
भोजपुर ट्याम्केमयुम गाउँपालिका–४ मा २०२४ सालमा मेरो जन्म भयो । मेरो बाल्यकाल विकट गाउँमा कष्टकर ढंगले बित्यो । हरेक सुविधाबाट वञ्चित भयाैँ । घरकी जेठी छोरी भएकाले सात–आठ वर्षकै उमेरबाट घरव्यवहार हेर्नुपर्यो । स्कुल पनि जानुपर्ने, त्यो पनि पूरै दिन जान नसकिने, बढी घरकै काम (घाँस, दाउरा, खेतीपाती) गर्नुपर्ने परिस्थिति थियो । यस हिसाबले बाल्यकाल घरमै बढी बित्यो । मैले प्रावि घरनजिकैको गोन्टाङमा पढेँ ।
त्यसपछि गाउँकै स्कुलबाट आठ कक्षा र सदरमुकामको अन्नपूर्ण माविबाट एसएलसी पास गरेँ । हाम्रो समयमा सानैमा बिहे गरिदिने चलन थियो । त्यतिवेला पढ्ने छात्रा नै थोरै हुन्थे । गाउँघरमा १४–१५ वर्ष पुगेपछि बिहेको उमेर भएको भनेर समाजले नै भन्थ्यो । घरको आमाबुबालाई पनि चिन्ता हुन्थ्यो । त्यो परिवेशमा मलाई पनि घरबाट बिहे गर्न दबाब दिइयो । हाम्रो समुदायको परम्पराअनुसार एकपटक छोरी माग्न आउँदा बुबाले हुन्छ भनेर वचन पनि दिनुभएको थियो । त्यतिवेला म १५ वर्षकी थिएँ । तर, १२ वर्षको उमेरदेखि नै जनवादी सांस्कृतिक कार्यक्रमबाट प्रभावित भएको र अभियानमै हिँडेकाले सानैमा बिहे गर्नुहुँदैन भन्नेमा सचेत थिएँ । त्यसैकारण बुबाले तय गरिदिएको बिहे गर्न अस्वीकार गरेँ ।
फेरि सानै उमेरमा बिहे गरेर जानु राम्रो होइन भन्ने लाग्थ्यो । घर–गाउँ छाडेर जानुपर्ने, आफू जन्मेको घरमा केही पनि अधिकार नहुने, त्यसरी अर्काे घरमा जानु किन परेको होला भन्ने मनमा एकदम खेलिरहन्थ्यो । उमेर नपुग्दै बिहे गर्नुहुन्न भन्ने मेरो सोचलाई बुबाले साथ दिनुभयो । उहाँ ब्रिटिस गोर्खा आर्मी भएकाले छोराछोरीको इच्छाअनुसार गर्नुपर्छ भन्नेमा हुनुहुन्थ्यो । मैले बोलिसकेपछि उहाँले कहिले पनि बिहे गर भनेर कर गर्नुभएन ।
कलेज पढ्दा कसैले पनि सीधा प्रस्ताव राखेनन् । तर, मेरो कुरा सुनाइदेऊ भनेर मान्छे पठाउँथे । कसैले त नाम नभन्नू भनेर पनि पठाउँथे । उहाँ बिहे गर्नुहुन्छ कि गर्नुहुन्न भनेर सोध्नू भन्थे । यस्तो खबर कसले पठाएको हो म थाहा पाइहाल्थेँ
एसएलसी पढ्दासम्म कसैप्रति आकर्षण पनि भएन । लभ पर्ने कुरा त धेरै परको भयो, तर प्रस्तावहरू भने आइरहेका थिए । एक त १५–१६ वर्षको खास उमेरमा ०३५/०३६ सालतिरै विद्यार्थी राजनीतिमा होमियो । त्यतिवेला पार्टीको कडा अनुशासन थियो । पार्टीले नै बिहे गरिदिने हुन्थ्यो, आफूले रोज्ने, खोज्ने अवस्था थिएन । प्रेम बिहे गर्ने अवस्था पनि थिएन । पार्टीले नै प्रेम गर्नहुन्न, चिठी लेख्न हुन्न भनेर स्कुलिङ गरेकाले हामी एकदमै अनुशासित भएर मन नै त्यतातिर गएन । त्यो अनुशासनले गाइड गर्यो ।
भोजपुर क्याम्पसमा आइए पढेँ । त्यतिवेला विद्यार्थी संगठनमा आबद्ध भएर अगाडि बढ्न सहज थिएन । बिहेकोभन्दा पञ्चायत ढाल्ने अभियानको टर्चर थियो । निरंकुश राजतन्त्रविरुद्धको अभियानमा लागेकाले सहज ढंगले बस्ने अवस्था थिएन । भूमिगत कार्यक्रम गर्यो, भाग्यो, कुद्यो । राजनीतिक भागदौडमै युवाकाल बित्यो, बिहेतिर ध्यानै गएन ।
