• वि.सं २०८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
दीप श्रेष्ठ
२०८० फाल्गुण १९ शनिबार ०९:५६:००
इतिहास

भक्तराज आचार्यको खास खुबी 

२०८० फाल्गुण १९ शनिबार ०९:५६:००
दीप श्रेष्ठ

 

०३० सालतिरको कुरा हुनुपर्छ । त्यसवेला रेडियो नेपालले ‘अधिराज्यव्यापी राष्ट्रिय गायन प्रतियोगिता’ आयोजना गरेको थियो । त्यसवेला भक्तराज आचार्यजी र मेरो पहिलो भेट भएको थियो । प्रतियोगितामा भाग लिन उहाँ आउनुभएको रहेछ । म र प्रकाश गुरुङ (संगीतकार गायक) प्रायः सँगै हुन्थ्यौँ । त्यसवेला प्रकाश र म भोटेबहालतिर बस्थ्यौँ । उसको मेरो बस्ने ठाउँ नजिकै थियो । प्रकाश र मलाई भक्तराजजीको स्वर असाध्यै मन परेको थियो । प्रतियोगितामा यो स्वरले चाहिँ केही गर्छ भन्ने हामीले सोचेका थियौँ । नभन्दै प्रतियोगिता उहाँले नै जित्नुभयो । हामी पनि खुसी भयौँ । जित्नुपर्ने मान्छेले जित्नुभयो भन्ने लाग्यो । उहाँले ‘होसियार यस बखत समयको मुखलाई चिन’ बोलको गीत गाउनुभएको थियो । उहाँ भारतको डुबर्सबाट आउनुभएको रहेछ । उहाँको गायिकीलाई लिएर निकै राम्रो चर्चा चलेको थियो ।

 

त्यसवेला गीत रेकर्डका लागि ‘डेट’ पाइँदैनथ्यो । गीत रेकर्डका लागि महिनौँसम्म पर्खिनुपथ्र्यो । रेडियोमा गीत गाउनुअघि हामीलाई कन्ट्र्याक्ट गरिन्थ्यो । कन्ट्र्याक्ट पाएपछि मात्रै गीत गाउन पाइन्थ्यो । गीत गाउन एक दिनभरिको समय पाइन्थ्यो । तर, दुई–तीन बजे मात्रै गीत रेकर्ड सुरु हुन्थ्यो । दुइटा गीत लिएर गयो भने गीत गाउन हम्मेहम्मे हुन्थ्यो ।

 

संयोगले त्यसवेला मैले रेडियो नेपालमा गीत रेकर्ड गर्ने डेट पाएको थिएँ । उहाँ (भक्तराजजी)ले पनि त्यही समय पाउनुभएको रहेछ । मेरो डेटमा उहाँलाई गीत रेकर्ड गर्न दिइएको रहेछ । उहाँको प्रथम भएको गीत ‘होसियार यस बखत समयको मुखलाई चिन’ गीत नै रेकर्ड भएको हुनुपर्छ । यो कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । उहाँको गीत रेकर्ड भएपछि सबैले मन पराए । उहाँको स्वरको झन् प्रशंसा हुन थाल्यो । त्यसपछि उहाँले एउटा स्थान पाउनुभयो । त्यसपछि भक्तराजजी रेडियो नेपालको जागिरे हुनुभयो । त्यो सबै अवसर पाउनुको आधार स्वर र संगीत नै थियो ।

 

