• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सुरेन्द्रकुमार कामती
२०८० फाल्गुण १९ शनिबार ०८:३५:००
रिपाेर्ट

सन्तान पढाउन ५० नाघेका बाबु खाडीमा 

२०८० फाल्गुण १९ शनिबार ०८:३५:००
सुरेन्द्रकुमार कामती

 

छोराछोरी पढाउन उमेरले ५० नाघेपछि खाडीमा दुःख गरिरहेका श्रमिक भन्छन्, ‘मेरो जस्तै सन्तानको पनि जवानी खाडीमा नबितोस्’

 

सुन साइँली साइँली परदेशबाट म आउँला
सुन साइँली साइँली चालीस कटेसि रमाउँला...

 

हेमन्त रानाको स्वरमा रहेको यो गीतले एक समय निकै चर्चा कमायो । उमेरले ४० वर्ष कटेपछि विदेशबाट फर्किएर रमाउने सपना आमनेपालीको छ । तर, ४० कट्दैमा सबै नेपाली स्वदेश फर्कन पाउँदैनन् । ४० कटेपछि पनि कडा परिश्रम गर्न खाडी मुलुकमा भौँतारिनुपर्ने अवस्था छ । नेपालमा रोजगारी नपाउँदा नातिनातिनीहरूसँग रमाइलो गर्ने वेला गाउँघरबाट टाढा छन्, धेरै नेपाली । गाउँघरमा रमाउनुपर्ने उमेरमा खाडीको चर्को गर्मीमा खुनपसिना बगाउन बाध्य छन् । खाडी मुलुक, जहाँ भाषा, संस्कृति, खानपान बिल्कुल फरक छ । त्यहाँ पटक–पटक आउनुपर्ने बाध्यात्मक अवस्था बनेको छ । धेरै नेपाली यस्तै बाध्यतामा फसेका छन् । ४० वर्ष मात्र नभएर ५० वर्ष नाघिसक्दा पनि खाडी भाैतारिनुपरेको छ । उमेरले ५० पार गरे पनि खाडीमा भौँतारिरहेका श्रमिकमध्येका हुन् सिरहाका अफजल मियाँ र जाकिर राइन । उनीहरू साउदी अरबको चर्को गर्मीमा खुन–पसिना बगाइरहेका छन् ।

 

बाँकी जीवन खाडीमा नबितोस्

 

 

सिरहा नगरपालिका–७ महिसौथाका ५० वर्षीय जाकिर राइन खाडी मुलुक साउदी अरबमा पेन्टरको काम गर्न भनेर डिसेम्बर दोस्रो साता हिमालय एयरलाइन्सको विमानबाट उडे । साउदी अरबको रियादमा निर्माणाधीन मेट्रो ट्रेनको प्रोजेक्टमा राइन कार्यरत छन् । राइनको स्वास्थ्य राम्रो छैन । केही महिनाअघि उनले मुटुको शल्यक्रिया गराएका छन् । घरपरिवारको कमजोर आर्थिक अवस्थाले वैदशिक रोजगारीमा उड्न उनी बाध्य भए । अहिले बिहानै साढे चार बजे उठ्नुपर्ने र हतारहतार बस चढ्नुपर्ने उनको दैनिकी बनेको छ । बस छुट्यो भने हाजिरी काटिन्छ । साँझको ५ बजेसम्म उनी चर्को घामका खट्छन् । स्वास्थ्य राम्रो नभए पनि बाध्यताले अहिले दैनिकी यस्तै बनिरहेको छ । 

 

जाकिरले सन् २००० देखि नै खाडी मुलुक धाउन थालेका हुन् । सन् २००० मा साउदी अरबको दमाम भन्ने सहरमा लेबरका रूपमा अरेबियन टेक्निकल कम्पनीमा उनले पाँच वर्ष बिताए । त्यहाँ उनले चर्को घाममा कडा श्रम गर्नुपरेको थियो । त्यसपछि घर फर्केका जाकिर सन् २०१२ मा फेरि कतार पुगे । त्यहाँ उनी हसन एससिसीमा पेन्टरको रुपमा ६ वर्षजति काम गरे । कतारबाट फेरि घर फर्किए । 

