• वि.सं २०८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
पवन बराइली
२०८० माघ २७ शनिबार ०९:४५:००
इतिहास

जब तीन दाजुभाइ एकैपटक सगरमाथा शिखरमा पुगे

शेर्पा दाजुभाइका लागि हिमाल नै सुख–दुःख बुझ्ने पाठशाला बन्यो

२०८० माघ २७ शनिबार ०९:४५:००
पवन बराइली

 

सोलुखुम्बुको खरीखोला गाउँ सगरमाथा प्रवेशद्वारको रूपमा प्रख्यात छ । यो गाउँले हिमाल आरोहणका अनेकन कीर्तिमानधारी शेर्पा तथा सिपालु शेर्पा गाइडहरू जन्माइसकेको छ । यो गाउँमा आलु, फापर, गहुँ, मकै एक सिजन मात्रै उत्पादन हुन्छ । यही हिमालको फेदीमा फुन्दुरु शेर्पा र दावा पासाङ शेर्पाले आफ्ना आठ सन्तान (पाँच छोरा तीन छोरी) हुर्काए । यो दम्पतीले एकदमै कम उत्पादन हुने ठाउँमा १० सन्तान मुस्किलले हुर्काए ।


खुम्बु क्षेत्रमा पर्ने यो गाउँबाट वर्षैपिच्छे हिमाल चढ्न आउने विदेशी पर्यटकहरू ओहोरदोहोर गर्छन् । पहिले–पहिले भने यो गाउँका कमै मात्रै शेर्पाले हिमालमा काम गर्न पाउँथे । सगरमाथाको फेदीमै जन्मिएर पनि फुन्दुरु र उनको परिवारका अरू कुनै सदस्य काम गर्न हिमालतिर गएका थिएनन् ।


‘हामी धेरै सन्तान भएपछि बुबाआमालाई लालनपालनमा निकै गाह्रो भयो । त्यसैले मलाई (साइला छोरा) लामा पढ्न पठाउँनुभयो । जेठा (पेम्बा ओङ्चु शेर्पा)दाइलाई काठमाडौंमा आफन्तको घरमा बस्न पठाउनुभयो र माइला (पेम्बा छुङ्बा शेर्पा) दाईलाई गाउँले घरमा काम गर्न राख्नुभयो । घरको आर्थिक अवस्थाले गर्दा बुबाले हामी तीनजना छोरा फरक–फरक ठाउँमा राख्नुभयो’, साइला छोरा पेम्बा ग्याल्जेन शेर्पा आफ्ना बुबालाई सम्झन्छन् ।


हिमालमा काम पाउन सरदारको नजिकको मान्छे हुनुपथ्र्याे । हिमालमै भाँडा माझ्ने काम पाउन पनि सरदारलाई ‘घुस’ दिनुपथ्र्याे । त्यसैले फुन्दुरु शेर्पालाई पनि हिमालमा काम पाउन निकै मुस्किल प¥यो । बालबच्चाको खानपिनको अभाव टार्न उनले सरदारलाई चौँरीको घिउ दिएपछि मात्रै हिमालमा भाडा माझ्ने काम पाए । त्यही क्रममा फुन्दुरुले कञ्चनजंघा हिमाल आरोहण गरे ।


‘हाम्रो परिवारका लागि सगरमाथा चढ्नु धेरै टाढाको कुरा थियो । अहिलेजस्तो हिमालमा काम पाउन सजिलो कहाँ थियो र,’ साइला छोरा पेम्बा ग्याल्जेन सम्झन्छन्, ‘हामी छोराछोरी सानै थियौँ । हामी घरमा भन्दा चौँरीगोठमै बस्थ्यौँ । त्यतिवेला हाम्रो घरपरिवारमा निकै समस्या थियो । बुबाआमाले जेनतेन हामीलाई हुर्काउनुभयो । बुबाले हिमालमा भाँडा माझ्ने काम पाउनुभएछ । चौँरीगोठमा हामीलाई आमाको जिम्मा लगाएर जानुभयो । भाँडा माझेर ४० हजार रुपैयाँ लिएर आउँनुभयो । त्यसपछि हिमालबाट पैसा आउनेरहेछ भन्ने थाहा भयो । नत्र अहिले हामी दाजुभाइ पटकपटक सगरमाथा आरोहण गर्न सक्ने थिएनौँ होला ।’