दुखैदुःखमा समय बित्यो । आइए पढ्दै गर्दा गिरफ्तारीमा पनि परेँ । संघसंस्थाअन्तर्गतको मुद्दा तीन वर्ष खेप्नुपर्यो । पूरै हिरासतमा बस्नुपर्यो । त्यसले गर्दा आइए पूरा गर्नै पाँच/६ वर्ष लाग्यो । त्यसले गर्दा पनि बिहेतिर ध्यान गएन । यसक्रममा केटा साथीहरूबाट प्रस्ताव नआएको भने होइन । विद्यार्थी संगठनकै साथीहरूबाट मात्र होइन, पार्टीले नै बिहे गर्नुपर्छ भनेको थियो, तर मैले मानिनँ । बिहे भन्ने कुरामा मलाई दबाब नदिनुस्, मेरो खुसी हो, निजी विचार हो, यसमा मैले आफैँ निर्णय गर्न पाउनुपर्छ, गर्न पनि सक्छु, नगर्न पनि सक्छु, त्यति धेरै मलाई इन्ट्रेस्ट छैन भन्दै आएँ, मलाई इन्ट्रेस्ट थिएन पनि । किनभने अहिलेजस्तो सुविधा थिएन । बिहे गरेर अर्काे गाउँ ठाउँमा जानुपर्ने, यो सबै कुराले त्यतिवेला गाह्रो थियो । मलाई के कुराले उत्प्रेरित भयो भने बिहे गरिसकेपछि गाउँ ठाउँ छाडेर जानुपर्ने, त्यत्रो सेवा गरेको छु यो माटोमा, त्यो पनि छाडेर जानैपर्ने ! म बिहे गर्दिनँ भन्ने लाग्थ्यो ।
०४५ सालमा काठमाडौं आएर आन्दोलनमा होमियौँ । अखिल नेपाल महिला संघमा संगठित भएर विभिन्न मोर्चामा खट्यौँ । ०४७ सालमा खुला वातावरण भइसकेपछि एमाले पार्टीमा आबद्ध थिए, त्यही क्रममा ताहचलमा बिए पढ्न थालेँ । पढाइको वातावरण नियमित भयो । साथै बिहेको दबाब पनि बढ्दो थियो । कलेजमा साथीहरूले प्रेम र बिहेको प्रस्ताव पनि राख्थे । तर, पहिलेदेखि नै बिहे गर्नैपर्छ भन्ने लाग्दैनथ्यो । यद्यपि म बिहेको विरोधी भने होइन । तर, मलाई यो अर्कै संसारजस्तो लाग्थ्यो । मेरो भोगाइ, बुहारी भएर सारा अर्कै संसारमा जिउनुपर्छ, त्यसैले यो गर्दिनँ भन्ने लाग्यो । हुन त यो दुनियाँले गरेको कुरा हो । तर, मलाई अहिलेको भन्दा धेरै फरक परिवेशमा मेरो जीवन बित्छ भन्ने लाग्थ्यो । बित्थ्यो पनि । सानो ठाउँबाट म जहाँ पुगेँ, त्यसलाई छेक्थ्यो, असर गथ्र्याे । मेरो प्राथमिकताको विषय नै राजनीति, संगठन पर्यो ।
मैले पाटन क्याम्पसबाट मास्टर्स गरेँ । त्यहाँ मैले नियमित कलेज गएर पढ्न पाइनँ । किनभने म उपसभापति, अन्तरिम सांसदको जिम्मेवारीमा थिएँ । स्वअध्ययन गरेरै पास गरेँ । यो समयमा कलेजतिर त्यस्तो प्रेम र बिहेको विषय झेल्न परेन ।
कलेज पढ्दा कसैले पनि सीधा
प्रस्ताव राखेनन् । तर, मेरो कुरा सुनाइदेऊ भनेर मान्छे पठाउँथे । कसैले त नाम नभन्नू भनेर पनि पठाउँथे । उहाँ बिहे गर्नुहुन्छ कि गर्नुहुन्न भनेर सोध्नुभन्थे । यस्तो खबर कसले पठाएको हो म थाहा पाइहाल्थेँ । यस्तोचाहिँ थुप्रै भयो । भोजपुर पढ्दा पनि, काठमाडौं कलेज पढ्दा अरूमार्फत थुप्रै प्रस्ताव आउँथ्यो । मान्छेहरूले डाइरेक्ट एप्रोच गरेन ।
