• वि.सं २०८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नगेन्द्र थापा
२०८० फाल्गुण ५ शनिबार ०९:०२:००
इतिहास

नारायणगोपाल र गोपाल योञ्जनसँग बिताएका क्षण

२०८० फाल्गुण ५ शनिबार ०९:०२:००
नगेन्द्र थापा

थोरै, तर कालजयी गीत लेख्ने सर्जक हुन्, नगेन्द्र थापा । उनका अधिकांश गीतमा गोपाल योञ्जनको संगीत र नारायणगोपालको स्वर छ । ‘चिनारी हाम्रो..’, ‘संगाल घुम्टोहरू ..’, ‘मेरो गीत म उभेको धुलोले सुनोस्...’, ‘बिर्सेर फेरि...’ लगायत गीतका रचनाकार थापा कवि–लेखकका रूपमा पनि उत्तिकै चर्चित छन् : प्रतिमा, सिन्कौली माया, हाम्रो प्रिती बस्यो रे (कवितासंग्रह), गोपालको बाँसुरी (गीतसंग्रह) तथा थुप्रै लेख–रचना प्रकाशित भइसकेका छन् । ७८ वर्षका थापाले गोपाल योञ्जन र नारायणगोपालको सम्झना अन्वेषण अधिकारीसँगको कुराकानीमा यसरी गरे :

 

नौ दाजुभाइमध्ये पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा काइँलो र म आठौँ नम्बरको हुँ । सानोमा आमासँगै बसेँ । काठमाडौं आउने–जाने भइरहन्थ्यो । जुद्धोदय हाइस्कुलबाट एसएलसी दिएपछि म दाइसँगै बसेँ । दाइको सोच मलाई डाक्टर बनाउने थियो । तैँले पास मात्रै गर्, म विदेश पढ्न जान छात्रवृत्ति मिलाइदिन्छु भन्नुभयो । अमृत साइन्स कलेजका तत्कालीन प्रमुख अमृतप्रसाद प्रधान डेरामै आएर भर्ना लिनुभयो । दाइ ठूलो नेता भएकाले सत्तामा जाँदा हामी क्वार्टरमा सथ्र्यौं । त्यसपछि फेरि डेराको वास हुन्थ्यो । एकपटक प्रधानमन्त्री पद सकिएपछि राजा महेन्द्रले सोधेछन्, ‘सूर्यबहादुर तिमी अब कहाँ सर्छौ ?’ दाइले, ‘सरकार नयाँ डेरा खोज्छु भन्नुभएछ ।’ महेन्द्रले त्यसपछि घर बनाउन पाँच लाख दिनुभयो । त्यही पैसाले दाइले मालीगाउँमा एकतले घर बनाएपछि हामी यता सर्‍यौँ । 


मलाई राजनीतिमा फिटिक्कै रुचि भएन । दाइको आफ्नो सर्कल हुन्थ्यो, मेरो आफ्नै । भर्खरको उमेर, छात्रवृत्ति पाएर अमेरिका जान पाइएला भन्ने आसले दाइको सल्लाह मानेर विज्ञान विषयमा भर्ना भएँ । दोस्रो वर्षमा पुगेपछि गड्यौँला, भ्यागुतो चलाउनुपर्ने भयो । मलाई कोठामा आएपछि खानै मन नलाग्ने । 


मेरो रुचि साहित्यमा थियो । त्यसैले पहिले ‘प्रतिमा’ कविता संग्रह निकालेँ । आमासँग अलिकति पैसा मागेर अन्नपूर्ण प्रेसमा गएर पाँच सयप्रति छपाएको थिएँ । त्यसको दुई प्रति दाइलाई दिँदै भनेँ, ‘मेरो रुचि यता छ । विज्ञान पढ्न सक्दिनँ ।’ त्यस्तो रुचि देखेपछि दाइले पनि ‘भैगो जा’ भनेर छाडिदिनुभयो । 