एकै परिवारका सदस्यहरू एकैपटक सगरमाथाको चुचुरोमा पुग्दा कस्तो अनुभूति हुन्छ होला ? संसारमा सायदै यस्ता परिवारका सदस्य होलान् जो संसारको अग्लो शिखरमा एकैपटक पाइला टेके । विरलै प्राप्त हुने त्यस्तो अवसर यो परिवारले प्राप्त गरेको छ । परिश्रमी र मिहिनेती यो परिवारका तीन सदस्यले एकैपटक सगरमाथाको शिखरमा पाइला राखे । 


अहिले हिमालमा चमत्कार देखाइरहेका दुई भाइ (पेम्बा ओङच्यु शेर्पा र पेम्बा ग्याल्जेन शेर्पा ) निकै बलिया शेर्पा मानिन्छन् । माइला पेम्बा छुङ्बा शेर्पा हिमालतिरै ट्रेकिङ गर्छन् । यी तीन दाजुभाइले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । 


हिउँले भरिएको डाँडाहरूमा चौँरी चराउँदै लेकबेँसी दौडिँदै उनीहरूको बाल्यकाल बित्यो । त्यसैले यी शेर्पा दाजुभाइका लागि हिमाल नै सुख–दुःख बुझ्ने पाठशाला बन्यो । किशोरावस्थामै पेम्बा ओङ्चु शेर्पा हिमालमा भविष्य खोज्न थाले । भरियाका रूपमा उनी ट्रेकिङ तथा हिमाल आरोहणमा आउनेहरूसँग हिँड्न थाले । बिस्तारै हिमाल आरोहण गर्न सीप र कौशलका तालिम लिन थाले । ‘घरको आर्थिक अवस्थाले गर्दा म काठमाडौंमा आफन्तकहाँ बस्थेँ । माइला भाइ पनि गाउँलेको काम गथ्र्याे । साइला भाइ लामा पढ्न गइसकेको थियो,’ पेम्बा विगत सम्झिन्छन्, ‘सबैले हिमाल चढेर प्रगति गरेको देख्थेँ । मलाई पनि हिमाल चढ्नुपर्छ भन्ने लाग्यो । त्यसैले म पनि हिमालको बाटो पछ्याउँदै गएँ । पहिले भारी बोकेर आरोहीहरूसँग सानो हिमाल गएँ । बिस्तारै ठूला हिमाल पनि चढ्न सुरु गरेँ ।’


त्यसपछि पेम्बाले क्लाइम्बिङ सेन्टरमा थप तालिम लिएँ । हिमाल आरोहण गर्न ज्ञान र सीप थपिँदै गयो । पेम्बाले ओङच्यु राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक प्रमाणपत्र पाएँ । त्यसपछि उनी दक्ष पर्वतारोहण पथप्रदर्शकको रूपमा परिचित भए । सगरमाथा र अन्य हिमालहरूमा आरोही लिएर जान थाले । भन्छन्, ‘मलाई पहिलोपटक हिमाल चढ्न निकै गाह्रो भएको थियो । जब तालिम लिएँ त्यसपछि हिमाल चढ्न सजिलो हुँदै गयो ।’ 


