
नेपालमा सहरीकरण रफ्तारमा भइरहेको छ । तर, व्यवस्थित सहर बसाउन सकिएको छैन । सहर बसाउन पहिला ‘प्लानिङ’ गरिनुपथ्र्यो । विदेशतिर त्यसै गरिन्छ । तर, हाम्रोमा ‘प्लटिङ’ गरेर सहर बसाइँदै छ । घरजग्गा कारोबारी र सर्भेयरले सहर नक्सांकन गरिरहेका छन् । जग्गा व्यवसायीहरूले जताजता भन्छन्, सर्वेयरले त्यतैत्यतै बाटो खोलेर कित्ताकाट गरिदिन्छन् । नेपालका अधिकांश सहर यसै कुरूप बनेका होइनन् ।
नेपालमा धेरै पुराना सहर पनि छन् । काठमाडौं उपत्यकामा मल्लकालीन र लिच्छवीकालीन सहर भेटिन्छन् । जुन अझै जीवितै छन् । त्यो वेलाका शासकले प्लानिङ गरेरै व्यवस्थित सहर बसाइएको पाइन्छ । काठमाडौंको न्युरोड, ललितपुरको पाटन, भक्तपुरका पुराना सहर निश्चित मापदण्ड, योजना र सिद्धान्तबाट बनेका हुन् । निकै वैज्ञानिक ढंगले बस्ती बसाइएको थियो । न्युरोडको डिजाइन खड्ग आकारमा छ ।
नेपाल पहाडी मुलुक हो । तराई र पहाडमा मालवस्तु ओसारपसार गर्ने नाका–नाकामा बजार बसेको पाइन्छ । ती बजार पनि सुरक्षा, प्रशासनिक र रणनीतिक दृष्टिकोणले बनेका थिए । सेनाका गढीहरू कालान्तरमा बजारमा परिणत भए । जहाँ गढी हुन्थ्यो, त्यहाँ बस्ती वा बजार बस्थ्यो । सैनिकहरू परिवारसहित बस्थे । उनीहरू बसेपछि शिक्षा र स्वास्थ्यसँगै व्यापार पनि हुन्थ्यो । पछि तीनै बजारहरू आधुनिकीकरण भई जिल्ला सदरमुकाम, अञ्चल सदरमुकाम र सहरमा परिणत भए ।
पहाडको टुप्पामा रहेका जिल्ला सदरमुकाम पनि बेँसी झरे । राजमार्ग बनेपछि तल सुविधा बढ्यो । सारा सुविधा बेँसीमा पाइन थालेपछि पहाडको टुप्पामा बसेर व्यवहार चलाउन गाह्रो भयो । त्यसपछि पहाडका टुप्पाका सदरमुकाम तल झरे । जस्तै, तनहुँको बन्दीपुरमा रहेको सदरमुकाम दमौली झर्यो । लमजुङको सुन्दर बजार बेँसीसहरमा झर्यो । राजा वीरेन्द्रका पालामा पाँच विकास क्षेत्र बने । तिनका सदरमुकाम पनि समथर फाँटमा बसे ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग निर्माण सुरु भएपछि त्रिभुवन राजपथ, सिद्धार्थ राजमार्ग, अरनिको राजमार्गलगायत बन्दै गए । राजमार्गछेउमा बस्ती बस्न थाल्यो । तराईमा औलो उन्मूलन भएपछि पहाडबाट व्यापक बसाइँसराइ भएपछि सहर बन्न थाले । कतिपय ठाउँमा सरकार आफैँले योजना बनाएर सहर बसाएको थियो । चितवनको भरतपुर, हेटौँडा, विराटनगर, धरान, बुटवल, भैरहवा, नेपालगन्ज, कोहलपुर, टीकापुर, महेन्द्रनगर, धनगढी, सुर्खेत, घोराही, तुलसीपुर योजना बनाएर बसाइएका हुन् ।
पञ्चायतकालमा व्यवस्थित बस्ती बसाउने प्रयास
