• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
काठमाडौं महानगरपालिका–१५ स्वयम्भू किमडोलमा पुरिएकोे मेय छ्यौंहिती उत्खनन गरिँदै ।
शिवहरि घिमिरे 
२०८० माघ २७ शनिबार ०९:२१:००
समाज

सेनाको जागिर छाडेर सम्पदा संरक्षणमा

२०८० माघ २७ शनिबार ०९:२१:००
शिवहरि घिमिरे 

काठमाडौं महानगरपालिका– १७ का यादवलाल कायस्थका दिन सम्पदा संरक्षणमा दौडिएरै बित्छ । बिहानदेखि बेलुकी अबेरसम्म उनी उपत्यकाका मूर्त तथा अमूर्त सम्पदा खोजी र संरक्षणमा दौडिन्छन् । कतै मूर्ति हरायो, कतै ढुंगेधारा पुरियो, कतै नयाँ मूर्ति फेला पर्‍यो त कतै मन्दिर तथा पाटीपौवा मिचिए भनेर उनलाई दिनहुँ स्थानीयवासीको फोन आउँछ । सम्पदाको अस्तित्व जोगाउन उनी आफ्नो निजी काम छाडेर अभियानमा लागेको एक दशक भयो । उनलाई सानोमा आर्मी बन्न मन लाग्थ्यो, हिरो बन्न रहर पनि थियो र त्यससँगै उनको मनभित्रै रहेको अर्को इच्छा र रहर सम्पदा संरक्षण पनि थियो । देशको सेवा गर्र्न सेनामा जागिरे भएका उनीले आफू सेनामा लागेपछि सम्पदा संकटमा पर्ने र कैयौँ सम्पदाको अस्तित्व हराउने देखेपछि उनी जागिर नै छाडेर सम्पदा बचाउ अभियानमा लागेका हुन् । 


यादवलालकै अग्रसरताका कारण उपत्यकाका दर्जनौँ सम्पदा लोप हुनबाट जोगिएका छन् । पुरिएको ढुंगेधारामा कलकल पानी आउन थालेको छ । ऐतिहासिक पाटीपौवा, ढुंगेधारा, पोखरी, मठमन्दिर आदिको अस्तित्व जोगाउन यादवलालले सम्बन्धित निकायलाई घचघच्याउने र अनुगमनसमेत गर्छन् । उनी कुनै ठाउँमा अनौठो ऐतिहासिक वस्तु भेटियो भने पुरातत्व विभाग र बुढापाकाकहाँ पुग्छन् । त्यसको अस्तित्व र महत्वबारे बुझेर संरक्षण गर्न सम्बन्धित निकायलाई हारगुहार गर्छन् । 


यादवलाललाई बाल्यकालदेखि नै सम्पदाप्रतिको मोह थियो । काठमाडौं महानगरपालिका– १७ मा जन्मिएका उनले बाल्यकालदेखि नै सम्पदाबारे बुझ्ने मौका पाए । उनी भन्छन्, ‘मेरो जन्म नै सम्पदैसम्पदा भएको ठाउँमा भयो, त्यसले होला मलाई सानैदेखि नै सम्पदाप्रति माया थियो, काठमाडौंमा ३६५ दिनमा करिब तीन सय वटा त विभिन्न जात्रापर्वहरू पर्छन्, यहाँ अगणित सम्पदा छन्, तिनको संरक्षण भयो भने मात्रै हाम्रो अस्तित्व रहन सक्छ ।’ उनको बुझाइमा उपत्यकाको प्रतीक भनेका यहाँका सम्पदा र कलाकौशल हुन् । ती सम्पदाको अस्तित्व रह्यो भने मात्रै नेपालको अस्तित्व रहन सक्छ । यादवलाल बाल्यकालमा जात्रापर्र्व मनाउने क्रममा बाजागाजा र खट बोकेर ल्याउँदा बुढापाका र बुबाआमाको पछिपछि दौडन्थे । बाल्यकालदेखिकै लगावका कारण आजसम्म पनि उनको रुचिको विषय सम्पदा संरक्षण नै हो ।

