• वि.सं २०८२ श्रावण ३ बिहीबार
  • Thursday, 17 July, 2025
डा. गोविन्द टण्डन
२०८० फाल्गुण १२ शनिबार ०९:०४:००
समाज

त्यो पशुपति, यो पशुपति

२०८० फाल्गुण १२ शनिबार ०९:०४:००
डा. गोविन्द टण्डन

६ दशकअघि डा. गोविन्द टण्डन बालक हुँदा गौशाला, बत्तीसपुतलीवरपर औँलाले गन्न सकिने घर थिए, प्रशस्तै खेतीयोग्य जमिन र साँघुरा बाटा थिए । सीमित गाडी गुड्थे । बिस्तारै खेतीयोग्य जमिन र जंगल मासिए र घर ठडिए । ०४४ देखि ०४९ सालसम्म पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष र त्यसपछि १४ महिना सदस्यसचिवको जिम्मेवारी सम्हालेका टण्डनको बुझाइमा पशुपति निकै फेरिएको छ । पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनलगायत विभिन्न पुस्तक लेखिसकेका संस्कृतिविद् टण्डनले पशुपति क्षेत्रमा आएको बदलाव अन्वेषण अधिकारीसँग यसरी सुनाए :

 

वैदिक सनातनीहरू जीवनमा एकपटक दर्शन गर्नैपर्ने आस्थाको धरोहरका रूपमा पशुपतिनाथलाई लिन्छन् ।लिच्छविकालका राजा मानदेव (विसं ५२२–५६३) कै पालादेखिका शिलापत्र पशुपति क्षेत्रमा भेटिनुले पशुपतिको महŒव सदियौँदेखि रहिआएको प्रमाणित गर्छ । पशुपति क्षेत्रजस्तो जीवन्त सम्पदास्थल विश्वमा बिरलै भेटिन्छन् । यहाँ हरेक दिन कुनै न कुनै चाडपर्व, जात्रा, उत्सव मनाइनेदेखि लिएर मानिसको जन्मदेखि मृत्युसम्मका क्रिया–कर्म चौबीसै घन्टा चलिरहेको हुन्छ । यस अर्थमा पशुपति क्षेत्र चौबीसै घन्टा जागा हुन्छ । १२४ भाषाभाषी, १२५ भन्दा धेरै जातजाति बसोवास गर्ने हाम्रो देशको सांस्कृतिक विविधताको मूर्त रूप पशुपति क्षेत्रमा हुने विभिन्न चाडपर्व, उत्सवमा देख्न पाइन्छ ।

 

सत्बीजारोपण, महाशिवरात्रि, तिज, जनैपूर्णिमा, छठजस्ता अनेकौँ चाडपर्वमा सहभागी हुने दर्शनार्थी, भक्तजनहरूको घुइँचोमा विभिन्न जातजातिको अभेद संलग्नताले अनेकताभित्र एकताको मूर्तरूपको अभिव्यक्ति देख्न पाइन्छ । सनातन हिन्दू धर्मावलम्बीका आराध्य पशुपतिनाथ ज्योर्तिलिंग स्वरूपमा नेपालमा हुनु गौरवको विषय हो । तर, विडम्बना, पशुपति क्षेत्रको वातावरणलाई प्रदूषित हुनबाट जोगाउन जति गर्नुपर्ने थियो, त्यो हामीले गर्न सकिरहेका छैनौँ । 

 

 थेगिनसक्नु प्रदूषण 
हामी केटाकेटी छँदा २०२०–२०२२ सालतिर बागमती नदीको पानी निकै सङ्लो थियो । बागमती वरपरका बासिन्दा यहीँको पानी पिउँथे । मानिसहरू बागमतीमा पौडी खेल्न आउँथे । वर्षैभरि बागमतीमा पौडी खेल्न पुग्दो पानीको सतह हुन्थ्यो । वर्षामा त किनार–किनारमा पनि पानी बगेको हुन्थ्यो । बाह्रै मास बागमतीमा असला माछा खेलिरहेका देखिन्थे, अनेक प्रकारका चराचुरुंगी बागमतीको दायाँबायाँ डिलमा नाचिरहेका देखिन्थे । 