पञ्चायतकालमा व्यवस्थित रूपमै सहर बसाउने काम भइरहेको थियो । पञ्चायतपछि व्यवस्थित सहर पनि विस्तार हुने क्रममा भद्रगोल बन्दै गए । बहुदल आयो, प्रजातन्त्र आयो, अब जसले जे गरे पनि हुन्छ भन्ने भएपछि राम्रा सहर पनि बिग्रिन थाले । मान्छे जथाभावी स्थानान्तरण हुन थाले । तीव्र बसाइँसराइ हुन थालेपछि सहर निर्माणमा ‘प्लानिङ’ होइन, ‘प्लटिङ’ले प्रश्रय पायो । जसले जहाँ जस्तो मन लाग्यो त्यस्तै प्लटिङ गर्न थाले । व्यवस्थित सहरीकरण भन्ने नै भएन । त्यसैले त अधिकांश सहर भद्रगोल बने । ०४७ सालदेखि ०५७/५८ सालसम्म ल्यान्डपुलिङको अवधारणाबाट कतिपय ठाउँमा व्यवस्थित बस्ती बसाइयो । त्यसलाई सहरै नभनौँ, सहरको एउटा खण्ड व्यवस्थित बनाउने काम भयो ।
अब आफ्नो घर आफैँ बनाऔँ भन्ने परिपाटी बदल्नुपर्छ । आफ्नो घर अरूले बनाउने हो । घर डेभलपरले बनाउँछन्, बैंकले कर्जा दिन्छन्, उपभोक्ताले बनिबनाउ घर खरिद गर्ने हो । डेभलपरले पनि व्यवस्थित बस्ती बसाउनुपर्छ । त्यसमा सरकारले अनुगमन र सहजीकरण गर्नुपर्छ ।
दाङको घोराही, तुलसीपुर, काठमाडौं उपत्यकामा पेप्सीकोला, खुसिबु, सामाखुसी, कमलविनायक, डल्लु, लुभु, भैँसेपाटीलगायत ठाउँहरू ल्यान्डपुलिङ गरेर व्यवस्थित घडेरी विकास गरी बस्ती बसाइएका हुन् । उपत्यकाबाहिर नेपालगन्जमा बागेश्वरी मन्दिरदेखि बसपार्कसम्म चार किलोमिटर रोड नै ल्यान्डपुलिङ गरेर बनाइएको हो । त्यो पकेट–पकेटमा मात्र भयो । तीव्र्र बसाइँसराइ थेग्ने गरी प्लानिङ भएन । ती ठाउँमा विकसित घडेरी अत्यन्तै कम भए । जुन रफ्तारमा सहर विस्तार भएरहेको छ, त्यसको १०/१५ प्रतिशत माग पनि धान्न सकेन ।
०४६ साल र ०६२/६३ पछिको राजनीतिक परिवर्तनपछि काठमाडौंको जनसंख्या ह्वात्तै बढ्यो । माओवादी सशस्त्र द्वन्द्वमा गाउँगाउँबाट मान्छे लखेटिए । त्यो समय सक्नेहरू राजधानी छिरे । कतिपय तराईका सहर, जिल्ला र अञ्चल सदरमुकाम छिरे । त्यो पनि नसक्ने जिल्लाकै बजारतिर झरे । पञ्चायतकालमा पहाडबाट तराईतिर बसाइँसराइ भएको थियो । माओवाद्धी द्धन्द्धमा गाउँबाट सहरमा बसाइँसराइ भयो । कपन एरिया ०६२ पछि विस्तार भएको हो । काँडाघारी, कटुञ्जे, सुनाकोठी, थैव, गोदावरी, भैंसेपाटी, ठेँचो, चन्द्रागिरि, थानकोट, कीर्तिपुर, टोखा, बुढानीलकण्ठलगायत उपत्यकाका पकेट क्षेत्र पछि बनेका हुन् ।
सहरीकरणमा दुई प्रवृत्ति हुन्छन्, एउटा कृषि पेसाबाट गैरकृषि पेसामा स्थानान्तरण हुने र अर्को ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसाइँ सर्ने । नेपालमा कृषिमा मान्छे घट्दै छन्् । दुई दशकदेखि भित्रिरहेको रेमिट्यान्सले पनि सहरीकरण र बसाइँसराइ बढाउन भूमिका खेलिरहेको छ । गाउँकै मान्छे विदेश जान्छ । ऊ फर्केर गाउँमा लगानी गर्दैन । ऊ पहाडमा बस्थ्यो भने तराई झर्छ । सहरतिर छिर्छ ।
