• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
पवन बराइली
२०८० माघ २७ शनिबार ०९:१३:००
संगीत

बजारअनुसार चल्नुपर्ने रहेछ

२०८० माघ २७ शनिबार ०९:१३:००
पवन बराइली

नेपाली गीत–संगीत क्षेत्रको चर्चित नाम हो, यम बराल । १२ वटा एल्बम निकालिसकेका उनले सुगम संगीत, राष्ट्रिय गीत, भजन र पाश्र्वगायनसमेत गरेर झन्डै हजार गीत गाएका छन् । उनले केही गीतमा संगीतसमेत भरेका छन् । ‘निष्ठुरीले छाडेर गइहाली, बादलुको घुम्टोले, मन रहे पो माया प्रीति, दिलमाया, अब चोटहरूले लगायत उनका चर्चित गीत हुन् । गायक बरालले आफ्नो सांगीतिक यात्राबारे पवन बराइलीसँग यसरी आत्मसमीक्षा गरे :

 

मैले आफूलाई विगत तीन दशकदेखि संघर्ष गरिरहेको यम बराल भन्न रुचाउँछु । गीत–संगीतमा अझै संघर्ष नै गरिरहेको छु । मेरो संघर्षशील जिन्दगीमा सांगीतिक उचार चढाव आए पनि आफूलाई ‘ब्यालेन्स’ गरेर अघि बढेँ । सबैलाई सम्मान दिएको छु । अरूको पनि माया र सम्मान पाएको छु । जीवनको यो घडीमा अझै नयाँ गर्न खोजिरहेको छु । आफूलाई ऐनामा हेर्दा पनि केही नयाँ काम गर्नुपर्छ भन्ने महसुस हुन्छ । जीवनमा धेरै काम गर्न बाँकी छ जस्तो लाग्छ । सधैँ गीत–संगीत क्षेत्रमा समर्पित छु । मेरा लागि संगीत नै जीवन हो । संगीतले मलाई माया दिलाएको छ । सधैँ आफूलाई दर्शक–श्रोताको दायित्व बोकेर हिँडिरहेको छु ।


बादलुको घुम्टोले भाग्य दिलायो 
५०/५१ सालतिरको गीत हो । त्यो वेला मेरो संघर्षको समय थियो । म आफैँ पनि कता जाँदै छु भन्ने बाटो थाहा थिएन । हुन त मैले ०४८ मा रेडियो नेपालमा ‘भ्वाइस टेस्ट’ गरेको थिएँ । त्यसपछि दिनेश सुब्बा दाइको संगीतमा ‘सागरभन्दा पनि प्रीत गहिरो...’ बोलको गीत गाएको थिएँ । यो गीत सामान्य रूपमा एफएमहरू बज्यो । यही गीतबाट रेडियो नेपालबाट पुरस्कृत पनि भएको थिएँ । 


संगीतकार बुद्धवीर लामा इलामकै हुनुहुन्थ्यो । उहाँ र मेरो भेट भइराख्थ्यो । उहाँले मलाई एउटा गीत छ गाउने हो भन्नुभयो । उहाँले एउटा गीत रच्नुभएको रहेछ । जुन गीत थियो ‘बादलुको घुम्टोले...’ । त्यसपछि दिनेश सुब्बा दाइको संगीतमा गीत रेकर्ड गर्ने कुरा भयो । गीत रेकर्ड गर्न १५–२० दिनअघि अभ्यास गर्नुपथ्र्याे । त्यतिवेला रेडियो नेपालमा लाइभ रेकर्ड गर्नुपथ्र्याे । निकै मिहिनेत गरेर पूर्वाभ्यास गरेँ । संगीत र एरेन्ज पनि दिनेश सुब्बाले गर्नुभएको हो । ३०–३५ जना संगीतकर्मीबीच लाइभ रेकर्डिङ भयो । मलाई अझै याद छ, ‘वान टेकमै’ गीत फाइनल भएको थियो । त्यसवेला रेडियो नेपालमा ‘अनुरोध संगीत’ भन्ने कार्यक्रम थियो । त्यो कार्यक्रममा गीत बज्न थाल्यो । त्यसपछि मलाई देश–विदेशबाट चिठीहरू आउन थाले । देशव्यापी रूपमा यो गीतको लोकप्रियता बढ्यो । रेडियो तथा एफएमहरूमा अत्यधिक बज्यो । यो गीतले साँच्चै यम बरालको जन्म गरायो ।

जीवनको यो घडीमा आफूलाई अझै नयाँ गर्न खोजिरहेको छु । आफूलाई ऐनामा हेर्दा पनि केही नयाँ काम गर्नुपर्छ भन्ने महसुस हुन्छ । जीवनमा धेरै काम गर्न बाँकी छ जस्तो लाग्छ ।रेडियो नेपालमा ‘अनुरोध संगीत’ भन्ने कार्यक्रम थियो । त्यो कार्यक्रममा ‘बादलुको घुम्टो...’ गीत बज्न थाल्यो । त्यसपछि मलाई देशविदेशबाट चिठीहरू आउन थाल्यो ।