मैले ०२५ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गरेँ । ०२५ साल पुस १ मा राष्ट्रिय नाचघरमा आयोजित एउटा सांस्कृतिक कार्यक्रममा भाग लिन काठमाडौं आएको थिएँ । धरानबाट ‘शिलान्यास’ नाटक देखाउन आएका थियौँ । नाटकको दृश्य परिवर्तन गर्ने वेला मलाई गीत गाउन ल्याइएको थियो । मैले त्यसवेला ‘म पत्थरको देवता होइन...’ गीत गाएको थिएँ । त्यसवेला गीत सुनेर तत्कालीन राजा महेन्द्र अत्यन्त प्रभावित भएछन् । राजाको आदेशपछि रेडियो नेपालमा तत्कालै गीत गाउने अवसर मिल्यो । मैले पुस ३ गते पहिलोपटक रेडियो नेपालमा गएर रेकर्ड गरेँ । त्यसवेला रेडियो नेपालको संगीतकर्मी दयालु र सहयोगी हुनुहुन्थ्यो । उहाँहरूले गरेर नै म पनि गायक भएँ । उहाँहरूको वाद्यवादन थियो । एक्लै गीत गाएर कहाँ गायक बन्न सकिन्थ्यो र ? वाद्यवादनमा उहाँहरूको लगनशीलता र मिहिनेत पनि उत्तिकै हुन्थ्यो । धरानमा विवाहभोज, पूजामा मात्रै गीत गाउन पाइन्थ्यो । राजाको अगाडि गीत गाउँदा र रेडियो नेपालमा गीत रेकर्ड गर्न पाउँदा के–के न पाएजस्तो भएको थियो । त्यसवेला रेडियो नेपालमा दुईवटा गीत रेकर्ड गरेपछि म धरान फर्किएँ । त्यतिवेला ‘पत्थरको देवता होइन’ गीत निकै लोकप्रिय भयो । रेडियो नेपालमा गीत रेकर्ड गर्न धरानबाट काठमाडौं आउँथेँ । राम्रो संगीत र राम्रो स्वर छ भन्थे रेडियो नेपालका कर्मचारीहरूले त्यसवेला । कतिपयलाई रेडियो नेपालले नकार्‍यो भन्ने पनि सुनिन्थ्यो । रेडियो नेपालले वास्तै गरेरन भन्ने कतिपयको मुखबाट सुनेका हुन्छौँ । तर, त्यस्तो होइन, राम्रो संगीत र स्वर छ भने रेडियो नेपालले सहारा दिएको थियो जस्तो लाग्छ । 

 

गायनमा भक्तराजजी र मैले झन्डै एउटै समयमा सुरुवात गरेका हौँ । त्यसवेला अग्रजलाई सम्मान गथ्र्याैँ । त्यसवेला प्रतिस्पर्धा भन्ने हामीसँग शब्दै हुँदैनथ्यो । प्रतिस्पर्धा ‘डिक्सनेरी’मा थियो होला, तर दिमागमा कहिल्यै आएन । न भक्तराजजीले गर्नुभयो, न मैले नै गरेँ । त्यसवेला हामी कसैमा पनि प्रतिस्पर्धीको भावना आएन । हामी प्रतिस्पर्धा गरेर कहिल्यै पनि गायक भएनौँ । उहाँ धनकुटामा जन्मिनुभएको रहेछ । म धरानमा । भौगोलिक रूपमा एउटै क्षेत्रका रहेछौँ । तर, यो कुरा निकै पछि थाहा पाएँ । 

 

जब भक्तराजले गाउने वेलामा पानी पर्‍यो...

 

०४५ सालको कुरा हो । त्यसवेला भारतले नाकाबन्दी गरेको थियो । भारतले खाद्यान्नलगायत सबै बन्द गरेको थियो । सरकारले कलाकार (गीत गाउने)लाई सीमाक्षेत्रमा गीत गाउन पठाएको थियो । सरकारले कोही पूर्वतिर कोहीलाई पश्चिमतिर गीत गाउन पठाएको थियो । हामीचाहिँ पूर्वतिरको सीमाक्षेत्रमा गीत गाउन निस्केका थियौँ । त्यसवेला म, प्रकाश गुरुङ, अम्बर गुरुङ (दाइ), ओमविक्रम विष्ट, भक्तराज आचार्यजीलगायत एउटा गाडीमा यात्रामा गएका थियौँ । हामीले केही दिन सँगसँगै सांगीतिक प्रस्तुति दिएका थियौँ । उहाँसँग त्यसवेलाको रमाइलो किस्सा सुनाउन मन लाग्यो । त्यसवेला हार्माेनियम बजाएर गीत गाउनुपथ्र्याे । लगभग सबैजनाले गीत गाइसकेका थियौँ । भक्तराजजीको अन्तिमतिर गीत गाउने पालो थियो । तर, एकैछिनमा आकाश गड्याङगुडुङ गरेर पानी पर्लाजस्तो भयो । भक्तराजजीले गाउने वेलामा अलिअलि पानी छिट्याउन थालेको थियो । उहाँले गीत गाउँन थाल्नुभयो । उहाँलाई पानीको छिटाले मुखतिर लागेछ । उहाँले ‘मेरै पालामा चाहिँ पानी पर्नुपर्ने ?’ भन्नुभयो । उहाँले माइकबाट सबैतिर सुनिने गरी बोल्नुभएको थियो । सायद माइक अगाडि छ भनेर थाहा पाउनुभएन होला । त्यसवेला एकप्रकारको रमाइलो भएको थियो । उहाँ कम बोल्ने मान्छे । तर, मनमा लागेको कुरा प्रस्ट बोल्ने मान्छे । त्यसैले कहिलेकाहीँ उहाँले बोल्दा रमाइलो लाग्थ्यो । 

