• वि.सं २०८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
तली सारोट/केस आर.सनस्टिन
२०८० फाल्गुण १९ शनिबार ०८:०६:००
अनुवाद

अभ्यस्त होइन झस्किन सिक्नुपर्छ 

२०८० फाल्गुण १९ शनिबार ०८:०६:००
तली सारोट/केस आर.सनस्टिन

 

मानिसहरू आफ्नो वरपरको भयावहलाई ध्यान दिन किन असफल हुन्छन् ?

 

हाम्रो प्रजातिको तिलस्मी इतिहास उत्पीडन, अत्याचार, रक्तपातपूर्ण युद्ध, बर्बरता, हत्या र नरसंहारका अँध्यारा कथाहरूले भरिपूर्ण छ । पछाडि फर्केर हेर्दा हामी अक्सर चकित पर्छाैँ र सोध्न पुग्छौँ : यी भयावह, त्रासदीहरू पहिले किन रोकिएनन् ? त्रासदीसँगै मानिसहरूले कसरी जिउन सके ?

 

यसको पूर्ण तस्बिर अत्यन्त जटिल छ  । तर, तस्बिरको ठूलो हिस्साले मानव मस्तिष्कको सञ्चालन नियन्त्रणका नियमतर्फ औँल्याउँछन् । उग्र राजनीतिक आन्दोलनका साथै घातक द्वन्द्व पनि प्रायः बिस्तारै चर्किँदै जाने गर्छन् । धम्की पनि सानोबाट सुरु भएर बिस्तारै बढ्दै जान्छन् । यसो हुँदा तिनले प्राप्त गर्ने भावनात्मक प्रतिक्रिया कमजोर हुन्छन्, तिनको प्रतिरोध पनि कम हुन्छ भने (अन्य अवस्थामा भन्दा) तिनले स्वीकार्यता बढी प्राप्त गर्छन् । हलुकामा लिइने र सामान्य रूपमा हेरिने भएकाले सुस्तगतिको वृद्धिले बिस्तारै दिनदहाडै ठूलोभन्दा ठूलो भयावह (त्रासदी)लाई मञ्चनको अनुमति दिन्छ ।

 

हामीमध्ये एकजना न्युरोसाइन्टिस्ट, अर्काेचाहिँ कानुनका प्राध्यापक हौँ । हामी हाम्रा फरक–फरक अनुभवबाट मानिसले आफू बाँचिरहेका परिवेशलाई किन र कसरी खासै ध्यान दिँदैनन् भन्ने नबुझीकन वर्तमान युग र अहिले सामान्य मानिएका कुरामा भएको बदलावलाई बुझ्न सम्भव छैन भन्ने निष्कर्षमा पुगेका छौँ । यसको अन्तर्निहित कारण हाम्रो मस्तिष्कको एउटा महत्वपूर्ण जैविक विशेषता अर्थात् आदत हो । स्थिर वा एकदमै सुस्तगतिमा परिवर्तन हुने चिजप्रति कमभन्दा कम प्रतिक्रिया दिने हाम्रो प्रवृत्ति हो । जब तपाईंं कफीको गन्धले भरिएको एउटा क्याफेमा प्रवेश गर्नुहुन्छ, सुरुमा गन्ध निकै कडा लाग्छ । तर, २० मिनेटजति पनि नबित्दै तपाईंंलाई कफीको गन्धको अनुभूति नै हुन छाड्छ । अर्थात् तपाईंले गन्ध लिन छाड्नुहुन्छ । कारण के भने तपाईंंको घ्राण स्नायुहरूले अब परिचित गन्धको प्रतिक्रियामा ‘फायरिङ’ गर्न बन्द गर्छन् । यसैगरी, तपाईं एयर कन्डिसनको निरन्तरको घुरुरु आवाज सुन्न छोड्नुहुन्छ । किनभने तपाईंको दिमागले पृष्ठभूमिको आवाजलाई फिल्टर गरेर लिन थाल्छ । तपाईंको मस्तिष्कले हालै के परिवर्तन भएको छ भन्ने कुराको ख्याल राख्छ, न कि के कुरा उही रहिरहेको छ भन्ने कुराको ।

 