पहिला केन्द्रीकृत प्रणाली थियो । अब स्थानीय तहले गर्नुपर्छ भनियो । तर, व्यापक रूपमा विस्तार भइरहेको सहरीकरण र बसाइँ सरेर आउनेलाई व्यवस्थित गर्ने गरी नगरपालिकाले व्यवस्थित बसाइँका योजना ल्याउन सकेका छैनन् । आफू एक्लै नसके निजी क्षेत्रसँग मिलेर योजना ल्याउनुपथ्र्यो । त्यो पनि गर्न नसकेको देखियो । उपत्यकादेखि, तराई र पहाडी तथा हिमाली जिल्लामा निर्माण गर्ने भनेर घोषणा गरिएका नयाँ सहर, स्मार्ट सिटीका परियोजना अलपत्र परे ।
संसारमा धेरै सहर बाह्य लगानीमा स्थापित भएका छन् । अहिले एउटा भवन बनाउनै अर्ब लाग्न थाल्यो, सहर बनाउन त खर्ब लाग्छ । हामीले निजी क्षेत्र वा बाह्य लगानी ल्याएर सहर विकास गर्न सक्थ्यौँ । निजी क्षेत्रलाई कोलोनी, अपार्टमेन्टदेखि सानातिना सहरै बनाउने जिम्मा दिइनुपर्छ । ठूला कोलोनी, अपार्टमेन्टदेखि सहरै बनाउन भन्दै घरजग्गा व्यवसायीले ५० अर्ब पुँजीको कम्पनी बनाउँदै छन् । त्यो अभियानलाई निरुत्साहित गर्ने होइन, जग्गाको हदबन्दी फुकुवा, कर छुट, खानेपानी, सडक, बिजुली, ढललगायत आधारभूत पूर्वाधार पुर्याइदिएर प्रोत्साहित गर्नुपर्छ ।
सहर भनेको दीर्घकाललाई हो । सहरमा आज गरेको लगानीको प्रतिफल २० वर्षपछि आउने हो । भक्तपुरले पर्यटन विकास गर्यो भन्छौँ नि । त्यहाँ पञ्चायतकालमै भक्तपुर विकास परियोजनाले १३ वर्ष लगाएर गरेको लगानीको रिटर्न हो । नत्र, भक्तपुरमा हरेक वर्ष हैजा लाग्थ्यो । सयौँ मान्छे मर्थे । त्यो बाटो हिँड्दा पनि हैजा लाग्छ भन्थे । अहिले पर्यटक आएर रमाउने गर्छन् ।
कसले बनाइरहेछ सहर ?
बस्ती बढ्दै जाँदा सहर आफैँ बनिरहेका छन् । सहर त सहरै हुन्, तर अव्यवस्थित । घरको एकाइ कोठाकोठा भएजस्तै सहरको एकाइ ब्लक–ब्लक हुन्छ । सहर ब्लक–ब्लक मिलेर बन्छ । विदेशमा ब्लक–ब्लक बनाइएको हुन्छ । ब्लक भनेको सहरको एउटा एकाइ हो । ब्लक–ब्लक मिलेर सेक्टर बन्छ । यो उपनगरजस्तो हो । इन्डियाको नोयडामा–सेक्टर सेक्टर बनाएर व्यवस्थित सहरीकरण भइरहेको छ ।
इन्डियाले अहिले पनि ठुल्ठूला व्यवस्थित सहर निर्माण गरिरहेको छ । सहरभित्र सहर बनिरहेका छन् । ग्रेटर नोयडा ठूलो नयाँ विकसित सहर हो । उनीहरूले नोयडालाई स्मार्ट सिटी बनाइरहेका छन् । भन्दै छन्, ‘स्मार्ट सिटी कस्तो हुन्छ विश्वलाई देखाउँछौँ ।’
प्लटिङ कि प्लानिङ ?