२०३५ सालपछि देवपाटन, बौद्ध, चाबहिल, बत्तीसपुतलीतिर बिस्तारै बस्ती बढ्दै गयो । बौद्धआसपास कार्पेट कारखाना खुल्दै गए । कुनै–कुनै कार्पेट कारखानामा त आठ–दश हजार श्रमिक हुन्थे । त्यहाँ व्यवस्थित शौचालय नहुनाले दिशा–पिसाब सीधै बागमतीमा खसालेको पनि देखियो ।


पहिले–पहिले गौरीघाटको एक ठाउँमा खासगरी वर्षाको समयमा ढल बगेको देखिन्थ्यो भने पछि गएर अन्धाधुन्ध बस्ती विस्तारका कारण जताततैबाट ढल ल्याएर बागमतीमा मिसाइन थालियो । थोरै बस्ती हुँदासम्म कुलो–कुलेसोको रूपमा बगेका पानी बागमती छेउछाउका खेतबारीमा मिसिन्थे, बागमतीमा खस्नै पाउँदैनथे । पछि अनियन्त्रित भयो । 


पशुपति क्षेत्र विकास कोषको स्थापनापछि बागमतीलाई कसरी ढलमुक्त गराउन सकिएला भन्ने विषयमा चर्चा–परिचर्चा हुन थाल्यो । बागमतीलाई ढलमुक्त कसरी बनाउने भनेर (२०४४–२०४९ तिर) सर्भे पनि भयो । तर, काठमाडाैं खाल्डोमा बस्ती विकासको रफ्तार यसरी बढ्यो कि व्यवस्थित रूपमा सहरीकरण हुन नसक्दा बिस्तारै सबै नदीनाला कुरूप हुँदै गए । बागमती प्रदूषित बनेपछि त्यहाँको जलले भगवान् पशुपतिनाथको स्नान गर्नै छोडियो र भष्मेश्वरघाटको पछाडि अलग्गै इनार खनी त्यहाँको जलले पशुपतिनाथको नित्य स्नान गर्न थालियो । अलग्गै इनार खनिएको भए पनि यसको स्रोतनजिकैको बागमती नै हो । 

पशुपति क्षेत्रजस्तो जीवन्त सम्पदास्थल विश्वमा बिरलै भेटिन्छन् । यहाँ हरेक दिन कुनै न कुनै चाडपर्व, जात्रा, उत्सव मनाइनेदेखि लिएर मानिसको जन्मदेखि मृत्युसम्मका कर्म चलिरहेका हुन्छन् । यस्तो आराध्यस्थल नेपालमा हुनु गौरवको विषय हो । तर, विडम्बना, पशुपति क्षेत्रको वातावरणलाई प्रदूषित हुनबाट जोगाउन जति गर्नुपर्ने थियो, यति हामीले गर्न सकिरहेका छैनौँ ।


गुहेश्वरीदेखि राजराजेश्वरीघाटसम्मको बागमतीलाई सफा, स्वच्छ बनाउने हेतुले विसं २०५१ मा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको गठन भयो । त्यसको माध्यमबाट गुहेश्वरी मन्दिरको पूर्व–उत्तर दिशामा बागमती नदीको पानी प्रशोधन केन्द्रको स्थापना भएकोले गुह्येश्वरीदेखि राजराजेश्वरीघाट पानी सफा राख्ने प्रयासस्वरूप प्रशोधन केन्द्रको स्थापना भएको छ । तर, वेलावेलामा आउने प्राविधिक समस्याको कारण सधैँ एकनासले सफा पानी उपलब्ध हुँदैन । प्रशोधित पानी भएकाले ‘जल’को रूपमा ग्रहण गर्न सकिने अवस्था पनि छैन ।


मठ–मन्दिरमा नित्य–नैमित्तिक हुने धार्मिक कृत्यमा श्रद्धासाथ चढाइने पानीले जलको स्वरूप ग्रहण गर्न त फोहोर नमिसिएको प्राकृतिक पानी नै हुनुपर्छ । त्यहीकारण वेलावेलामा एकथरी मानिसहरू सोझै सुन्दरीजलको मूलबाट पाइपलाइनमार्फत पानी ल्याएर पशुपतिनाथको मन्दिरमा चढाउनुपर्छ भनिरहेका छन् । अर्काथरी मानिसहरू पशुपतिनाथ मन्दिरमा त्यसरी पाइपमार्फत सोझै सुन्दरीजलको पानी लगियो भने बागमतीको प्रदूषणको कुरा ओझेलमा पर्ने भएकाले त्यसो गर्न हुन्न भन्ने तर्क गर्छन् ।