०२१ सालताका म दार्जिलिङ गएर बिए पढ्न थालेँ । गोपाल योञ्जन र म एउटै बेन्चमा बसेर पढ्यौँ । साँझको समय हिमालय कला मन्दिरमा कलाकार जम्मा हुन्थे । कर्म योञ्जन, म र गोपाल छुट्दैनथ्यौँ । दार्जिलिङ फेसन, साहित्य र कलामा काठमाडौंभन्दा निकै अघि थियो । कविगोष्ठीहरू भइरहन्थे । अगमसिंह गिरी, ईश्वर बल्लभ, अम्बर गुरुङ, बैरागी काइँला, इन्द्रबहादुर राईलगायत साहित्यकारसँग त्यहाँ राम्रै संगत भयो । अगमसिंह दाइसँगको संगत खास थियो । उहाँले मलाई आफ्नै भाइजसरी माया गर्नुभयो । धेरैपटक पिएर मातेपछि मेरो काँधमा हात राख्न लगाएर उहाँलाई रेल्वे स्टेसननजिक रहेको घर पुर्‍याएको छु । खुट्टा लर्बराइसक्दा पनि उहाँको मस्तिष्क सचेत हुन्थ्यो । भन्नुहुन्थ्यो, ‘तपार्इं नेपालको प्रधानमन्त्रीको भाइ, मलाई यो हालतमा समाएर हिँडेको देख्दा अरूले के भन्लान् ? यतै छोडिदिनुस् ।’ उहाँ आफैँ सम्मानित स्रष्टा, दार्जिलिङमा नचिन्ने कोही थिएन । तैपनि, मेरो इज्जतको धेरै ख्याल गर्नुहुन्थ्यो । 

गोपाल संगीतको त्रिवेणी हो । गीतकार र संगीतकारका रूपमा उसको परिचय अझै खास छ । संगीतबाहेक उसको लगाव बौद्ध दर्शन अध्ययनमा थियो । दरबार त्यागिसकेका सन्न्यासी बुद्धको झल्को उसमा देखिन्थ्यो, ‘शान्त, करुणामय र निष्कपट । 


धेरै कवितागोष्ठीमा गोपाल मसँगै जान्थ्यो । दुई कविता संग्रह– सिन्कौली माया र हाम्रो प्रिती बस्यो रे ! मैले दार्जिलिङ छँदै प्रकाशित गरेको हुँ । मेरा धेरै कविता सुनिसकेपछि गोपालले गीत लेख्न करकाप गर्न थाल्यो । यतिवेला हामी प्रेमध्वज प्रधान, बच्चु कैलाश, पुष्प नेपाली, नारायणगोपाललगायतका गीत खुबै सुन्थ्यौँ । नारायणगोपालको स्वर फरक सुनिएकाले गोपाल र मेरो कुरा हुन्थ्यो, ‘यो स्वरलाई ट्र्याकमा ल्याउँदा साँच्चै अभूतपूर्व सुनिन्छ ।’ 


नारायणगोपालसँगको पहिलो भेट 
बरोडामा बसेर संगीत सिकिरहेको नारायणगोपाल एकपटक दार्जिलिङ आयो । त्यतिवेला ऊ ईश्वर बल्लभ दाइकहाँ बसेको थियो । त्यसपछि हामीसँग भेट भयो । एक दिन ईश्वर दाइले नारायणगोपाल र गोपालको मीत लगाइदिने प्रस्ताव राख्नुभयो । मैले गोपाललाई भनेँ, उसले स्विकार्‍यो । अनि, यी दुई मीतज्यू बने । 


दोस्रोपटक दार्जिलिङ आउँदा पनि नारायणगोपाल ईश्वर बल्लभ दाइसँगै बसेको थियो । यतिवेला रत्न रेकर्डिङले उसलाई आठवटा गीत तयार गर्न भनेको रहेछ । त्यसका लागि कला मन्दिरमा हाम्रो छलफल हुन्थ्यो । गोपाल योञ्जन र नारायणगोपालले छानेका आठ गीतमध्ये मैले लेखेको ‘चिनारी हाम्रो धेरै पुरानो रहेझैँ लाग्दछ...’ पनि थियो । नारायणगोपाललाई असाध्यै मन परेछ । धेरै भावार्थ लगाउन सकिने गरी यो गीत तयार गरेको थिएँ । यसमा आमा र सन्तानको सम्बन्ध, मानिस र प्रकृतिको सम्बन्ध, माया–प्रेमलगायत अर्थ लुकेका छन् । 