बुबाले मेरो बिहे गरिदिने भनेर साइमुन्द्रो (रीत) समेत खाइसक्नुभएको थियो । यो भनेको इंगेजमेन्ट नै हो । १५ वर्षको उमेर छँदा बुबाले केटा ठिकै छ, यतिका मान्छेले बिहे गरेका छन् भनेर मगनी गरिदिनुभयो । तर, मैले विद्रोह गरेँ, हुन्छ भनिसकेको कुरामा पनि गर्दै गर्दिनँ भनेँ । पल्लो गाउँबाट आफन्तमार्फत केटाको परिवार माग्न आएको थियो । छोरी दिएँ भनेर बोलिसक्नुभएको बुबाले ठीकै छ, छोरीको इच्छा हो भन्नुभयो । तर, आमाले सहज रूपमा लिनुभएन । छोरीले बिहे गरिदिएहुन्थ्यो, बिहे गरेर बसेहुन्थ्यो, दुःख नगरे हुन्थ्यो, किन गरेको होला भनेर आमा बढी चिन्तित हुनुहुन्थ्यो । फेरि मलाई माग्न आएको केटा एउटै स्कुल पढेको साथी थियो, उसले पनि सहजै लियो । लाहुरेहरूबाट पनि बिहेका लागि प्रस्ताव आउँथ्यो । विदेशबाट चिठीहरू आउँथे । तर, मचाहिँ गोर्खा भर्तीमा जानुहुन्न, बन्द गर्नुपर्छ भन्ने अभियानमा थिएँ ।
स्नातकोत्तरसम्मको पढाइपछि पार्टीबाटै बिहे प्रस्ताव आए । पार्टीका नेताले अब बिहे गर्नुपर्छ भनिरहे । प्रस्ताव निकै आउँथे । गर्नुपर्छ भनेर साथीहरूले भनिरहनुहुन्थ्यो । तर, मैले टार्दै गएँ । उमेर कट्दै गएपछि अब बिहे गर्नुहुन्न भन्ने विचार दृढ हुँदै गयो । नेताहरूमा माधव नेपाल कमरेडले यसरी बस्नुहुन्न, अब बिहे गर्नुपर्छ, तपाईंले अब सोच्नुस् भन्नुभएको थियो । साथै मान्छे नै हेरेर फलानोसँग गर्दा कसो होला भनेर सिफारिसै गर्नुभएको थियो । तर, मैले बिहे गर्ने सोच छैन भनेर मानिनँ ।
इलाममा लगन जुराउने झलनाथको प्रयास
पार्टीको केन्द्रीय कमिटीमा आइपुग्दा उमेर ३५ कटिसकेको थियो । झलनाथ खनालले आफ्नै ठाउँ (इलाम)तिर बिहे गराइदिने गरी पहल गर्नुभएको थियो । यसका लागि उहाँले घुमाउरो हिसाबले योजना बनाउनुभएको रहेछ । उहाँले इलामको पार्टीको जिम्मेवारीमा जान भन्नुभयो । उहाँले त्यतिवेला यो बिहे गरिदिने उद्देश्यले हो भनेर भन्नुभएन, पार्टीको काम गर्न जानुपर्यो भन्नुभयो । तर, उहाँको भित्री योजना बिहे गराइदिने रहेछ ।
मैले पार्टीको जिम्मा लिएर अर्काे जिल्ला होइन, आफ्नै भोजपुर जिल्ला जान्छु भनेर मानिनँ । म नगएपछि उहाँ (झलनाथ)ले भन्नुभयो, ‘कुरा बिग्रियो नि ! मैले बिहेको उद्देश्यले भनेको थिएँ, तपाईंले मान्नुभएन ।’ अभिभावकका हिसाबले उहाँहरूले तपाईंको जीवन धेरै संघर्षमा बित्यो, त्यसैमा जीवन अर्पण गर्नुभयो, तर तपाईंको जीवन अब यसरी हुँदैन, व्यवस्थापन गर्नुपर्छ, यो ढंगले सोचेर हुँदैन, अर्कै ढंगले सोच्नुपर्छ भनेर परिवारको सदस्यको रूपमा सुझाव दिइरहनुभयो । जिल्लाका नेताहरू, घरपरिवार, आफन्तहरूले पटक–पटक भनिरहे । तर, अब एउटा विचारमा अडिग भएपछि पहिला ठीक छैन लाग्यो, अहिले पनि ठीकै गरेछु भन्ने लाग्छ, पश्चत्ताप छैन ।
बिहेसँगै सन्तानको कुरो पनि जोडिएर आउँछ । तर, अहिले बिहे नगरेका मान्छेको धेरै छोराछोरी हुन्छ । गरेकाहरूको निश्चित हुन्छ, अहिले मसँग बहिनी, दाइका छोराछोरीहरू गरी पाँचजना बानेश्वरमा बस्छौँ । साथै जमघटमा अरूको बुढाबुढी, छोराछोरी देख्दा पनि मलाई त्यस्तो केही महसुस भएन । मेरो पनि भइदिएहुन्थ्यो भन्ने भएन, पहिले नै माइन्ड मेकअप गरेर होला । एक्लो जीवन आनन्द छ । अब कोही–कोही वेला बिरामी पर्दा, यताउता गर्दा कुनै सहयोग चाहिएको वेला परिवारको अभाव खड्किएला । तर, अहिलेको अवस्था हेर्दा छोराछोरी धेरै हुनेको पनि सँगै कोही हुँदैन, मर्ने वेलामा कहिल्यै सँगै हुँदैनन्, रात, दुई रात शव राख्नुपर्ने स्थिति छ । यो देख्दा मैले बिहे नगरेर ठीकै गरेछु लाग्छ ।
