• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
चिरञ्जीवी घिमिरे
२०८० माघ २७ शनिबार ०८:५७:००
खेल

नागरिकता बन्यो सपनाको बाधक

२०८० माघ २७ शनिबार ०८:५७:००
चिरञ्जीवी घिमिरे

 

झापाको दमक–४ कृष्ण मन्दिरकी क्रिकेटर हिरन्मई राय(१७)को सपना नेपालको जर्सी लगाएर देशलाई विश्वसामु पुर्‍याउने थियो । सानै उमेरदेखि क्रिकेटर बन्ने सपना बोकेकी हिरन्मईले १५ वर्षकै उमेरमा नेपालको जर्सी लगाउँदै सपना पूरा गरिन् । सिनियर महिला क्रिकेट टिमको महत्वपूर्ण सदस्य बन्दै हिरन्मईले ०७९ जेठमा युगान्डाविरुद्ध खेलिन् । लेगस्पिनर हिरन्मईले पहिलो खेल्दै ‘जादु’ देखाइन् । अर्थात् राष्ट्रिय टिमको जर्सी लगाएर डेब्यु गरेको खेलमै म्यान अफ द म्याच भइन् । यू–१९ मा उनको खेलबाट प्रभावित भएर सिनियर टिममा ल्याइएको थियो । त्यसवेला युगान्डाविरुद्धको शृंखलामा नेपालले लगातार तीन खेलमा हार व्यहोरेको थियो । हिरन्मई टिममा आएसँगै उनको योगदानले नेपालले जित हात पारेको थियो । तर, जादुमय खेल देखाउने हिरन्मईको राष्ट्रिय टिमको यात्रा अघि बढ्न सकेन । डेब्युको केही महिनामै उनी राष्ट्रिय टिमबाट बाहिरिनुपर्ने बाध्यता आइपर्‍यो । अहिले उनी टिमबाट मात्र होइन, देशबाटै बाहिरिएकी छन् । उनको क्रिकेट करिअरमा ‘ब्रेक’ लाग्ने एउटै कारण बन्यो, नागरिकता । 

 

उनका बुबा वीरेन साढे चार दशकदेखि नेपाल बसेको भए पनि नेपाली कागजात नबन्दा हिरन्मईको नागरिकता बन्न सकेन । वीरेनसँग जन्मदर्ता छ । तर, नागरिकता छैन । राष्ट्रिय टिममा परेकी हिरन्मई ०७९ असारमा एसिसी महिला टी–२० खेल्न मलेसिया जाने वेलामा नागरिकता नभएपछि उनको यात्रा रोकियो । ०७९ वैशाखमा एसइई थियो । एसइई हुनुभन्दा केही दिन पहिला नै हिरन्मईलाई मलेसियामा हुने एसिसी महिला टी–२० छनोट खेलका लागि प्रशिक्षणमा बोलाइयो । उनले एसइईभन्दा राष्ट्रिय टिममै भविष्य देखिन् । परीक्षा दिन पाइनन् । परीक्षा छुटाएर प्रशिक्षण गरे पनि कागजात नपुगेका कारण मलेसियामा हुने खेल गुमाउन पुगिन् । खेल मात्र गुमाइनन्, देशबाट खेल्ने सपनाको पनि ‘हत्या’ भयो । त्यसपछि उनी राष्ट्रिय टिममा पर्नै सकिनन् । देशले उनलाई बिर्सियो । 

 

नेपाली क्रिकेटमै केही गर्न सपना बुनेर तत्कालीन प्रदेश–१ को यू–१९ टोलीबाट खेल्दै राष्ट्रिय टिममा पुगेकी हिरन्मई अहिले भारत पुगेकी छन् । ‘नागरिकताका कारण मलेसिया खेल्न जान पाइनँ । त्यसपछि मलाई राष्ट्रिय टिममा नै पारिएन । देशका लागि केही गरौँ भनेको देश नै छाड्नुपर्ने बाध्यता आयो,’ हिरन्मई भन्छिन्, ‘नेपालमा खेल्न पाएको भए केही गर्थेँ भन्ने लाग्छ । तर, नपाएपछि मन अमिलो बनाएर भारतको जल्पाइगुडी आएर प्रशिक्षणमा सहभागी भइरहेको छु । यहीँको टिमबाट खेलिरहेको छु । अब यतैको टिमबाट खेल खेल्छु ।’ 

 

                                                                     ०००    

 