नारायणगोपालको पहिचान नै उसको आवाज हो । यद्यपि, गीत लेख्न र संगीत भर्न ऊ त्यत्तिकै माहिर थियो । राजनीतिमा गहिरो चाख राख्ने र तर्क–वितर्क गर्ने बानी थियो । भूगोल, साहित्य, समाजको उत्तिकै ज्ञान थियो । 


नारायणगोपाल दोस्रोपटक आएको मुख्य कारण पेमलासँगको भेट थियो । चिठीपत्र आदानप्रदानमार्फत साथी बने पनि उनीहरूको भेट भइसकेको थिएन । पेमलासँग भेटाइदिन नारायणगोपाललाई लिएर कर्म दाइ, म र गोपाल ल्यान्डरोभरमा मिरिकस्थित पेमलाले पढाउने स्कुल गएका थियौँ । गोपाल र मैले स्कुलको गेटमा पुगेर पेमलालाई बोलायौँ । त्यसपछि पेमला आइन् । गोपालले ‘उहाँ मीतज्यू’ भनेर औँला देखाउँदा पेमलाले झुक्किएर मलाई नारायणगोपाल भन्ने ठानिछन् । मैले ‘म होइन, नारायणगोपाल त्यहाँ हुनुहुन्छ’ भनेर देखाइदिएँ । नारायणगोपाल र कर्म दाइ केही पर गाडीमा बसेका थिए । 


यो पहिलो भेटमा उनीहरूलाई भारत–नेपाल सिमानामा केही समय छाडेर हामी नजिकै बस्यौँ । नारायणगोपालले पेमलालाई पहिलो भेटमा ‘चिनारी हाम्रो ...’ गाएर सुनाएछ । यसको केहीपछि यो गीत नारायणगोपालको शब्द र गोपाल योञ्जनको संगीतमा रेकर्ड भयो । बिएको जाँच दिएपछि म काठमाडौं फर्किने भएँ । गोपाल योञ्जनसँग छुट्दा मलाई निकै गाह्रो भइरहेको थियो । ऊ संगीतको त्रिवेणी थियो, ‘रचना, संगीत र आवाज’ सबै राम्रो । उसका शब्दहरू हृदयमा गढ्थे, संगीत सुन्दा बेग्लै आनन्द आउँथ्यो । हामी निकै आत्मीय भइसकेका थियौँ । मैले गोपालको गीत संग्रह उसलाई नै समर्पित गरेर लेखेको थिएँ । हामी दुवैलाई फेरि भेटिँदैन भन्ने लागेको थियो । 


सम्बन्ध 
काठमाडौं फर्किएपछि गोपालकै याद आउन थाल्यो । उसलाई लिन म दार्जिलिङ फर्किएँ । तर, आमा मानिरहनुभएको थिएन । गोपाल सात महिनाको छँदै बुबाको निधन भएको, परिवारमा दिदी र आमा मात्रै । त्यसैले छोरा टाढा पठाउन नचाहने । तर, मैले कर गरेपछि उहाँले मान्नुभयो । दार्जिलिङ छँदा म गोपालको घरमा गइरहने भएकाले आमाले निकै माया गर्नुहुन्थ्यो । बरोडाबाट नारायणगोपाल पनि फर्किएपछि हामी तीनजना असनका गल्ली–गल्ली घुम्थ्यौँ । 


गोपालले त्रिभुवन विश्वविद्यालयमा मास्टर्स पढ्न थालेको थियो । दिदी–भिनाजुसँगै बस्थ्यो । हामी भेट्नासाथ संगीतकै कुरा हुन्थ्यो । पशुपतिमा धुनी जगाएर बस्ने एकजना जोगी थियो । नारायणगोपाललाई देखेपछि बोलाउँथ्यो, गाँजा दिन्थ्यो । गाँजा सल्काएर जोगीलाई थमाएपछि नारायण भजन गाउन थाल्थ्यो । नारायणगोपाल र गोपालबीच धेरै समानता थिए । मुख्यतः नेपाली सुगम संगीतलाई प्रवद्र्धन गर्ने सवालमा हामी एकमत थियौँ । 


