सिनेमा गर्नुअघि चार वर्ष थिएटरमा बिताएको थिएँ । पहिलोपटक सिनेमामा आफूलाई फरक महसुस गरेँ । किनभने थिएटरमा आफ्नो काम आफैँ गरिन्छ । तर, सिनेमा अभिनय गर्दा लक्जरीजस्तै फिल भएको थियो । नाटकमा आवश्यक ड्रेस, प्रप्स सबै आफैँले जम्मा गर्नुपथ्र्याे । तर, सिनेमामा कस्ट्युम डिजाइनरले ड्रेस तयार गरिदिने, मेकअप आर्टिस्टलगायतले आवश्यक सबै समान जुटाइदिने हुने रहेछ ।
पहिलोपटक सिनेमा ‘पुन्टे परेड’मा क्यामेरा फेस गर्नपरेको थियो । बानेश्वरको एउटा कलेजमा सुटिङ भएको थियो । पहिलो फिल्मको पहिलो सिन प्रियंका दिदी(प्रियंका कार्की)सँग थियो । अभिनयका हिसाबले त खासै फरक परेन, सिनेमामा काम गर्न । तर, म क्यामेरासँग एकदमै लजाउँथेँ । त्यसैले सुरुसुरुमा क्यामेराअघि काम गर्न अर्कै फिल भयो । दुई–तीनवटा फिल्ममा काम गरेपछि बल्ल बानी पर्दै गयो । फिल्म ‘वीरविक्रम’ सुटिङका दौरान दया दाइ (दयाहाङ राई) ले पनि केही कुरा सिकाउनुभयो । सिनेमाको टेक्निकल कुरा के हुँदो रहेछ भनेर पुस्तक पनि पढ्न थालेँ । एकपछि अर्काे फिल्ममा काम गर्दै जाँदा सजिलो हुँदै गयो ।
पछिल्लो समय सिनेमामै व्यस्त भएँ । नाटकमा काम गर्न पाएको छैन । रंगमञ्चमा काम नगरेको ६ वर्ष भइसकेछ । रंगमञ्चको धेरै कुरा मिस हुन्छ । नाटकको रिहलसल गरेको, स्टेज बनाएको, पहिरन तयार गरेकोजस्ता कुरा धेरै मिस हुन्छ । सिनेमाको कामले गर्दा नाटकमा काम गर्न पाएको छैन । अब छिटै नाटक निर्देशन गर्ने योजना बनाएको छु । मलाई चाँडै नाटकमा पनिदेख्न पाउनुहुन्छ ।
नाटक अझै व्यावसायिक हुन सकेको छैन । सिनेमा एक हिसाबले व्यावसायिक छ । मेरो बुझाइमा सिनेमाले धेरै मान्छेबीच पुर्याउन सहयोग गर्छ । रंगमञ्चबाट सिनेमामा आउँदा आफूलाई बुझ्न पाइँदो रहेछ । आफू के हो भनेर थाहा पाइँदो रहेछ । तर, रंगमञ्चले जति जीवन सिकाउँछ, त्यति सिनेमाले सिकाउँदैन । रंगमञ्चले सिनेमाले भन्दा बढी क्रियटिभ बन्न सिकाउँछ । नाटकमा थुप्रै एक्टिङ फर्महरूको पढाइ हुन्छ ।