यादवलालकै अग्रसरताका कारण उपत्यकाका दर्जनाैँ सम्पदा लोप हुनबाट जोगिएका छन् । पुरिएको ढुंगेधारामा कलकल पानी आउन थालेको छ । ऐतिहासिक पाटीपौवा, ढुंगेधारा, पोखरी, मठमन्दिर आदिको अस्तित्व जोगाउन यादवलालले सम्बन्धित निकायलाई घच्घच्याउने र अनुगमनसमेत गर्छन् ।


हाल सम्पदा संरक्षण अभियानमा सक्रिय यादवलालको जीवन भोगाइ फरक छ । उनी नेपाल आर्मीमा ०६१ देखि ०७१ सम्म जागिरे भए । त्यसक्रममा उनी देशका विभिन्न ठाउँमा पुगे । जागिरे छँदा उनले बिदा मागेर सम्पदा क्षेत्रको अवलोकन गर्ने र बुढापाकासँग जानकारीसमेत लिन थाले । ‘मलाई जसरी पनि देशको सेवा गरौँ भन्ने लागेको थियो, सोहीअनुसार सेनाको सिपाहीमा जागिर खाएँ, त्यहाँ जागिर खाएपछि मैले आफूलाई रुचि भएको सम्पदा संरक्षणमा खुलेर काम गर्न सकिनँ, अनि सेनाको जागिर सोचेजस्तो पनि थिएन,’ उनी भन्छन्,‘त्यसैले मलाई धेरै वर्ष त्यहाँ बस्न मन लागेन, जागिर छाडेपछि म सम्पदा संरक्षण अभियानमा लागेको छु ।’


सेनाको जागिर छाड्दाबित्तिकै उनले ढल्कोमा मौलिक शैलीको रेस्टुरेन्ट खोले । सम्पदाका तस्बिर रेस्टुरेन्टको भित्तामा टाँसेका थिए । जसरी पनि सम्पदा संरक्षण र त्यसको महत्व बुझाउनु थियो उनलाई । उनको रेस्टुरेन्टमा आएका ग्राहकहरूले सम्पदाको महत्व बुझेर फर्कन्थे । रेस्टुरेन्ट व्यवसाय थाले पनि उनले आफ्नो रुचि भएको सम्पदा संरक्षण अभियानलाई माया मार्न सकेनन् । बरु रेस्टुरेन्ट नचलोस्, तर सम्पदा संरक्षण अभियान रोकिनुहुन्न भन्ने लाग्यो उनलाई । उनले ०७१ सालदेखि नै सामाजिक सञ्जालमा सम्पदा भत्किएको, पुरिएको, हराएको, चोरी भएकोलगायत विषयका जानकारीमूलक सामग्रीहरू पोस्ट गर्न थाले । ०७३ तिरको कुरा हो केही माफिया मिलेर ललितपुरको वटुकभैरव मन्दिरको अस्तित्व संकटमा पार्न थालेका थिए । त्यस मन्दिरको संरक्षण गर्न उनले सरोकारवाला निकाय गुहारे । 


यो अभियानमा लागेपछि उनलाई सबैभन्दा बढी चुनौतीपूर्ण लागेको अभियान स्वयम्भूको जन्मद्वार हिटी जोगाउने अभियान हो । यो हिटीलाई यमराज हिटी पनि भनिन्छ । यो हिटी ७० वर्षदेखि पुरिएको थियो । यो हिटी मानिसको मृत्यु संस्कारसँग जोडिएकाले यसलाई अलक्षिण हिटी भन्ने गरिन्छ । कुनै पनि मानिसको अकालमा मृत्यु हुँदै छ वा सिकिस्त बिरामी भएमा वा घाटमा पुर्‍याएपछि त्यो हिटीमा बगेको पानी रोकिने वा सो पानी खुवाएपछि जीवित हुने किंवदन्ती छ । तर, यो हिटीको अस्तित्व नै मेटिएको कायस्थ बताउँछन् । त्यही हिटीको सट्टामा अर्को ठाउँमा हिटी निर्माण गरिएको छ । यो हिटी प्राचीन हो भन्ने प्रमाणित खानी तथा भूगर्भ विभागले गरेको छ । त्यो हिटीलाई खुला रूपमा स्थापित गर्न नसकिएको प्रति पनि कायस्थ चिन्तित छन् । त्यस्तै उनकै अभियानले जोगिएको हिटी दरबारमार्गमा रहेको सोह्रा हिटी हो । 