अभ्यस्तता हाम्रो आधारभूत जैविक विशेषतामध्ये एक हो, जुन विशेषतालाई दुईखुट्टे, टाउको ठूलो भएका प्राणीहरू बाँदर, हात्ती, कुकुर, चराचुरुंगी, भ्यागुता, माछा र मुसालगायत पृथ्वीका अन्य जीवजनावरहरूसमेत अभ्यस्त हुन्छन् । युद्ध, भ्रष्टाचार, भेदभाव, उत्पीडन,  गलतफहमी, भ्रामक सूचना तथा अतिवादजस्ता जटिल सामाजिक परिस्थितिका सन्दर्भमा पनि मानिस यसैगरी, अभ्यस्त हुन्छ । आदत वा अभ्यस्तताले आफू वरपर भएका अनैतिक काम–कारबाहीलाई ध्यान दिने र प्रतिक्रिया जनाउने प्रवृत्तिमा घटोत्तरी मात्रै गराउँदैन तिनमा आफैँलाई संलग्न गराउने सम्भावना पनि बढाउँछ ।

 

उदाहरणका लागि, डा. सारोटको प्रयोगशालामा गरिएको एउटा अध्ययनले मानिस आफ्नै बेइमानीमा अभ्यस्त भएको देखाएको थियो । सो अध्ययनमा स्वयंसेवकहरूलाई अर्काे व्यक्तिलाई ठगेर पैसा कमाउन बारम्बार झुट बोल्ने मौका दिइएको थियो । सो समयमा उनीहरूको मस्तिष्कको गतिविधि रेकर्ड गरिएको थियो । स्वयं–सेवकहरूले अपेक्षाकृत् सानो झुटबाट सुरु गरे, पहिले केही सेन्टका लागि मात्रै झुक्याए । तर, बिस्तारै प्रयोगको दौरान धेरैभन्दा धेरै डलर प्राप्त गर्न उनीहरूको झुट पनि बढ्दै गयो ।

 

स्वयंसेवकहरूले सुरुसुरुमा, झुट बोल्दा उनीहरूको मस्तिष्कको भावनाको संकेत दिने भागहरूले कडा प्रतिक्रिया जनाएको देखियो । यसले उनीहरू आफ्नो ‘बेइमानी’बाट असहज भएको संकेत गथ्र्याे । तर, जतिजति झुट बढ्दै गयो थप झुटप्रति उनीहरूको मस्तिष्कमा भावनात्मक प्रतिक्रिया कम हुँदै गयो अर्थात् मानिसहरू अभ्यस्त हुँदै गए । होइन यो काम ठीक होइन भनेर खबरदारी गर्ने नकारात्मक भावनाको अभावमा त्यहाँ बेइमानीलाई रोक्ने केही भएन, त्यसैले मानिसहरूले धेरैभन्दा धेरै झूट बोले ।

 

यस्तो कुरा हामी अभ्यस्त हुने बेइमानीका ससाना कार्यमा मात्र होइन, सन् १९६० को दशकको सुरुतिर मनोवैज्ञानिक स्टेनली मिलग्रामले गरेको एउटा प्रसिद्ध अध्ययनलाई हेरौँ । यो प्रयोगको उद्देश्य दोस्रो विश्वयुद्धअघि र त्यस अवधिमा जर्मनीमा भएको अधिनायकवादको उदयलाई बुझ्नु थियो । मिलग्राम आज्ञाकारिताको अध्ययन गर्न र साधारण मानिसहरूले कसरी ‘भयानक कार्य’मा भाग लिन पुग्छन् भनेर बुझ्न चाहन्थे । मिलग्रामको प्रयोगले हामीलाई आज्ञाकारिताबारे त बताउँछ नै उनले जानाजान वा अन्जानमा नै भए पनि ‘अभ्यस्तता’का बारेमा पनि अध्ययन गरे । प्राधिकारयुक्त व्यक्तिले अह्राउँदा साधारण कर्मचारीहरू अरूलाई चरम यातना हुने बिजुलीको झड्का दिन पनि सहजै तत्पर हुने गरेको देखियो । मिलग्रामको सोध डिजाइन निकै महत्वपूर्ण थियो । मिलग्रामका स्वयंसेवकहरूलाई सुरुमा हलुका झट्का दिन र त्यसपछि बिस्तारै बढाउँदै उच्च भोल्टेजमा जान अह्राइएको थियो ।

 

