• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका
२०८० माघ २७ शनिबार ०८:५७:००
खेल

नागरिकता बन्यो सपनाको बाधक

२०८० माघ २७ शनिबार ०८:५७:००
नयाँ पत्रिका

झापाको दमक–४ कृष्ण मन्दिरकी क्रिकेटर हिरन्मई राय(१७)को सपना नेपालको जर्सी लगाएर देशलाई विश्वसामु पुर्‍याउने थियो । सानै उमेरदेखि क्रिकेटर बन्ने सपना बोकेकी हिरन्मईले १५ वर्षकै उमेरमा नेपालको जर्सी लगाउँदै सपना पूरा गरिन् । सिनियर महिला क्रिकेट टिमको महत्वपूर्ण सदस्य बन्दै हिरन्मईले ०७९ जेठमा युगान्डाविरुद्ध खेलिन् ।

 

लेगस्पिनर हिरन्मईले पहिलो खेल्दै ‘जादु’ देखाइन् । अर्थात् राष्ट्रिय टिमको जर्सी लगाएर डेब्यु गरेको खेलमै म्यान अफ द म्याच भइन् । यू–१९ मा उनको खेलबाट प्रभावित भएर सिनियर टिममा ल्याइएको थियो । त्यसवेला युगान्डाविरुद्धको शृंखलामा नेपालले लगातार तीन खेलमा हार व्यहोरेको थियो । हिरन्मई टिममा आएसँगै उनको योगदानले नेपालले जित हात पारेको थियो । तर, जादुमय खेल देखाउने हिरन्मईको राष्ट्रिय टिमको यात्रा अघि बढ्न सकेन । डेब्युको केही महिनामै उनी राष्ट्रिय टिमबाट बाहिरिनुपर्ने बाध्यता आइपर्‍यो । अहिले उनी टिमबाट मात्र होइन, देशबाटै बाहिरिएकी छन् । उनको क्रिकेट करिअरमा ‘ब्रेक’ लाग्ने एउटै कारण बन्यो, नागरिकता । 

जादुमय खेल देखाउने हिरन्मईको राष्ट्रिय टिमको यात्रा अघि बढ्न सकेन । डेब्युको केही महिनामै उनी राष्ट्रिय टिमबाट बाहिरिनुपर्ने बाध्यता आइपर्‍यो । अहिले उनी टिमबाट मात्र होइन, देशबाटै बाहिरिएकी छिन् । उनको क्रिकेट करिअरमा ‘ब्रेक’ लाग्ने एउटै कारण बन्यो, नागरिकता ।


उनका बुबा वीरेन साढे चार दशकदेखि नेपाल बसेको भए पनि नेपाली कागजात नबन्दा हिरन्मईको नागरिकता बन्न सकेन । वीरेनसँग जन्मदर्ता छ । तर, नागरिकता छैन । राष्ट्रिय टिममा परेकी हिरन्मई ०७९ असारमा एसिसी महिला टी–२० खेल्न मलेसिया जाने वेलामा नागरिकता नभएपछि उनको यात्रा रोकियो । ०७९ वैशाखमा एसइई थियो । एसइई हुनुभन्दा केही दिन पहिला नै हिरन्मईलाई मलेसियामा हुने एसिसी महिला टी–२० छनोट खेलका लागि प्रशिक्षणमा बोलाइयो । उनले एसइईभन्दा राष्ट्रिय टिममै भविष्य देखिन् । परीक्षा दिन पाइनन् । परीक्षा छुटाएर प्रशिक्षण गरे पनि कागजात नपुगेका कारण मलेसियामा हुने खेल गुमाउन पुगिन् । खेल मात्र गुमाइनन्, देशबाट खेल्ने सपनाको पनि ‘हत्या’ भयो । 