 वातावरणीय प्रभाव 
सांस्कृतिक, धार्मिक दृष्टिकोणले पशुपति क्षेत्र एउटा जीवन्त क्षेत्र हो । यहाँ मानिस मात्रै नभएर विभिन्न पशुप्राणी आश्रित छन् । बागमती नदीलाई सफा र स्वच्छ बनाउन सके आश्रित पशुपक्षी निरोगी हुन्थे, वातावरण स्वच्छ हुन्थ्यो । पिउनयोग्य पानी नपिएकाले यहाँका बाँदर रोगी र खिरौटे देखिन्छन्, बाग्मती नदीबाट उहिल्यै माछा हराइसके । मृगस्थली, ध्रुवस्थली, भण्डारखालका चरा यहीँको पानी पिउँछन् । उनीहरूमा के–कस्ता समस्या छन् भन्नेबारे खासै अध्ययन भएको छैन । तर, जंगलमा पहिलेको जस्तो चराचुरुंगीहरूको विविधता देख्न नपाइने भएकाले पानीकै कारण उनीहरूको अवसान दिनानुदिन हुँदै गइरहेको छ भन्न गाह्रो पर्दैन ।


पूर्वजहरूले मलेवा, परेवा र बाँदरका लागि भनेर मकै, चामललगायत अन्न बाँड्ने गरी गुठी राखिदिएका थिए । तिनका गुठीजग्गा, जसले संरक्षण गर्नुपर्ने हो, उसैले मासिदिनाले मलेवा, परेवा र बाँदरहरू दानाबाट वञ्चित छन् । गुठी संस्थान आफ्नो कर्तव्यकर्मबाट विमुख छ । बिहान झिसमिसेमै पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनबाट गुजारा गरिरहेका मलेवा, परेवा र बाँदरहरू हिजोआज पहिलेजस्तो त्यसमा निरन्तरता नभएकाले वेलामौकामा भोकभोकै बस्नुपर्ने अवस्था छ । नजिकको गाउँघरमा बाँदरहरू हुल बाँधेर जानुपर्ने नाजुक अवस्था आउनु त्यसैको कारण हो ।


हामी केटाकेटी छँदा पशुपतिमा देख्दै डरलाग्दा ढेडु बाँदर प्रशस्त देखिन्थे । आजकाल बाँदरको संख्या त राम्रै छ, तर लिखुरे बाँदरहरू नै धेरै छन् । सुरक्षाको नाउँमा पर्खालमाथि धार भएको काँडेतार राख्ने प्रवृत्ति बढेकाले हिजोआज घाइते बाँदरको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । अर्कोतिर बागमतीको प्रदूषित पानीले अकालमै बाँदरहरूले ज्यान गुमाइरहेका छन् ।


 कहाँ छन् घाटेवैद्य ?
पशुपति आर्यघाटमा कहिलेदेखि घाटेवैद्यको सुरुवात भएको हो भन्न गाह्रो छ । जुद्धशमशेरको खड्ग निसानामा घाटेवैद्यको बारेमा चर्चा भएकाले त्यसभन्दा केहीअघिदेखि नै व्यवस्था भएको थियो भन्न गाह्रो छैन । घाटेवैद्यको काम मृत्युशड्ढयामा रहेको व्यक्तिको मरण नबिग्रियोस्, समयमै अघ्र्यजल र भगवान्को प्रसाद–चन्दन दिन सकियोस् भन्नका लागि उपयुक्त समय बताउने हो । पहिले–पहिले काठमाडौंका मानिस आफ्नो मरण अस्पतालमा नहोस्, आर्यघाटमा मठ–मन्दिरको दर्शन गरेर होस् भन्ने चाहन्थे । त्यसका लागि पशुपतिनाथ मन्दिरमा रातदिन जतिखेर बिरामी लिएर गए पनि बाहिरबाट मन्दिरको दर्शन गराई पूर्वी ढोकाबाट आर्यघाटमा पुर्‍याउने चलन थियो । यो चलन अहिले अवरुद्ध छ ।