 

भक्तराजको क्षमता  

 

नारायणगोपाल, अम्बर गुरुङ र गोपाल योञ्जन दाइसँग भेट भइरहन्थ्यो । तर, भक्तराजजीसँग सामूहिक रूपमा भेट भएन । नारायणगोपाल दाइ भक्तराजजीको प्रशंसा गर्नुहुन्थ्यो । उहाँको कुरा हुन्थ्यो । नारायणगोपाल दाइले उहाँलाई असाध्यै मन पराउनुहुन्थ्यो । उहाँले ‘भक्तराजले कस्तो प्रस्ट उच्चारण गरेको’ भनेर भनिरहनुहुन्थ्यो । प्रस्ट उच्चारण र नयाँनयाँ कम्पोजिसन नै भक्तराजजीको खुबी हो । उहाँको एकसेएक राम्रा गीत छन् । उहाँले संगीत गर्ने तरिका फरक हुन्थ्यो । त्यो कसरी गर्नुहुन्थ्यो थाहा हुँदैनथ्यो । उहाँको प्रस्तुति नै भिन्न थियो । उहाँ विशुद्ध संगीतका लागि समर्पित हुनुहुन्थ्यो ।

 

मलाई गीत गाउन धरानदेखि काठमाडौं आउन तीन दिन लाग्थ्यो । भारत हुँदै काठमाडौं आउनुपथ्र्याे । काठमाडौंमा मेरो आफ्नो कोही थिएन । काठमाडौंमा साथीहरूको घरमा गएर सुत्नुपथ्र्यो । त्यसवेला सबैका आ–आफ्नै संघर्ष छन् । भक्तराजजी काठमाडौँमा दुःख–सुख संघर्ष गर्दै हुनुहुन्थ्यो । म गीत गाउन धरानबाट काठमाडौं आउँथेँ र १५–२० दिन बसेर धरानै फर्किन्थेँ । त्यसैले पनि बाक्लो भेट हुँदैनथ्यो । त्यसैले मेरो र उहाँको सांगीतिक सहकार्य गर्ने अवसर मिलेन । कहिलेकाहीँ भेट्दा कुरा हुन्थ्यो । तर, भेट्दा हामी एक–अर्काको तारिफ गथ्र्यौँ । मैले उहाँलाई तपाईंको गायिकी र कम्पोजिसन मन पर्छ भन्थेँ । उहाँले पनि मलाई तपाईं राम्रो कम्पोजिसन गर्नुहुन्छ भन्नुहुन्थ्यो । उहाँसँग लामो समय बसेर खाने–पिउने कहिल्यै हुन पाएन । 

 

‘रिजर्भ’ बस्नुहुन्थ्यो 

 

उहाँलाई प्रायः एक्लै बसेको देख्थेँ । बेग्लै प्रकारको देखिनुहुन्थ्यो । प्रायः कसैसँग पनि झ्याम्मिनुहुन्नथ्यो । एकान्त मन पराउनुहुन्थ्यो । उहाँको स्वभाव मलाई पछि थाहा भयो । मान्छेसँग निकट देखिनुहुन्नथ्यो । उहाँ कन्फ्युजिङजस्तै पनि देखिनुहुन्थ्यो । उहाँको नराम्रो बानी भनेको छिट्टै रिसाउनुहुन्थ्यो । त्यसले गर्दा उहाँका धेरै साथी थिएनन् । तर, मसँग कहिल्यै रिसाउनुभएन । सायद स्वभाव बुझेर पनि हो कि जस्तो लाग्छ । तर, उहाँ असाध्यै सरल हुनुहुन्थ्यो । हुन त उहाँले संगीतमा आफ्नै परिधि बनाउनुभएको थियो । त्यसैले धेरैसँग रम्नु भएन । तर, उहाँ रेडियो नेपालमा आएको थाहा पाएपछि म जान्थेँ । उहाँको छेउछाउमा गएर बस्थँे । उहाँले गाएको र गीत रेकर्ड गरेको हेर्थेँ । उहाँले गाएको देख्दा निकै आनन्द आउँथ्यो । 