खानपान फरक–फरक थियो । गोपाल पूर्ण शाकाहारी थियो । उसको मुखमा कहिल्यै माछामासु परेन । परिवारमा कसैले पनि खाएनन् । तर, मदिरा थोरै पिउँथ्यो । म माछा–मासु खाने भए पनि मदिरा पिउँदिनथेँ । काठमाडाैंमा हुर्किएको नारायणगोपाल मासु र मदिराप्रेमी थियो । ‘सूर्यबहादुरको भाइ भट्टीमा भेटियो’ भन्ने सन्देश नजाओस् भनेर पनि म सजग थिएँ । उनीहरू वेला–वेलामा पिउँथे । 


गोपाल आध्यात्मिक चेत भएको मानिस थियो । बौद्धधर्ममा उसको गहिरो लगाव, सधैँ शान्त रहन्थ्यो । त्यति विनम्र र करुणाले भरिएको मानिस सायदै भेटिन्छ होला । घरमा कुकुरलाई सुम्सुम्याउँदै सोध्थ्यो, ‘आज के खाइस् ? कसैले तँलाई गाली गरेको छैन नि ?’ सबैलाई यस्तै स्नेह बाँड्न सक्थ्यो । संगीत र अध्यात्मबाहेक उसलाई अरू कुरामा त्यति रुचि थिएन । 


नारायणगोपाललाई धर्मबारे खास मतलब थिएन । पूजापाठ गरेको कहिल्यै देखिएन । समाज, राजनीति, विश्वराजनीति, भूगोलबारे पढ्ने र तर्क–वितर्क गर्ने बानी थियो । त्यसैले धेरैजनासँग उसको बहस चलिरहेकै हुन्थ्यो । त्यस समय ऊ नेसनल जियोग्राफी म्यागेजिनको नियमित पाठक थियो । संगीतबारे पनि धेरै अध्ययन गर्ने, गीत छानेर गाउन सक्नुको कारण ऊभित्रको चेत र बौद्धिकता थियो । 

नगेन्द्र थापा, गोपाल योञ्जन र नारायणगोपाल


चेस खेल्नमा दुवैको उत्तिकै रुचि थियो । मलाई पनि चेस खेल्न आउँथ्यो । तर, प्रायः उनीहरू दुईजना भिड्थे । गोपालसँग छुटेपछि पनि नारायणगोपाल अन्य साथीहरू भेटेर चेस खेलिरहन्थ्यो, त्यस्तो लगाव थियो । फुटबल हेर्न पनि हामी धेरैपटक रंगशाला गयौँ । नारायणगोपाललाई काठमाडौंका टिममा को–को खेलाडी छन् र कसले कस्तो खेल्छ भन्ने सबै जानकारी हुन्थ्यो । दिनभर बदाम खाँदै फुटबल हेर्ने गरियो । नारायणगोपालको घरमा पनि आवत–जावत चलिरहन्थ्यो । उसको बुबा आशागोपालले हामीलाई धेरै माया गर्ने । 


२७ सालतिर एक दिन थोत्रो सुटकेस बोकेर नारायणगोपाल मेरोमा आयो । अनुहार न्याउरो थियो । पैसा नभएर दार्जिलिङ जान नपाएको बतायो । पेमलासँग बिहे गर्ने योजना बनिसकेको रहेछ । हामीले त्यसको केही समयअघि ‘मीतज्यू नाइट’ गरेका थियौँ र पैसा मैले राखेको थिएँ । २२–२४ हजारजति थियो । त्यसमा ५–७ हजार बढी भए सजिलो हुन्छ भनेपछि मैले बाँकी सापटी गरेर थपेर दिएँ । दार्जिलिङबाट फर्केर आएपछि उसलाई परिवारले स्विकारेन । पोखरामा भूपि शेरचनको घरमा गएर बस्यो । भूपि दाइले हामीलाई निकै माया गर्ने, नारायणगोपाललाई ‘सानोबाबु’ भन्नुहुन्थ्यो ।