 

सुरक्षाको कारण देखाई पशुपतिनाथ मन्दिरबाट आर्यघाटतर्फ जाने ढोका बन्द भएको झन्डै दुई दशक भयो । आर्यघाटमा रहेका दुइटा सत्तल अन्तिम समयका बिरामी राख्नका लागि श्री ३ जंगबहादुर राणाकी पत्नी नन्दकुमारीदेवीले निर्माण गरिदिएकी हुन् । घाटमा पुगेका बिरामी मृत्युलाई वरण गर्ने दिन गनेर बस्नुबाहेक अर्को उपाय थिएन । घाटेवैद्यले नाडी छामेर मृत्यु नजिक छ कि टाढा छ अनुमान गरिदिन्थे । उनीहरूले भनेबमोजिम बिरामीलाई अघ्र्यजलका लागि ब्रह्मनालमा लगिन्थ्यो । 


दुईजना घाटेवैद्यको दरबन्दी अहिले पनि पशुपति क्षेत्र विकास कोषअन्तर्गत छ । हिजोआज अधिकांश बिरामीलाई अस्पताल पुर्‍याइने चलन छ । अस्पतालहरू पनि स्वार्थी छन्, पैसा खर्च गर्न सक्नेलाई उनीहरू उपचार गर्छन् । पैसा खर्च गर्न नसक्नेहरूलाई अन्तिम अवस्थामा पुगेपछि यहाँ हुन्न अन्त लग्नुस् भनी डिस्चार्ज गरिदिन्छन् । त्यस्तो नाजुक अवस्थामा कहाँ लगून् ? उनीहरू घाटको शरणमा पुग्छन् । ‘पशुपति आर्यघाट सेवा केन्द्र’मा केही सेवा पाउँछन् । त्यहाँ आवश्यक पर्ने अक्सिजन र सामान्य औषधि उपचारको व्यवस्था छ । कतिपय बिरामी त्यहाँ निको भएर घर फर्किएका र लामो अवधि बाँचेका समाचार वेलावेलामा देख्न–सुन्न पाइन्छ । एकताका पशुपति क्षेत्र विकास कोषको माध्यमबाट त्यस्तो अन्तिम घडीमा पुगिसकेका व्यक्तिलाई घाटमा गई विष्णु सहस्रनाम, श्रीमद्भगवद् गीताको पाठ सुनाइदिने व्यवस्था थियो । त्यसका लागि एकजना ब्राह्मण नियुक्ति नै गरिएको थियो । आजभोलि त्यो चलन हराइसकेको छ ।


 कहाँ गए असल साधुसन्त ?
पहिले पशुपतिनाथ मन्दिरवरपर ज्ञानी–ध्यानी साधुसन्त थिए । बालुवा बाबा, श्याम चैतन्य बाबा, योगी क्षिप्रनाथ, योगी नरहरिनाथ, रामनाथ अघोरी बाबा (जसले नेपालमा होमियोप्याथी उपचार सुरु गर्नुभयो), डा. स्वामी प्रपन्नाचार्य, ब्रह्मचारी बाबालगायत बस्नुहुन्थ्यो । बेलायतकी रानीले समेत आदरभाव गर्ने गरेका शिवपुरी बाबा ध्रुवस्थलीमा बस्नुहुन्थ्यो, पछि उहाँले त्यहीँ समाधि लिनुभयो । खप्तड बाबा पनि वेला–वेला वासुकी गुफामा आएर बस्नुहुन्थ्यो । पछिल्लो समय यहाँ ज्ञानी–ध्यानी साधुसन्तहरूको कमी हुँदै गएको महसुस हुन्छ । 