पेम्बाले सन् २००८ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरे । त्यसपछि एकपछि अर्काे कीर्तिमानी थपिँदै गयो उनको । उनले आफ्ना भाइहरू (पेम्बा छुङ्बा शेर्पा (माइला) र पेम्बा ग्याल्जेन)लाई पनि हिमाल आरोहणमा प्रेरित गरे ।साइला भाइ पेम्बा ग्याल्जेन सोलुखुम्बुमै गुम्बामा नौ वर्ष लामा पढे । तर, उनलाई गुम्बामा बस्न मन लागेन । गाउँका शेर्पाहरूले हिमालमा गएर पैसा कमाएको देखे । त्यसपछि पेम्बालाई पनि लाग्यो, अब हिमालमा काम गर्नुपर्छ । पैसा कमाउने लोभले उनी काठमाडौं हान्निए । तर, काठमाडौं उनका लागि सजिलो थिएन । चिनेजानेका कोही पनि थिएनन् । जेठा दाइ पनि हिमालतिर भारी बोक्न गइरहन्थे । काठमाडौंमा उनले काम पाएनन् । फेरि उनी भरियाको रूपमा काम गर्न लुक्ला फर्किए । तीन वर्षपछि उनी काठमाडौं आए । ‘त्यसवेला मलाई दाइले नै भारी बोकेर मात्रै हुँदैन भनेर बोलाउनुभयो । अब गाइडको काम गर्नुपर्छ भन्नुभयो । मलाई क्लाइम्बिङका लागि तालिम केन्द्रमा भर्ना गरिदिनुभयो,’ उनले सम्झिए । 


ग्याल्जेन जेठा दाइसँगै ‘मेरापिक’ गएँ । ‘काठमाडौं आएको एक वर्षपछि मेरापिक आरोहण गर्न गएँ । मेरापिक आरोहण गर्दासम्म मसँग त्यस्तो आरोहण र गाइडिङसम्बन्धी तालिम थिएन,’ उनी भन्छन् ‘दाइको सहयोगीको रूपमा मात्रै गएको थिएँ । मेरापिक सफलतापूर्वक आरोहण पनि गरेँ । मलाई सबैले प्रशंसा गरेँ ।’ तालिम लिएर काम गर्न सके हिमालबाट प्रशस्तै पैसा कमाउन सकिनेरहेछ भन्ने उनलाई थाहा भयो । त्यसपछि हिमाल आरोहण थप तालिम लिन थाले ।


ग्याल्जेनले सन् २०११ मा सगरमाथाको पहिलोपटक सफल आरोहण गरे । ‘त्यसवेला पनि मलाई दाइले सगरमाथाको क्याम्प–२ को कुक (भान्से)को रूपमा लिएर जानुभएको थियो । सगरमाथाको आरोहण गर्ने मौका पाइनँ । क्याम्प–२ र सगरमाथा बेसक्याम्पको बीचमा मैले १९ पटक ओहोरदोहोर गरेँ । त्यसपछि मात्र मैले सगरमाथा आरोहण गर्ने मौका पाएँ । म सगरमाथा चुचुरोमा पुग्दा आँखाबाट आँसु आयोश,’ उनले भने । 


ग्याल्जेनले गत असोजमा मनास्लु हिमालमा विनाअक्सिजन १२ घन्टामा आरोहण गरी नयाँ कीर्तिमान बनाए । मनास्लु (८,१६३ मिटर) विश्वको आठौँ अग्लो हिमाल हो । उनले यसअघिको १३ घन्टाको कीर्तिमान तोड्दै १२ घन्टामा शिखरमा पुगेका थिए । योसँगै उनको मनास्लु हिमाल सफल आरोहण गरेको तीनपटक पुग्यो । उनी भन्छन्, ‘नेपाललाई संसारभर हिमालले चिनाएको छ । विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये आठवटा नेपालमै पर्छ । नेपालमा विदेशी नेपाल घुम्न आउँछन् । उनीहरूले हिमालमा फरक–फरक रेकर्ड राख्छन् । हामी शेर्पाहरू पनि नयाँ रेकर्ड राख्न सक्छौँ ।’अहिलेसम्म उनले सगरमाथा, केटु, मकालु, कञ्चनजंघा, चो ओयु, मनास्लु, अमादब्लम, हिमलुङ, चोलात्से, आइल्यान्ड पिक, मेरा पिक, लोबुचेलगायतका हिमालको सफल आरोहण गरिसकेका छन् । 