त्यसो त सम्पदा अभियन्ता कायस्थले सम्पदा तथा संस्कृतिबारे औपचारिक अध्ययन गरेका छैनन् । पछिल्लो पुस्तामा सम्पदा र संस्कृतिप्रतिको लगाव बिस्तारै घट्दो छ । सिंगो संग्रहालयका रूपमा रहेको काठमाडौं उपत्यकाका अनगिन्ती सांस्कृतिक धरोहर छन् । नयाँ पुस्ता र यहाँको समाजलाई यहाँका सम्पदा र संस्कृतिबारे जानकारी दिन र संरक्षण गर्न उनी अधिकांश समय सम्पदा संरक्षणमा बिताउने गर्छन् । सम्पदा संरक्षण गर्न कसलाई फोन गर्नुपर्ने हो, कसलाई भेट्नुपर्ने हो वा आन्दोलन नै गर्नुपर्ने हो उनी त्यसमा अग्रपंक्तिमा लाग्छन् । यसअघि गुठी विधेयकविरुद्धको आन्दोलनमा पनि यादवलाल निकै सक्रिय भएर लागेका थिए । 


दिनरात सम्पदा संरक्षणमा लागेको यादवलाल पछिल्लो पुस्ता र आफ्नो उमेर समूहका व्यक्तिमा विदेश जाने भूत चढेको देख्दा सम्पदा थप धरापमा पर्ने हुन् कि भनेर चिन्तित छन् । तर, पहिलेभन्दा आजका मानिसहरूमा जागरण आएकाले अब सम्पदा र सभ्यता बचाउन केही सहज हुने उनको बुझाइ छ । 


हाल उनी कुनै पनि राजनीतिक दलमा आबद्ध छैनन् । गत वर्ष भएको प्रतिनिधिसभा चुनावका काठमाडौं क्षेत्र नम्बर ७ बाट उम्मेदवार बन्दा उनले दुई हजार आठ सय ७३ मत पाए । उनी सम्पदा संरक्षण गर्न काठमाडौंमा मात्रै खट्दैनन्, नुवाकोटको साततले दरबार क्षेत्र संरक्षणमा भएको बन्देज हटाउन पनि पुगेका थिए । ०७८ को भदौ १८ रातो मच्छिन्द्रनाथ रथ जात्रामा विवाद हुँदा प्रहरीले उनलाई सात दिन हिरासतमा राखेको थियो । कोरोना महामारीको वेला पनि उनी अग्रपंक्तिमा खटिएका थिए । असनमा फुटपाथ हटाउने अभियानमा उनी लागेका थिए भनेपछि काठमाडौं महानगरपालिकाले उनको अभियानलाई साथ दिँदै फुटपाथमुक्त महानगर बनायो । 


महानगरको सम्पदा सल्लाहकारमा यादवलाल 
चुनावताका उनले महानगरका मेयर बालेन्द्र साहलाई सम्पदाको बारेमा जानकारी र अवलोकन गराएका पनि थिए । उनी नयाँ धरहरालाई सेतो टावर भन्छन् । चुनावताका मेयर साहलाई सेतो तथा झिल्के टावर भनेर उनले बुझाएका थिए । त्यस्तै, चुनावकोे वेला मेयर साहलाई कुमारी दर्शन पनि उनैले गराएका थिए । यसबाहेक पाटन दरबार क्षेत्रमा पुगी पुरातत्व अधिकृतिसँग भेट गरी मूर्ति चोरीसम्बन्धी जानकारी लिएका थिए । अहिले पनि उनी मेयर साहको कोर टिममा रहेर सम्पदा सल्लाहकारको भूमिका निर्वाह गर्दै आइरहेका छन् । उनले महानगरभित्र रहेका सम्पदा संरक्षणबारे महानगर, पुरातत्व विभागलगायत निकायलाई घचघच्याउँदै आएका छन् ।