अहिले प्लानिङ भइरहेको छैन, प्लटिङ भइरहेको छ । घरजग्गा व्यवसायी र सर्भेयरले कित्ताकाट गरेर बनेको सहर हो । कम्फर्ट हाउजिङ, सन्राइज, सिभिल होम्सलगायत डेभलपर कम्पनीले पनि एक समय ठूलै लगानी गरे । व्यवस्थित आवास परियोजना बनाए । राज्यले उनीहरूलाई प्रोत्साहन गर्नुपथ्र्यो । व्यवस्थित बस्ती र सहर विकासमा निजी क्षेत्रको भूमिका अग्रणी हुन्छ । डेभलपर कम्पनीले प्रोजेक्ट ल्याउँथ्यो, बैंकले लगानी गथ्र्यो र व्यक्तिले घरघडेरी किन्थ्यो । अबको अर्बान प्लानिङले मान्छेको लाइफलाई पनि व्यवस्थित गर भन्छ । पहिला घर, सडक, खानेपानीलगायत पूर्वाधार भए पुग्थ्यो ।
अहिले ह्युमन फ्याक्टर हेरिन्छ । मान्छेको आवश्यकता हेरेर सहर विकास गरिन्छ । मान्छेको जीवन व्यवस्थित गर्नुपर्छ ।
सहर भनेको गैरकृषि पेसामा आधारित जनसंख्याको बसोवास गर्ने पूर्वाधारयुक्त बस्ती हो । जहाँ सडक, खानेपानी, बिजुली, ढल निकास, फोहोरमैला व्यवस्थापन, इन्टरनेट, पार्क, लाइब्रेरी, स्कुल, कलेज, स्वास्थ्यचौकी, खुला ठाउँलगायत हुनुपर्छ । यसका पनि हाइरार्की हुन्छन् । काठमाडौं सहरका लागि टुँडिखेल खुला ठाउँ हो । बुद्धनगरका लागि युएन पार्क खुला ठाउँ हो । सेक्टर सेक्टरको, ब्लकको आ–आफ्नै खुला ठाउँ हुनुपर्छ । हाम्रा सहरमा त्यस्तो पाइँदैन । सहरको सबै ठाउँमा चार लेनको सडक चाहिँदैन । ब्लकमा पस्ने सडक सानो भए पनि हुन्छ । सहरको आकार दिने पूर्वाधारले नै हो । बाटो जस्तो बनायो, सहरको स्वरूप त्यस्तै बन्छ ।
सीमित जग्गा भएको ठाउँमा पूर्वाधार बनाउँदा भर्टिकलमा जानुपर्छ । जापानमा रेल नै तीन तहको छ । टपमा बुलेट ट्रेन, सतहमा जापान रेलवे, जमिनमुनि मेट्रो कुद्छ । रोड पनि तीन तहको हुन्छ । किनभने जापानमा पनि जमिनको अभाव छ । यहाँ पनि त्यसै गर्नुपर्ने हुन्छ । सहर भनेको जीवन्त चिज हो । यसलाई रिफ्रेस र रिन्यु गर्न सकिन्छ । घरको पनि आयु हुन्छ । त्यो पुरानो भएर भत्काउँदा व्यवस्थित बनाउन सकिन्छ ।