नेपाली क्रिकेटमै केही गर्न सपना बुनेर तत्कालीन प्रदेश–१ को यू–१९ टोलीबाट खेल्दै राष्ट्रिय टिममा पुगेकी हिरन्मई अहिले भारत पुगेकी छन् । ‘नागरिकताका कारण मलेसिया खेल्न जान पाइनँ । त्यसपछि मलाई राष्ट्रिय टिममा नै पारिएन । देशका लागि केही गरौँ भनेको देश नै छाड्नुपर्ने बाध्यता आयो,’ हिरन्मई भन्छिन्, ‘नेपालमा खेल्न पाएको भए केही गर्थेँ भन्ने लाग्छ । तर, नपाएपछि मन अमिलो बनाएर भारतको जल्पाइगुडी आएर प्रशिक्षणमा सहभागी भइरहेको छु । यहीँको टिमबाट खेलिरहेको छु । अब यतैको टिमबाट खेल खेल्छु ।’ 


हिरन्मईका बुबा वीरेन ०३६ सालमा भारतको जल्पाइगुडीबाट नेपाल आए । घुम्न नेपाल आएका वीरेनलाई नेपालले यसरी तान्यो कि फर्कनै मन लागेन । अर्काको खेती गर्दै मजदुरी गर्दै नेपाल नै बस्ने निधो गरे । त्यसयता उनी नेपालमै छन् । तर, नेपाली कागजात भने उनले बनाएनन् । ‘पहिला त कागजातको मतलब नै थिएन । मैले नेपालको केही कागजात नै बनाइनँ,’ उनले भने । भारतबाटै विवाह गरेर श्रीमती ल्याए पनि उनी नेपाल नै बसे । अहिले दमक–४ कृष्ण मन्दिरमा चिया पसल गरेर जीविकोपार्जन गरिरहेका छन् । ‘दुई जम्लिया छोरी र एक छोरा नेपालमै जन्मिए । जन्मदर्ता छ । तर, नागरिकता बनेन,’ उनी भन्छन्, ‘राष्ट्रिय टिममा परेपछि मैले छोरीका लागि नागरिकता बनाउन वडा कार्यालय, प्रशासन त कति धाएँ–कति । तर, बन्न सकेन ।’


वीरेनलाई क्रिकेट असाध्यै मन पर्ने । उनका दुई जम्लिया छोरी हिरन्मई र हैमवती पनि क्रिकेटर नै बने । जेठी छोरी हिरन्मईले नेपालको जर्सी लगाएर दुइटा अन्तर्राष्ट्रिय खेल पनि खेलिन् । ‘छोरीको खेल टिभीबाट हेरेँ । गर्वले छाती फुलेको थियो । त्योवेला को त म बयान गर्नै सक्दिनँ,’ वीरेन भन्छन्, ‘मैले दुःख गरेर पढाएँ, हुर्काएँ । अहिले पनि म दुःखै गर्छु । यिनीहरूले पैसा कमाउँछन् र मैले सुख पाउँछु भन्ने छैन । बरु यिनीहरूको नाम लिँदा समाजले, देशले गर्व गरोस्, यिनीहरू शिर ठाडो बनाएर हिँड्न सकून् । सम्मान र इज्जतका साथ बाँच्न सकून् ।’


तर, उनको खुसी धेरै दिन टिक्न सकेन । जब नागरिकताका कारण छोरीको राष्ट्रिय टिमको यात्रा रोकियो, त्यसपछि भने उनी विक्षिप्त छन् । ‘अब छोरीले नागरिकता पाउन सकिन र देशको नामबाट खेल नै खेल्न पाइन, त्यसपछि साह्रै दुःख लाग्यो,’ उनले भने, ‘देशका लागि खेल्छु भन्ने, देशको नाम राख्छु भन्ने प्रतिभालाई देशले चिन्न सकेन ।’ 


अहिले उनले छोरीलाई बाध्य भएर भारत लगेर राखेका छन् । ‘नेपालमा उसको भविष्य बिग्रिने भयो भनेर भारतमा लगेर राखिदिएको छु । पाँच महिनादेखि उतै खेल्दै छे,’ भक्कानिँदै वीरेन भन्छन्, ‘छोरीहरूले नेपालमै केही गरून् भन्ने लागेको थियो । अब नहोला जस्तो छ ।’