साधु–सन्त–महात्मा भनेको धार्मिक क्षेत्रका आभूषण हुन् भनिदिए हुन्छ । असल, गुणी साधु–सन्त, महात्मालाई खोजेर भएर पनि यतैहुँदी राख्ने व्यवस्था गर्नुपर्छ, यसमा पशुपति क्षेत्र विकास कोषले ध्यान दिनुपर्छ । मलाई सम्झना छ, लामो समयदेखि भारतको विभिन्न ठाउँमा बस्दै आउनुभएका डा.स्वामी प्रपन्नाचार्यलाई हातै जोडेर वि.सं. २०४५ तिर मृगस्थलीस्थित चन्द्रेश्वर सत्तलमा राखेका थियौँ । नेपालको जन्म, संस्कृतको उद्भट विद्वान् भएर पनि उहाँ परदेशमा घुमन्ते जीवन बाँच्न बाध्य हुनुहुन्थ्यो । मृगस्थलीमा एकटंकारले बस्न थालेपछि नेपाली भाषा–साहित्य, इतिहास, पुरातत्वको क्षेत्रमा उहाँका अनेक अनुसन्धानात्मक कृतिहरू सिर्जना भए, जसको आफ्नै किसिमको योगदान छ ।


साँच्चै भन्ने हो भने असल साधुसन्तको संगतले जीवनमा सुख, शान्ति र आनन्दको अनुभव गर्न पाइन्छ । एक किसिमले भन्ने हो भने जीवनै रुपान्तरित हुन पुग्छ । अहिले स्वर्गद्वारी महाप्रभुका शिष्य भागवतानन्द स्वामीज्यू तीसौँ वर्षदेखि रामघाटपारिपट्टि गुरुकुल सञ्चालन गरेर बस्नुभएको छ । आजभोलि पशुपति क्षेत्रमा साधुसन्तको भेषमा केही युवा देखिन थालेका छन्, तपमय साधनापूर्ण जीवनको कसीमा उत्रन अझै समय लाग्ला । असल, ज्ञान, ध्यानी साधुसन्तहरू जहाँ बस्छन्, त्यहीँ पवित्र तीर्थस्थल बन्छ । धार्मिक पर्यटनको प्रवद्र्धनमा पनि त्यसले फाइदै पु¥याउँछ । 


जोन बेनेटले ‘लङ पिलग्रिमेज’ शीर्षकको आफ्नो पुस्तकमा लेखेका छन्– राजा महेन्द्रको राज्याभिषेकमा भारतका राष्ट्रपति डा.सर्वपल्ली राधाकृष्णन् शाही अतिथि भएर वि.सं. २०१३ वैशाखमा आएका थिए । एयरपोर्टबाट सीधै अतिथिगृह शीतलनिवासमा जानुपर्ने राष्ट्रपति शिवपुरी बाबाको आश्रममा पुग्छन् र आफ्नो मनमा उठेको प्रश्न गर्छन्– तपाईँको उपदेश के हो ? शिवपुरी बाबा जवाफ दिनुहुन्छ– मेरो उपदेश शारीरिक, मानसिक र आध्यात्मिक हुने गर्छ । राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णन् आश्चर्य मान्दै भन्छन्– सम्पूर्ण सत्य यति थोरै शब्दमा ! 


असल साधु, सन्त, महात्माहरू भनेका सनातन हिन्दूधर्मका गहना हुन्, धर्म–अध्यात्मका परिपालक र व्याख्याता पनि हुन् । अहिले अनेकौँ प्रकारका वैचारिक प्रदूषण, कोलाहल र जताततै अशान्ति मच्चिरहेका वेला तिनको शमनका लागि सही मार्गदर्शन गर्न सक्ने विचार दिने साधुसन्तको कमी हुँदै गएकोजस्तो लाग्छ । 


भारतका विभिन्न तीर्थस्थलमा प्रशस्त नेपाली साधुसन्त, महात्माहरू हुनुहुन्छ । नेपाल आउँदा उहाँहरूको गुनासो हुन्छ, मातृभूमि भनेर आएका हौँ । तर, यता आउँदा निस्फिक्री भएर टाउको लुकाउने ठाउँसम्म छैन । गुठी संस्थानअन्तर्गत काठमाडौं खाल्डोमा धेरै मठमन्दिर छन्, सत्तल, धर्मशाला छन् । तर, त्यस्ता ठाउँ कि त जीर्ण अवस्थामा पुगेका छन् कि कुनै गृहस्थको घरजमको स्थल बनेका छन् । हाम्रा तीर्थस्थलमा साधुसन्त, महात्मालाई बस्ने व्यवस्था गरिदिन पाए कति राम्रो हुन्थ्यो ! असल साधु, सन्त, महात्माहरूको निःस्वार्थताबाट समाजले धेरै कुरा पाउन सक्छ । उनीहरूलाई उचित वातावरण उपलब्ध गराएर राख्न कन्जुस्याइँ गर्नुहुँदैन ।