पुराना बस्तीहरूलाई पनि पुननिर्माण गर्ने, पुनर्विकास गर्ने यो संसारभरि चलिरहन्छ । खाली ठाउँमा योजना बनाएर बस्ती बसाउन सकिन्थ्यो । त्यहाँ पनि हामी चुकेका छौँ । आकाशबाट हेर्दा काठमाडौंमा मल्लकालीन सहर बस्ती झुरुप्प परेर बसेको देखिन्छ । केही निजी व्यवसायीले गरेका हाउजिङ पनि देखिन्छन् । बाँकी बस्ती गज्याङ्गुजुङ देखिन्छन् । हाउसपुलिङ गरेर गज्याङ्गुजुङ बस्ती व्यवस्थित गर्न सकिन्छ । पुराना बस्ती र सम्पदालाई पुरानै शैलीमा पुनर्निर्माण गर्नुपर्छ । अब हामीले पुरानोलाई व्यवस्थित गर्दै जाने हो । जहाँ नयाँ बस्ती बस्छ, त्यहाँ आधुनिक सुविधासहित प्लानिङ गरेर व्यवस्थित बस्ती बसाल्ने हो ।
मध्यमवर्ग समेटिएन
मध्यम वर्ग ठूलो उपभोक्ता हो । आवासको खाँचो पनि मध्यम वर्गलाई नै बढी चाहिएको छ । सो वर्गको आवश्यकता पूरा गर्ने गरी आवासलाई कसरी बनाउने भन्ने मुख्य कुरा हो । अहिलेकै अवस्थामा मध्यम वर्गले सहरमा घर वा अपार्टमेन्ट किनेर बस्न सक्ने स्थिति छैन । नेपालमा सरकारले अपार्टमेन्ट बनाएर बिक्री गर्ने परिपाटी छैन । आवासलाई अफर्डेबल बनाउन निर्माण लागत घटाएर हो । घरमा सबैलाई उत्तिकै विलासी सुविधा चाहिँदैन । सुविधा थपघट गर्न सकिन्छ । इटालियन मार्बल नै बिच्छ्याउनुपर्छ भन्ने छैन । सबैलाई दुई वा तीन बेडरुम अपार्टमेन्ट नचाहिएला । सबैले घर खोज्छन् भन्ने पनि छैन । कतिपयलाई ‘अनरसिप’ मन पर्दैन । विनाझन्झट रेन्टमा अपार्टमेन्ट वा घर लिएर बस्ने चाहना पनि हुन सक्छ ।
काठमाडौंमा अपार्टमेन्ट कि हाउजिङ ?
संसारभर अपार्टमेन्ट कल्चर रहरले आएको होइन । धेरै अपार्टमेन्टमा बस्न मन पराउँदैनन्, चाहे अमेरिकन होस्, चाहे युरोपियन । अमेरिकामा युरोप र इन्डियामा भन्दा पनि कम अपार्टमेन्ट छन् । किनभने, त्यहाँ अहिले पनि सस्तो ब्याजमै घरकर्जा पाउँछ । अमेरिका, अस्ट्रेलियातिर हाउजिङको फाइनान्सिङ २० वर्ष लगाएर तिर्छन्, तर भव्य घरमा बस्छन् । त्यहाँ कमाउन सुरु गरेपछि घर र गाडी भइहाल्छ । हाम्रोमा त्यस्तो छैन ।
काठमाडौंजस्ता सहरमा सीमित ठाउँ हुन्छ, तर जनसंख्या ठूलो हुन्छ । त्यसैले बाध्यतावश अपार्टमेन्टको विकल्प छैन । अब बंग्ला टाइपको घर अफर्डेबल छैन । व्यावहारिक पनि छैन । काठमाडौंमा जुनसुकै कुनामै पुग्दा पनि चार आनाको करोडभन्दा बढी पर्छ । अब घडेरी किन्ने कि घर बनाउने ?
