• वि.सं २०८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
संजित परियार
 पवन बराइली 
२०८० फाल्गुण ५ शनिबार ०८:०३:००
यात्रा

निर्देशकको प्रश्न अभिनेताको उत्तर : असफलता के हो ?

२०८० फाल्गुण ५ शनिबार ०८:०३:००
 पवन बराइली 

प्रायः कलाकारहरू सुटिङ अवधिसम्म मात्रै आफ्नो पात्रसँग नजिक हुन्छन् । तर, तपाईं पात्रको निकै गहिराइसम्म पुग्नुहुन्छ । त्यो पात्रबाट बाहिर निस्किन कतिको गाह्रो हुन्छ ? 


मलाई कुनै सिनेमाको पात्रबाट बाहिर निस्किन केही समय लाग्छ । ‘जात्रै जात्रा’को सुटिङ सकिएलगत्तै ‘फूलबारी’मा काम गर्नुपर्‍यो । दया दाइ (दयाहाङ राई) र म ‘फूलबारी’को सेटमा थियौं । फूलबारीको सेटमा दया दाइसँग बोल्दा ‘जात्रा’ को क्यारेक्टरजस्तै गरी बोलेछु । हामी दुवै मज्जाले हास्यौँ । त्यसपछि थाहा भयो कि एउटा ‘क्यारेक्टरबाट बाहिर निस्किन कति गाह्रो हुने रहेछ भनेर । आफूले निभाएको पात्रलाई सुटिङ अवधिभर आफूभित्र जर्बजस्ती घुसाउनुपर्छ । तुरुन्तै अर्काे पात्र गर्दा पुरानो क्यारेक्टरबाट बाहिर निस्कन गाह्रो हुँदो रहेछ । कहिलेकाहीँ सिनेमामा बोलेको डाइलग श्रीमतीसँग पनि बोलिँदो रहेछ । एउटा कलाकारको रियल लाइफमा रिल लाइफ पनि मिसिँदो रहेछ । 

अहिलेसम्म निर्वाह गरेका आफ्ना  पात्रहरूको माया कत्तिको लाग्छ ? 
आफूले निर्वाह गरेका पात्रहरू आफ्नै सन्तानजस्ता लाग्छन् । जात्राको ‘फणीन्द्र कार्की’ होस् वा पशुपति प्रसादको ‘भस्मेडन’ वा छड्केको ‘बिन्दु’ नै किन नहोस् । हरेक पात्रसँग म आफैँ मिसिएको हुन्छु । मैले पहिले नै पात्रलाई माया गरेको हुन्छु । पात्रसँग सामीप्य भएपछि पात्रले मलाई पनि माया गर्दाे रहेछ । जसले गर्दा दर्शकले पनि मन पराइदिनुभएको छ । म आफ्ना पात्रसँग इन्जोय गर्छु । जहाँ म रुन्छु, हाँस्छु र बोल्छु, दर्शकहरूले मलाई त्यसरी मन पराइदिनुभएको छ । त्यस्तो प्रतिक्रिया पाउँदा म सही बाटोमा रहेछु भन्ने लाग्छ ।

कुनै सिनेमामा अनुहार देखिँदैन, तर अभिनय गर्नुपर्छ । एउटा सिनेमामा बोराभित्र कुटाइ खाँदै एक्टिङ गरेको छु । सुम्लैसुम्ला बस्ने गरी कुटाइ खाइयो । त्यसैले कलाकारले सबै काम जानेको हुनुपर्ने रहेछ । डोको बोक्न, घाँस काट्न पनि जान्नुपर्छ । काम गरेजस्तो मात्रै गरेर मिल्दैन, कलाकारले साँच्चै काम गर्नुपर्छ । 


आफ्नो पात्रलाई सम्झेर  कहिलेकाहीँ रुनुभएको छ ?
वेलावेला आफ्नो पात्रलाई सम्झेर रुन्छु । सिनेमाको पात्रले मात्रै होइन, म्युजिक भिडियोको पात्रले पनि रुवाएको छ । ‘घुमीघुमी’ म्युजिक भिडियोको पात्राले मलाई अझै रुवाउँछ । हिँड्दा, बोल्दा र सुत्दा पनि पात्रहरू खोजिरहेको हुन्छु । जतिवेला पनि पात्रबारे नै घोत्लिरहन्छु । मलाई सोच्ने बानी परिसक्यो । तपाईं पनि सिनेमाका लागि धेरै सिन सोचिरहनुहुन्छ होला । त्यो सिनबारे घोत्लिनुहुन्छ होला । आफै विश्लेषण पनि गर्नुहुन्छ होला । म पनि कुनै अनौठो पात्र देख्दा उसलाई हेरिरहन्छु ।