त्यसपछि देश–विदेशका कार्यक्रमहरूमा व्यस्त भएँ । रेडियो नेपालमा विभिन्न संगीतको कार्यक्रम चलाउँथेँ । यो गीत हिट भएपछि रेडियो नेपालको जागिर पनि छोड्नुपर्ने अवस्था आयो । कार्यक्रम चलाउने समय नै निकाल्न सकिनँ । बिस्तारै सांगीतिक क्षेत्रमा मेरो व्यस्तता बढ्यो । यो गीतले मलाई ठूलो भाग्य दिलायो । यो गीतको संगीतकार र गीतकारलाई विशेष धन्यवाद दिन्छु । त्यसवेला म्युजिक भिडियोको जमाना थिएन । त्यसवेला गीत सुन्ने समय थियो । अहिले पनि यो गीतको भिडियो बनेको छैन । अब यो गीतको भिडियो बनाउने रहर छ ।


आफ्नो स्वर्णिम समय सम्झन्छु 
त्यसपछि सिनेमामा पाश्र्वगीत गाउन थालेँ । केही सिनेमाका गीतहरू हिट पनि भए । देश–विदेशका कार्यक्रमहरू जान थालेँ । जीवनमा कालखण्डसम्म आइपुग्दा आधुनिक गीत–संगीतमा इँटा थपेँ जस्तो लाग्छ । त्यसवेला दर्शकको अत्यधिक माया पाइन्थ्यो । ३०–३५ ब्यान्डसहित लाइभ प्रस्तुति दिइन्थ्यो । त्यसवेला स्टेजमा प्रस्तुत गरेको अविष्मरणीय क्षण सम्झन्छु । साँच्चै त्यसवेला मेरा लागि स्वर्ण युग थियो । त्यो समय फेरि कमब्याक हुन गाह्रो हुन्छ । त्यही समय फर्काउने कोसिस गर्दै छु । अब फेरि ‘लाइभ ब्यान्डसहित सांगीतिक प्रस्तुतिहरू दिन थालेको छु । ट्र्याकमा धेरै गीत गाएँ । लाइभ ब्यान्डसहित सांगीतिक प्रस्तुति दिने इच्छा छ । केही समयअघि काठमाडौंमा यम बराल एकल सांगीतिक साँझ भयो  । 


त्यसवेला सामूहिक स्वार्थका लागि गीत गाइन्थ्यो । विदेशमा कर्मसियल कार्यक्रम मात्रै गीत गाइँदै थियो । देशलाई विपत्ति पर्दा पनि गीत गाइन्थ्यो । देशको राष्ट्रियता लागि विदेशका कार्यक्रम थुप्रैपटक गीत गाएको छु । त्यसैले मलाई कुनै गीत गाउन पाइनँ भन्ने लाग्दैन । देशका लागि पनि गीत गाएको छु । अहिले समयअनुसार चल्नुपर्छ । त्यसैले फेरि समयअनुसार चल्न खोजिरहेको छु । पहिले कम्पनीले गीतको एल्बमलाई लगानी गथ्र्याे । अहिले एल्बमलाई लगानी गर्ने अवस्था छैन । समय परिवर्तन भइसकेको छ । अहिलेको बजारअनुसार चल्नुपर्ने रहेछ । यसलाई स्वीकार पनि गर्नुपर्छ । 

त्यसवेला सामूहिक स्वार्थका लागि गीत गाइन्थ्यो । विदेशमा कमर्सियल कार्यक्रममा मात्रै गीत गाइँदै थियो । देशलाई विपत्ति पर्दा पनि गीत गाइन्थ्यो । राष्ट्रियताका लागि विदेशका कार्यक्रममा थुप्रैपटक गीत गाएको छु । त्यसैले मलाई कुनै गीत गाउन पाइनँ भन्ने लाग्दैन । अहिले समयअनुसार चल्न खोजिरहेको छु । पहिले कम्पनीले गीतको एल्बमलाई लगानी गथ्र्याे । अहिले एल्बमलाई लगानी गर्ने अवस्था छैन । अहिलेको बजारअनुसार चल्नुपर्नेरहेछ । 


म अझै पनि गाइरहेकै छु । अब कुन रूपमा बढ्ने भन्ने प्रमुख कुरा हो । अहिले दर्शक–श्रोतासँग पुग्ने भनेको डिजिटल प्लेटफर्मबाट नै हो । मसँग असंख्य गीत छन् । अहिले गीत मात्रै निकालेर हुँदैन । म्युजिक भिडियो पनि ल्याउनुपर्छ । यसका लागि खर्च धेरै छ । सबै कुराहरू मिल्नुपर्छ । खर्च गरेर रिटर्न भएन भने के गर्ने ? हिजोआज राम्रो चिज बिक्न गाह्रो छ । विवादित कुरा छिट्टै बिक्छ । राम्रो गीत निकाले हेर्दैनन् । यस्तो जमाना पनि आएको छ । अहिले सोचेर मात्रै काम गर्नुपर्छ । त्यो समय फेरि आउँछ । भाइरल हुने समय आयो । 