अब डेभलपरले व्यवस्थित आवास (घर/अपार्टमेन्ट) बनाइदिने, बैंकले सस्तोमा ऋण दिने र ग्राहकले किन्ने व्यवस्था हुनुपर्छ । आम्दानीअनुसार २० वर्षका लागि सस्तो ब्याजदरमा कर्जा पाइयो र सर्वसुलभ मूल्यमा आवास पाए धेरैले किन्छन् । सहरका कुनाकाप्चासम्म सहज यातायातको व्यवस्था गरेर त्यहाँ जग्गा अधिग्रहण गरी ठूला अपार्टमेन्ट बनाउन सकिन्छ । अपार्टमेन्टलाई किफायती बनाउन सकिन्छ । मैले डेभलपरलाई भन्दै आएको छु, मध्यम वर्गलाई टार्गेट गरेर अपार्टमेन्ट बनाऊ । त्यहाँ अचाक्ली सुविधा पनि आवश्यक पर्दैन । कोलोनीको सुविधा घटाएर अफर्डेबल बनाऊ ।
यस्तो गरौँ सहर व्यवस्थित बनाउन
अब आफ्नो घर आफैँ बनाऔँ भन्ने परिपाटी बदल्नुपर्छ । आफ्नो घर अरूले बनाउने हो । घर डेभलपरले बनाउँछन्, बैंकले कर्जा दिन्छन्, उपभोक्ताले बनिबनाउ घर खरिद गर्ने हो । डेभलपरले पनि व्यवस्थित बस्ती बसाउनुपर्छ । त्यसमा सरकारले पनि अनुगमन र सहजीकरण गर्नुपर्छ ।
आज दुबईले युरोप र अमेरिकालाई माथ खुवाइसक्यो । दुबई विश्वकै हाइटेक सहर भन्दा पनि हुन्छ । त्यहाँ विश्वकै अग्लो अपार्टमेन्ट बन्दै छ । विश्वकै अग्लो टावर र विश्वकै ठूलो सपिङ मल सञ्चालनमा आइसक्यो । अर्बौँ डलर खर्चिएर मुन रिसोर्ट बन्दै छ । दुबई सहरी योजनाकारका लागि खुला किताब हो ।
नेपालमा यस्तो संरचना बनाउन बाह्य लगानीविना सम्भव छैन । बाह्य लगानी ल्याउन सामाजिक आर्थिक परिवेश सुधार गर्नुपर्छ । यहाँ पनि टाउन्सिप बनाउन सकिन्छ । पूर्वाधार सरकारले बनाइदिनुपर्छ । जग्गाको हदबन्दी, राजनीतिक र सामाजिक अवरोधलाई नीतिगत सहजीकरण गरिदिनुपर्छ । बाँकी सारा काम आन्तरिक तथा बाह्य निजी लगानीबाट गर्न सकिन्छ ।
काठमाडौंमा जति पनि अपार्टमेन्ट २०६० देखि २०७२ सम्म बनेका हुन् । त्यो वेला ठुल्ठूला अपार्टमेन्ट बने । अहिले कुनै खाली छैनन् । बरु बिक्रीका लागि नयाँ स्टक छैनन् । मतलब, नेपालीले अपार्टमेन्ट बसाइ डाइजेस्ट गरेको भन्नुपर्छ । १७ करोडसम्मका एउटै युनिट बिक्री भयो भन्ने सुनिन्छ । नेपालमा अपार्टमेन्टका ग्राहक टन्नै छन् । र, ती व्यवस्थित र भव्य पनि छन् । अहिले कुनै ठूलो हाउजिङ र अपार्टमेन्टभित्र छि¥यो भने यो पनि नेपाल हो र भन्ने महसुस हुन्छ ।
बरु यसलाई ठूलो स्केलमा लैजानुपर्नेछ । हामीलाई धेरै युनिट भएका अपार्टमेन्ट र कोलोनी चाहिएको छ । थोरैले माग थेग्न सकिँदैन । नेपालमा १७ तलासम्मका अपार्टमेन्ट बनेका छन् । तर, मैले ११ तलासम्मको व्यावहारिक हुन्छ भन्छु । सुलभ मूल्यका अपार्टमेन्टको मार्केट पनि धेरै छ ।