नारायणगोपाललाई काठमाडौंमै जागिर मिलाउने प्रयास गरेँ । रेडियो नेपालमा मिलेको पनि थियो । तर, नारायणगोपाललाई जागिर दिए पनि गोपाल योञ्जनलाई जागिर दिन अन्य गायक–गायिका तयार भएनन् । त्यहाँ दरबारको सिफारिसमा जागिर खाएका कलाकारलाई नारायणगोपाल र गोपाल दुवै आएपछि हामीलाई उछिन्छन् भन्ने परेछ । गोपालको जागिर नमिलेपछि नारायणगोपालले पनि जागिर खाएन । 


केही समयपछि गोपालले रिन्छेनसँग बिहे गर्ने भयो । मैले नै दार्जिलिङ गएर आमालाई मनाएर आएँ । मेरी श्रीमतीलाई मसँग भेटाइदिने काम गोपालले नै गरेको हो । उसले प्रहरीको सांगीतिक फाँट, सेन्ट जेभियर्स स्कुल, सेन्ट मेरिज स्कुल र त्यसपछि पद्मकन्यामा पनि पढाउन थालिसकेको थियो । चेलाचेली धेरै बनायो । मञ्जु थापा र मेरो जोडी सुहाउँछ, स्वभाव मिल्ने भएकाले घर–व्यवहार राम्रो चल्छ भन्ने उसलाई परेछ । पद्मकन्यामा रानी ऐश्वर्य आउने एक कार्यक्रममा ‘डाँफे चरी’ भन्ने गीति नाटिका देखाउने तयारी थियो । मलाई बोलायो । यसमा मञ्जुले लिड रोलमा नृत्य गरेकी थिइन् । एक–डेढ घन्टा प्रस्तुति हेरेँ । यसपछि मैले दाइसँग कुरा गरेँ, दाइले नै मागी विवाह गरिदिनुभयो । 


नेपाली संगीतलाई नै प्रवद्र्धन गर्न हामीले झन्डै दुई वर्षसम्म ‘बागिना’ (बाजा, गीत र नृत्य) पत्रिका निकाल्यौँ । पत्रिका निकाल्ने योजना नारायणगोपालको थियो, नाम मैले जुराएँ । साहित्यिक पत्रिकाहरू नै निस्कन हम्मेहम्मे पर्ने त्यो जमाना संगीतको पत्रिका निकाल्नु सामान्य कुरा थिएन । बालमुकुन्ददेव पाण्डे र उत्तम कुँवरले प्रेस र कागज मिलाइदिएर यसमा धेरै सहयोग गर्नुभयो ।


०३६ सालतिर मन्त्री केबी शाहीले मलाई नाचघरको महाप्रबन्धक बन्न आग्रह गर्नुभयो । उहाँले नियुक्तिपत्रसमेत टाइप गर्न लगाइसक्नुभएको रहेछ । मैले नारायणगोपालको नाम सिफारिस गरेँ । कतिजनाले नारायणगोपाल रिसाउँछ, रक्सी खान्छ, झगडा गर्छ भनेर हल्ला चलाइदिएका रहेछन् । दरबारको आँखा परेको ठाउँ भएकाले यहाँ अनुशासन ठूलो थियो । मैले नारायणगोपालबारेका हल्ला चिरेर केबी दाइलाई कन्भिन्स गर्न धेरै मिहिनेत गर्नुपर्‍यो । अन्त्यमा नारायणगोपाललाई नियुक्ति पत्र दिँदै केबी दाइले भन्नुभयो, ‘साथी गज्जबकै पाउनुभएछ नारायणजी । तर, तपाईंले गल्ती गर्नुभयो भने म नगेन्द्रलाई कारबाही गर्छु ।’ 


कतिपयले नारायणगोपाल अत्यधिक पिउँथ्यो भन्छन् । नेवारको छोरा भएकाले स्वाभाविक रूपमा अरूभन्दा बढी पिउँथ्यो । तर, उसले त्यसरी खुट्टै नटेक्ने गरी वा जीवन नै लथालिंग हुने गरी पिएको होइन । नत्र, नाचघरजस्तो दरबारको आँखा परेको ठाउँमा महाप्रबन्धकका रूपमा कसरी काम गर्‍यो ? रक्सी खाएर बसेको भए त्यहाँबाट तुरुन्तै निकालिन्थ्यो । कार्यक्रममा जाँदा वा गीत गाउनुअघि मुड फ्रेस गर्न थोरै खान्थ्यो । फुर्सदमा लागुन्जेल खान्थ्यो, उसको शरीर पनि ठूलो भएकाले अरूभन्दा धेरै रक्सी पचाउँथ्यो । स्वभाव एग्रेसिभ पनि होइन । तर, चित्त नबुझेको कुराको प्रतिवाद गथ्र्यो । कसैसँग साह्रै रिस उठेका वेला, ‘त्यसलाई म धोबीपाट दिन्छु भन्थ्यो ।’ उसले पहलमानी सिकेको थियो । 