हिरन्मईका बुबा वीरेन ०३६ सालमा भारतको जल्पाइगुडीबाट नेपाल आए । घुम्न नेपाल आएका वीरेनलाई नेपालले यसरी तान्यो कि फर्कनै मन लागेन । अर्काको खेती गर्दै मजदुरी गर्दै नेपाल नै बस्ने निधो गरे । त्यसयता उनी नेपालमै छन् । तर, नेपाली कागजात भने उनले बनाएनन् । ‘पहिला त कागजातको मतलब नै थिएन । मैले नेपालको केही कागजात नै बनाइनँ,’ उनले भने । भारतबाटै विवाह गरेर श्रीमती ल्याए पनि उनी नेपाल नै बसे । अहिले दमक–४ कृष्ण मन्दिरमा चिया पसल गरेर जीविकोपार्जन गरिरहेका छन् । ‘दुई जम्लिया छोरी र एक छोरा नेपालमै जन्मिए । जन्मदर्ता छ । तर, नागरिकता बनेन,’ उनी भन्छन्, ‘राष्ट्रिय टिममा परेपछि मैले छोरीका लागि नागरिकता बनाउन वडा कार्यालय, प्रशासन त कति धाएँ–कति । तर, बन्न सकेन ।’

 

वीरेन खेलकुदप्रति खुबै चासो राख्थे । उनलाई क्रिकेट असाध्यै मन पर्ने । उनका दुई जम्लिया छोरी हिरन्मई र हैमवती पनि क्रिकेटर नै बने । ‘बाँसको भाटालाई ब्याड र ढुंगालाई बल बनाए खेल्थे । गरिब मान्छे मन अमिलो हुन्थ्यो,’ उनी भन्छन्, ‘मैले मुंग्रोको ब्याड र रबरको बल बनाइदिन्थेँ । दुईवटी छोरीले यसरी नै क्रिकेट सिकेका हुन् ।’ उनीसँग ती पुराना काठका दुइटा ब्याट अझै सुरक्षित छन् । गरिबी र अभावमै जीवन बताइरहेका वीरेनको ठूलो सपना छोरीहरूले नेपालको जर्सी लगाएर देशका लागि क्रिकेट खुलून् भन्ने थियो । जेठी छोरी हिरन्मईले नेपालको जर्सी लगाएर दुइटा अन्तर्राष्ट्रिय खेल पनि खेलिन् । ‘छोरीको खेल टिभीबाट हेरेँ । गर्वले छाती फुलेको थियो । त्योवेला को त म बयान गर्नै सक्दिनँ । धेरै दिन खाना नपाएर अत्यन्तै भोकाएको मान्छेलाई उसले मन पराउने खाना दिँदा कस्तो हुन्छ ? त्यस्तै महसुस भएको थियो,’ वीरेन भन्छन्, ‘मैले दुःख गरेर पढाएँ, हुर्काएँ । अहिले पनि म दुःखै गर्छु । यिनीहरूले पैसा कमाउँछन् र मैले सुख पाउँछु भन्ने छैन । बरु यिनीहरूको नाम लिँदा समाजले, देशले गर्व गरोस्, यिनीहरू शिर ठाडो बनाएर हिँड्न सकून् । सम्मान र इज्जतका साथ बाँच्न सकून् ।’

 

तर, उनको खुसी धेरै दिन टिक्न सकेन । जब नागरिकताका कारण छोरीको राष्ट्रिय टिमको यात्रा रोकियो, त्यसपछि भने उनी विक्षिप्त छन् । ‘अब छोरीले नागरिकता पाउन सकिन र देशको नामबाट खेल नै खेल्न पाइन, त्यसपछि साह्रै दुःख लाग्यो,’ उनले भने, ‘देशका लागि खेल्छु भन्ने, देशको नाम राख्छु भन्ने प्रतिभालाई देशले चिन्न सकेन ।’ 

 

भारतमा उनको केही छैन । जे छ नेपालमा छ । दुःखसुखमा साथ दिने छिमेकी छन् । तर, देशले उनलाई भारतीय बनायो । त्यति मात्र होइन, क्रिकेटमा भविष्य खोज्न भर्खर पाइला चालेकी छोरीको पाइला नै रोकिदियो । ‘भारतमा बुबाआमा, परिवार त्यागेर त्यो वेला नेपाल बसेँ । अहिले त उता बुबाआमा पनि हुनुहुन्न,’ उनी भन्छन्, ‘म त नेपाललाई आफ्नै देश ठान्थेँ । तर, नेपालले त मलाई भारतीय देख्यो ।’ 

 