 

म पनि गीत गाउन रेडियो नेपाल जान्थेँ । मैले गीत रेकर्ड गर्ने वेला भक्तराजजी पनि सुनेर बस्नुहुन्थ्यो । त्यसवेला दुई–तीनवटा गीत गाएपछि छान्नुपथ्र्याे । सबै गीत सुनेपछि ‘यो गीत राम्रो छ, यो गीतचाहिँ लिनु’ भनेर सल्लाह दिनुहुन्थ्यो । उहाँसँग यस्ता कुरा झलझली याद आउँछ । 

 

हामीबीच त्यस्तो खालको सौहार्द्रता थियो । उहाँसँग मेरो कहिल्यै नराम्रो भएन । उहाँ एक्लै बसेको जस्तो देखे पनि सबैसँग राम्रै बोल्नुहुन्थ्यो । मेरो र उहाँको स्वभाव उस्तै थियो । पहिलेदेखि म ‘रिजर्भ’ मान्छे हुँ । उहाँ पनि असाध्यै ‘रिर्जभ’ मान्छे । उत्तिकै सरल मान्छे पनि हुनुहुन्थ्यो । भक्तराजजी र मैले झन्डै एउटै समय सुरुवात गरेका हौँ । उहाँ उमेरले मभन्दा जेठो हुनुहुन्थ्यो । तर, हामी तिमी–तिमी सम्बोधन गथ्र्याैँ । सुरुसुरुको भेटमा हामीले तपाईंको सम्बोधन गथ्र्यौँ । उहाँले दीपजी भनेर सम्बोधन गर्नुहुन्थ्यो । तर, पछि हामी तिमी तिमीमा आयौँ ।

 

उहाँबाट धेरै सिक्न बाँकी थियो 

 

दुर्भाग्य ! उहाँले ०४६ सालपछि गाउन सक्नुभएन । उहाँको सुर हरायो । हामीले उहाँको कम्पोजिसन र स्वर गुमायौँ । त्यसपछि नेपाली संगीतमा ठूलो क्षति भयो । त्यो अकल्पनीय घटना थियो । त्यो एउटा कलाकारप्रति प्रहार थियो । त्यो प्रहार कसरी भयो भनेर कसैबाट खोजी गर्ने कोसिस भएन ।

 

मलाई उहाँको स्वर असाध्यै मन पर्छ । उहाँको स्वरको गहिराइ र गायिकीको मोटोपना बेग्लै छ । उहाँ एकदमै मीठो सुरमा गाउन सक्ने गायक हो । हामी वेला–वेलामा सुरदेखि बाहिर भाग्छौँ होला । तर, उहाँ कहिल्यै सुरबाट बाहिर भाग्नुहुन्नथ्यो । म भक्तराजजीलाई मीठो सुर मिलाएर र सुर लगाएर गाउन सक्ने गायकका रूपमा लिन्छु । उहाँले आफ्नै संगीतबाट आफूलाई धेरै माथि ल्याउनुभयो । आफ्नै संगीतले आफूलाई चिनाउनुभयो । संगीतको बेग्लै ‘प्याट्रन’ थियो उहाँको । सधैँ म महसुस गर्छु । 

 

उहाँको जस्तो कम्पोजिसन गायकी, संगीत र गीतमा एकाग्रता मात्र होइन, शब्दको स्पष्टता कमै गायकमा हुन्छ । उहाँबाट सिक्ने धेरै कुरा थिए । तर, ती सबै ओझेलमा परे । हामी पनि अन्योलमा पर्‍यौँ । उहाँबाट जति लिनुपर्ने थियो त्यो लिन पाइएन । उहाँसँग राम्रा सिर्जना पनि थिए होलान् । त्यो सुन्न पाइएन । मलाई दुःख लाग्छ । राष्ट्रले उहाँका जति सिर्जना(संगीत) अर्काइभ गर्नुपर्ने हो । तर, त्यतातिर ध्यान दिएको देखिँदैन । 

 

प्रस्तुति : पवन बराइली