पछिल्ला वर्षहरू
विवाहपछि व्यावहारिक जीवन सुरु भयो । स्वाभाविक रूपमा भेटघाट केही पातलिने भयो । नारायणगोपाल र गोपाल टाढिए भनेको पनि सुनियो । तर, मसँग भेट्दा उनीहरू पहिलेजस्तै मिलेका हुन्थे । पहिलेजस्तै ख्यालठट्टा चल्थ्यो । त्यसैले, मलाई धेरै कोट्याउन पनि मन थिएन । धेरैपछि थाहा भयो,‘उनीहरूले नगेन्द्रसँग भेट्दा हामी ठिकठाक भएजस्तो गर्ने, नत्र यसलाई पीडा हुन्छ भनेर आन्तरिक सहमति गरेका रहेछन् ।’ कोट्याएर फाइदा पनि थिएन ।


केही वर्षपछि नारायणगोपालको सुगर लेभल बढ्न थाल्यो । डाक्टरले रातो मासु नखानू भनेपछि उसलाई त्यही खान मन लागेछ । पेमलाले कम मासु ल्याउन खोज्दा ‘नारायणगोपालकी श्रीमतीले एक पाउ मासु किन्दा बेइज्जत हुन्छ । एक किलो ल्याऊ’ भन्दो रहेछ । त्यही मासु पकाएर पेमला दिउँसो जागिरमा जान्थिन् । नारायणगोपालले दिउँसोभरिमा मासु सक्ने रहेछ ।


किड्नी फेल भएपछि उसलाई वीर अस्पताल भर्ना गरियो । किड्नी ट्रान्सप्लान्टका लागि मद्रास जाने तारतम्य मिलाइसकेका थियौँ । वसन्त चौधरीले सहयोग गर्ने, म र पेमला मद्रास जाने योजना बनिसकेको थियोे । यसका लागि नारायणगोपालको स्वास्थ्यमा सामान्य सुधार आवश्यक थियो । वसन्त चौधरीले बैंककबाटै विशेष डायलेसिस मेसिन झिकाए । उपचार चलिरहेको थियो । मेरो वास अस्पतालमै हुन्थ्यो ।

 

नारायणगोपालले निद्रा लाग्न छाड्यो भनेपछि मैले ‘आँखा चिम्लिएर पशुपतिनाथ सम्झिऊ’ भनेँ । उसले हुन्छ भन्यो । भोलिपल्ट त, ‘मैले आँखा चिम्लिएर पशुपति सम्झिन खोज्दा जोगमेहर श्रेष्ठको अनुहार पो याद आउँछ भन्थ्यो । उसलाई त्यस्तो किन लाग्यो र त्यस्तो भन्यो मैले केही बुझ्न सकिनँ ।’ त्यसको ५–६ दिनमै ऊ बित्यो । डिस्चार्ज गर्ने भनेको दिनमै हृदयाघात भएपछि आइसियूमा लगिएको थियोे । आइसियूमा लग्ने र निकाल्ने गर्दा–गर्दै ब्लड सप्लाई रोकिएर ब्रेनह्याम्ब्रेज भइसकेको रहेछ । 


०५४ सालमा जन्डिस बिग्रिएर गोपालको पनि निधन भयो । उसलाई यहाँ सुधार नभएपछि दिल्लीको एपोलो अस्पताल लगिएको थियो । दिल्लीमा स्वास्थ्य सुधार भएर फोनमा कुराकानी पनि भएको थियो । ‘म आउँदै छु’ भन्थ्यो, दुई दिनपछि रिन्छेनले निधनको खबर दिइन् ।