आफूले काम गरेको सिनेमाको रिलिज मिति नजिक आउँदा तपाईंलाई कस्तो महसुस हुन्छ ?
सिनेमा रिलिज मिति नजिँदै गर्दा एसएलसीको जाँच दिने वेला आएजस्तै महसुस हुन्छ । फिल्मको प्रोडक्सन सुरु भएपछि जाँच सुरु भयो जस्तो लाग्छ । एउटा विद्यार्थीका लागि परीक्षाले कति अर्थ राख्छ ? कलाकारलाई आफ्नो नयाँ सिनेमा रिलिज हुन लाग्दा त्यस्तै महसुस हुँदो रहेछ ।


सिनेमा भनेको दर्शक आए पास नआए फेल हुने त हो । फेल भएको अवस्थाबाट तपाईं कसरी निस्कनुहुन्छ ? 
एउटा सिनेमामा कलाकारले निकै मिहिनेत गरेर काम गरेको हुन्छ । त्यसबाट निकै ठूलो आशा पनि गरेको हुन्छ ।सिनेमाको सफलता बक्स अफिसमा भएको कलेक्सनबाट नापिन्छ, यो स्वाभाविक पनि लाग्छ । दर्शक हलमा नआउँदा वा नचल्दा मन चस्स हुन्छ । कतिपय सिनेमामा काम गर्दा केही कमजोरी भयो होला । मैले राम्रै काम गरे पनि दर्शकलाई ट्रेन्ड गर्न सकिनँ होला । तर, दर्शक कहिल्यै गलत हुँदैनन् । हाम्रो फिल्म हेर्न दर्शक नआउनु भनेको हाम्रो गल्ती हो । दर्शकमा फिल्म सेन्स भर्दै लैजानुपर्छ । 


सिनेमामा स्टारहरूलाई एकदमै ठूलो मानिन्छ । अझ हिरोहरूलाई जीवनमा कुनै समस्या आउँदैन भन्ने बुझाइ छ । हिरोले सबै कुरालाई जितिदिन्छ भन्ने भाष्य पनि छ । तर, स्टार समय एकनाश हुँदैन । तपाईंको विचारमा असफलता भनेको हो ?
कलाकारले गरेको कुनै पनि काम खेर जाँदैन जस्तो लाग्छ । आजको असफलता भोलि कुनै ठाउँमा काम लाग्छ । नराम्रो अनुभव पनि भोलि तपाईंको जीवनमा राम्रो बन्न सक्छ । त्यसैले कलाकारितामा लागेका मान्छेलाई असफलताले झन् खार्दै लैजान्छ । एउटा कलाकारलाई फेलियरले झन् खार्दाे रहेछ । हामीलाई दुःख र पीडाले केही समयसम्म घाटा लाग्ला । तर, कालान्तरमा फाइदा पुर्‍याइएकै हुन्छ । त्यो असफलतालाई प्रयोग गर्न सक्यौँ भने भोलि त्यसैले राम्रो गर्न सक्छ । जति गल्ती गर्‍यो, त्यति नै सिकिँदो रहेछ । कामले परिपूर्ण कहिल्यै नहुँदो रहेछ । हामी जहिल्यै सिकिरहेका हुन्छौँ । फेलियर भएपछि पनि सफलताका खुड्किला बन्दै जान्छन् ।

निर्देशकले मलाई यसरी गर, ठ्याक्कै यस्तै गर्नुपर्छ वा यस्तै हुनुपर्छ भनेर नभनिदिएहुन्थ्यो जस्तो लाग्छ । निर्देशक आफैँले अभिनय गरेर डाइलग भनेर देखाएपछि त कलाकारबाट राम्रो कुरै आउँदैन नि ।


‘जात्रा’ मा काम गर्नुअघि तपाईंका भस्मेडन र बिन्दु माझीजस्ता उद्दण्ड पात्र हिट भइसकेका थिए । ‘जात्रा’को सुस्त र सोझो ‘फणीन्द्र’ भन्ने पात्रको भूमिका गर्दा डर लागेन ? 
निकै डर लागेको थियो । फणीन्द्र पात्र मेरा लागि निकै चुनौती थियो । त्यो पात्र आफैँ जोखिम पनि थियो । दर्शकमा मेरो एउटा छाप परिसकेको थियो । बिन्दु र भस्मेजस्ता पात्रमा दर्शकले मलाई विश्वास गर्नुभएको थियो । तर, मलाई फेरि अर्कै छाप पार्नुपर्ने चुनौती थियो । तपाईंले पनि मलाई विश्वास गरेर फणीन्द्र पात्र दिनुभयो । निर्देशकले कलाकारलाई विश्वास गरेर भूमिका दिएपछि चुनौतीलाई स्वीकार गर्नुपर्ने रहेछ ।