स्वयंसेवकहरूलाई एकपटकमा एक स्टेप मात्र भोल्टेज बढाउन भनिएको थियो । यसो गरेर मिलग्रामले भावनात्मक ‘अभ्यस्तता’ अर्थात् बानी बसाल्ने प्रक्रियालाई उत्प्रेरित गरेका थिए । ती स्वयंसेवकहरूले सुरुमा केही हदसम्म अपराधबोध महसुस गरेका पनि हुन सक्छन्, तर झड्का थोरैथोरै गरेर बढाउँदै लगिएकाले हरेक अर्काे झड्का दिँदा उनीहरूमा अपराधबोधको भावनाको तीव्रता पनि कम हुँदै गएको जस्तो देखियो । ती स्वयंसेवकहरू उच्च भोल्टेजको झड्कामा पुग्दासम्ममा उनीहरूमध्ये धेरैमा अरूलाई चरम पीडा दिने विचारमा अभ्यस्त भएको देखियो । यदि उनीहरूलाई पहिले सबैभन्दा उच्च भोल्टेजको झट्का दिन अह्राएको हुन्थ्यो भने उनीहरूमध्ये धेरै स्वयंसेवकले त्यो आदेश पालन गर्नेमा आशंका गर्न सकिन्छ । 

 

मिलग्रामको अध्ययनले हामीलाई प्रयोगशालाबाहिरको व्यवहारका बारेमा केही महत्वपूर्ण कुरा बताउँछन् । यसले कसरी मानिसहरू झुट र क्रूरतामा अभ्यस्त हुन्छन् भनेर मात्रै बताउँदैन उनीहरू त्रासदी–भयावहतामा पनि कसरी अभ्यस्त हुन्छन् भनेर पनि बताउँछ, चाहे त्यो उनीहरूको आफ्नै किन नहोस् । उदाहरणका लागि, नाजीवादको उदयबारे लेखिएको मिल्टन मेयरको पुस्तकमा त्यसवेला जर्मनीमा बस्ने एकजनाले लेखकलाई सत्ताबारे यसो भनेका छन्, ‘हरेक काम, हरेक अवसर, अघिल्लोभन्दा खराब थिए, तर थोरैथोरै गरेर ।’ उनी थप्छन्, ‘यदि त्यो सत्ताको अन्तिम र सबैभन्दा खराब कार्य पहिलो र सबैभन्दा थोरै खराब कार्यलगत्तै आएको हुन्थ्यो भने लाखौँ अझ करोडौँ मानिस एकदमै स्तब्ध हुनेथिए । ... तर निश्चय नै यो यसरी हुँदैन ।  यसका बीचमा सयौँ ससाना पाइला–स्टेप आउँछन् । तीमध्ये केही थाहै नहुने खालका हुन्छन् । ती प्रत्येकले तपाईंलाई अर्काे कदमबाट स्तब्ध वा विचलित नहुन तयार पार्छ । अब तपाईं संयुक्तराज्य अमेरिका र युरोपमा विकसित भइरहेका डरलाग्दा घटनाक्रमबारे सोच्दै हुनुहुन्छ होला । यदि त्यसो हो भने, तपाईं पूर्णमा सही हुनुहुन्छ । हामीले चाहेको भन्दा बिस्तारै भए पनि अक्सर प्रतिरोधका प्रयास अन्याय वा आतंकको प्रतिक्रियास्वरूप देखापर्छन् नै । फ्रान्सेली प्रतिरोध, नागरिक अधिकार आन्दोलन, ब्ल्याक लाइभ्स म्याटर र ह्यासट्याग मिटुलाई नै हेर्नुहोस् । जसलाई ‘अभ्यस्तता भञ्जनका उद्यमीहरू (डिसह्याबिचएयसन इन्टरप्रेनर्स)’का रूपमा चित्रित गर्न सकिन्छ । अक्सर यस्ता आन्दोलन यिनले नै सुरु गर्छन् ।’ 

 

‘डिसह्याबिचुएसन इन्टरप्रेनर’ ती मानिसहरू हुन् जो आफ्नो समाजको दुष्टतासँग अभ्यस्त भएका हुँदैनन् । यिनले गलत काम के हो भनेर देख्न र अरूलाई त्यस्ता अभ्यस्तताबाट बाहिर निस्किने आह्वान दुवै काम गर्छन् । अक्सर यस्ता ‘डिसह्याबिचुएसन इन्टरप्रेनर’ त्यस्ता व्यक्तिहरू हुने गर्छन् जसले आफैँले त्रासदी वा भेदभावको अनुभव त गर्छन्, तर त्यसमा अभ्यस्त हुन इन्कार गर्छन् । मलाला युसुफजई, मोहनदास करमचन्द गान्धी, रोजा पाक्र्स, ग्लोरिया स्टेनम, हार्वे मिल्क र नेल्सन मन्डेलाहरूलाई ‘डिसह्याबिचुएट’ गराउन सफल शक्तिशाली उदाहरण हुन् । आफैँ पीडित नभएका ‘डिसह्याबिचुएसन इन्टरप्रेनर्स’हरू पनि छन् । उनीहरूले अरूको पीडालाई ध्यान दिन्छन्, त्यस्ता ज्यादतीविरुद्ध बोल्छन् वा तिनको प्रतिवादको काम गर्छन् । विलियम लोयड ग्यारिसन, एलेनोर रुजवेल्ट र पिटर सिंगर यसका उदाहरण हुन् । कम चर्चित उदाहरण हाम्रावरपर पनि हुन्छन् : उनीहरू तपाईंकै परिवार, तपाईंका छरछिमेक वा तपाईंको कार्यस्थलमा पनि हुन सक्छन् ।