यादवलालले चलाएका अभियान धेरै छन् । निजगढ फास्टट्र्याकको अन्तिम विन्दु पर्ने खोकना बुंङमतीमा कृषियोग्य र सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको भूमि संरक्षणमा पनि उनले अभियान चलाए । त्यस ठाउँमा जिरो पोइन्ट राख्ने सरकारी योजनाको विरोध गर्न सक्रियताका साथै बुङमतीमा रहेको सम्पदा संरक्षण हुनैपर्छ भनेर आन्दोलनको नेतृत्व पंक्तिमा उभिए । लगनखेलस्थित वटुकभैरव मन्दिरको पर्खाल भत्काई सडक विस्तार गरी मन्दिरलाई संकुचित बनाउन खोजिएको थियो । यसमा उनी एक्लै गएर आन्दोलन गरी पछि साथीभाइ बोलाई मन्दिर परिसर बचाउन सफल भए ।

 

ऐतिहासिक कमलपोखरीमाथि निर्माण भएको छाया कम्प्लेक्स/सुन्धारा ओझेलमा पारिएको भन्दै उनले विरोध अभियान सुरु गरे । गुठी विधेयक रोक्ने आन्दोलन र जागरणमा सशक्त रूपमा सक्रिय अभियन्ता तथा आन्दोलनको संयोजक तोकी आफू सहसंयोजक भएर काम गरे । लगनखेलस्थित बुंग द्यसँग सम्बन्धित नमुनामच्छिन्द्र स्कुललगायतले मासिसकेको सप्तपाताल पोखरीको पुनरुत्थान गर्न महानगरलाई घचघच्याए । हाल सप्तपाताल पोखरी निर्माण भइरहेको छ ।रानीपोखरीको परम्परागत रूपमा पुनर्निर्माण गर्न दबाब दिएर क्षति हुनबाट बचाउने अभियानमा पनि उनी सक्रिय थिए । काठमाडौं महानगरपालिका वडा नम्बर १६ स्थित अस्तित्व नै संकटमा परेको सोह्रखुट्टे पाटी २५६ वर्षको इतिहास भएको भोटुपाण्डेहिटी पुनर्निर्माण गर्न घचघच्याए । 


लकडाउनको अवधिमा पशुपक्षीलाई खाना खुवाउनुको साथै, सस्तो मूल्यमा तरकारी पसलको व्यवस्थापन गर्न पनि उनी खटिएका थिए । काठमाडौंको प्राचीन सम्पदा क्षेत्रमा अव्यवस्थित फुटपाथ पसल र मन्दिर÷सम्पदामा भइरहेको अतिक्रमण रोक्ने अभियानमा यादवलाल डटेर लागिरहे । सोहीकारण, आज काठमाडौं महानगरपालिकाले यस क्षेत्रलाई व्यवस्थित पनि बनाएको छ । हराएको ४४ वर्षपछि पनि नक्साल, शंकरकीर्ति महाविहारस्थित पद्मपाणि लोकेश्वरको ३५७ केजीको मूर्ति यथास्थानमा फर्काउन सरोकारवालालाई ध्यानाकर्षण गराए ।

 

यसबाहेक विभिन्न हराएका मूर्तिहरू खोजबिन र संरक्षण गर्नमा उनको सक्रिय भुमिका रहँदै आएको छ । उनकै अभियानका कारण अस्तित्व गुम्ने खतरामा रहेको दरबारमार्गस्थित सात सय वर्ष पहिलेको स्वधाहितीलाई (तीनधारा) पुनर्जीवन दिन संरक्षण अभियान चलाए । यादवलालले काठमाडौं बागबजारस्थित सडक विस्तारको क्रममा विस्थापन परेको १३ वर्षपछि चिभा द्यःको पुनस्र्थापना गर्न सरकारी निकायलाई ध्यानाकर्षण गराए । स्वयम्भू प्रहरी वृत्त परिसरमा विभिन्न समयमा नियन्त्रण लिएका अलपत्र रहेका कैयौँ महत्वपूर्ण धार्मिक सम्पदा पुरातत्व विभागलाई संरक्षण गर्न र प्रमाण दाबीसहित आएमा फिर्ता गराउने सर्तमा हस्तान्तरण गराउन सहजीकरण गरे । काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्वयम्भू किमडोलमा पुरिएकोे मेय छ्यौंहिती उत्खनन गरी संरक्षण गर्न सरोकारवाला निकायलाई घचघच्याए । हाल यस हितीको संरक्षण भइसकेको छ ।