 मृगस्थलीमा मृगको बिजोग
पहिले सदस्य–सचिव भएको झन्डै २७ वर्षपछि फेरि २०७० सालमा सरकारले मलाई पशुपति क्षेत्रको सदस्य–सचिवमा नियुक्ति गर्‍यो । मृगस्थलीमा घेराबन्दी गरेर राखेका मृगहरूको अवस्था बुझ्न जाँदा हरियोपरियो घाँसमा रमाउने मृगलाई फुक्का दाना खुवाएर राखिएको दयनीय स्थिति देखेँ । जंगलमा स्वतन्त्र भएर डुल्नुपर्ने, घाँसपात खाएर हुर्कनुपर्ने मृगलाई बन्धनमा राखेर त्यसमाथि फुक्का दानाको भरमा बाँच्नुपर्दाको पीडा बुझेर दानाको साथै हरेक दिन घाँस दिने व्यवस्था मिलाएँ । मेरो अवकाशपछि बीचमा त्यसमा केही अवरोध आए पनि अहिले घाँसले निरन्तरता पाएको छ भन्ने सुनेको छु । 


मृगस्थलीमा मृगलाई के–कति कारणले बन्धनमा पाल्ने गरी योजना बनाइयो, अनौठो लाग्छ । मृगस्थलीकै नामबाट त्यसो गरिएको हो भने पहिले त मृगहरू त्यहाँ स्वतन्त्र रूपले विचरण गर्ने अवस्था थियो । आउँथे–घुम्थे–जान्थे । पशुपति पुराण, हिमवत्खण्डले त्यही भन्छ । मृगस्थलीमा अहिले मृगको संख्या दिनानुदिन घट्दै गएको छ । पहिलेका कृष्णसार अब त्यहाँ छैनन् । भएका मृग पनि रात–विरात चितुवाको सिकार हुने गरेका छन् । 


 विभेद हट्यो 
२००७ सालअघि पशुपतिनाथको मन्दिरमा कुन जातका मानिस कहाँसम्म जान हुने–नहुने त्यसमा निकै माथापच्चिसी हुने गथ्र्यो । मन्दिर प्रांगणको सरसफाइका लागि कुसलेहरूसम्म जान सक्थे । अरू कुचिकारलाई मनाही थियो । कुसलेहरू पनि मूल गर्भगृहको प्रदक्षिणापथमा जान पाउँदैनथे । भोटे, थाक्सेहरू मन्दिरको बाहिरबाट दर्शन गर्न सक्थे, सिँढीबाट मन्दिरमा उक्लिन पाउँदैनथे । भारतका संविधान निर्माता बाबासाहेब अम्बेडकर नेपाल भ्रमणमा आउँदा उनलाई कहाँसम्म जान दिने भन्ने विषयमा चर्को विवाद चल्यो । यहाँका दलित वर्गलाई नै मूल मन्दिरमा जान दिइएको छैन भने अम्बेडरलाई किन दिने भनेर तात्कालिक धर्मरक्षा महामण्डलले मन्दिरमा प्रवेश गर्न रोक लगायो ।


२००७ सालको प्रजातन्त्रको आगमनपछि अनेकौँ यस्ता बारबन्देज खुकुलो हुँदै गए । अहिले पनि पशुपति मन्दिरको बाहिरी ढोकामा ‘प्रवेश हिन्दूहरूका लागि मात्रै’ भनेर लेखिएको छ । यहाँ हिन्दूहरू भन्नाले वैदिक, बौद्ध, जैन, शिख अर्थात् सम्पूर्ण ॐकार परिवार भन्ने बुझिन्छ । हिन्दूको परिभाषाभित्र नेपालमा अपनाइने गरेको व्यापक सोच, दृष्टि र दर्शनअनुसार त्यस सूचनापाटीमा त्यही कुरालाई खुलस्त पारिदिए भ्रम सिर्जना हुने थिएन । त्यहाँ रहेको सूचनापाटीले विगतमा कहिलेकाहीँ विवाद सिर्जना गर्ने गरेको पनि पाइन्छ ।