 

तर, के ‘डिसह्याबिचुएसन इन्टरप्रेनर्स’हरूको उत्पादन गर्न सकिन्छ ? हामीलाईचाहिँ सकिन्छजस्तो लाग्छ । एउटा कुन्जी जोन स्टुअर्ट मिलले वर्णन गरेको ‘जीवनका प्रयोग(एक्सपेरिमेन्टस् अफ लिभिङ)’ हुन सक्छ । मिलले आफ्नो विश्वास, मूल्य, मान्यता र परिस्थितिलाई परबाट नियाल्नु, तिनको मूल्यांकन गर्न सक्षम हुनु र परिवर्तन वाञ्छनीय छ भन्ने जान्न सक्नुको महत्वमा जोड दिएका छन् । यसो गर्न हामीले हाम्रा अनुभवमा विविधता ल्याउन आवश्यक छ । यदि मानिसहरूले सचेतमा आफूलाई फरक–फरक संस्कृति, विभिन्न अभ्यास र फरक–फरक प्रकारका सरकारहरूसँग साक्षात्कार गराउँछन् भने उनीहरूलाई आफूवरपरका अन्याय स्वाभाविक र अपरिहार्य नलाग्न सक्छ ।

 

उदाहरणका लागि, विदेशको भ्रमण गरेर पनि मानिसहरूले आफ्नो परिस्थितिबाट ‘डिसह्याबिचुएट’ हुने सम्भावना बढाउन सक्छन् । यसो गर्दा उनीहरूले आफूलाई चिनेजानेका व्यक्तिहरूको अभ्यस्तताबाट बाहिर  निकाल्न र त्यसलाई नयाँ तरिकाले हेर्न सक्छन् । यसैगरी, फरक–फरक अनुभव भएका व्यक्तिहरूसँग अन्तरक्रिया गरेर वा कलाहरू (उपन्यास, कविता, रंगमञ्च, चलचित्र)मार्फत विभिन्न धरातल र दृष्टिकोणमा आफूलाई उभ्याउँदा पनि अभ्यस्ततालाई भन्जन गर्न सकिन्छ । क्रूरता वा उत्पीडन एकपटक उजागर भइसकेपछि  वा एकपटक तपाईंले यीभन्दा फरक अनुभव गरिसकेपछि, तीबाट मुक्त वास्तविकताको परिकल्पना गरिसकेपछि अहिले तपाईंको ठाउँमा के भइरहेको छ भन्ने थाहा पाउनुहुनेछ र तपाईं छक्क पर्नुहुनेछ ।

 

अब्राहम यसोहा हेसेलका शब्दमा भन्दा,‘हामीले झस्किन सिक्नुपर्छ, आफैँलाई समायोजित गर्न होइन ।’ भ्रष्टाचार, लागुऔषधबाट हुने मृत्यु, खाद्य उत्पादनमा जनावरको दुरुपयोग वा बन्दुकबाट सिर्जित हिंसाबाट हामीले झस्किन सिक्न सक्नुपर्छ । मानिसहरू कसरी अभ्यस्त हुन्छन् भन्ने कुरा बुझियो भने हामीमध्ये धेरैले हेसेलको सुझाव पालना गर्न सक्नेछौँ । हामीले हलुका र सामान्य रूपमा लिएका हाम्रो जीवन र समाजका खराब, तुच्छता र अझ भयावहतालाई खुट्याउन र त्यसमाथि ध्यान केन्द्रित गर्न समर्थ हुनेछौँ ।

 

(डा. सारोट युनिभर्सिटी कलेज लन्डन र एमआइटीमा न्युरोसाइन्सकी प्राध्यापक हुन् । सनस्टिन हार्वर्डका कानुनका प्राध्यापक हुन् । द न्युयोर्क टाइम्सबाट नारायण शिवाकोटीको अनुवाद ।)