माइला भाइ पेम्बा छुङ्बाले पनि थुप्रैपटक सगरमाथा आरोहण गरिसकेका छन् । सुरुमा क्लाइम्बिङ शेर्पा हुँदै हिमाल आरोहणमा लागेका उनीहरू धेरैपटक सगरमाथा सँगसँगै चढिसकेका छन् । ‘जेठादाइले १४ पटक र मैले ११ पटक सगरमाथा आरोहण गरिसकेका छौँ । माइला दाइले पनि धेरैपटक सगरमाथा आरोहण गर्नुभएको छ,’ ग्याल्जेनले भने ।


१२ मिनेट सगरमाथाको शिरमा तीन दाजुभाइ 
एकै परिवारका सदस्य एकैपटक सगरमाथाको चुचुरोमा पुग्दा कस्तो अनुभूति हुन्छ होला ? संसारमा सायदै यस्ता परिवारका सदस्य होलान् जो संसारको अग्लो शिखरमा एकैपटक पाइला टेके । बिरलै प्राप्त हुने त्यस्तो अवसर यो परिवारले प्राप्त गरेको छ । परिश्रमी र मिहिनेती यो परिवारका तीन सदस्यले एकैपटक सगरमाथाको शिखरमा पाइला राखे ।

 
यो सन् २०११ को कुरा हो । तीन दाजुभाइ संयोगले एकैपटक सगरमाथा चुचुरोमा भेटिए । ‘हामी तीनै दाजुभाइ चुचुरोमा भेटिन्छौँ भन्ने सोचेकै थिएनौँ । सगरमाथाको टुप्पोमा हामी भेट्नुपर्छ भनेर सल्लाह पनि गरेका थिएनौँ । हामी तीनै भाइ फरकफरक कम्पनीबाट गएका थियौँ,’ जेठा ओङ्चु भन्छन्, ‘साइला भाइ चीनबाट आरोहण टोलीसहित आएको रहेछ । माइला भाइ पनि विदेशी आरोहरण टोलीसहित सगरमाथा आएकोरहेछ । हामी तीनैजनाले अक्सिजन मास्क लगाएका थियौँ । सबै आ–आफ्नै टोलीसँग फोटो खिच्न लाग्यौँ । हामी तीन भाइ नै एकै ठाउँमा भेटिएपछि मलाई खुसीसँगै धेरै डर लाग्यो । मेरोभन्दा पनि भाइहरूको चिन्ता लाग्यो । अबचाहिँ भुलेर पनि एकैपटक सगरमाथा जानुहुँदैन भन्ने सोच आयो ।’


भाइ पेम्बा ग्याल्जेन त्यो क्षण सम्झिँदै थप्छन् ‘मलाई एक हिसाबले खुसी पनि लाग्यो, दुःख पनि लाग्यो । दिमागमा बुबाआमाको मात्रै याद आयो । किनभने हामी तीनै भाइ सगरमाथाको शिखरमा छौँ । केही भइहाल्यो भने के हुन्छ होला भन्ने सोच आयो । आफ्नोभन्दा पनि दाइहरू कसरी बेसक्याम्पसम्म पुग्लान् भन्ने चिन्ता लागिरह्यो । मैले दाइहरूलाई सँगसँगै नहिँड्नु, अलि दूरी कायम गरेर हिँड्नु भनेर सुझाव दिएँ । हामी झन्डै १२ मिनेटसँगै चुचुरोमा बसेका थियौँ ।’