पछिल्लो समय अपार्टमेन्ट निर्माण सुरु भएको छ । काठमाडौं, पोखरा, भैरहवा, वीरगन्ज, विराटनगर, झापालगायत सहरमा अपार्टमेन्ट बन्दै छन् । तर, ती सबै प्रिमियममा गइरहे । त्यस्ता आवासका ग्राहक सीमित हुन्छन् । यसले अपार्टमेन्टको बजार विस्तार हुन सकेन । यो उपभोक्ता सीमित हुन्छ । मध्यम र निम्नमध्यम वर्गमा धेरै ठूलो उपभोक्ता छ । बरु आर्मी, पुलिस, निजामती, शिक्षक, संस्थानमा काम गर्ने कर्मचारीलाई छुट्टाछुट्टै कर्मचारी आवास परियोजना बनाउन सकियो भने झन् व्यवस्थित हुन्छ ।आवास र वर्क प्लेसको यात्रा कम हुनुपर्छ । दिल्ली र अमेरिकी सहरमा सहरबाट धेरै बाहिर घर हुन्छन् । यहाँ पनि सहज यातायातको व्यवस्था भइदिए मान्छे धुलिखेल, पाँचखालबाटै पनि काठमाडौं आवतजावत गथ्र्यो होला ।
काठमाडौंको आकर्षण
धेरैले भनेको सुन्छु, काठमाडौं महँगो भयो, भिडभाड भयो, साँघुरो भयो, सुविधा छैन, स्वच्छ पानी पाइएन, खोला गनाउँछ ।’ तर, म यहाँ बस्न सकिनँ, त्राहिमाम भएँ, यहाँबाट बसाइँ सरेर गाउँ फर्किन्छु भनेको सुनिँदैन । यसले के देखाउँछ भने काठमाडौंको आकर्षण छ । काठमाडौंले आकर्षण गुमाएको छैन । बरु सेवासुविधा बढाएर थप आकर्षक कसरी बढाउने भन्ने मात्र हो ।
खासमा यहाँको जीवनस्तर राम्रो छैन । बाहिर हिँड्दा धुलैधुलो छ । सडकपेटी छैनन् । मोटर चलाउने र हिँड्ने दुवैलाई सुख छैन । सहरमा क्वालिटी अफ लाइफ हुनुपथ्र्यो । क्वालिटी लाइफ इम्प्रुभ गर्न पूर्वाधारलाई स्तरोन्नति गर्ने, आवासलाई व्यवस्थित गर्ने, सहरी सुविधा बढाउनेतर्फ लाग्नुपर्छ । यहाँ पनि ब्लक–ब्लक छुट्याएर व्यवस्थित योजना बनाई काम गर्नुपर्छ । यसो भए सहर पनि स्तरीय बन्छ । योजना कार्यान्वयन नहुँदा सरकारप्रतिको विश्वास गुमेको छ ।
जहाँ दरबार, त्यहाँ आकर्षण
काठमाडौं सहर आफैँमा भद्रगोल भए पनि सहरभित्रका कतिपय ठाउँहरू बसोवासका लागि सबैभन्दा आकर्षण छन् । कुनै जमानामा बालुवाटार, महाराजगन्ज, विशालनगर क्षेत्र सबैभन्दा आकर्षण मानिन्थ्यो । प्रधानमन्त्रीनिवास, राष्ट्र बैंक, राजदूतावास त्यहीँ थिए । नारायणहिटी दरबारका कारण नक्साल क्षेत्र रोजाइमा पर्यो । अहिले त्यो आकर्षण बुढानीकलण्ठ, भैँसेपाटी, बालकोटमा सर्यो ।
