्प, चिन्तन र मौलिकता मजस्तो नै हुने हो । नत्र मेरो कविता भनेर कसरी थाहा हुन्छ ? त्यही मेरोपन र शैलीलाई स्थापित गर्न त मैले लामो संघर्ष गरे हुँला । म मानिस उही हुँ । तर बाल्यकाल, युवा र प्रौढ अवस्थामा केही शारीरिक र मानसिक परिवर्तन हुन्छ । त्यसरी नै मेरो कविताको शैली वा पहिचान मजस्तो हुने भयो । तर, यसका विषयवस्तु, चिन्तन र केही प्रयोग फरक र गतिशील भइरहन्छन् । आफ्नो प्रकारको विकास र समृद्धि भइरहन्छ लेखन यात्रामा पनि । त्यसैले मेरा संग्रहमा केही एकरुपता छ भने धेरै विविधता पनि छ । संग्रह तयारी गर्दा सबैभन्दा बढी सोच्ने प्रश्न नै यही हो– मेरा पहिलेका संग्रहभन्दा के कारणले फरक छ यो ? के छ यसको नवीनता ?


४ धेरै कवि/लेखक निजामती सेवामा रहँदै साहित्यसाधना गरिरहेको पाइन्छ । समग्रमा निजामती सेवाप्रति आमजनगुनासो र असन्तुष्टि सुनिन्छ । एक कोमल कवि हुनुका नाताले आफूले काम गरिरहेको क्षेत्रप्रति आममानिसको यस्तो गुनासो सुन्दा कस्तो महसुस हुन्छ ? साहित्यसाधनाका लागि चाहिने भावना, संवेदना, नैतिकता वेलावेला डगमगाउँछ कि भन्ने डर लाग्छ? 


निजामती सेवा मात्र किन राजनीति, पत्रकारिता, साहित्य कुनै पनि क्षेत्रमा त्यही समाजका सदस्यहरू जाने हो, छुट्टै ठाउँबाट आउने त होइन । त्यसैले निजामती सेवा पनि त्यस्तै हुन्छ, जस्तो यो समाज छ । मूल्य, मान्यता र आदर्शले समाज परिचालन भयो भने त्यसको विस्तार सबैतिर हुने हो । समाजमा मूल्यको क्षयीकरण भयो भने त्यसको प्रभाव सबैतिर हुन्छ । जहाँ पनि असल र खराब पक्ष हुन्छ नै । निजामती सेवामा पनि सुधारको खाँचो छ भन्ने कुरा म मान्दछु । तर, आफ्नो नैतिकता, इमान र निष्ठाले चलेका मानिस पनि समाजमा छन् । हामीले त्यस्ता मानिसलाई आदर्श बनाएर हिँड्नुपर्छ । कविताले त अझ मानिसलाई मूल्यबोध गर्न सघाउनुपर्छ । कवि भनेको सपना देख्ने मानिस हो । म हाम्रो समाज सुन्दर भएको सपना देख्छु । आफूले यो समाजलाई केही राम्रो कर्मले सजाउन पाए हुन्थ्यो भने सदिच्छा पनि हुन्छ नै ।


५ पछिल्लो समय कविको उपस्थिति विशेष गरी आख्यानमा बाक्लिँदै गइरहेको छ । यसमा एकाध कारण बजार, बिक्री पनि हुन सक्लान् । तर, कविता लेखेपछि आख्यानमा जानैपर्ने नैतिक दबाबको बाध्यात्मक स्थिति निर्माण हुँदै छ । अरू कविझैँ तपाईं पनि आख्यानमा हामफाल्ने सम्भावना कत्तिको छ ?


यसलाई हाम फाल्ने नभनौँ । साहित्य साहित्य नै हो, चाहे त्यो जुनसुकै विधा किन नहोस् । कविता लेखिरहेको मानिस आख्यानमा आउनु स्वाभाविक लाग्छ मलाई । कविताले भाषाको सुन्दर जग बसाइदिन्छ, त्यसैले कवितालेखनको अभ्यासले गद्यलेखन पनि सुरुचिपूर्ण बन्छ । आफूलाई जुन विधामा अभिव्यक्त गर्न सहज हुन्छ त्यसैमा लेख्ने हो । यत्ति हो, केही नयाँ कुरा दिन सकिँदैन भने यताबाट उता लाइन बस्न जानु वा दलबदल गर्नुको कुनै तुक रहँदैन ।समय व्यवस्थापनको कठिनाइ नहुँदो हो त म पनि उपन्यास लेखिसकेको हुन्थे हुँला । तर, तपाईंको यो प्रश्नको जवाफ अर्को वर्ष मेरो कथासंग्रह आउने समयमा अझ राम्ररी दिनेछु है ।