भूकम्पमा दाजुभाइ
सन् २०१५ सालमा भूकम्पले सिंगो सगरमाथा हल्लायो । त्यसवेला तीनै दाजुभाइ सगरमाथा आधारशिविरमै थिए । दुई दाजुभाइ (जेठा र माइला) सगरमाथा आधारशिविरमै थिए । तर, पेम्बा क्याम्प दुईबाट फर्किँदै थिए । एक्कासी हावा चल्यो । पेम्बालाई लाग्यो हिमपहिरो आउनलागेछ । तर, एकैछिनमा ठुल्ठूलो आवाज आउनथाल्यो । 


‘एकैछिनमा सबैतिर अन्धकार छायो । दिमागले काम गरेन । त्यतिवेलासम्म भूकम्प भनेर थाहा थिएन । केहीबेरपछि आधारशिविरतिर लाग्यौँ । तर, बाटोमा मान्छेहरू छटपाइरहेको देखेँ । उनीहरूलाई उद्धार गर्न थालेँ’, पेम्बा सम्झिँदै भन्छन्, ‘बल्लतल्ल आधारशिविर पुग्यौँ । दिउँसोको क्याम्प र मान्छे देखिनँ । बाँचिन्छ भन्ने कल्पना पनि थिएन । त्यतिवेला माइला दाइलाई सामान्य चोट लागेछ । उहाँलाई उद्धार गरेर पठाइसकिएकोरहेछ ।’


त्यसवेलाको समय सम्झँदा पेम्बा ओङ्चुको मथिंगल हल्लिन्छ । त्यसवेलाको समय सम्झन पनि चाहँदैनन् उनी । उनले नजिकबाट मान्छेको मृत्यु देखे । त्यसवेला शव संकलन गरेर पठाउनेहरूमा यी दाजुभाइ पनि नै थिए । त्यसपछि माइला पेम्बा छुङ्बाले सगरमाथाको बाटो त्यागे । त्यो घटनाले उनलाई सगरमाथा जान मन लागेन । त्यसैले अहिले उनी ट्रेकिङ गाइड मात्रै गर्छन् । 


खुट्टामा आठ टाँका लगाएर सगरमाथाको शिरमा
पेम्बाको अनुभवमा हिमालमा हरेक पाइला महत्वपूर्ण हुन्छ । शरीरले जुनसुकै वेला काम नगर्ने उनको भोगाइ छ । सन् २०१९ मा उनी विदेशी टोलीसहित सगरमाथा आरोहण गर्न लम्किए । उनको टिम क्याम्प तीनभन्दा माथि पुगेको थियो । तर, त्यो दिन यात्रा बाटोमै रोकियो । हिउँको ढिक्का आएर उनको खुट्टामा बजारियो । धन्न उनको खुट्टामा गहिरो चोट मात्र लाग्यो, भाँचिएन । उनलाई उद्धार गरेर क्याम्प तीन ल्याइयो । त्यसपछि हेलिकोप्टरबाट लुक्ला अस्पतालमा लगियो ।

 

खुट्टामा आठवटा टाँका लगाएर भोलिपल्ट फेरि टिमसँगै शिखर चढ्न आधारशिविर फर्किए । ‘धन्न मेरो खुट्टा भाँचिएन । खुट्टामा आठवटा टाँका लगाउनुप¥यो,’ पेम्बा त्यो घटना सम्झँदै भन्छन्, ‘तीन दिनपछि सगरमाथाको सफल आरोहण गरँे । त्यसवेला मेरो खुट्टाको टाँका खोलेको थिएन । काठमाडौंमा आएर एक हप्ता आराम गरेँ । त्यसपछि खुट्टाको टाँका नखोली केटु हिमाल आरोहण गरेँ । त्यसवेला मेरो आत्मबल बलियो थियो । त्यसैले पनि आरोहण गर्न सफल भएँ ।’
यस्ता सयौँपटक मृत्युलाई नजिकबाट देखेका छन् पेम्बा ग्याल्जेनले । उनले कुनै न कुनै खोँचमा हिउँले पुरिएका आरोहीको शव देख्छन् । त्यतिवेला उनलाई पनि डर लाग्छ । भन्छन्,‘मेरो पनि यस्तै हालत पो हुने हो कि ? अब परिवारसँग भेट न होला कि ? यस्तो लाग्छ ।’ 