कांग्रेस सभापति शेरबहादुर देउवा बुढानीलकण्ठमा बस्न थालेपछि त्यो क्षेत्र रोजाइमा परेको छ । एलिटहरू बुढानीलकण्ठतिरै बसोवास गर्छन् । एमाले र मधेशवादी दलका नेताहरूको सहर भैँसेपाटी बनेको छ । फेरि त्यहाँ मन्त्री, प्रदेशप्रमुख, मुख्यमन्त्रीका दरबार खडा भएका छन् । केपी ओलीका कारण बालकोट क्षेत्र रोजाइमा छ । पहिलाका पञ्चहरूको क्षेत्र बालुवाटार विशालनगर बन्यो । त्यहाँ राप्रपाका धेरै बस्छन् । प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल खुमलटार बस्छन् । अहिले खुमलटारको चर्चा पनि उत्तिकै छ ।
हिजो जहाँजहाँ दरबार बने, त्यहाँत्यहाँ बस्ती बस्थ्यो । पद्मशमशरेको दरबारका कारण विशालनगरमा बस्ती बस्यो । जुद्धशमशेरको दरबार जावलाखेल थियो, जावलाखेल झम्सिखेल हुँदै सानेपासम्म बस्ती बस्यो । सानेपामा शान्त भवन, शशी भवन थिए । चन्द्रशमशेरको दरबारकै कारण थापाथली र माइतीघर हाइट चम्कियो । अरू धेरै बस्ती दरबारकै कारण बनेका थिए ।
अहिलेका नयाँ बुढानीलकण्ठ दरबार, बालकोट दरबार, भैँसेपाटी दरबार, खुमलटार दरबारका कारण ती क्षेत्रमा बस्ती बढ्यो । नेताले कार्यकर्तादेखि नातेदार तान्ने गर्छन् । नेता र कार्यकर्ताले लिडरको छेवैमा बस्न पाए अवसर पाइन्थ्यो कि भन्ठाने । व्यापारी र कर्मचारी पनि त्यहीँ पुगे । छेवैमा बस्योे भने नेताको नजरमा परिने भयो । साँझ–बिहान चाकडीमा हाजिर हुन पाइयो । चुनावमा टिकट पाइने भयो । संघीयता आए पनि काठमाडौंको बासिन्दा घटेका छैनन् । पहिलेपहिले राजनीतिक शक्तिको केन्द्रीकरण भयो । त्यसपछि प्रशासनिक शक्तिको केन्द्रीकरण भयो । अहिले आर्थिक हुँदै सामाजिक शक्तिको पनि केन्द्रीकरण भइरहेको छ । मान्छे सामाजिक स्टेटस खोज्दै काठमाडौं आइरहेका छन् ।
काठमाडौंबाहिरका राम्रा सहर
मेरो ठम्याइमा नेपालमा सबैभन्दा व्यवस्थित र सुन्दर सहरको नाम लिँदा पोखरा पहिलो नम्बरमा आउँछ । यो सहरलाई नेपालको नमुना सहर पनि मान्न सकिन्छ । त्यहाँ लाहुरेहरूले एउटै खालका सुन्दर घर बनाएका छन् । घरमा ढुंगा छापेर चिटिक्क पारिएको छ । घरहरू पनि एकनासका दुई–तीन तलाका मात्र छन् । बरु पछिल्लो समय पोखरामा पनि ठुल्ठूला भवन बनेर पहिलेको चमक हराउँदै छ ।
हेटौँडा र धरान पनि व्यवस्थित सहर हुन् । बुटवल र भैरहवा जोडिएर मेगा सिटी भइसक्यो । बुटवललाई देशकै राम्रो आवासीय सहर पनि भन्ने गरिन्छ । अर्को, चितवनको भरतपुर सहर हो । सानो स्केलमा भए पनि कोहलपुर, टीकापुर, महेन्द्रनगर, सुर्खेत, दाङको तुलसीपुर, घोराहीमा पनि व्यवस्थित बस्ती छन् ।
(पूर्वसचिव थापासँग नवीन अर्यालले गरेको कुराकानीमा आधारित)