 

कतारबाट घर फर्किएका राइनलाई छोराछोरीको चिन्ताले फेरि खाडी मुलुक पस्न बाध्य बनायो । उनी सन् २०२३ को डिसेम्बर दोस्रो साता साउदी अरबको वी विल्ड नामक कम्पनीमा पेन्टरका रूपमा काम गर्न नेपालबाट विमान चढे । 

 

साउदी अरब र कतारमा उनको १३ वर्षभन्दा धेरै समय बितिसक्यो । उमेरले आराम गर्नुपर्ने वेलामा उनी बालबच्चाको पठनपाठन र सादीविवाहको खर्च जुटाउन खाडीको मरुभूमिमा खुनपसिना बगाउन बाध्य छन् । ‘मेरो जस्तै छोराको पनि  जवानी खाडीमै नबितोस्,’ उनी सुस्तरी सुनाउँछन् ।

 

साउदी र कतारमा काम गर्दै राइनले छोराछोरीलाई निजी विद्यालयमै पढाए । राइनका दुई छोरा र एक छोरी छन् । जेठो छोरा लियाकत राइन(२४)ले सिभिल इन्जिनियरको पढाइ सकाएका छन् । कान्छो छोरा सदाकत राइन (२०) काठमाडौंमा बिबिए गर्दै छन् भने छोरी हजरा खातुन (१७) ल्याब टेक्निसियनको पढाइ गर्दै छिन् । ५० वर्ष कटेपछि पनि साउदी अरब आउनु मुख्य रूपमा छोराछोरीको पठनपाठन र सादीविवाह नै हो । ‘पढाइ–लेखाइ महँगो भयो,’ राइन भन्छन्, ‘राम्रोसँग पढाइ गर्न सकेनन् भने मजस्तै खाडी देश भौँतारिनुपर्छ । मेरो जवानी त खाडीमै बित्यो । छोराछोरीले यस्तो दिन भोग्न नपरोस् भनेर दुःख गर्दै छु ।’

 

अफजल मियाँको सपना 

 

 

अफजल मियाँ सन् १९९३ मै खाडी पसे । खाडीको भूमि टेक्दा उनी २० वर्षका लक्का जवान थिए । सिरहाको कमला नदीको पूर्वीतटीय गाउँ भोक्राहा (कल्याणपुर नगरपालिका–६) का ५१ वर्षीय अफजल जनवरी २०२४ देखि साउदी अरबको राजधानी रियादमा स्टिल फिक्चरको रूपमा कार्यरत छन् । जाकिरजस्तै अफजल पनि रिहादमा निर्माणाधीन मेट्रो ट्रेनको प्रोजेक्टमा काम गरिरहेका छन् । टाउकोमा पहेँलो हेल्मेट, गेरुवा रंगको रिफलेक्टेड ज्याकेट, सेफ्टी जुत्ता र पन्जा लगाएर उनी चर्को घाममा स्टिल फिक्चरको काम गर्दै छन् ।

 

सन् १९९३ मा साउदी अरबको दमाम सहरमा लेबरका रूपमा अल तमिनी कम्पनीमा दुई वर्ष काम गरी स्वदेश फर्किए । त्यसपछि पुनः सन्् १९९७ मा साउदी अरबको दमाम सहरमै अलजोर कम्पनीमा पाइप फिटरको रूपमा काम गर्न आए । लेबरबाट काम सिकेपछि उनी पाइप फिटर भए । साउदी आएर घर फर्किएपछि विवाह गरे । १९९७ देखि २०२२ सम्म दमाममा बसेका अफजल साउदीमा बसेको करिब ३० वर्ष पुग्यो । 

 