भाइरल हुने शब्द राखेर गीत गायो भने भाइरल हुने सम्भावना पनि छ । त्यो गरौँ कि नगरौँ । त्यसबीचको खाडल छ । भाइरललाई सोचेर काम गर्ने कि नेपाली गीत–संगीतको दीर्घजीवीका लागि काम गर्ने भन्ने प्रश्न गर्छु । राम्रो सिर्जना भएका गीत चल्नुपर्छ । विवादित कुरा मात्रै चल्नुपर्छ भन्ने लाग्दैन । मेरा पनि केही कमी–कमजोरी हुन सक्छन् । त्यसलाई म स्वीकार गर्छु । कस्तो किसिमका संगीत गर्ने हो भन्ने बुझेर अघि बढिरहेको छु । जाने–बुझेर नै नयाँ गीतहरूको तयारी गरिरहेको छु । 

भाइरल हुने शब्द राखेर गीत गायो भने भाइरल हुने सम्भावना पनि छ । त्यो गरौं कि नगरौं । त्यसबीचको खाडल छ । मैले भाइरललाई सोचेर काम गर्ने कि ? नेपाली गीतसंगीतको दिर्घजीविको लागि काम गर्ने ? भन्ने प्रश्न आफूलाई गर्छु ।


...अनि दोस्रो विवाह गरेँ
पहिलो विवाहलाई फर्केर हेर्न चाहन्नँ । त्यो मेरो जीवनको एउटा पाटो थियो । तर, यसले व्यावसायिक जीवनका असर पर्नेरहेछ । त्यो वेला पुरानै सांगीतिक जीवनमा फर्कन ६–७ महिना लाग्यो । बगिरहेको खोलाले धार परिवर्तन गर्दा कस्तो हुन्छ होला ? मेरो जीवनमा पनि त्यस्तै भएको थियो । एक बारको जीवनलाई कसरी सुन्दर बनाउने भन्नेतिर नै लागिरहेँ । त्यही घटना लिएर नराम्रो निर्णय गर्नुहुँदैन भन्ने लाग्यो । 


त्यो वेला अमेरिका आउँदा परिवार नै सेटल हुने योजना थियो । तर, जीवनमा जुन घटना घट्यो त्यसपछि अमेरिकामा सजिलै सेटल हुन सकिनँ । म एक्लो थिएँ । आफू अमेरिकामा, छोरा एक्लै नेपालमा भयो । त्यो मेरो विछोडको समय थियो । अमेरिकामा सोचेजस्तो सजिलो भएन । र, म त्यो समय फर्केर हेर्दिनँ । त्यो समय अमिलो लाग्छ । त्यो समयलाई सधैँ सम्झनु पनि हुँदैन । अब जीवन पुरानै लयमा फर्किसक्यो । 


पहिलो विवाह भत्किएपछि दोस्रो विवाह गर्दिनँ भनेर बसेको थिएँ । छोरालाई कसरी राम्रोसँग पढाउने भन्ने कुरामा बढी केन्द्रित थिएँ । लामो समय एक्लो भएँ । छोरालाई पनि होस्टेलमा राखेँ ।  कार्यक्रमहरूमा व्यस्त हुन थालेँ । छोरालाई समय दिन सकिनँ । लामो समय उसले पनि आमाको माया पाएन । त्यसैले उसलाई आमाको महसुस भएको रहेछ । एक–दुईपटक छोराले पनि गीता (अहिलेकी श्रीमती)लाई भेटेको थियो । हामीले विवाह गर्ने सोच गरेका थिएनौँ । हामी साथीको रूपमा थियौँ । बिस्तारै छोरा पनि हुर्किँदै गयो । उसको सोच पनि ठूलो हुँदै गएछ । उसले आफ्नो आवश्यकता खोज्न थाल्यो । उसले आफ्नो आमाको माया पाएन । त्यसैले आमाको महसुस भएर होला, छोराले मेरो पर्समा ‘म्यारी विथ गीता’ भनेर राखेको रहेछ । अब छोरालाई कसरी केयर गर्ने भन्नेबारे मात्रै सोचिरहेको थिएँ । उसको भविष्यका लागि मात्रै बढी चिन्तित थिएँ । छोराका लागि भए पनि विवाह गर्नेबारे सोच्न थालेँ । छोरालाई आमाको कमी महसुस नहोस् भनेर नै दोस्रो बिहे गरेँ । 


अहिले हाम्रो जीवन सुखमय बितिरहेको छ । छोरा पनि खुसी छ, आमाको माया पाएको छ । बुढेसकालमा तातोपानी दिने साथी चाहिन्छ भन्ने नेपाली उखान नै छ । यो उखान पनि सही हो जस्तो लाग्यो । विवाह भनेको एक–अर्काको प्रगतिमा सहयोग गर्ने हो । एक–अर्काका लागि केयरिङका लागि पनि विवाह ठीक रहेछ भन्ने लाग्यो । यसले गर्दा वैवाहिक जीवनलाई सकारात्मक रूपमा लिनुपर्छ ।