‘हिमाल चढ्न ठूलो जोखिम मोल्नुपर्छ । सधैँ मौसम एकनाश हुँदैन । जुनसुकै वेला हिमपहिरो आउन सक्छ । रक फलको अर्काे उच्च जोखिम छ । शरीर सधैँ फिट हुन्छ भन्ने पनि हुँदैन । शरीरले जुनसुकै वेला काम नगर्न सक्छ । चुनौतीको चाङ बोकेर हिमाल जानुपर्छ,’ पेम्बा भन्छन् ‘हिमालमा हरेक पाइला महत्वपूर्ण हुन्छ । पाइला–पाइलामा मृत्युलाई जितेर आरोहण सकेर फर्किन्छौँ ।’ उनले हिमालमा अभरमा परेका सयौँ आरोहीको उद्धार पनि गरेका छन् । भन्छन्,‘मैले सयौँको उद्धार गरेको छु । मत्युलाई नजिकबाट देखेको छु । आँखैअगाडि आरोहीहरूले हिउँपहिरोमा परी ज्यान गुमाएका छन् । कतिपय आइसफलमा पुरिएका ज्यान गुमाएका छन् । उनीहरूको शव खोजेको छु । टुक्राटुक्रा भएको शरीर पनि जम्मा पारेर ल्याएको छु ।’


पेम्बासँग हिमालमा चढ्दा आफूसँगै गएका साथीहरू हिमपहिरोमा गुमाएको अनुभव छ । उनी भन्छन् ‘फर्किएर नआउन्जेल जोखिम छ । हिमाल चढ्दा पाइला–पाइलामा मृत्यु छ । बेसक्याम्पबाट सम्पर्क गरिरहेको हुन्छ । बेसक्याम्पबाट सम्पर्क गरिरहेको मान्छे एकैछिनमा सम्पर्कमा आउँदैन । जीवनको केही भर हुँदैन ।’ 


हिमाल चढ्नु बाध्यता
अब भने तीन दाजुभाइलाई हिमाल नचढ्नु भनी परिवारबाट दबाब आउन थालेको छ । ‘हामीले गरेको कामबाट बुबाआमा खुसी त हुनुहुन्छ, तर अब हिमाल नचढ्न आग्रह गरिरहनुहुन्छ । तर, मनै मान्दैन’ पेम्बा भन्छन् ‘हिमाल चढ्नु हाम्रा लागि बाध्यता पनि हो । राम्रो पूर्वतयारी गर्ने हो भने ९० प्रतिशत जोखिम आफ्नो नियन्त्रणमा गर्न सकिन्छ ।’


साइला पोम्बा ग्याल्जेन हिमाल चढ्ने सीप मात्रै आफूहरूले सिकेको बताउँछन् । उनी थप्छन् ‘परिवार र आफन्तबाट हिमाल चढ्न छोड्नुपर्छ भन्ने कुरा आउँछ । अरू समुदायको मान्छे हिमाल चढ्न थालेका छन् । हाम्रो समुदायको पनि नयाँ पुस्ताका मान्छे कमै मात्रै हिमाल आएका छन् । तर, हामीले हिमाल चढेर संसारलाई चिनाएका छौँ । हामीले यही पेसा शून्यदेखि सिकेका हौँ । हामीले हिउँ र हिमालबाट धेरै सिकेका छौँ । जीवनमा हिमाल चढ्ने सीपभन्दा अरू केही सिकेका छैनौँ । यो पेसभन्दा अरूमा निर्भर रहनै सक्दैनौँ ।’