 मासियो गौचरण 
अहिले पशुपतिमा गाईवस्तुको व्यवस्थापन जटिल मुद्दा बनिरहेको छ । इतिहास पल्टाउँदा मल्लकालमै पनि गाई, साँढेको चरिचरणको लागि क्रमशः ‘साकेव’ ‘डोचा केव’जस्ता ठाउँ छुट्याइदिएको पाइन्छ । शाहकालिक राजा रणबहादुर शाहको पालामा उनले गाईवस्तुको चरिचरणका लागि निकै ठूलो क्षेत्रफलको जग्गा गौचर बनाइदिएका थिए । अहिले जहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवस्थित छ, त्यसको करिब आधाभन्दा बढी भाग त्यही गौचरभित्रको जग्गा हो । त्यसभित्र करिब एक हजार १६७ रोपनी जग्गा गौचरको परेको छ ।

 

गाईसाँढेको औषधिमूलो गर्नका लागि उनले साँढेवैद्य नै पनि नियुक्ति गरेका थिए । लक्ष्मीनारायण दाहाल नामका व्यक्ति साँढेवैद्यको नामले इतिहासमा उल्लेख भएको पाइन्छ । २००६ सालमा ‘गौचर विमानस्थल’को नामबाट स्थापित विमानस्थलले बिस्तारै बृहत् रूप ग्रहण गर्‍यो । विमानस्थल त्यति व्यस्त नहुँदा पछिसम्म पनि गौचरमा स्वतन्त्र रूपले गाईवस्तु चर्थे । केटाकेटीहरू त्यही चौरको कुनै भागमा फुटबल खेलिरहेका देखिन्थे । गाईवस्तुको गौचरमा अहिले अन्तर्राष्ट्रिय विमानस्थल छ, त्यसबाट हुने आम्दानीको केही भाग पशुपति क्षेत्रको विकास–निर्माण तथा गाईवस्तुको संरक्षण–संवद्र्धनमा लगाउन सकिए कति राम्रो हुन्थ्यो । 


२०४३–२०४४ सालसम्म पनि पशु व्यवस्थापनको समस्या अहिलेको जस्तो जटिल भइसकेको थिएन । हरेक पूर्णिमाका दिन पशुपतिनाथ मन्दिरमा हुने महास्नानमा ‘वृषोत्सर्ग पूजा’मा एउटा नन्दी छाड्नुपर्ने हो । तर, आफन्त, चिनेजानेका मानिसका कारण एउटा होइन, तीन–चारवटै दूधकटुवा नन्दीहरूलाई त्यस दिन साँढे गरी छाड्ने गरिनाले समस्या बढ्दै गयो । अहिले त दूध खाने तर बाच्छा–बाच्छी सडकमा छाडा छाडिदिने गलत प्रवृत्तिले गर्दा जताततै गाईवस्तुको विजोग छ ।


गाईपालन क्रमशः व्यावसायिक बन्दै गयो । दूध दिन छाडेपछि गाईलाई गोठबाट लखेट्न थाले । दूध खुवाउनुपर्ने उमेरका ससाना बाच्छा–बाच्छीलाई सडक, मठमन्दिरवरपर छाडिदिन थालेपछि व्यवस्थापनको समस्या जटिल बन्दै गयो । गाडीले हानेर पशु–चौपाया घाइते हुन थाले । म दोस्रो कार्यकाल पशुपति क्षेत्र विकास कोषमा सदस्य–सचिव बनेर फर्किंदा दूधकटुवा नन्दीको समस्या भयावह देखेँ । महास्नानको दिन वृषोत्सर्ग गरी छाडिएका दूधकटुवा नन्दीहरू खान नपाई बाटो–दोबाटोमा लडेका, कुकुरले लखेटेर मार्ने गरेको अवस्थालाई देखेर पुरानो ‘डोचा केव’मा २०–३० वटासम्म गाईवस्तुलाई मज्जाले राख्न मिल्ने गोठ निर्माण गरियो । त्यहाँ भुस्सा–दाना राख्ने ठाउँलगायत बिरामी भएमा तिनलाई उपचार गर्न मिल्ने केही कोठा, भेटेरिनरी डाक्टर बस्ने ठाउँ कोषले बनाएको थियो ।