विवाह भनेको समाजलाई स्थापित गर्ने कुरा हो । समाज निर्माण, सृष्टि सञ्चालनका निम्ति जरुरी छ । किनभने सबैले मेरो जस्तै कुरा गरेर त हुँदैन । फेरि मैले आफूले नगरे पनि लमी भएर धेरै साथीभाइको बिहे गरिदिएको छु । जीवन बिताउने कुरामा बिहे गर, मजस्तो नबन भनेर प्रेरित गर्ने गरेको छु । जिल्ला तहका, मसँग काम गरेका नेताको पनि लमी बनेर बिहे गराइदिएको छु ।
बिहेका फाइदा र बेफाइदा
बिहे भइसकेपछिकोे सजिलो भनेको बिहे भइसकेपछि आमाबुबा, आफन्त र साथीभाइलाई सन्तोष हुन्छ । समाजले पनि राम्रै दृष्टिले हेर्छ । एकले अर्काेलाई सहयोग गर्ने, राम्रो मिल्दाखेरी एक–अर्कामा साथ सहयोग हुने, छ है भन्ने एकखालको विश्वास हुने, सामाजिक रूपमा राम्रो सन्देश जाने हुन्छ ।
अब बिहे नगर्दा एक्लै बस्ने सिंगल महिलालाई समाजले हेर्ने दृष्टिकोण त्यति राम्रो छैन । त्यसमाथि राजनीति गर्नेलाई अनेक आरोप लगाउन सक्छन् । अहिले त्यति धेरै छैन, हटेर गयो । तर, हाम्रो जमानामा नाम जोडेर अनेक लाल्छना लगाउने हुन्थ्यो । फेरि मैले केही कुराको निर्णय गर्नुपर्यो भने अरूको जस्तो श्रीमान्, छोराछोरीलाई सोध्नुपर्ने के हो भन्न परेन । कतै गइएछ भने तुरुन्तै आऊ भन्ने खालको पनि हुँदैन ।
अब राजनीति गर्दा पनि धेरैका श्रीमान्–श्रीमती सँगै लागे । तर, अहिले एकै परिवार हुँदा जहिल्यै महिलाले सेक्रिफाइस गर्नुपर्ने हुन्छ । मेरोमा त्यो भएन । त्यस्तै हुन्छ कि भन्ने डर पनि थियो । कही न कही त्यसको असर हुन्छ नै । मैले मेरो आफ्नो स्वविवेक, स्वविचारले चाहेअनुसारको स्वतन्त्रपूर्वक गर्न पाएँ, खुला भएर राजनीतिमा लागिरहन पाएँ, यो जिम्मेवारीमा पुग्न सकेँ । त्यही त ठूलो कुरो रहेछ ।
कसैको दबाब सहनुपर्ने, हप्कीदप्की, कुटाइ खानुपर्ने स्थिति रहेन । मेरा कतिपय साथीहरू कुटाइ खाएर पनि बसेका छन् । महिलाहरूले यति धेरै हिंसा भोग्नुपरेको थियो, त्यसविरुद्ध बोल्नुपर्छ भन्ने थियो, समाजभित्रको अन्याय, अत्याचारविरुद्ध बोल्न पाएहुन्थ्यो, यस्तो कुरा पर्छ, बिहेमा अल्झिनुहुन्न भनेर गरिनँ । अर्काको अधीनमा बस्ने कहिले पनि बानी भएन । घरबाट पनि एककिसिमले आफ्नो निर्णय नै गरेर आइयो, त्यो पनि एउटा कारण हो । अर्काे घरमा गयो भने त मेरो मात्रै निर्णय हुन सक्दैन, यो कसरी सहन गरिन्छ होला भन्ने लाग्थ्यो । यसका दुइटै पक्ष हुन्छ । मेरो हकमा समाजमा केही बदल्नुपर्छ भन्नेमै बढी चिन्तित भएँ । त्यसैले यो विवाहप्रति मेरो लगाव पनि भएन र जीवनमा त्यति धेरै मान्यता नै दिइनँ, तर म बिहेविरोधी होइन, समाज सञ्चालन गर्ने सवालमा बिहे नगर्ने कुरा राम्रो होइन ।