तपाईंले पैसाका लागि मात्रै फिल्म साइन गर्नुभएको छ ? 
छैन । यदि मैले पैसाका लागि मात्रै फिल्म साइन गरेको भए अहिले मसँग हरेक १५ दिनमा एउटा सिनेमा हुन्थ्यो होला । पैसाले मात्रै सबैथोक निर्धारण गर्दैन । पैसाकै लागि फिल्म साइन गर्नु नपरोस् पनि । म जिरोबाट आएको मान्छे हुँ । अहिले यहाँसम्म आइपुग्दा फाइदामै छु । अन्त्यमा सबैजना शून्यमै पुग्ने हो । त्यसैले मलाई एक्टिङ घाटाको बिजनेस लाग्दैन । अहिलेको कामले आवश्यकता पूर्ति भइरहेको छ । हिजो अभाव र आपतमा पनि पैसाका लागि फिल्म साइन गरिनँ । मेरो काम मन पराइदिनुभएको छ । अहिले त झन् दर्शकप्रति जिम्मेवारी बढेको छ । यसमा संवेदनशील भएर काम गरौँ जस्तो लाग्छ । कसैले अफर गर्दैमा आफ्नो क्षमताभन्दा माथि पुगेर गर्नु पनि नहुँदो रहेछ । 


तपाईंलाई निर्देशकले कस्ता कुरामा इन्टरफेयर नगरिदिएहुन्थ्यो जस्तो लाग्छ ? 
निर्देशकले मलाई यसरी गर, ठ्याक्कै यस्तै गर्नुपर्छ वा यस्तै हुनुपर्छ भनेर नभनिदिएहुन्थ्यो जस्तो लाग्छ । निर्देशक आफैँले अभिनय गरेर, डाइलग भनेर देखाएपछि त कलाकारबाट राम्रो कुरै आउँदैन नि । सेटमा कतिपय निर्देशकले माया गर्छन्, फुक्र्याउँछन् । बच्चालाई जस्तो व्यवहार पनि गर्छन् । यो एकदमै राम्रो कुरा पनि हो । त्यसले हामीलाई जिम्मेवार हुन सघाउँछ । अझै राम्रो गरौं जस्तो लाग्छ । तर, सुटिङमा निर्देशकको अनुहार फुस्रो देखियो भने राति निद्रा लाग्दैन ।


नाटकबाट सिनेमामा आएका कलाकारको अभिनय बढी लाउड भयो भनेको सुनिन्छ । तपाईंको अभिनय बढी लाउड भयो भनेर कसैले भनेको छ ? 

सिनेमामा हामीले समाज पनि भनिरहेका हुन्छौँ । हाम्रो बोलिचालीको भाषा हुनुपर्छ । हाम्रो समाजका क्यारेक्टर जस्तो बोल्छन्, त्यस्तै आउनुपर्छ । हामीले बोल्ने भाषा नै आउनुपर्छ साहित्य र सिनेमामा । यो कुरालाई नाटकले ल्यायो । नाटक नाटक हो र सिनेमा सिनेमा हो भन्ने कुरा धेरैलाई थाहा हुँदैन । फिल्मको टेक्निक फरक छन् । फिल्म एक्टिङ र नाटक एक्टिङमा सेम इमोसन पनि फरक तरिकाले हुँदो रहेछ । नाटकमा प्रस्ट बोल्नुपर्छ । क्यामेरा हुँदैन । दर्शकलाई पनि ध्यान दिनुपर्छ । फिल्ममा सामान्य गरे पनि पुग्छ । पहिले सिनेमामा नाटककै जस्तै गरियो । ‘छड्के’ फिल्म गर्दा यो कुराको महसुस गरेँ । क्यारेक्टर पनि त्यस्तो थियो । मैले नाटककैजस्तो इन्टेनसिटी खोजेको थिएँ । तर, फिल्ममा लेन्सले इन्टेनसिटी माग्छ । यो कुरा थाहा थिएन । कतिपय अवस्था मेरो पनि लाउड हुन्थ्यो । मैले बिस्तारै घटाएँ । नाटकमा जस्तै पछाडिको दर्शकलाई पनि बुझाउनुपर्दैन । फिल्ममा दर्शक आफैँ नजिक आउँछन् ।