अफजल उच्च रक्तचापका रोगी हुन् । करिब तीन दशक साउदी अरबमै कामदारका रूपमा रहँदा पनि उनको घर बस्ने अवस्था छैन । स्वास्थ्य पनि राम्रो नहुँदा घरमै बस्नुपर्नेमा कडा श्रम गर्न साउदी अरब फेरि आइपुगेका छन् । 

 

फेरि साउदी आउनुको कारण अफजल पठनपाठन रहेको सुनाउँछन् । दुई छोरा अहिले काठमाडौंमा कोठाभाडा लिई पढ्दै छन् । जेठो छोरा अजिजले सिभिल इन्जिनियरको पाँच सेमेस्टर पढाइ पूरा गरेका छन् । कान्छो छोरा इरफान बिबिए गर्दै छन् । दुवै छोराहरू निजी विद्यालयबाट पठनपाठन पूरा गरी उच्च शिक्षा आर्जन गर्न राजधानी गए । दुवै छोराहरूको पठनपाठनका लागि उनले खाडीमा दुःख गरिरहेका छन् । 

 

भतिजालाई एमबिबिएस पूरा गराउन पनि अफजलले सघाए । घरमा बस्नुपर्ने समय भए पनि बालबच्चाको पढाइ लेखाइको चिन्ता धेरै छ उनलाई । ‘बालबच्चाको पढाइ–लेखाइ अधुरै छ । बीच बाटोमा ल्याएर छाडिदिनुभएन,’ अफजल भन्छन्, ‘घरको उब्जनीले पुग्दैन । नेपालमा रोजगारी छैन । पठनपाठन गराउन जमिन बेच्नुपर्‍यो, होइन भने खाडी आउनुपर्‍यो ।’

 

सोनु र राजबहादुरको सपना 

 

 

चितवन रत्नगर नगरपालिका–७ सौराहाका ५० वर्षीय सोनु महतो साउदी अरबको रियादमा रहेको अल फनार कम्पनीमा वेल्डर र पेब्रिकेटरको रूपमा काम गर्दै छन् । ४९ वर्ष पूरा गरेका महतो मे २०२३ मा साउदी आइपुगे । अहिले उनी ५० वर्षका भएका छन् । महतो २००३ देखि नै खाडीमा चक्कर लगाउन बाध्य भए । युएई (दुबई)पछि उनी साउदी अरब आएका छन् । शरीर स्वस्थ नभए पनि छोराहरूको पठनपाठन अधुरो नरहोस् भनेर खाडी आएका हुन् । उनी उच्च रक्तचापका रोगी हुन् । साउदी अरब आउनुको पछि आफ्ना दुई छोराहरूको पठनपाठनलाई पूरा गर्ने ध्येय रहेको सुनाए । जेठो छोरा आशिष चार्टर्ड एकाउन्टेन्ट र कान्छो छोरा निशेष बिबिए गर्दै छन् । दुवैको पठनपाठन महँगो भएकाले त्यसको निम्ति आफू खाडीमा पुनः आउनुपरेको सुनाए । 

 

कृष्णपुर नगरपालिका–२ का राजबहादुर मल्ल पनि ५० वर्षका भएका छन् । मल्ल करिब १४ वर्षदेखि साउदी अरबमा कार्यरत छन् । एलएनटी कम्पनीमा सवारीचालक रहेका मल्ल ५० पुगेर घर गएर उतै बस्ने भन्ने मनस्थितिमा छैनन् । लेबरबाटै उनले पछि सवारी चलाउन जानेर लाइसेन्स निकालेपछि अहिले चालकको रूपमा काम गर्दै आएका छन् । 

 

राजबहादुरको जेठो र माइलो छोरा बिबिए पढ्दै छन् भने कान्छो छोरा प्लसटु गर्दै छन् । छोराहरूलाई पठनपाठन पूरा गराउन आफू खाडीमा बस्नुपर्ने बाध्यता रहेको उनले सुनाए । उनको दैनिकी बिहान चार बजेबाट सुरु हुन्छ । स्वास्थ्य राम्रो नभए पनि उनलाई डियुटीमा जानुपर्ने बाध्यता छ ।