अहिले उनले छोरीलाई बाध्य भएर भारत लगेर राखेका छन् । ‘नेपालमा उसको भविष्य बिग्रिने भयो भनेर भारतमा लगेर राखिदिएको छु । पाँच महिनादेखि उतै खेल्दै छे,’ भक्कानिँदै वीरेन भन्छन्, ‘छोरीहरूले नेपालमै केही गरून् भन्ने लागेको थियो । अब नहोला जस्तो छ ।’

 

हैमवतीको भविष्यको चिन्ता

 

हिरन्मईकी जम्लिया बहिनी हैमवती पनि क्रिकेटर हुन् । उनी फास्ट बलरको रूपमा कोशी प्रदेशबाट क्रिकेट खेल्दै आएकी छन् । नेपालका विभिन्न ठाउँमा हुने क्रिकेट प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै खेल खेल्न पुग्छिन् । अब उनको सपना छ–नेपालको राष्ट्रिय टिमको जर्सी लगाउने । तर, दिदीको त्यो बहिर्गमनले उनलाई बिखलबन्द बनाएको छ । दिदी हिरन्मईको जस्तै उनको पनि जन्मदर्ता छ । तर, नागरिकता छैन । ‘यू–१९ छनोटका लागि नागरिकता वा नाबालिका परिचयपत्र चाहिन्छ भन्दै थिए । मसँग त छैन,’ उनी भन्छिन्। 

 

नेपाली क्रिकेटमा योगदान गर्ने उनको सपना पनि दिदीको जस्तै हुन्छ कि भन्ने चिन्ता छ, हैमवतीलाई । ‘मेरो बुबा लामो समयदेखि यहीँ दुःख गर्नुभएको छ । हामी यहीँ जन्मियौँ । यहीँ हुर्कियौँ । क्रिकेटमा यो देशको नाम राख्ने सपना छ,’ उनी भन्छिन्, ‘तर, राष्ट्रिय टिममा पुग्दासम्म नागरिकता नभएकै कारण मलाई पनि दिदीको जस्तै होला भन्ने डर छ ।’ उनी अहिले कक्षा १२ मा अध्ययनरत छिन् । कक्षा १२ को पढाइपछि भारतमै गएर प्रशिक्षण लिन र उतै खेल्न बुबा वीरेनले आग्रह गरिरहेका छन् । तर, उनलाई भारतमा होेइन, नेपालमै खेलेर नेपालको नाम राख्ने सपना छ । ‘बुबाले भारत जानु भन्दै हुनुहुन्छ । तर, म यहीँ केही गर्छु । सरकारले हाम्रो समस्या बुझिदेओस्,’ उनी भन्छिन्, ‘मेरो पनि क्रिकेट करिअरमा ब्रेक लाग्छ कि भन्ने डर छ । यस्तो नहोस् ।’

 

नागरिकताकै कारण छोरीहरूले खेल्न नपाउने हुन् कि भनेर भारत जाऊ भनेको बुबा वीरेन बताउँछन् । ‘जेठी छोरीले भोगेको मानसिक यातना कान्छीले भोग्न नपरोस् भनेर वेलैमा भारत जानू भनेको हुँ,’ उनी भन्छिन्, ‘खेल खेल्न छोरीहरूलाई मेरो सधैँ हौसला रहन्छ । एउटा खेल खेल्न जाँदा पाँच हजार खर्च हुन्छ । मसँग हुँदैन । तर, ऋण गरेर पठाउँछु । पैसाका कारण यिनीहरूको सपना नमरोस् भन्ने लाग्छ ।’

 

हिरन्मई र हैमवतीका बुवाको नेपाली नागरिकता र नेपाली सरकारी कागजात छैन । नेपालको संविधानअनुसार उनीहरू नागरिकता पाउनबाट वञ्चित छन् । नेपालको संविधान जारी हुनुपूर्व जन्मको आधारमा नेपाली नागरिकता वितरण हुँदै आएको थियो । तर, अहिलेको संविधानमा जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गर्नेसम्बन्धी व्यवस्था छैन । तसर्थ हिरन्मई र हैमवती नागरिकता पाउनबाट वञ्चित हुन पुगेका छन् । संविधानको धारा ११(३) मा संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भए पछि वंशजको आधारमा नेपालको नागरिकता दिने व्यवस्था छ । उनीहरूको यो प्रावधान पूरा हुँदैन । उनका बुवा नेपाल आई मजदुरी गरे । नेपालको मायाले आफ्नो देश बिर्से । तर, नेपालको नागरिक पाउन योग्य भएनन् । यसको असर नेपालमै जन्मिएर यही देशमा क्रिकेटमा केही गर्ने सपना बोकेका वीरेनका छोरीहरूमा परेको छ।