अभिनययात्राको पहिलो सिनेमा र पछिल्लो सिनेमासम्म आइपुग्दा आफूमा के फरक पाउनुहुन्छ ? 
जतिवेला अभिनयको भोक थियो, त्यतिवेला नाटकमा सानो रोल पाउँदा पनि मेरो इच्छा पूरा भयो जस्तो लाग्थ्यो । जिन्दगीको मक्सद पूरा भयो भन्ने लाग्थ्यो । अर्काे नाटकमा फेरि दर्शकले नोटिस गर्ने खालको रोल पाएहुन्थ्यो जस्तो लाग्थ्यो । नाटकमा खेल्नुअघि नै टार्गेट बनाउँथेँ । नाटकमा मुख्य कास्टिङ हुन पाएहुन्थ्यो जस्तो लाग्थ्यो । फिल्म पनि खेल्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । फिल्ममा पनि मुख्य भूमिकामै काम पाएँ । जीवनमा बिस्तारै सपनाका दायरा फराकिला हुँदै गए । एकचोटि ठूलो सपना देख्दा कहिल्यै पूरा नहुने रहेछ । साना–साना सपना बढाउँदै जानुपर्ने रहेछ । त्यो वेला गुरुकुलमा भर्ना हुँदा खुसी थिएँ, त्यति नै अहिले सिनेमा ‘महाजात्रा’सम्म आइपुग्दा खुसी छु । अहिले पनि अभिनयको बाटोमै छु जस्तो लाग्छ ।


एउटा कलाकारले अभिनय गर्न मानसिक र शारीरिक रूपमा कत्तिको तयारी गर्नुपर्छ ?
अभिनयका लागि शारीरिक रूपमा एकदमै फिट हुनुपर्छ । मानसिक रूपमा पनि उत्तिकै तयारी गर्नुपर्छ । बाहिरबाट देख्दा अभिनय गर्ने त हो नि भन्ने सोच्छन् । तर, अभिनयमा फिल आउनुपर्छ । बाहिरबाट देखेजस्तो सजिलो हुँदैन । भारी बोक्न मात्रै होइन, कुटाइ खान पनि तयार हुनुपर्छ । मैले ‘महाजात्रा’को एउटा सिनमा अनुहार नदेखे पनि अभिनय गरेको छु । कुनै सिनमा अनुहार देखिँदैन, तर अभिनय गर्नुपर्छ । एउटा सिनेमामा बोराभित्र कुटाइ खाँदै एक्टिङ गरेको छु । सुम्लैसुम्ला बस्ने गरी कुटाइ खाइयो । त्यसैले कलाकारले सबै काम जानेको हुनुपर्ने रहेछ । डोको बोक्न, घाँस काट्न पनि जान्नुपर्छ । काम गरेजस्तो मात्रै गरेर मिल्दैन, कलाकारले साँच्चै काम गर्नुपर्छ । 


‘महाजात्रा’बाट कस्तो अपेक्षा गर्नुभएको छ ?
‘महाजात्रा’ले मेरो करिअर निर्धारण गर्छ भन्ने लाग्छ । चैत ९ गते मेरो फिल्मी करिअरका लागि निकै महत्वपूर्ण दिन हुनेछ । मलाई विश्वास छ, यो सिनेमाले नयाँ मापदण्ड निर्माण गर्नेछ । 


छोरीको बुबा हुनुअघि र पछि आफूमा के फरक पाउनुभयो ? 
मेरो बुबा पनि एक्टर हो भन्ने छोरीको दिमागमा पस्न थालेको छ । सिनेमा बुझ्ने भइसकेकी छैनन् । म नचिन्ने गेटअपमा छु भने पनि चिन्छिन् । बुबा भएपछि फरक महसुस हुँदो रहेछ । जसरी परेवाले गुँडमा सिन्का लिएर जान्छ, त्यो उसको जिम्मेवारी रहेछ । त्यो सिन्का पोथीलाई लगेर दिँदो रहेछ । त्यस्तै आफूमा पनि जिम्मेवरी थपिँदो रहेछ । 


तपाईंकी श्रीमतीलाई तपाईंको कुन सिनेमा मन पर्छ ? उहाँलाई तपाईंको मन नपरेको कुनै सिनेमा छ ? 
मैले अभिनय गरेको सिनेमामध्ये श्रीमतीलाई ‘जात्रा’ मन पर्छ । हरेक गृहिणीलाई ‘जात्रा’ मनपर्ने सिनेमा पनि हो । प्रेमिल श्रीमान् सबैको कल्पना हुन्छ । अहिले मेरी श्रीमतीले स्क्रिप्ट पनि पढ्छिन् । स्क्रिप्ट पढेर मलाई पनि सल्लाह दिने भइसकिन् । कुनै फिल्मको स्क्रिप्ट मैले भन्दा उनले पढेर सल्लाह पनि दिन्छिन् । कुनै सिनेमा हेरेर यस्तो चरित्रचाहिँ नगरेको भएहुन्थ्यो भनेकी पनि छिन् । एउटा सिनेमा हेरेर हलबाट घरसम्म पुग्दा मसँग बोल्दै बोलिनन् । ‘क्यारेक्टर नै भएन, यस्तो फिल्म पनि खेल्नु हुन्छ ?’ भनेर गाली गरिन् । एक शब्द बोलिनँ । अबचाहिँ १० पटक सोचेर काम गर्छु भनेर सम्झाएँ ।